Highlights
- वृन्दादेवी माथेमा जुनसुकै बेला पढिरहन्थिन्– हिन्दी, नेपाली उपन्यास, प्रेमचन्दका कथा, रवीन्द्रनाथ टैगोरका कविता, जो सुन्दर ‘क्लासिकल’ बंगाली बोल्थिन् । बंगाली गीत गाउँथिन् । ‘बंगाली संस्कृतिको केही प्रभाव छ मसँग, आमाबाट पाएको,’ केदारभक्त भन्छन् ।
काठमाडौँ — आफ्ना स्मृतिहरूका संग्रहालय खोतल्दा केदारभक्त माथेमाको मस्तिष्कमा आमा वृन्दादेवीको श्यामश्वेत ‘पोट्रेट’ चल्मलाउँछ । आफ्नै सुरमा उनी सुदूर अतीततिर चियाउँछन्, जहाँ ठूलाबा धर्मभक्त माथेमा, पिता ध्रुवभक्त माथेमाको प्रदीप्त अनुहार प्रकट हुन्छ । त्यो मुहार झन् उज्यालो हुँदै आउँछ । धर्मभक्त, ध्रुवभक्त र वृन्दादेवीका यादहरूका ‘फुटेज’ले केदारभक्तको अनुहारमा सन्तोषको वसन्त पलाउँछ ।
उबेला हाम्रा लागि किंवदन्ती बनेका दन्त्यकथाका पात्रजस्तै थिए– धर्मभक्त । सानै छँदा शिक्षकबाट धर्मभक्त माथेमाबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो । धर्मभक्त कुनै प्रिय उपन्यासको आवरणजस्तै सम्झनाको पानामा सजिएर बसेका थिए । जीवनको कुहिरोमा हराइबस्दा आत्मज्ञानको आकाशमा मधुरो तारा झुल्केझैं हृदयको पर्दामा धर्मभक्तको तस्बिर देखापर्थ्यो । ‘...अनि धर्मभक्त माथेमालाई जेलबाहिर निकालियो, रातको १० बजे डिल्लीबजार हुँदै ज्ञानेश्वर लगियो– लहरीमा राखेर । उनको आँखामा पट्टी बाँधिएको थियो ।... उनलाई फाँसी दिन झुन्ड्याएको रूखको हाँगो भाँच्चियो ।...अन्ततः फाँसीको डोरी उनको घाँटीमा लगाई तेस्रो पटकमा उनलाई झुन्ड्याइयो ।’ यसरी उनी थिए– हाम्रा मनका हिरो ।
केदारभक्तका पनि हिरो थिए– धर्मभक्त, जसको किस्सा–कथा उनले आमा वृन्दादेवीबाट खुब सुने । बौद्धिक समाजका ‘हिरो’, प्राध्यापक, शिक्षाविद्, कूटनीतिज्ञ– केदारभक्त माथेमाका सम्झनामा छन्– आमा वृन्दादेवीका रोचक स्मृति । केदारभक्तका ठूलाबा धर्मभक्त माथेमालाई ‘राजद्रोह’ को आरोपमा १९९७ सालमा राणाहरूले मृत्युदण्ड दिएपछि माथेमाको सम्पूर्ण परिवार भारत बस्नुपर्यो निर्वासनमा । ती धर्मभक्त, जो प्रिय सहिद भएर नेपाली हृदयमा सानदार बसेकै छन् ।
केदारभक्त माथेमाकी आमा वृन्दादेवी ।
ललितपुर सानेपास्थित निवासमा आमा वृन्दादेवी माथेमा (१९७९–२०४९) को सम्झना–भूगोलमा यात्रा गरिरहेका छन्– केदारभक्त । धर्मभक्तको असली प्रशंसक थिइन् उनी, जो ‘सहिद परिवारका सदस्य हौं’ भन्नेमा अत्यन्तै गौरव–बोध गर्थिन् । उनी थिइन् शिक्षक, जो कुनैबेला धर्मभक्तले खोलेको स्कुल पढाउँथिन् । धर्मभक्त–फाँसीकाण्ड अघिको सुदूर समयतिर एक पटक चियाइहेरौं । प्रधानमन्त्री जुद्धशमशेरको स्वीकृतिपछि आफ्नै टोलका नानीहरू पढाउन धर्मभक्त माथेमाले एक स्कुल खोलेका थिए– ओमबहाल टोलमा जिमखानासँगै ।
२५ जना विद्यार्थी थिए, तिनमा ८ जना छात्राहरू । विद्यार्थीहरूलाई प्रत्येक बिहान ८ बजेदेखि नेपाली वर्णमाला, नैतिक शिक्षा, स्वास्थ्य शिक्षा र शारीरिक व्यायाम सिकाइन्थ्यो । धर्मभक्तलाई राणाहरूको आदेश थियो, ‘नानीहरूलाई पढाउने भए पढाऊ तर, याद गर स्कुलको साइनबोर्ड र नाम राख्न पाउँदैनौं, अनि विद्यार्थीको युनिफर्म पनि राख्न पाउँदैनौं । र, मुख्य कुरा त केटाकेटीलाई एकीकृत बनाएर सडकमा ल्याउन पनि पाउँदैनौं ।’ त्यस स्कुलका शिक्षक थिए– दशरथ चन्द, ध्रुवभक्त, धर्मभक्त । धर्मभक्तचाहिँ शारीरिक व्यायाम सिकाउँथे, जो थिए– राजा त्रिभुवनका व्यायाम शिक्षक अर्थात् दरबारका खरिदार ।
त्यो विद्यालयमा सिलाइ–बुनाइ पनि पढाइ हुन्थ्यो । सिलाइ–बुनाइ पढाउँथे केदारभक्तकी आमा वृन्दादेवी र उनकी बहिनी कुसुमकुमारीले । वृन्दादेवी सामाजिक शिक्षा र नेपाली पनि पढाउँथिन्, जो उबेला सामान्य साक्षर थिइन्, कलकत्ताको एउटा मिसन स्कुलमा केही समय पढेकी थिइन् । धर्मभक्तको त्यो विद्यालय डेढ वर्षसम्म प्रभावकारी रूपमा सञ्चालन भयो । धर्मभक्त विद्यार्थीका अभिभावकलाई भन्थे– राणाहरूले सर्वसाधारण जनताका छोराछोरीलाई पढ्न दिँदैनन्, भारतबाट पढेर आएकालाई पनि जागिर खान राणाहरूको चाकरी गर्नुपर्छ ।’ यसरी राणाविरुद्धको चेतनाको झिल्को रोपिरहेका थिए धर्मभक्तले ।
बेलाबेला ‘ब्ल्याक एन्ड ह्वाइट’ पुराना दिनका सम्झनाले असाध्यै घोरिन्छन्– केदारभक्त । आमा वृन्दादेवीको छटपटी, उकुसमुकुस, पीडा, हाँसोका साक्षी हुन् उनी । वृन्दादेवी बेलाबेला केदारभक्तसमक्ष आफ्ना यादका सन्दुकबाट झिकेर केही यादहरू सुनाइबस्थिन् । जस्तो धर्मभक्तको एउटा घडीको कथा वृन्दादेवीले सुनाएकी थिइन् । वृन्दादेवीलाई धर्मभक्त माथेमाले एउटा चेन–घडी दिँदै भनेका थिए, ‘दुलही, यो घडी जतनले राखिदिनु है !’ तर, त्यो घडी लिन उनी कहिल्यै आएनन्, महाप्रस्थानमा गए ।
मृत्युदण्डपछि सधैं वृन्दादेवीको सपनामा धर्मभक्त लगातार आइरहे । र, उनलाई सोधिरहे, ‘दुलही ! मेरो त्यो घडी खोइ हँ ? घडीको अवस्था ठीक छ ? समय ठीक छ अहिले ?’ सपना ‘रिकरिङ ड्रिम’ कै तहमा दोहोरिन थालेपछि वृन्दादेवीले पीडा–अनुभूतिमै त्यो घडी कसैलाई दान दिइन् । घडी दान दिएपछि आफ्नो प्रिय घडीबारे सोध्न वृन्दादेवीको सपनामा धर्मभक्त कहिल्यै आएनन् ।
***
राणा दरबारका एक बफादार सदस्य थिए- केदारभक्तका जिजुबुबा भागवतभक्त । काजी भागवतभक्तका चार छोराहरू (वेदभक्त, आदिभक्त, हंसभक्त, लीलाभक्त) थिए । प्रधानमन्त्री वीरशमशेरले भागवतभक्तका छोरा आदिभक्तलाई गर्भमा रहेदेखि नै लागू हुने गरी ‘सुब्बा’ दर्जा र सोहीबमोजिम खान्गी दिएका थिए । उनै आदिभक्तका छोरा हुन्– धर्मभक्त र ध्रुवभक्त । वीरशमशेरको मृत्युपछि प्रधानमन्त्री चन्द्रशमशेरको कुदृष्टि पर्यो आदिभक्तमा । आदिभक्तका पिता भागवतभक्त थिए– ‘वीरशमशेरका मान्छे’ । त्यसैले आदिभक्त चन्द्रशमशेरको कोपभाजनमा परे । र, त्यसपछि उनी भारत, कलकत्ता पुगे । उबेला भनिन्थ्यो– आज कलकत्ताले जे विचार गर्छ, भोलिपल्ट मात्रै भारतका अन्य स्थानले त्यो पछ्याउँछ ।
आदिभक्तलाई चन्द्रशमशेरले व्यापारका लागि ३ लाख ऋण दिएका थिए, ऋण तिर्न नसकेपछि उनी मुग्लान पस्नुपर्यो, कलकत्तापछि भारतको आसाम–क्षेत्र डोमनिखुटीमा जंगल फडानी गरेर सुकुम्बासीका रूपमा रहनुपर्यो । यस्तो बेला पनि विचलित नहुनु उनको असल चरित्र थियो । केदारभक्त भन्छन्, ‘हजुरबाको त्यो जुनी र उनको उकालीओरालीमाथि कुनै आख्यानकारले भव्य उपन्यास लेख्न सक्छ ।’ १९७१ सालमा काठमाडौं, यङ्गाल टोलमा जन्मेका ध्रुवभक्तको जीवन पनि घामछायामय छ । पिता आदिभक्तको पछिपछि डोमनीखुटीबाट कलकत्ता पुगेर धुव्रभक्तले प्रमोद मेमोरियल स्कुल पढे । र, पिताको व्यापारमा सघाए । उनको पढाइ १० कक्षामै अड्कियो ।
ध्रुवभक्त कलकत्तामै छँदा दोस्रो विश्वयुद्ध भएको थियो । जापानीहरू बर्मामा आक्रमण गरी अंग्रेज सैनिकलाई लखेट्दै थिए । कलकत्ताका बासिन्दा पनि सहर छोडेर भागिरहेका थिए । ‘सन्दर्भ सहिद धर्मभक्त, चर्चा भाइ ध्रुवभक्त’ किताबमा भवेश्वर पंगेनीले लेखेका छन्, ‘कलकत्ता निर्जन बन्दै थियो, साँझ अँध्यारो नहुँदै कलकत्ता सहरमा स्याल कराउन थालेको दृश्य आफूले देखेको ध्रुवभक्त सुनाइरहन्थे । कलकत्ता बसिरहे जुनैबेला मारिइन सकिन्छ भन्ने डरले सामान यताउता थन्क्याएर ध्रुवभक्त परिवार कालिम्पोङतर्फ लागेका हुन् ।’ यसरी उनको परिवार कालिम्पोङ पुग्यो ।
कलकत्ता रहेकै बेला ध्रुवभक्तको विवाहको कुरा चलेको थियो । भाइको विवाहका लागि काठमाडौंबाट धर्मभक्त पनि कालिम्पोङ पुगेका थिए । १९९२ सालमा कालिम्पोङमा उनको विवाह भयो, वृन्दादेवी प्रधानसँग । विवाहमा राजा त्रिभुवनले धर्मभक्तका हातमा तासको वेस्ट कोट, रेसमको लवेदा सुरुवाल र अन्य उपहार पठाएका थिए । वृन्दादेवीको पुर्खा भक्तपुरबाट सिक्किम पुगेको थियो । सिक्किममै जन्मिएकी वृन्दादेवीको भेट ध्रुवभक्तसँग कालिम्पोङमा भएको थियो । सिक्किममै बित्यो वृन्दादेवीको बाल्यकाल । उनका बुबा–बाजेहरू जमिनदार थिए सिक्कमका । तिनीहरूको व्यापार थियो, जसलाई सिक्किमका राजाले सिक्का बनाउने अधिकार पनि दिएका थिए । त्यसैले वृन्दादेवीको परिवार ‘टक्सारी’ थियो । वृन्दादेवीका पिता तुलसीदास प्रधान त्यहाँका ‘राइसाहेब’ थिए । त्यो एक ठूलो पदवी थियो, केही अधिकारसहितको । विवाहपछि केदारभक्तका माता–पिता (वृन्दादेवी र ध्रुवभक्त) ले कालिम्पोङ र कलकत्तामा जीविका चलाए । केदारभक्त माथेमा कालिम्पोङमै जन्मिए– २००० मा ।
‘हुर्किंदा हामी वनबासको स्थितिमा थियौं कालिम्पोङमा,’ केदारभक्तलाई लाग्छ । भन्छन्, ‘कलकत्तामा व्यापार घाटा भएपछि हाम्रो परिवार सधैंका लागि कालिम्पोङ सर्यो ।’ केदारभक्तका मावली थिए– कालिम्पोङको प्रतिष्ठित प्रधान परिवार । वृन्दादेवीका दाजु मदनकुमार प्रधान जमिनदार थिए, वकिल पनि । ‘उहाँले नै हामीलाई त्यहाँ बस्ने बास दिनुभयो । त्यो दुःखको बेला थियो हाम्रो,’ केदारभक्त सम्झिन्छन् ।
यसो बेलाबेला तिब्बतको व्यापारलाई सहयोग गर्नुबाहेक कालिम्पोङमा ध्रुवभक्तको राम्रो जागिर थिएन । थोरै कमाइले उनको परिवारको जीविकोपार्जन हुन्थ्यो, नेपालमा सबै सम्पत्ति सर्वस्वहरणमा परिसकेको थियो । केदारभक्त स्कटिस युनियन मिसन स्कुलमा पढ्थे । उनको सम्झनामा कालिम्पोङ छँदा पनि वा नेपाल आएपछि पनि पिता ध्रुवभक्त कलकत्ता आइजाइ गरिरहन्थे, त्यसैले वृन्दादेवीले नै पूरै घर चलाउँथिन् । ‘कालिम्पोङमा पूरै परिवार आमाले सम्हाल्नुपरेको थियो– सिलाइबुनाइ गरेर,’ केदारभक्त भन्छन्, ‘मुवालाई कालिम्पोङमा निक्कै नै गाह्रो थियो ।’
२०१० सालमा काठमाडौं आएको थियो– केदारभक्तको परिवार । कालिम्पोङबाट रक्सौलसम्म रेलमा, त्यसपछि चन्द्रागिरिको बाटो तामदानमा । केदारभक्तको स्मृतिमा त्यो दृश्य ताजै छ । ‘दिदी र मलाई भरियाहरूले दुईतिर तामदानमा बोकेर काठमाडौं ल्याएका थिए । यो हिलारी र तेन्जिङले सगरमाथा चढेपछिको कुरा हो, सगरमाथा विजयपछि उनीहरू विजित मुद्रामा कालिम्पोङ पुगेको मलाई सम्झना छ,’ केदारभक्त भन्छन्, ‘राणाकालपछि अब देश फर्के हुन्छ, सुरक्षित छ भनेर मात्रै फर्केका हामी ।’ नेपाल फिर्दा केदारभक्त ९ वर्षका थिए । पुर्ख्यौली घर थियो, जोरगणेश लगनमा, तर नेपाल आएपछि उनको परिवार त्यता गएन, सानेपामा बस्यो । केदारभक्तको यादमा उबेलाको सानेपा यस्तो छ, ‘त्योबेला त सानेपाबाट बल्खुसम्म पूरै धानबारी मात्रै थियो, पूरै पहेंलपुर ।’ काठमाडौंको विश्व निकेतन स्कुल पढेका केदारभक्तले २०१५ सालमा एसएलसी पास गरे, आईएमा अर्थशास्त्र, बीएमा राजनीतिशास्त्र पढे, मास्टर्स अंग्रेजी साहित्य । र, एमए पासपछि उनी कलेज पढाउन थाले ।
***
वृन्दादेवीका ५ सन्तान थिए– तीन छोरा, दुई छोरी । धर्मभक्त माथेमाकी छोरी रेणुको सम्पूर्ण लालनपालन गरेकी थिइन्– वृन्दादेवीले, रेणुकी आमाको मृत्युपछि । रेणुले पछि ललितपुरको नख्खुमा पिताकै नाममा विद्यालय स्थापना गरेकी थिइन्– सहिद धर्मभक्त विद्यालय । गृहविज्ञानमा स्नातक उनले संस्थापक प्रिन्सिपलका रूपमा त्यस विद्यालयमा २८ वर्षसम्म काम गरिन् । वृन्दादेवीले छोराछोरीलाई प्रत्येक दिन भन्ने एउटै कुरा थियो– ‘राम्रोसँग पढ है, हामी तिमीहरूलाई केही पनि छाडेर जान सक्दैनौं, नपढी जिन्दगी सप्रिँदैन नि, तिमीहरूको काम पढ्ने मात्रै हो, पढेर योग्य बन्नुबाहेक त जीवनको अर्को कुनै उपाय नै छैन ।’ उनको एकबुँदे रटान थियो– विद्यार्थीको पहिलो काम हो पढ्नु, दोस्रो काम हो पढ्नु र तेस्रो काम हो– पढ्नु । त्यसैले केदारभक्तहरूले केवल पढिरहे, पढिरहे र पढिरहे ।
तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर
‘हामीले पढिरहेको मात्रै देखेर बुबा कहिलेकाहीं किताबै फालिदिनुहुन्थ्यो । भन्नुहुन्थ्यो– कति पढेको तिमेरु ? तर, हामी हाम्री प्यारी मुवाँले भनेको मान्थ्यौं । त्यसैले जुनैबेला पढेको पढ्यै मात्रै गर्थ्यौं । मुवाँको कुरा कसरी नमान्नु ? मुवाँ नै हो, जसले हामीलाई परिश्रम गर्न सिकाउनुभयो,’ केदारभक्त भन्छन् । उनलाई आमाकै प्रेरणा–परिणाम लाग्छ– तीनैजना दाजुभाइ र दुई दिदीबहिनीले उच्चशिक्षा पछि सफल पेसागत जीवन बिताउनुमा । २३ वर्षकै उमेरमा त्रिचन्द्र कलेज पढाएका केदारभक्त २०४६ सालमा पञ्चायत ढलेर बहुदलीय व्यवस्था पुनर्बहालीपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति भए, पछि जापानका निम्ति राजदूत । ‘मैले जे जति प्राप्त गरें, त्यो सबै आमाकै देन न हो,’ केदारभक्त भन्छन् ।
वृन्दादेवी पनि जुनबेलै पढिरहन्थिन्– हिन्दी, नेपाली उपन्यास, प्रेमचन्दका कथा, रवीन्द्रनाथ टैगोरका कविता, जो सुन्दर ‘क्लासिकल’ बंगाली बोल्थिन् । बंगाली गीत गाउँथिन् । ‘बंगाली संस्कृतिको केही प्रभाव छ मसँग, आमाबाट पाएको,’ केदारभक्त भन्छन् । केदारभक्तको मनमा आमाको एउटै स्मृति गाढा छ– रातिसम्म प्रेमचन्दका किताब पढिरहेकी र लगातार खोकिरहेकी आमा । वृन्दादेवी भनिरहन्थिन् नानीहरूलाई– ‘लोभचाहिँ नगर है बाबु हो ।’ आमाको सुझाव केदारको मनमै बस्यो– पैसा कमाउनु मात्रै ठूलो चिज होइनरहेछ । ‘हामी आफ्नै खुट्टामा उभिनुपर्छ, अरूसँग माग्ने कहिल्यै हुनुहुँदैन भन्नुहुन्थ्यो । आमाकै मार्गनिर्देशमै चलेका छौं अहिलेसम्म,’ केदारभक्त भन्छन् ।
***
कालिम्पोङबाट नेपाल फिरेको लामो समयसम्म पनि ध्रुवभक्तले जागिर नपाएकाले उनी निकै आत्तिएका थिए । पछि उनले यूएस सरकारको प्रोजेक्टमा काम गरे– अहिलेको यूएसएआईडी, उबेलाको यूएसओएम । त्यसबेला बुबाले पाएको ४ सय आईसी तलबले आफ्नो परिवार सुखले हुर्किएको बोध छ केदारभक्तलाई । ध्रुवभक्त बरोबर केदारभक्तसँग भनिरहन्थे– कलकत्तामा टाइप गरेर, कस्मेटिक्स बेचेर पनि पैसा जुटाउँथे म । उनले बंगाली फिल्म र नाटकमा पनि खेल्ने प्रयास गरेका रहेछन् । ‘कलकत्तामा हाम्रा ठुल्ठूला कोठी–घर थिए, सबै चौपट भयो व्यापार डुबेपछि । त्यसैले पनि धेरै पढ्न चाहिँ सक्नुभएन बुबाले, तर निक्कै राम्रोसँग अंग्रेजी लेख्न–पढ्न जान्नुहुन्थ्यो,’ केदारभक्त भन्छन् ।
असाध्यै धार्मिक थिइन् वृन्दादेवी, जो मंगलबार, आइतबार र बिहीबार व्रत बस्थिन् । साँझ बत्ती बलेपछि ससुरालाई ढोग्न जान्थिन्, जीवनमै माछामासु खाइनन्, सधैं चिटिक्क–सफासुग्घर भएर बस्थिन्, निधारमा सधैं टीका हुन्थ्यो । कृष्णको भक्त उनी पूजाकोठामा लामो समय बिताउँथिन्, भजन गाउँथिन् । छोराछोरीलाई नैतिक कथाहरू सुनाउँथिन् । हिन्दु धर्म मान्ने वृन्दादेवी जति धार्मिक थिइन्, त्यति कट्टर चाहिँ थिइनन् । एउटा घटना स्मरण गर्छन् केदारभक्त । उनका प्रिय साथी थिए– अब्दुल, जो मुसलमान थिए । केदारभक्तले एक दिन आमासँग डरैडरमा सोधे, ‘मुवाँ म उसलाई घर ल्याउँ ?’ उनले ‘भइहाल्छ नि लिएर आउ न’ भन्नुभयो । अब्दुल घर आएपछि उनले निकै सम्मानित व्यवहार गरिन्– पुरी तरकारी खुवाएर पठाइन् । ‘मुवाँ कसरी यति उदार ?’ केदारभक्तको प्रश्नमा वृन्दादेवीको उत्तर थियो, ‘ईश्वर एउटै हो । सबैलाई सम्मानित व्यवहार गर्नुपर्छ ।’
केदारभक्तलाई लाग्छ, उनकी मुवाँ शुक्रराज शास्त्रीको आर्यसमाजी विचारलाई पछ्याउँथिन्, त्यसैले फराकिलो सोच्थिन् । ‘धर्मभक्त र शुक्रराजको सत्सङले पनि एकखाले विशिष्ट चेतना दिएको थियो कि मुवाँलाई ?’ भन्ने सोच्छन् केदारभक्त । पिता ध्रुवभक्तले कुनै विषयमा छोराछोरीलाई गाली गरे वृन्दादेवी छोराछोरीकै पक्षमा उभिन्थिन् । त्यसैले बुबासँग छोराछोरी डराउँथे, मुवाँसँग निकै घनिष्ठ थिए । केदारभक्तलाई मुवाँले गाली गरेको कुनै पनि सम्झना छैन ।
एसएसली तयारीका बेला बिहान ४ बजे ब्युँझन्थे केदारभक्त, वृन्दादेवी पनि चारै ब्युँझेर छोराका लागि हर्लिक्स बनाइदिन्थिन् । वृन्दादेवी चाहन्थिन्– छोरा असल शिक्षक बनोस् । केदारभक्तले किताब किनेर घर ल्याउँदा दंग पर्थिन् । ‘हाम्रो चरित्र, बानी–व्यवहार बुबाबाट भन्दा आमाबाटै निर्माण भएको हो,’ केदारभक्त भन्छन्, ‘मुवाँ अशक्तलाई सधैं सहयोग गर्नुहुन्थ्यो । आमाबाट हामीले सिक्यौं– पैसाको पछि नलाग, विद्वता प्राप्तिमा लाग र सरल जीवन बिताऊ । जीवनको उत्तरार्द्धमा खुसी हुनुहुन्थ्यो– छोराछोरीले निकै पढेकोमा ।’
***
कलकत्ता बस्दा ध्रुवभक्त दशरथ चन्दलाई अखबारमा लेख्न सघाउँथे । कलकत्तामा बसेका नेपाली विद्यार्थीदेखि व्यवसायीसम्मलाई निगरानी राख्न राणाहरूले आफ्नै दूत खटाएका हुन्थे । दशरथ चन्दका लेखहरू प्रकाशित भएका अखबार खरिद गरी निवासमा ल्याउने र नेपाल पठाइदिने काम थियो वृन्दादेवीको । ‘नेपालसम्बन्धी कुनै समाचार छापियो भने आमा त्यो किन्नुहुन्थ्यो र तिनलाई नेपाल पठाउनुहुन्थ्यो धर्मभक्त, शुक्रराज, दशरथ, गंगालालका लागि । अनेक कथा–किस्सा सुनाइरहनुहुन्थ्यो उहाँहरूसँग जोडिएका,’ केदारभक्त भन्छन् ।
कालिम्पोङको वृन्दादेवी–ध्रुवभक्त निवासमा बालचन्द्र शर्मा, बीपी, लक्ष्मीप्रसाद देवकोटा, गणेशमान सिंह बरोबर आउजाउ गर्थे । वृन्दादेवी उनीहरूका लागि खाना पकाउँथिन् । वृन्दादेवी सुनाइरहन्थिन् केदारभक्तलाई– देवकोटा जुनैबेला चुरोट तानिरहेका हुन्थे, कागज माग्थे–केही लेख्थे र फुत्त–फुत्त फलिदिन्थे । पछिसम्म उनलाई थकथक लागिरह्यो– त्यो कागज जोगाउन पाएको भए ! कविता असाध्यै पढ्ने केदारभक्तलाई ‘आमा’ विषयमा लेखिएका कविताहरूमा कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ अत्यन्तै प्रिय छ । भन्छन्, ‘हामीले केटाकेटीलाई दिनुपर्ने ठूलो कुरा आशा हो, जस्तो त्यो कविताले दिएको छ ।’ उनलाई लाग्छ, त्यस कविताले झैं उनकी आमाले पनि छोराछोरीलाई सधैं आशा भरिदिइन् ।
आमा केदारभक्तलाई भनिरहन्थिन्, कोही पनि वनबास बस्नु नपरोस् । भन्थिन्– ‘वनबास बस्नुपरेपछि हामीले धेरै कुरा गुमायौं बाबु ! बाबुबाजेका पुराना कागजपत्र गुमायौं, हाम्रो पहिचान नै गुमायौं !’
प्रकाशित : श्रावण २२, २०८१ १०:५३