विश्वभरका समीक्षकहरूले साझा धारणा छ, ‘यो फिल्म मोबाइल वा ल्यापटपको स्क्रिनमा होइन, सिधै थिएटरको ठूलो पर्दा मै गएर अनुभव गर्नैपर्ने फिल्म हो ।’
काठमाडौँ — हजारौं वर्ष पुरानो कवि होमरको ग्रीक महाकाव्यलाई आधुनिक फिल्मको पर्दामा उतार्नु आफैंमा एउटा ठूलो चुनौती थियो । तर जब यसको कमान्ड निर्देशक क्रिस्टोफर नोलनले सम्हाले, तब यो केवल एउटा फिल्म मात्र रहेन, विश्वव्यापी महोत्सव नै बन्यो । म्याट डेमन र टम हल्यान्ड स्टारर ‘द ओडिसी’ ले यतिबेला विश्वभरका फिल्म हल र सञ्चारमाध्यमहरूमा ठूलो तरंग पैदा गरिदिएको छ ।
ट्रोजन युद्ध जितेर आफ्नो गृहराज्य इथाका फर्किने क्रममा राजा ओडिसियस (म्याट डेमन) ले समुद्रमा भोगेका भयानक १० वर्षे संघर्ष, दैत्यहरूसँगको टकराव र घरमा उनको पर्खाइमा बसेकी पत्नी पेनेलोपीको कथालाई फिल्मले मुख्य विषय बनाएको छ ।
फिल्मले पुस्तौंदेखिको युद्धपछिको मानसिक आघात (पीटीएसडी) को पीडालाई बोल्छ । कुनै पनि युद्धपछि धेरै सिपाहीहरू भौतिक रूपमा त चाँडै नै घर फर्कन्छन्, तर युद्धअघिको आफ्नो भावनात्मक वा आध्यात्मिक अवस्थामा फर्कन उनीहरूलाई वर्षौं वा दशकौं लाग्न सक्छ, र कतिपय त कहिल्यै फर्कनै सक्दैनन् ।
यता घरमा भने, ओडिसियसको सम्भावित मृत्युपछि सिर्जना हुन सक्ने शक्ति रिक्ततालाई टार्नका लागि पत्नि पेनेलोपी बाध्य भएर दर्जनौं सम्भावित विवाहका आकांक्षीलाई अतिथिका रूपमा राख्न विवश छिन् । जहाँ लोभ र वासनाको अपमानजनक भोज चलिरहन्छ । ती आकांक्षीहरूमध्ये सबैभन्दा प्रमुख क्रूर एन्टिनस हो, जसको भूमिका रोबर्ट प्याटिन्सनले बडो चलाखीपूर्ण र घिनलाग्दो रूपमा निभाएका छन् । उसले ओडिसियसका दृष्टिविहीन नोकर युमाउस (जोन लेगुइजामोद्वारा अभिनित एक भावनात्मक र सहानुभूतिपूर्ण चरित्र) माथि क्रूरता देखाउँछ । ओडिसियसका मानसिक रूपमा विक्षिप्त छोरा टेलिमेकस (टम हल्यान्ड) अब आफ्ना पिता वा पिताको शव खोज्न आफ्नै ओडिसी (यात्रा) मा निस्कन बाध्य हुन्छन् ।
जब ओडिसियस मृत आत्माहरूसँग कुरा गर्न पाताल लोकमा ओर्लनुपर्ने हुन्छ । त्यो दृश्य अविस्मरणीय रूपमा अनौठो छ, नोलनले कात्रो ओढेका आत्माहरूलाई म्याकबेथका बोक्सीहरू जस्तै जमिनमा झुकेर बसेको देखाएका छन् । मृत आत्माहरूलाई, देवताहरूलाई जस्तै, लगभग समान धरातलमा सम्पर्क गर्न सकिन्छ । यो ओडिसीको विचित्र पगान नियम हो, जुन मानसिक सन्तुलन बिग्रँदा देखिने धर्मनिरपेक्ष लक्षणहरू जत्तिकै अस्पष्ट र अनैतिक छ ।
तर जब ओडिसियस अन्ततः पेनेलोपीको घर नजिक पुग्छन्— जुन घर अहिले विवाहका आकांक्षीहरूको क्रूर घेराबन्दीमा छ (जुन ट्रोयको घेराबन्दी जस्तै देखिन्छ)—उनी इसाई धर्मको क्राइस्ट जस्तै जोगीको भेषमा प्रवेश गर्छन् । यस कथाको अन्तिम चरणमा, ओडिसियसको ईश्वरमा परिणत हुने आफ्नै रहस्यमय रूपान्तरण (मेटामर्फिसस) सुरु हुन्छ ।
बेलायतको प्रतिष्ठित अखबार ‘द गार्डियन’ का मुख्य फिल्म समीक्षक पिटर ब्राड्सले यस फिल्मलाई पाँचमा चार ‘स्टार रेटिंग’ दिंदै यसलाई ‘दृश्य भाषाको नयाँ उचाई’ भनेका छन् । गार्डियनका अनुसार नोलनले पूर्ण रूपमा आईम्याक्स ७० एमएम क्यामेरामा पूर्णरूपमा खिचेको यो फिल्मले दर्शकलाई हलको सिटमा नभई सिधै एसियन सागरको बीचमा पुर्याउँछ । आँधीबेहरीले उथलपुथल पारेको समुद्र र समुद्रका देवता पोसाइडनको क्रोधलाई नोलनले कम्प्युटर जेनेरेटेड इफेक्ट्स (सीजीआई) भन्दा बढी वास्तविक र प्रयोगात्मक इफेक्ट्सबाट देखाउन सफल भएका छन् ।
पिटर ब्राड्सले नोलनको एउटा पुरानो कमजोरी औंल्याउँदै लेखेका छन्, ‘नोलनका पुराना फिल्महरू जस्तै ‘द ओडिसी’ पनि प्राविधिक रूपमा त्रुटिहीन छ, तर भावनात्मक रूपमा अलि फिक्का र चिसोपनको महसुस हुन्छ । दर्शकहरू ओडिसियसको विछोडको पीडामा भावुक हुनुभन्दा बढी पर्दाको भव्यता र नोलनको मेकिङ कौशल देखेर बढि आश्चर्य चकित हुन्छन् ।’
चिसोपना वा भावनाशून्य शैली नोलनका फिल्मका विशेषता हुन् । समीक्षकहरूले उनको फिल्ममा देखिने निकै सोच–विचार गरेर बुनिएको, गणितीय रूपमा सटिक तर भावनात्मक रूपमा अलिकति टाढा महसुस हुने कलात्मक ढाँचालाई नै नोलानको चिसोपनाको शैली भनी अर्थ्याउँछन् । ‘मेमेन्टो’, ‘इन्सेप्सन’ देखि लिएर ‘टेनेट’ र ‘ओपनहाइमर’ सम्मका नोलनका फिल्महरूलाई दर्शकहरू अक्सर बौद्धिक, मानवरहित वा अलि कठोर मान्ने गर्छन् । तर यो ‘चिसोपना’ उनको कमजोरी नभई जानबुझ गरिएको उपाय हो । दृश्यका हिसाबले नोलनले आफ्ना फिल्ममा धेरै उज्यालो वा ‘वार्म’ दृश्य राख्दैनन् ।
त्यसैगरी, खस्रो र फिक्का रङहरू प्रयोग गर्न बढि रुचाउँछन् । न उनका फिल्महरूमा गाढा वा चम्किला रङहरू नै प्रशस्त हुन्छन् । यसको सट्टा गाढा खरानी, कोइला जस्तो कालो र फिक्का रङहरूले प्राथमिकता पाउँछन् ।
नोलनलाई आधुनिक, अग्ला र ठूलाठूला भवनहरूको वास्तुकला निकै मन पर्छ । ‘इन्सेप्सन’ का सिसाका महलहरू वा ‘टेनेट’ का कङ्क्रिटयुक्त संरचनाहरूले पात्रलाई यो विशाल संसारमा एकदमै एक्लो र सानो देखाउन मद्दत गर्छन् ।
नोलन आफ्ना फिल्ममा कथाको बनोटलाई निकै महत्व दिन्छन् । उनका मुख्य
पात्रहरू प्रायः कुनै न कुनै पीडा वा पागलपनमा डुबेका पुरुषहरू हुन्छन् । ‘इन्सेप्सन’ को कब वा ‘मेमेन्टो’ को लियोनार्ड यसका उदाहरण हुन् । तिनीहरू भावनात्मक संवाद भन्दा बढी वैज्ञानिक वा प्राविधिक कुराहरू व्याख्या गर्न व्यस्त देखिन्छन् ।
नोलनले फ्रेममा मानिसहरूको भिडभाड वा धेरै नजिकका भावनात्मक दृश्यहरू कमै राख्छन् । उनी एउटा पात्रको अनुहारलाई मात्र फोकस गरेर खिच्छन्, जसले गर्दा दर्शकले उसको बाहिरी सम्बन्ध भन्दा पनि उसको दिमाग भित्र चलिरहेको जटिल मनोविज्ञानलाई बुझोस् ।
आलोचकहरू नोलनका फिल्महरूलाई भावना नभएको ‘कम्प्युटरको हिसाब’ जस्तो पनि भन्छन् । तर उनका प्रशंसकहरू चाहिँ नोलनको भावना व्यक्त गर्ने तरिका अलि फरक र गम्भीर भएको दाबी गर्छन् । नोलनको संसारका कठोर नियमहरू (जस्तै ‘इन्टरस्टेलर’ मा समयको फरक गति वा ‘इन्सेप्सन’ मा सपनाका नियमहरू) वास्तवमा मानिसको माया र सम्बन्धको परीक्षा लिनका लागि बनाइएका हुन् ।
ब्ल्याक होलको भौतिक नियमका कारण एउटा बुबाले आफ्नी छोरीको जीवनका महत्वपूर्ण वर्षहरू गुमाउनु पर्दाको पीडा अझ बढी शक्तिशाली महसुस हुन्छ, किनभने उनको वरिपरिको ब्रहृमाण्ड एकदमै निष्ठुरी र चिसो छ ।
अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ ले फिल्मको कथावस्तु र दार्शनिक पक्षलाई बढी जोड दिंदै यसलाई ‘एक साहसिक र बौद्धिक कलाकृति’ को संज्ञा दिएको छ । टाइम्सका समीक्षकले म्याट डेमनको अभिनयको प्रशंसा गर्दै लेखेका छन्, ‘डेमनले ओडिसियसलाई जाज्वल्य वा घमण्डी पौराणिक राजाको रूपमा मात्र प्रस्तुत गरेका छैनन्, उनले त युद्धबाट मानसिक रूपमा क्षतविक्षत भएको, आफ्ना साथीहरू गुमाएको र अपराधवोधले थिचिएको एउटा आधुनिक सिपाहीको रूपमा अभिनय गरेका छन् ।’
न्युयोर्क टाइम्सका अनुसार यो फिल्म केवल दैत्य र राक्षससँग लडेको कथा मात्र होइन, यो त आफ्नो पहिचान खोज्दै घर फर्किन तडपिएको मानिसको मनोवैज्ञानिक यात्रा हो । पिता बिना हुर्किएको छोरा टेलिमकसको भूमिकामा टम हल्यान्डको अभिनयले फिल्मलाई पारिवारिक र मानवीय संवेदनासँग जोड्न सफल भएको टाइम्सको निष्कर्ष छ ।
हलिउडको प्रतिष्ठित म्यागजिन ‘भेराइटी’ ले फिल्मको प्राविधिक टिम, विशेष गरी ध्वनि र संगीतको विधामा फिल्मलाई ‘मास्टरक्लास’ भनेको छ । भेराइटीका समीक्षक लेख्छन्, ‘अस्कर विजेता संगीतकार लुडविग गोरान्सनको पार्श्व संगीतले फिल्मलाई एउटा छुट्टै जीवन दिएको छ । प्राचीन ग्रीक बाजाहरू र आधुनिक अर्केस्ट्राको फ्युजनले जब एकआँखे दैत्य (साइक्लोप्स) को दृश्यमा प्रवेश गर्छ, तब हलभित्रको वातावरण स्तब्ध बन्छ ।’
‘भेराइटी’ ले ओडिसियसले आफ्ना मृत साथीहरू र आमाको आत्मालाई भेट्न पाताल लोकको यात्रा गरेको दृश्यलाई फिल्मको सर्वश्रेष्ठ अंश मानेको छ । मधुरो प्रकाश, छायाको उत्कृष्ट खेल र हन्टिंग साउन्ड इफेक्ट्सले त्यो दृश्यलाई दर्शकको मानसपटलमा लामो समयसम्म ताजा राख्ने ‘भेराइटी’को दाबी छ ।
‘द इन्डिपेन्डेन्ट’ ले फिल्ममा पटकथा लेखकसमेत रहेका नोलनले संवादलाई भन्दा बढी दृश्यलाई प्राथमिकता दिएको लेख्छ । ‘होमरको कवितात्मक भाषा फिल्मका लामा र व्याख्यात्मक संवादहरूमा कतै हराए जस्तो लाग्छ । दृश्यका हिसाबले ५ स्टार पाउन योग्य फिल्म, पटकथाका हिसाबले ३ स्टारमा खुम्चिन्छ’ समग्रमा ३.५ स्टार दिँदै ‘द इन्डिपेन्डेन्ट’ ले लेखेको छ ।
त्यसैगरी, ‘द टेलिग्राफ’ ले पाँचमा पाँच स्टार दिंदै भनेको छ, ‘यो हालसम्मकै सबैभन्दा महत्वाकांक्षी पौराणिक फिल्म हो । नोलनले हलिउडको परम्परागत मसला र सीजीआईको भिडियो गेम जस्तो शैलीलाई त्यागेर ‘प्रयोगात्मक इफेक्ट्स’ मार्फत पौराणिक संसारलाई वास्तविक रूपमा प्रस्तुत गरेका छन् ।’
‘स्क्रिन डेली’ मा म्याट डेमनले ओडिसियसलाई चम्किलो र त्रुटिहीन नायकको रूपमा भन्दा पनि युद्धबाट मानसिक र भावनात्मक रूपमा क्षतविक्षत भएको एउटा घाइते सिपाहीको रूपमा गज्जबले अभिनय गरेको समीक्षा गरेका छन् भने पिता बिना हुर्किएको छोरा टेलिमेकसको भूमिकामा टम हल्यान्डको अभिनय निकै मार्मिक रहेको तर्क गर्छन् ।
‘द ओडिसी’ केवल एउटा मसलेदार पौराणिक हलिउड फिल्म होइन । यो क्रिस्टोफर नोलनको महत्वाकांक्षा र प्राविधिक निपुणताको उत्कृष्ट नमुना हो । पटकथाको लम्बाइ र भावनाको कमीलाई लिएर केही समीक्षकहरूबीच मतभेद रहे पनि, यसले प्राचीन साहित्यलाई आधुनिक फिल्ममा कसरी ढाल्नुपर्छ भन्ने नयाँ मापदण्ड तय गरेको छ । विश्वभरका समीक्षकहरूले साझा धारणा छ, ‘यो फिल्म मोबाइल वा ल्यापटपको स्क्रिनमा होइन, सिधै थिएटरको ठूलो पर्दा मै गएर अनुभव गर्नैपर्ने फिल्म हो ।’
