रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘काफ्ले’ गीतबाट लिम्बूले उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पार्श्व गायिकाको अवार्ड झुमा लिम्बूले हात पारेकी छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा उनले फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ गीतबाट लिम्बूले उक्त अवार्ड प्राप्त गरेकी हुन् ।
लिम्बूसँगसँगै पार्श्व गायनतर्फ उत्कृष्ट गायिका विधामा 'धागोले बाटेको' बाट रचना रिमाल, 'कुन हावाले' बाट सलिना विक, 'युमा हजुरी' बाट सुनिता थेगिम र 'नत्र भने जिन्दगी' बाट समीक्षा अधिकारी मनोनयनमा परेका थिए ।
लिम्बू रैथाने संगीतको खोजी, अनुसन्धान र प्रवर्धनमा परिचित छिन् । नेपाली सुगम र आधुनिक गायनबाट आफ्नो यात्रा सुरु गरे पनि पछिल्लो समय उनी रैथाने संगीतको उत्खनन र संरक्षणमा लागिपरेकी छन् ।
पूर्वी नेपालको किराँत संस्कृति र मुन्धुमी दर्शनलाई आधार मानेर उनले तयार पारेको ‘साउन्ड्स अफ मुन्धुम’ जस्ता एल्बमले हाक्पारे, पालाम र ख्यालीजस्ता रैथाने गायन शैलीलाई जीवन्त बनाएका छन् । गायनमा मात्र सीमित नभई उनले ‘रैथाने संगीत अभियान’ मार्फत नेपालका विभिन्न जातजाति, भूगोल र समुदायका लोपोन्मुख लोकबाजा, गायन पद्धति र सांस्कृतिक रैथाने धुनहरूको वृत्तचित्रीकरण तथा प्रवर्धन गर्दै आएकी छन् ।
