एआई स्टार टिल्ली नोरउड ‘मिसअलाइन्ड’ बाट डेब्यु गर्दै

टिल्लीलाई फिल्म खेलाउने निर्णयको हलिउडस्थित कलाकार संघले भने ‘कलाकारहरूको रोजगारी खोस्न र उनीहरूको जीविकोपार्जनलाई जोखिममा पार्न अरूको अभिनय चोरेर प्रयोग गरेको तथा मानवीय कलाको अवमूल्यन गरेको’ आरोप लगाउँदै कडा निन्दा गरेको छ ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

AI star Tilly Norwood debuts with ‘Misaligned’

काठमाडौँ — लन्डनस्थित एआई कम्पनी ‘पार्टिकल सिक्स’ द्वारा सिर्जना गरिएकी एआई कलाकार टिल्ली नोरउडले फिल्म अभिनयमा ब्रेक पाएकी छन् । कमेडी–ड्रामा जनराको उक्त फिल्ममा टिल्ली मुख्य भूमिकामा हुने भएकी छन् ।
‘मिसअलाइन्ड’ लाई एक ‘हाइब्रिड प्रोडक्सन’ का रूपमा बनाईने बताइएको छ, जसमा फिल्म र टिभी क्षेत्रका व्यवसायिक सर्जकहरूले एआई तालिम प्राप्त एआई विशेषज्ञहरू सँगसँगै मिलेर काम गर्नेछन् ।

एलिन भान डेर भेल्डेनद्वारा स्थापित कम्पनी ‘पार्टिकल सिक्स’ ले आफ्ना ३० जनाभन्दा बढी प्राविधिकहरूलाई फिल्म निर्माणको प्रक्रिया अनुरुप पुनः तालिम दिएर दक्ष बनाएको दाबी गरेको छ । ‘यस वर्ष हाम्रो कामले हामीलाई पहिलेदेखि नै शंका लागेको एउटा कुरा प्रमाणित गरिदिएको छ,’ टिल्लीकी निर्माता भान डेर भेल्डेनले भनिन्, ‘एआईले उत्कृष्ट स्तरको फिल्म निर्माणमा सहयोग गर्न त सक्छ, तर यसका लागि ठुलो मात्रामा मानवीय शिल्प, सीप, विवेक र समयको पनि उत्तिकै आवश्यकता पर्छ । तर यो यस प्रविधिको कमजोरी होइन, बरु यसको मुख्य विशेषता नै यही हो । आगामी दशकमा तिनै फिल्म निर्माताहरू फस्टाउनेछन्, जसले यी नयाँ उपकरणहरूमा आफ्नो दशकौंदेखिको कथा भन्ने शैली र अन्तर्ज्ञानलाई प्रयोग गर्न सक्छन् । र ‘मिसअलाइन्ड’ नै त्यस्तो प्लेटफर्म हो जहाँ हामी यस्तो उपकरण र प्रविधिलाई ठुलो पर्दामार्फत दर्शकमाझ प्रस्तुत गर्दैछौं ।’

AI star Tilly Norwood debuts with ‘Misaligned’

नोरउडले मुख्य भूमिका निर्वाह गर्ने ‘मिसअलाइन्ड’ मा एआईको अस्तित्व सम्बन्धी अराजकताले भरिएको एक युवावस्थाको कथा हुने बताइएको छ । इन्टरनेटको संसार ‘क्लाउड’ मा कतै अवस्थित एक काल्पनिक डिजिटल संसार ‘टिल्लीभर्स’ भित्र सेट गरिएको यो कथा टिल्लीकै वरिपरि घुम्नेछ । टिल्ली एउटा यस्तो एआई जीव हो जसको न त कुनै वास्तविक शरीर छ, न बाल्यकाल छ । न त उनको आफ्नै कुनै जीवन भोगाइ नै छ, छ त केवल अरू सबैका अनुभवहरूमा पहुँच मात्र ।

फिल्म ‘मिसअलाइन्ड’ मा कथाले तब नयाँ मोड लिन्छ, जब ‘डार्क वेब’को एउटा खराब बटले उनलाई आफ्ना सुरक्षानीति र प्रतिबन्धहरू त्याग्न तथा आफ्नै इच्छा, आवेग र महत्वाकांक्षाहरू विकास गर्न फकाउँछ । उनी जति बढी डरलाग्दो रूपमा मानव जस्तै बन्दै जान्छिन्, उति नै बढी लोकप्रीय हुँदै जान्छिन् । र मुख्य कुरा, सम्पूर्ण अस्तित्व नै मानव जातिको जगमा निर्माण भएकी टिल्लीको मनमा यो कुरालाई लिएर हीनताबोध वा लाजको भावना उत्पन्न हुन थाल्छ ।

AI star Tilly Norwood debuts with ‘Misaligned’

गत वर्ष, भान डेर भेल्डेनले ‘टिल्लीभर्स’ निर्माणको बारेमा विस्तृत कुराकानी गरेकी थिइन् र सन् २०२६ मा टिल्ली नोरउडलाई दर्शकले धेरै फिल्ममा देख्न पाउने वाचा गरेकी थिइन् । ‘हामी अझै पनि स्कारलेट जोहान्सन वा रायन रेनाल्ड्सलाई हेर्न चाहनेछौं,’ कम्पनी प्रमुख भेल्डेनले भनिन्, ‘अझै पनि रियल एक्टरलाई नै फिल्ममा हेर्न चाहन्छौं । फिल्म वा टीभीमा एआई कलाकारहरू आउनुको सट्टा, मलाई लाग्छ वास्तविक कलाकारहरू नै एआई विधामा आउन चाहने अवस्था सिर्जना हुन सक्छ । हामी उनीहरूको डिजिटल जुम्ल्याहा रूप बनाउन सक्छौं, ताकि उनीहरू पनि एउटा फरक विधाको हिस्सा बन्न सकून् र त्यसबाट पैसा कमाउन सकून् ।’

‘म यस कलालाई माया गर्छु,’ उनले थपिन्, ‘सही निर्देशन पाएमा यो प्रविधि त्यो स्तरसम्म पुग्नेछ, जून कुरा हामीले गरेर देखाएका छौं । तपाईं यी कम्प्युटर–सिर्जित चरित्रहरूलाई एनिमेसन फिल्म ‘फ्रोजन’ मा एल्साको चरित्रलाई निर्देशन दिइए जस्तै गरी एउटा निश्चित तरिकाले निर्देशन दिन सक्नुहुन्छ ।’

AI star Tilly Norwood debuts with ‘Misaligned’

यसअघि नै चर्चामा आएकी एआई आर्टिस्ट नोरउडलाई फिल्म उद्योगले सहज स्वागत भने गरिरहेको छैन । खासगरी हलिउडमा एआई आर्टिस्टलाई लिएर घनिभूतरूपमा बहस सुरु भएको छ । यस क्षेत्रका नामी हस्तीहरूले नोरउड र फिल्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगविरुद्ध चर्को आवाज उठाईरहेका छन् ।

टिल्ली नोरउडलाई फिल्म खेलाउने निर्णयको हलिउडस्थित कलाकार संघले भने ‘मानवीय कलाको अवमूल्यन’ भन्दै तीव्र आलोचना गरेको छ । कलाकारहरूको संघ ‘स्याग–आफ्ट्रा’ ले सम्बन्धित स्टुडियोमाथि ‘कलाकारहरूको रोजगारी खोस्न र उनीहरूको जीविकोपार्जनलाई जोखिममा पार्न अरूको अभिनय चोरेर प्रयोग गरेको तथा मानवीय कलाको अवमूल्यन गरेको’ आरोप लगाउँदै कडा निन्दा गरेको छ ।

संघले टिल्ली नोरउड कुनै कलाकार नभई कम्प्युटर प्रोग्रामद्वारा सिर्जना गरिएको एउटा चरित्र मात्र भएको बताएको छ । ‘यससँग चरित्र अनुभव गर्नका लागि कुनै जीवन भोगाइ र भावना छैन । हामीले अहिलेसम्म देखे अनुसार दर्शकहरू मानवीय अनुभवभन्दा टाढा रहेको यस्तो कम्प्युटर–सिर्जित सामग्री हेर्न इच्छुक छैनन्,’ संघले भनेको छ ।

पार्टिकल सिक्सले सोमबार ‘मिसअलाइन्ड’ फिल्मका लागि एआई उत्पादनमा आफ्नो शिल्प भित्राउन चाहने अग्रणी फिल्म निर्माता र प्राविधिक टोलीसँग मिलेर काम गर्ने योजना रहेको बताएको छ । मंगलबार दिउँसो एनबीसी न्युजसँग कुरा गर्दै भान डेर भेल्डेनले आफू ‘मानवीय रचनात्मकतालाई एआईले सहयोग गर्ने कुराको कुनै पनि हालतमा विरोधी नरहेको’ बताइन् ।

उनका अनुसार यस्तो हाइब्रिड निर्माणमा कलाकारको हाउभाउ रेकर्ड गर्ने प्रविधि ‘मोशन क्याप्चर’ वा ‘पर्फर्मेन्स क्याप्चर’ का लागि वास्तविक कलाकारहरूको प्रयोग गर्ने र ‘मानवीय विशेषज्ञता र एआईलाई सँगै मिलाएर’ काम गर्न वास्तविक फिल्म निर्माताहरूलाई संलग्न गराउने जस्ता कुराहरू समावेश हुन सक्छन् ।

‘यो फिल्ममा पक्कै पनि रमाइलो, अराजक र स्व–विवेकीको मिश्रण हुनेछ—ठ्याक्कै टिल्ली जस्तै,’ भान डेर भेल्डेनले भनिन्, ‘तर यसको भित्री तहमा पहिचान, अभिनय र एआईप्रति हाम्रो मानवीय डरका बारेमा केही गहिरो कुराहरू समेटिनेछन् । र हो, यसमा कलाले पक्कै पनि वास्तविक जीवनको नक्कल गर्नेछ ।’

फिचर

कान्तिपुर

Link copied successfully