विश्वभरबाट आएका पर्यटकहरू पनि यस खेलको मोहकतामा लठ्ठिसकेका छन्, जुन फुटबलसँगै यहाँको राष्ट्रिय गौरव र चासोको विषय हो । रेस्लिंगको रिंगभित्र छिरेपछि उनीहरू केही घण्टाका लागि फुटबलको ज्वरोलाई बिर्सिन्छन् ।
मेक्सिको सिटी — उनीहरू जताततै देखिन्छन्; रंगशाला वरपर, सडक गल्लीहरूमा, अनि बारमा बियर पिउँदै गरेको अवस्थामा । ती अज्ञात मास्कधारी रेस्लर यतिबेला मेक्सिकोमा जारी विश्वकपको एउटा चिनारी नै बनेका छन्, जो अक्सर मेक्सिकन रेस्लिंग ‘लुचा लिब्रे’ का समर्थकहरूको भीडमा भेटिन्छन् ।
विश्वभरबाट आएका पर्यटकहरू पनि यस खेलको मोहकतामा लठ्ठिसकेका छन्, जुन फुटबलसँगै यहाँको राष्ट्रिय गौरव र चासोको विषय हो । रेस्लिंगको रिंगभित्र छिरेपछि उनीहरू केही घण्टाका लागि फुटबलको ज्वरोलाई बिर्सिन्छन् ।
गुआडालाजारामा स्पेन र उरुग्वेबीच रोमाञ्चक विश्वकप खेल चलिरहँदा, दशौं हजार लुचा लिब्रे प्रशंसकहरू भने रेस्लिंगको रिंगमा मिस्टिको र मास्कारा डोराडाको जोडीविरुद्ध स्यामी ग्वेभारा र द बिस्ट मोर्टोसबीचको शानदार भिडन्त हेर्न व्यस्त थिए । जून प्रतिष्पर्धा लुचा लिब्रेको मुख्य केन्द्र मानिने प्रतिष्ठित ‘एरेना मेक्सिको’ मा चलेको थियो ।
इङ्ल्यान्डलाई समर्थन गर्दै आफ्नो परिवारसँगै यसपटकको विश्वकपका तीनवटै आयोजक देशहरू क्यानाडा, संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दै अहिले मेक्सिको आएका म्यानचेस्टरका बासिन्दा एन्डी विन्स्टनले भने, ‘यो साँच्चै उत्कृष्ट थियो, हामीले धेरै रमाइलो गर्यौं । मेक्सिको आएर लुचा लिब्रे नहेरी फर्कनै सकिँदैन । यो यहाँको एउटा प्राचीन र महान परम्परा हो ।’
दर्शकदीर्घामा प्रशंसकहरू इङ्ल्यान्ड, जापान, दक्षिण कोरिया, ब्राजिल, कोलम्बिया, स्पेन र मेक्सिको जस्ता विभिन्न देशका राष्ट्रिय टोलीका जर्सीहरू लगाएर आफ्ना मनपर्ने रेस्लर्स को हौसला बढाइरहेका थिए ।
ब्राजिलका हेनरिक नुनेस डोस सान्तोस भन्छन्, ‘यो मैले सोचेभन्दा धेरै राम्रो र अद्भुत साँझ रहृयो । तपाईं यसमा यसरी समाहित हुनुहुन्छ की लाग्छ, यो सबै वास्तविक हो । यहाँ छुट्टै किसिमको विशाल ऊर्जा छ ।’
मेक्सिकन डीएनएमै रेस्लिंग
मेक्सिकन लुचा लिब्रेको इतिहास २० औं शताब्दीको सुरुवातदेखिकै हो । यसको शैलीले अमेरिकी रेस्लिंग र ग्रीको–रोमन रेस्लिंगका प्रविधिहरूलाई ‘एरियल एक्रोब्याटिक्स’ र मनोरन्जनात्मक प्रस्तुतिमा संयोजन गरिएपछि आफ्नो छुट्टै पहिचान बनायो र मेक्सिकोको मूल पहिचानको हिस्सा बन्यो । सन् २०१८ मा यसलाई मेक्सिको सिटीको सांस्कृतिक सम्पदाको रूपमा घोषणा नै गरियो।
‘लुचा लिब्रे हाम्रो जरासँग जोडिएको छ,’ वर्ल्ड रेस्लिङ काउन्सिलका प्रवक्ता हुलियो सेसार रिभेराले भने, ‘झन्डै ९३ वर्षदेखि यो हामी मेक्सिकनको जीवनको हिस्सा मात्र बनेको छैन, विश्वमै हामीलाई परिचित बनाएको छ ।’
रिंग भित्रका यी खेलहरू असल र दैत्यबीचको अनन्त संघर्षमा आधारित हुन्छन् । जहाँ असल पक्षलाई ‘टेक्निको’ र दैत्य पक्षलाई ‘रुदोस’ भनेर चिनिन्छ । रिङभित्रको यस संघर्षमा उनीहरूले खेलबाहेक नाटकीयपना र परम्परालाई पनि मिसाउँछन्, जसमा सबैभन्दा बढी ध्यान यसमा प्रयोग हुने मास्कले तान्ने गर्छ ।
यी मास्कहरू अक्सर चम्किला र रंगीचंगी हुन्छन् । तर कहिलेकाहीं डरलाग्दा पनि देखिन्छन्, जसमा सुपरहिरो, जनावर वा अन्य प्रतीकात्मक आकृतिहरू बनाइएका हुन्छन् । यसले रेस्लरको अनुहार लुकाउने मात्र नभई उनीहरूको अर्को सुसुप्त रूप, सांस्कृतिक विरासत र रिङभित्रको रहस्यमयी शक्तिलाई पनि झल्काउँछ । त्यसैले, प्रत्येक मास्कको डिजाइन विशिष्ट शैलीमा व्यक्तिगत र सांस्कृतिक महत्व झल्काउने गरी निकै मिहिनेतका साथ बनाईन्छ ।
लुचा लिब्रेका रेस्लरहरूले मास्कभित्रै आफ्नो एउटा गोप्य पहिचान बनाएका हुन्छन् र त्यसैमा राष्ट्रिय प्रतीक बन्छन् । त्यसैले, गोप्यता कायम राख्न उनीहरू विरलै आफ्नो वास्तविक नाम खुलासा गर्छन् ।
‘लुचा लिब्रे मेरो जीन्दगी हो,’ स्टार ब्ल्याक उपनामले चिनिने ३० वर्षीय रेस्लरले भने । सानो छँदा उनी आफ्ना हजुरबुबा–हजुरआमालाई यस्तै मास्क बेच्न मद्दत गर्थे । ‘बिस्तारै मलाई ती मास्कहरू, केपहरू (काँधमा झुन्ड्याइने कपडा), उडी उडी हान्ने किक र लुचा लिब्रेका चालहरूसँग लगाव हुन थाल्यो, र एक दिन रेस्लिंग सिक्ने निर्णय गरें ।’ पछि उनी आफैं रेस्लिंग आइडल बने ।
फुटबल फ्यान पनि लुचा लिब्रेमा
मेक्सिको घुम्न आउने पर्यटकहरूका लागि लुचा लिब्रे पहिल्यैदेखि नै एक लोकप्रिय आकर्षण भए तापनि, विश्वकै ठूलो फुटबल उत्सव विश्वकप चलिरहँदा लुचा लिब्रेका मास्कहरू र यसमा खेलिने रेस्लिंगहरू बाहिर सडकसम्मै छताछुल्ल देखिन थालेका छन् ।
नेशनल अटोनोमस युनिभर्सिटी अफ मेक्सिकोका लुचा लिब्रे विज्ञ होसे एन्जल गार्फियास फ्रियासका अनुसार, अन्य आयोजक देशहरूमा महंगीले आकाश छोईरहेका बेला विश्वकप हेर्न आएका फुटबल दर्शकका लागि मेक्सिको तुलनात्मकरूपमा सस्तो त छ नै, लुचा लिब्रेका कारण लोकप्रिय बनेको छ ।
मेक्सिकोका रंगशालाहरू वरपर विभिन्न देशका राष्ट्रिय झण्डाहरूकै हाराहारीमा लुचा लिब्रेका मास्कहरू पनि भेटिन्छन् । फिफाको सुरक्षा नियम अनुसार रंगशालाभित्र मास्क निषेध गरिएको भए तापनि केही प्रशंसकहरूले मास्क लगाएरै प्रदर्शन समेत गरेका छन् ।
यी दुई राष्ट्रिय खेलहरूबीच दशकौंदेखि निकट सम्बन्ध रहेको गार्फियास बताउँछन् । जसको सबैभन्दा राम्रो उदाहरण अर्जेन्टिनी फुटबल खेलाडी ग्याब्रियल पेरेइरा हुन् । उनी मेक्सिकन क्लब क्रुज अजुलका लागि गोल गरेपछि मिस्टिकोको मास्क लगाउने गर्थे ।
मेक्सिकोको दोस्रो जित र नकआउट चरणको यात्राको खुसीयाली मनाउन राजधानीको सडकमा उत्रिएका धेरै मास्कधारीहरूमध्येका एक क्लाउडियो डियाजले भने, ‘लुचा लिब्रे नै मेक्सिको हो । यो हाम्रो पहिचानको हिस्सा हो र यो फुटबल जत्तिकै लोकप्रिय छ ।’
फुटबल देशकै सबैभन्दा ठूलो लगावको रूपमा रहे तापनि, धेरैका लागि लुचा लिब्रे नै मेक्सिकन समाजको वास्तविक प्रतिविम्ब हो, जहाँ हरेक शुक्रबार राती विभिन्न क्षेत्रका उत्साही प्रशंसकहरू हेर्न आउने गर्छन् ।
रेस्लर ड्रागन लेहेन्दारियोले भने, ‘मलाई लाग्छ कि फुटबलले हामी मेक्सिकनहरूको पूर्ण प्रतिनिधित्व गर्दैन, लुचा लिब्रेले हाम्रो अझ बढी प्रतिनिधित्व गर्छ । हजुरआमाहरूदेखि लिएर व्यवसायीहरू र साना रेस्टुरेन्ट चलाउने महिलाहरूसम्म समाजका हरेक वर्गका मानिसहरू यसका प्रशंसकहरू हुन् ।’
