काठमाडौंदेखि कान्ससम्म : कस्तो रह्यो फिल्म ‘एलिफेन्ट्स इन द फग’ टोलीको ऐतिहासिक यात्रा ?

प्रतिष्ठित फिल्म महोत्सव कान्समा छनोट भई दुई अवार्ड जित्ने यो पहिलो नेपाली फिल्म स्वेदशी दर्शकलाई देखाउन उत्साहित छन् निर्देशक अविनाश विक्रम शाह । भन्छन्, 'यति धेरै फिडब्याक पाइरहेको छु । मलाई लाग्छ दर्शकले फिल्म मन पराइदिनुहुनेछ ।'

जेष्ठ १३, २०८३

रीना मोक्तान

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

What you should know

काठमाडौँ — कान्स कस्तो थियो ? यात्रा कस्तो रह्यो ? निर्देशक अविनाश विक्रम शाहले कान्स यात्रालाई एकटक मनमा गम्नै पाएका छैनन् । यत्ति हो- कान्सले सबै खुसी भएको देख्दा उनी पनि दंग छन् । परिवार खुसी, उनी पनि खुसी । 

'कस्तो फिल भइरहेको छ, भन्ने कुरा प्रोसेस नै गर्न पाइरहेको छैन,' अविनाशले कान्तिपुरलाई सुनाए । हुन त, विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा अविनाशको पहिलो फिचर 'एलिफेन्ट्स इन द फग(तिनीहरू)'ले दुई अवार्ड जितेर इतिहास रचिसक्यो । छनोट भएको विधा 'अन सर्टेन रिगार्ड'तर्फ जुरी प्राइज जितेको यो फिल्ममै कान्समै 'साउन्ड'कै अर्को अवार्ड उचाल्यो । नेपालबाट 'अन सर्टेन रिगार्ड'मा छनोट भई अवार्ड जित्ने यो पहिलो नेपाली फिल्म हो । 

जुरी अवार्ड जित्दाको त्यो पल ऐतिहासिक थियो । अवार्ड हुनुअघि फेस्टिभल निर्देशकले अविनाशको जम्मै टोलीलाई कार्यक्रममा निम्तो दिएका रहेछन् । त्यतिबेलै 'ठूलै अवार्ड पो जित्ने हो कि' भन्ने छनक पाएका थिए । 'सबै कास्टले नै अवार्ड पाउने हो कि ? अविनाशको एक मन यस्तै भन्थ्यो । कान्सले यस अगाडि यसरी एउटै विधामा थुप्रो कलाकारलाई अवार्ड वितरण गरेकै थियो । अविनाशलाई आफ्नो फिल्मका सबै 'कास्ट'ले अवार्ड पाइदिए हुन्थ्यो भन्ने लाग्यो, तर निर्देशकलाई दिइने जुरी प्राइज अविनाशको भागमा पर्‍यो । 'सबै कास्टलाई अवार्ड दिन्छ भन्ने लाग्यो एकपटक त । पुष्पा र सबै कलाकारको अभिनय कान्समा सबैलाई कस्तो मन परेको थियो नि त,' आइतबार काठमाडौं फर्केका अविनाशले भने । 

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

अवार्ड कार्यक्रमको निम्तो पाइसकेपछि अविनाशले तुरुन्तै 'स्पिच' तयार पारे । अवार्ड उचाल्न मञ्च उक्लेपछि पढेर सुनाइदिए । मञ्चमा कलाकार समूहले नाच्दै विजयी उत्सव मनाए, ताली बजाउँदै गीत गुनगुनाए । त्यो खुसी अझै अविनाशभित्र छ । 'फिल्मको प्रिमियरमा त भावुक बनेँ । कलाकारहरुलाई नरुनु भनिरहेकै थिएँ । तर, हलभित्रको माहोल नै यस्तो थियो कि आँसु थामिँदै थामिएन,' मुसुक्क हाँस्दै उनले सुनाए, 'यति धेरै मेहनत गरेको थिएँ फिल्ममा । सुटिङको त्यो मेहनत । आफूलाई सम्हालेर फिल्म बनाइयो, कति पटक गाह्रो हुन्थ्यो ।' निर्माता अनुप पौडेलको अवार्ड जित्दाको अनुभव भने बेग्लै रहेछ । उनी फिल्मले कुनै न कुनै विधामा अवार्ड जित्नुपर्छ भन्नेमा थिए, त्यसैले नतिजा उनका लागि नौलो भएन । 'ओ माई गड भन्ने खालको केही भएन । हुनुपर्ने थियो, भयो भन्ने भयो,' अनुप सुनाउँछन् । तर, दुई अवार्ड जित्ला भन्ने अनुपले पनि चिताएका थिएनन् । फिल्मले 'अन सर्टेन रिगार्ड'मै दिइने एक मात्र 'बेस्ट साउन्ड क्रिएसन' जितेपछि त अनुपको खुसी पनि दोब्बर । 

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

यो फिल्मले कान्समा ९९ प्रतिशत सकारात्मक प्रतिक्रिया बटुलेको अविनाश सुनाउँछन् । 'फिल्म हेर्नहरुले आफूलाई फिल्मभित्रै पाएको अनुभव सुनाउनुभयो । सबैले सकारात्मक प्रतिक्रिया दिनुभयो,' उनले भने । निर्माता अनुप पौडेल 'मार्केट स्क्रिनिङ'बाटै फिल्मले चर्चा चुलिएको सुनाउँछन् । 'फिल्मको हल्ला गजब्बै थियो,' पौडेलले भने, 'जहाँ पनि एलिफेन्ट्स नेपाल-एलिफेन्ट्स नेपाल सुनिन्थ्यो । अब फ्रेन्चमा त्यति बोलेकै हामीले बुझ्थ्यौं ।' वितरक, सेल्स एजेन्टदेखि पत्रकारले फिल्म हेरिसकेपछि 'एलिफेन्ट्स इन द फग'को चर्चा ह्वात्तै बढेको हो । निर्माता पौडेल यो फिल्मलाई सेप्टेम्बरतिर नेपालमा प्रदर्शन गर्ने तयारी गर्दैछन् । 'यो हप्ता नै हामी प्रदर्शन मिति तोक्छौं । सेप्टेम्बर/अगस्टमा प्रदर्शन गर्ने योजनामा हो,' अनुपले भने । 

देशको सान र देशकै साथ 

कान्सको रेड कार्पेटले विश्वभरको ध्यान तान्छ । यो पटक 'एलिफेन्ट्स इन द फग'कै कारण कान्स नेपालीकै लागि पनि विशेष बनिदियो । निर्देशक अविनाशले दुई पटक रेड कार्पेट हिँड्ने मौका पाए । 'क्यामेरा डिओर'को रेड कार्पेट अर्का निर्माता प्रचण्डमान श्रेष्ठसँग हिँडे । दोस्रो भइहाल्यो - 'एलिफन्ट्स इन द फग'कै प्रिमियरमा आयोजना गरिएको रेड कार्पेट । अविनाशका लागि भने रेड कार्पेट कहिल्यै आकर्षण बनेन । 'रेड कार्पेट हिँड्न किन यस्तो हानाथाप गर्छजस्तो लाग्छ के मलाई,' अविनाश भन्छन्, 'यस्तो अनकम्फर्टेबल लुगा-जुत्ता, यस्तोमा कसरी हिँड्नु के ?' 

तर, आफ्ना कलाकारले रेड कार्पेट हिँडेको देख्दा अविनाशको मन खुसीले प्रफुल्ल । त्यसमै पनि उनले बिम्ब भेटे । सीमान्तकृतका आवाज सुनिन्न, उनीहरुलाई हेरिँदैन भनिरहँदा 'एलिफेन्ट्स'का सबै कलाकार विश्वको आँखा पर्ने रेड कार्पेटमा । 'खासमा सीमान्तकृतलाई हेरिँदैन भनिन्छ नि होइन तर रेड कार्पेटको त्यो उपस्थिति ल हेर भनेझैं भयो । मेरो सबै कलाकार त्यहाँ थिए । मलाई त योचाहिँ देखिने सही समय हो भन्ने पनि लाग्यो,' अविनाशले सुनाए । रेड कार्पेटको त्यो रौनक, त्यहाँका रमझमसँग कलाकारको जिन्दगी बेमेल थियो भन्ने कटु सत्यले भने अविनाशलाई चिमोट्यो । 'त्यहाँ त्यस्तो ग्ल्यामर मिल्छ तर हामीहरुको रियालिटी कस्तो छ भन्ने भइराथ्यो त्यो बेला । हामी हाम्रो आवाज लिएर त्यहाँ पुगेका थियौं । तर, हामी कहाँबाट आयौं, हाम्रो रियालिटी कस्तो छ भन्ने चाहिँ भइरहेको थियो,' अविनाशले भने, 'मुख्य त जे कुरालाई हाम्रो समाजले बेवास्ता गरिरहेको थियो, उनीहरु नै कान्समा भिजिबल भइदिए ।' 

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

यो फिल्मको प्रमुख भूमिकामा अभिनय गरेकी पुष्पा थिङ लामाले त कुनै दिन कान्सको रेड कार्पेट हिँड्छु भन्ने सोचेकी पनि थिइनन् । कान्सको त्यही रेड कार्पेट अरु हिँडेको भिडियोहरु पहिल्यै हेरेकी थिइन् । तर, 'एलिफेन्ट्स इन द फग'ले पुष्पालाई डिजाइनर कपडामा रेड कार्पेट हिँड्ने बनाइदियो । 'एउटा सपना बाँचेर आएँ । त्यो मौका दिने, मलाई विश्वास गर्ने निर्देशक अविनाश र अनुपलाई धन्यवाद दिन चाहन्छु,' गहभरी आँसु पार्दै पुष्पाले भनिन्, 'म जुन वर्गबाट आएँ, कान्स त सपना मात्रै थियो । त्यस्तो रेड कार्पेटमा प्रिन्सेस बनेर हिँडेर आइयो । भुइँमान्छेलाई मेरो टिमले त्यहाँ पुर्‍याइदिनुभयो ।' 

अनुपका लागि कान्सको अविस्मरणीय क्षण प्रिमियरअघि आफूले अनुभव गरेको भाव थियो । 'फोटोकल'मा कान्सका लागि औपचारिक तस्बिर खिचाइसकेपछि उनी माथिल्लो तल्लामा गएर बसे । तल्लो तल्लामा फिल्मको खुसीयाली मनाइँदै थियो - केहीबेरमै फिल्मको प्रिमियर हुँदै थियो । त्यतिबेला उनको मन गह्रौँ बन्यो-आँखाबाट बरर आँसु झरे । बिस्तारै गह्रौं भारी बिसाएजस्तै भयो । आँखामा कालो चस्मा थियो, आँसु सबैले देखेनन् । 'फाइनल्ली फिल्मलाई यहाँसम्म लेराइयो भन्ने भयो । हुन त एडिटिङदेखि थुप्रै चरणमा फिल्म हेरिसकेको थिएँ । तर, कान्सको त्यो थुप्रो दर्शकबीच फिल्म हेर्दा मनको भारी बिसाएँजस्तो भयो । सबैलाई सुम्पिदिएँजस्तो भयो । तर, त्यो आँसु मात्रै थिएन । ५ वर्षको समय, पैसा र परिश्रमको लगानी थियो,' अनुपले सुनाए ।

अनुपले यसरी आफ्ना कुरा सुनाइरहँदा निर्देशक अविनाश र छेउकै कलाकार पुष्पा गम्भीर देखिन्थे । 'यो फिल्म बनाउँदा एकदम धेरै संघर्ष भयो । मानसिकदेखि शारीरिक, भावनात्मकदेखि फाइनान्सियल्ली गाह्रो भइरहेको थियो । कति वर्षसम्म त्यो कुरालाई मैले मभित्र राखेको थिएँ । तर, त्यो दिन ती सबै कुरा मैले समर्पण गरिदिएँ भन्ने भयो,' अनुपले थप्दै गए, 'एउटा फिल्म बनाउन कति मेहनत लाग्छ । सबै किसिमका दु:ख गरेर त्यहाँ पुग्दा त त्यो सबबाट अब म निस्केँ है भन्ने हुँदो रहेछ । त्यो आँसु त्यही अनभुव थियो ।'

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

निर्देशक शाहले पनि यस्तै अनुभव गरेका थिए । अनुपको कुरामा थप्दै शाहले भने, 'जबसम्म दर्शकले फिल्म हेर्दैन नि तबसम्म फिल्म अनफिनिस्ड नै हो । प्रिमियरका दिन फिल्म फिनिस भयो भन्ने थियो । अर्को त यति धेरै मान्छेहरु त्यहाँ थिए । सबै जनाले ताली बजाइरहेका थिए । यो फिल्म बनाउन जति गाह्रो भएको थियो - त्यो सबैबाट आफूलाई हलुको भएजस्तो भयो ।' 

अब यो फिल्मलाई नेपाली दर्शकबीच देखाउन अविनाश निकै उत्साहित देखिन्छन् । 'यति धेरै फिडब्याक अहिले पाइरहेको छु । मलाई लाग्छ दर्शकले फिल्म मन पराइदिनुहुनेछ,' उनले भने, 'यसमा फेस्टिभल जाने फिल्म हो, आर्ट फिल्म हो भन्ने बाउन्ड्री नै छैन । खासमा हाम्रो फिल्म नै बाउन्ड्री नहोस् भन्ने बारेमा हो ।' यौनिक तथा लैंगिक अल्पसंख्यकका कथा समावेश गर्दादेखि नै अविनाशले फिल्मलाई सबै दर्शक लक्षित गरेरै बनाएका थिए । यो फिल्ममा यौनिक तथा अल्पसंख्यक समुदायका आमा र छोरीको कथा समेटिएको थियो । यो समुदाय हात्तीले समस्या दिइरहने बस्तीमा बस्छ । हात्तीको बिम्बमार्फत फिल्ममा उनीहरुका कथा समेटिएको छ । यो फिल्मको नेपाली शीर्षक 'तिनीहरु' हो । 

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

अविनाशका अनुसार फिल्म निर्माणमा धैर्य चाहिन्छ । कहिलेकाहीँ स-साना कुराले मन दुखाउँछन् । आफ्ना निर्णयमा अडिक रहनुपर्‍यो । हार मान्नु भएन । अविनाशले यही मन्त्र पछ्याउँदै फिल्म बनाउँछन् । 'मैले फिल्म बनाउन निकै गाह्रो विषय रोजेँ । कथा त रिसर्च गरेर लेखियो । फेरि कलाकार खोज्नै पर्‍यो । मलाई केटालाई केटी बनाएर अभिनय गराउनु नै थिएन । वास्तविक पात्र खोज्न समय लाग्यो,' अविनाशले भने, 'सुटिङमा उतिकै दु:ख भयो । राति १/२ बजेसम्म फिल्म खिचियो, भोलि बिहानै फेरि अर्को सिन खिच्नतिर । ठूलो समूह, खर्च बढ्ने । सबै कुरा छाडेर फोकस भएर फिल्म बनाएँ । यताउता हेरेँ भने फिल्म बिग्रन्छ भनेर फोकस गरेँ ।' तर, अहिले फिल्म निर्माणका दु:ख अविनाशका लागि सहायक बनेका छन् । जुन नियतले अविनाशले फिल्म बनाउन चाहेका थिए, त्यो पूरा भएको छ । उनलाई पुष्पाजस्ता पात्रहरुका लागि पनि यो फिल्म बनाउनु नै थियो । 

कहिल्यै फिल्ममा अभिनय नगरेका पुष्पाकै लागि पनि सहज थिएन, फिल्म निर्माणको यो यात्रा । धेरै पटक अविनाश उनलाई भेट्न नवलपरासी पुग्थे । त्यतिबेला पुष्पालाई लागेको थियो, 'किन आउँछ यो मान्छे । कति आ'को ?,' पुष्पा सम्झिन्छिन्, 'तर, यो मान्छेले केही न केही चाहिँ पक्कै गर्छ । हामीले यसको नतिजा पाउँछौं भन्ने लागेको थियो ।' नतिजा कान्सको मञ्चमा पाइन् । छायामा पारिएको आफूहरुको कथाले त्यो मञ्च पाउँदा पुष्पा पनि खुसीले गद्‌गद् छिन् । 'हामीलाई पछाडि पारिएको थियो तर हामी अगाडि आइरहेका छौंं । एउटा अवसरको कमी हो, त्यो मौका भए हामी पनि आफूलाई साबित गर्न सक्छौं भन्ने उदाहरण हो कान्स, 'पुष्पाले भनिन्, 'कान्समा कुनै भेदभाव थिएन । सबैलाई समान व्यवहार थियो ।' 

From Kathmandu to Cannes: How was the historic journey of the film team 'Elephants in the Fog'?

कान्समा 'एलिफेन्ट्स इन द फग' पुग्दा पूरा देशले आफूलाई साथ दिएको अनुभव अविनाशले बटुलेका छन् । यसअघि यसरी फिल्म बनाएर, ठूला प्लाटफर्ममा पुग्दा सरकारको चासो खासै हुँदैन थियो । तर, अविनाशको समूहलाई स्वागत गर्न त सञ्चारमन्त्री विक्रम तिमल्सिना र पर्यट्नमन्त्री गणेश पौडेल एयरपोर्ट नै पुगेका थिए । 'सामाजिक सञ्जालदेखि जति जनाले हामीलाई भेटेर फिल्मको फिडब्याक दिए, खुसी मनाए - यत्ति होला भनेर सोचेकै थिएन । विकास बोर्ड र पर्यटन बोर्डदेखि दुई मन्त्रीहरुको स्वागतले ऊर्जा थपिदिएको छ,' अविनाश सुनाउँछन्, 'त्यो नहुँदा पनि फिल्म त गरिरहैकै हो । तर, त्यसले ऊर्जा अझ बढ्दो रहेछ ।'

बोर्ड र मन्त्रीको भव्य स्वागतले सरकार जिम्मेवार भएको अनुभव अनुपले पनि गरेका छन् । 'सरकार जिम्मेवार भएको अनुभव भयो । यसरी फिल्मलाई महत्त्व दिँदा त्यसले फिल्मकर्मीहरूमा ऊर्जा दिन्छ,' अनुप भन्छन्, 'यसले फिल्म र महोत्सव पुग्नुको महत्त्व बुझाइदियो । खेलाडीका लागि वर्ल्डकप भनेजस्तो हो हाम्रो लागि फिल्म महोत्सव । माउन्टेनरका लागि सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हो विश्व दर्शकबीच हाम्रो फिल्म पुग्नु, हेरिनु । त्यो उचाइ हाम्रो लागि यस्तो महोत्सव हो नि ।'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully