यो फिल्म प्रमुख प्रतिस्पर्धापछिको कान्सकै महत्त्वपूर्ण विधा 'अन सर्टेन रिगार्ट'मा छनोट भएको हो ।
What you should know
काठमाडौँ — कलाकार पुष्पा थिङ अविनाशलाई अंगाल्दै भावुक हुन्छिन् । आफ्नो पहिलो फिचर फिल्म लगेर कान्स पुगेका निर्देशक अविनाश विक्रम शाह पनि खुशीमा भावविह्वल बन्छन् । त्यतिकैमा निर्माता अनुप पौडेल पनि अविनाशलाई अंगाल्न पुग्छन् । फिल्मका सबै कलाकारमा त्यही खुशीको आँशु देखिन्छ । उनीहरुलाई घेरेर बसेका दर्शक हौसला दिँदै चिच्याउँछन्, ताली बजाइरन्छन् ।
यो हो, ‘एलिफेन्ट्स् इन्द फग’को कान्स प्रिमियरमा देखिएको दृश्य । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्सको ‘अन सर्टेन रिगार्ट’तर्फ नेपालबाट पहिलो पटक छनोट भइ जेठ ६ मा प्रिमियर भएको यो फिल्मले प्रदर्शनलगत्तै दर्शकदेखि समीक्षक अनि फिल्मकर्मीको तारिफ बटुलेको छ ।
‘प्रिमियर त एकदम बब्बाल भयो । सबैले फिल्म मन पराए । सफल भएको अनुभव भयो,’ निर्माता अनुप पौडेल सुनाउँछन्, ‘प्रिमियरभन्दा अगाडिदेखि नै म त भावुक भइसकेको थिएँ । फाइनल्ली फिल्म हलमा लाग्यो भनेर । यति वर्षको मिहिनेत त्यहाँ पुग्दा त भावुक हुँदो रहेछ । स्ट्याण्डिङ अभियसन पाएपछि त झनै भावुक बनें । निर्देशक रोएपछि आँशु थाम्नै सकिन ।’
यो फिल्मको तारिफ अहिले चौतर्फी सुनिन्छ । बलिउड निर्देशक अनुराग कश्यपले त फिल्मको ‘इन्डिङ’को निकै तारिफ गरेका छन् । ‘कान्समा हेरिएको फिल्महरुमध्येको सबैभन्दा उत्कृष्ट अन्तिम सट नै एलिफेन्ट्स् इन्द द फगको हो,’ अनुरागले फिल्ममाथि यसरी आफ्नो धारणा राखेका छन् ।
फिल्मको प्रिमियर हेरेका फिल्मकर्मी सविन ज्ञवाली पनि नेपालको यस किसिमको सशक्त फिल्म हेर्न पाउँदा गर्विलो महसुस गर्छन् । ‘प्रिमियरपछि त इमोस्नल इन्जार्ज नै भयो, मुख्य कलाकार पुष्पा रुन थाल्नुभयो । त्यसपछि सबैको आँखामा त्यो खुशीको आँशु देखिन्थ्यो,’ सविनले भने, ‘नेपाली फिल्मको यस्तो कथा, कान्ससम्मको उपस्थितिलाई आफ्नै सामू हेर्न पाउँदा गर्विलो महसुस हुँदो रहेछ ।’
सविन पनि फिल्मको अन्तिम दृश्यलाई नेपाली फिल्म इतिहासमा आजसम्मकै सशक्त रहेको चर्चा गर्छन् । ‘मैले यस्तो दृश्य आजसम्म कुनै पनि नेपाली फिल्ममा देखेको थिएन । फिल्ममा नन-एक्टरले खुबै राम्रो काम गर्नुभएको रहेछ,’ उनले भने ।
प्रिमियरको दिन ‘साल डुबुसी’ थिएटर दर्शकले हाउसफूल थियो । ‘प्रेस स्क्रिनिङ’पछि नै दर्शकले यो फिल्मको चर्चा सुनेर टिकट किन्न थालेका हुन् । ‘प्रिमियरको दिन त थिएटरमा बिहानको ८:३० मै मानिसहरु टिकटका लागि लाइन लागेर बसेका थिए,’ सविनले भने । किन्नर समुदायको कथालाई सशक्त दृश्यभाषामार्फत पस्केको पाटो नै यो फिल्मको बलियो पक्ष रहेको सविन सुनाउँछन् ।
फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको एक परिवारको कथा समेट्छ, जहाँ आमा र छोरीको सम्बन्ध देखाइएको छ । यो परिवारले फिल्ममा यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्त्व गर्छ । फिल्ममा यही समुदायका मानिसले अभिनय गरेका छन् ।
‘नन-एक्टर’को अभिनयलाई कान्सका दर्शकले निकै रुचाइदिएको निर्माता पौडेलले सुनाए । ‘सबै कलाकारले आफ्नो अभिनयको प्रशंसा बटुलेका छन्,’ अनुपले भने, ‘फिल्म नहेर्नेहरुले पनि हाम्रो फिल्मको चर्चा सुनेका रहेछन्, बाटोमा हिँड्दा उनीहरुले पनि कुरा गर्दा पो थाहा भयो ।’
अनुपका अनुसार अब यो फिल्मको तीन सो कान्समा देखाइनेछ । ‘मार्केट स्क्रिनिङ’मै पनि हाउसफूल दर्शक आफूहरुले पाएको अनुपले सनाए । ‘प्रिमियर’लगत्तैको सोको टिकट पनि हाउसफूल भइसकेको छ ।
फिल्मको प्रिमियरमा काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोल पनि पुगेकी थिइन् ।
