प्रदर्शनको तेस्रो साता आइपुग्दा फिल्म 'लालीबजार'ले दर्शकको माया बटुले पनि वादी समुदायका केही महिलाले भने फिल्ममाथि निरन्तर प्रश्न उठाइरहेका छन् ।
What you should know
काठमाडौँ — प्रदर्शनको तेस्रो साता आइपुग्दा फिल्म 'लालीबजार'ले दर्शकको माया बटुले पनि यो वादी समुदायका केही महिला भने फिल्ममाथि निरन्तर प्रश्न उठाइरहेका छन् । दोस्रो सातामै ५ करोड २५ लाख कमाएको यो फिल्मले वादी समुदायका महिलाहरुको चरित्र हत्या गरेको भन्दै रोशनी वादी र उनको समूह निरन्तर विरोधमा छ । रोशनी फिल्म रोक्नुपर्छ भन्दै अझै अदालत धाइरहेकै छिन् । आखिर अधिकांश दर्शकले मनपराइरहेको यो फिल्मले रोशनीको समूहलाई किन बिझायो ? किन उनीहरु फिल्मको प्रदर्शन रोक्न चाहन्छन् त ?
हामीले एकदमै जिम्मेवारी पूर्वक कथा भनेका छौं । हामीले देखाउन खोजेको विषय दर्शकले बुझिसक्नु भयो - निर्माता रवीन्द्रसिंह बानियाँ रोशनी यो फिल्म चलेसँगै वादी समुदायका महिलाप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउँछिन् । फिल्मले वादी समुदायकी महिलालाई यौन व्यवसायमा लागेको पात्रका रुपमा उभ्याएको हुँदा फिल्मले आफूजस्ता वादी समुदायका महिलाहरुको चरित्र हत्या गरेको आरोप लगाउँछिन् । 'खासमा बलात्कार भनेको कसैलाई ज्यानै मारेर हुँदैन क्या । यो फिल्मले हजारौं वादी समुदायको महिलाको बलात्कार गरिरहेको छ,' रोशनीले भनिन्, 'यो फिल्म चलिसकेपछि हामी वादी हौं भन्नलाई लाज लाग्न थालिसक्यो । हामीलाई हेर्ने नजरिया परिवर्तन भइसक्यो । हाम्रा साथीभाइले बोल्ने भाषा परिवर्तन हुन थालिसक्यो ।' रोशनी यो फिल्मले दलित समुदायका महिलालाई झनै दबाउने प्रयास गरेको बताउँछिन् । उनी थप्छिन्, 'अहिले यो फिल्म हेरिसकेपछि तेरो आमा दिदीबहिनी त पहिला यौन पेसामा रहेछन्, अहिले मसँग एकैक्षण समय बिताउन तिमीलाई के भो भनेर बोलाउने अवस्थाको सिर्जना भएको छ । त्यसैले यो फिल्म नयाँ सरकारले बन्द गरिदिनु पर्यो । दलितसँग माफी मागेकोजस्तो मात्रै गर्नु भएन ।'
'लालीबजार'मा प्रमुख भूमिकामा अभिनय गरेका निर्माता रवीन्द्रसिंह बानियाँ आफूहरुले कसैको चरित्र हत्या गर्ने भन्दा पनि तात्कालीन समयको कथा भनेको बताउँछन् । 'यौन पेसा तात्कालीन समयमा भएकै विषय हो । त्यतिबेला के भएको थियो भन्ने कुरा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेका छौं हामीले । हामीसँग अडियो/भिडियो नै छन् । हामीले अहिले यस्तो छ भन्दा पनि त्योबेला त्यस्तो थियो भनेका हौं,' बानियाँ भन्छन्, 'त्यस्तो देखायो भनेर उहाँहरुलाई समस्या लाग्नु भनेको उहाँहरुको गतिविधि नै शंकास्पद हो ।' फिल्मका निर्देशक यम थापा आफूहरुले कथावाचनमा जिम्मेवारी अपनाएको धारणा राख्छन् । उनी भन्छन्, 'फिल्ममा एउटा चरित्रको पृष्ठभूमि देखाइन्छ, त्यही अन्तर्गत यो समुदाय देखाएका हौं । हामीले एकदमै जिम्मेवारी पूर्वक कथा भनेका छौं । हामीले देखाउन खोजेको विषय दर्शकले बुझिसक्नु भयो ।'
चरित्र हत्याको आरोप
रोशनीसँगै अदालत धाइरहेकी वसन्ती नेपाली(वादी) भने फिल्मको नाम(लालीबजार)ले वादी समुदाय बस्ने बस्तीलाई गलत रुपमा देखाइएको दाबी गर्छिन् । फिल्मले यो ठाउँलाई वादी महिलाहरुले यौन पेसा गर्ने ठाउँका रुपमा चित्रण गरे पनि यसले त्यहाँ बस्ने अन्य जातजातिलाई मानमर्दन गरेको उनी सुनाउँछिन् । 'त्यहाँ त गैरदलित पनि बस्छन् । त्यहाँ वादी अनि बाहुन क्षेत्री समुदायका मानिस सम्माननीय रुपमा जीविकोपार्जन गरिरहेका छन् । त्यस्तो बस्तीलाई यौनकर्मी भएको बजार भन्ने चित्रण गरिएको छ । फिल्मको नामसँगै हामीलाई समस्या छ,' वसन्तीले भनिन् ।
निर्माता बानियाँ आफूहरुले लाली लगाउने मानिसहरु बस्ने ठाउँलाई प्रस्तुत गर्न खोज्दा फिल्मको नाम 'लालीबजार' राखिएको जनाए । 'लाली लगाउनेहरुको बजार भन्ने हिसाबले यो नामलाई बिम्बका रुपमा प्रयोग गरेका हौं । त्यो रियल ठाउँ पनि छ रे भन्ने कुरा पछि थाहा भयो । हामीले उहाँहरुलाई यही कुरा भन्यौं पनि 'बानियाँ भन्छन्, 'फिल्मको नाम राख्न नपाउन्ने भन्ने कुरा त हुँदैन । ठाउँकै बेइज्जत भएको छ कि छैन भन्ने कुरा दर्शकले भन्ने होला नि । हिट भइसकेको फिल्मले बोल्ने होला नि ।'
रोशनी फिल्मको पोस्टरमै पनि समस्या देख्छिन् । पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्काको चरित्र गर्भवती अवस्थामा देखिन्छिन् । पुट्ट फुलेको शरीरमा चम्किलो पहिरन र श्रृंगारमा घरको ढोकामा उभिएकी हुन्छिन् उनी । पोस्टरले वादी समुदायकी महिलाले गर्भवती हुँदा पनि यौन पेसा गर्ने चित्रण गरिएको हुँदा आफूहरुले आपत्ति जनाएको रोशनी सुनाउँछिन् । फिल्मको कथा वस्तुमा पनि वादी समुदायको महिलाको चित्रण गलत तरिकाले भएको रोशनीको दाबी छ । उनी भन्छिन्, 'शब्द र दृश्यसँग हाम्रो समस्या हुँदै होइन । हामीलाई पूरा कथामै समस्या हो, जसले वादी समुदाय भनेर गलत चित्रण गरेको छ ।'
रोशनीका विरोध निराधारपूर्ण रहेको भन्दै निर्माता बानियाँ आफूहरुले पोस्टरमा मातृत्व देखाउन खोजेको विश्लेषण गर्छन् । 'उहाँको कुरा लजिकल नै छैन । फिल्मको आर्क के हो, आशय के हो भन्ने नबुझेको मान्छेलाई जवाफ दिएर बस्नु ठीक लाग्दैन मलाई,' फिल्ममा प्रमुख भूमिकामा देखिएका रवीन्द्रले भने, 'फिल्मभित्र उक्त गर्भवती आमाले आफ्नो पेसा छाडिसकेपछिको दृश्य हो त्यो । त्यो गर्भवती हुँदा काम गरेको देखाइएको होइन । त्यो पोस्टरमा यौनकर्मी भनेर लेखिएको पनि छैन । म त त्यो पोस्टरमा मातृत्व देख्छु ।'
यम थापा निर्देशित यो फिल्मको सुरुवातमै वादी समुदायको एक महिलालाई यौन पेसामा संलग्न देखाइन्छ । अभिनेत्री स्वस्तिमा खड्काले खेलेको मुख्य पात्र 'मधुवाला'ले आमादेखिकै पेसालाई निरन्तरता दिएको देखाइन्छ । मधुवालाले यौन व्यवसाय नगरेसम्म घरको चुलो नबल्ने, बिरामी आमाको उपचार नहुने देखाइएको छ । मधुवालाको भाइ मदन(गोविन्द सुनार अभिनित पात्र)लाई पनि दिदीबहिनीमा आश्रित, केही न कामको देखाइएको छ ।
यी दृश्यहरुले वादी समुदायकी महिलालाई यौनकर्मीको रुपमा चित्रण गर्नुका सँगै उनीहरुका दाजुभाइलाई समेत कामै नलाग्ने पात्रका रुपमा देखाइएको प्रति पनि रोशनी समस्याको रुपमा औंल्याउँछिन् । 'छोरी जन्मँदा अब त मेरा छोरीका सुखका दिन सुरु भए भन्नुको मतलब अब उसले आफ्नो देहलाई बेचेर यौन पेसा गरेर भन्ने खालको चित्रण छ । यसले त हाम्रो समुदायको महिला यौन पेसाकै लागि जन्मिन्छन् भन्ने देखाइएको छ नि, जुन समस्याजनक हो,' कान्तिपुरलाई रोशनीले सुनाइन् ।
रवीन्द्र फिल्मलाई हेर्ने रोशनीहरुको दृष्टिकोणमै समस्या रहेको बताउँछन् । 'उहाँहरुको हेर्ने दृष्टिकोण नै फरक भयो । यो फिल्मपछि त पहिला त्यस्तो रहेछ, दु:ख पाएका रहेछन् । यो समुदायलाई क्षतिपूर्ति दिँदै पुन:स्थापना गर्नुपर्छ भनेर हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ नि,' बानियाँले तर्क गरे, 'पहिला त्यस्तो अवस्था भए पनि अहिले त त्यहाँका महिला डाक्टर इन्जिनियर भइसकेका रहेछन् भन्ने दृष्टिकोण फिल्ममा छ ।' यो फिल्मका निर्देशक यम थापा फिल्ममा एक परिवारको कथा र अन्य पात्रहरु लेखिरहँदा भाइ बनेको मदनको चरित्र लेखिएको बताउँछन् । 'फिल्मको ढाँचाअन्तर्गत एउटा परिवारको कथा लेखिरहँदा भाइ पात्र आएको हो । कुनै समुदायलाई मानमर्दन गर्ने किसिमले यो चरित्र लेखिएको होइन,' निर्देशक थापाले भने ।
फिल्मले नथिया प्रथालाई पनि वादी समुदायमै निहित रहेको देखाउनु गलत रहेको रोशनीको धारणा छ । 'यो फिल्ममा नथिया प्रथा देखाइएको छ । जुन नथिया प्रथा सरकारले ब्याण्ड गरिसक्यो,' रोशनीले भनिन्, 'ठकुरी, गैर दलित- बाहुनमा पनि थियो होला यौन शोषण । तर, हाम्रै समुदायका महिलालाई मात्रै शासकले शोषण गर्थे भन्नु त गलत भएन । यसले कस्तो नजिर बस्छ, हेर्ने दर्शकको मनमा ? यस्तो चित्रणले हाम्रो चरित्र हत्या भएन ?'
यो आरोपको खण्डन गर्दै रवीन्द्र भन्छन्, 'अरु समुदायमा पनि त्यो प्रथा थियो भने उनीहरुले लेखुन्, फिल्म बनाऊन् । बहस गरुन्, हामीले सबै समुदायको कथा बनाएको होइन । निश्चित घटना र विषयमाथि फिल्म बनाएका हौं ।'
अभियन्ता उमा वादीसँग कुरा गरिरहँदा यो प्रथा वादी समुदायमा रहेकाले आफूहरुले फिल्ममा समावेश गरेको रवीन्द्रको तर्क छ । 'यो चलन थियो भनेर उमा दिदीले भन्नु भएको अडियो/भिडियो नै छ । हामीले कल्पना गरेर कुनै घटना निर्माण गरेका होइनौं,' बानियाँले भने, 'कथा कल्पना गरेर प्रस्तुत गरेका हौंला । घटना र पात्र प्रभावित भएर नै लेखेका हौं ।' रोशनीले भने फिल्ममा आफूलाई समस्या लागेको ४४ बुँदा लेखेरै सेन्सर बोर्डदेखि अदालतमा पेस गरेकी छन् ।
कला र सिर्जनाको नाममा कसैको चरित्र हत्या गर्न मिल्छ र ?-रोशनी वादीवादी समुदायको चित्रणमाथि प्रश्न उठिरहने पनि 'लालीबजार'को पक्षमा उभिने फिल्मकर्मीहरुले भनिरहेका छन् - फिल्म प्रदर्शनलाई रोक नलगाउ । रोशनीको समूह अहिले पनि फिल्म रोक्नमै उद्दत देखिन्छ । अभिनेत्री स्वस्तिमासहित रवीन्द्र अनि यम थापा, प्रदीप भट्टराईसँगै उभिँदै फिल्मकर्मीहरुले अभिव्यक्ति स्वतन्त्रताको पक्षबाट आवाज उठाए ।
फिल्मकर्मीले उठाएको सिर्जनात्मक स्वतन्त्रताबारे रोशनी पनि जानकार रहिछिन् । उनी सिर्जनालाई स्वतन्त्र छोड्नुपर्छ भन्ने पक्षमै छिन्, तर जबसम्म त्यो कथाले कुनै समुदायलाई आघात पुर्याउँदैन । कला र सिर्जनाले कसैको चरित्र हत्या नगरेसम्म त्यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हुने रोशनी तर्क गर्छिन् । 'कला र सिर्जनाको नाममा कसैको चरित्र हत्या गर्न मिल्छ र ? यौनकर्मीको फिल्म बनाएर उनीहरुको कथा सुनाउनुस् हामी केही भन्ने थिएनौं,' उनले भनिन्, 'तर, कुनै समुदायको कथा भन्ने चक्करमा तपाईंले आउने पिँढीसामु हजारौंको चरित्र हत्या गर्नुभा'छ । आत्मसम्मानको हत्या गरिरहनुभएको छ । जसको भर्पाई गर्न सक्दैन फिल्मकर्मीले ।'
फिल्मले समग्र समुदायको चरित्र हत्या गर्यो भन्न मिल्दैन भन्ने मेरो व्यक्तिगत धारणा हो - अस्मिता वादीरोशनीको समूहबाहेकका वादी समुदायले फिल्मलाई रुचाइदिएको बानियाँ तर्क गर्छन् । 'कसैको व्यक्तिगत चित्त दुखाइलाई त फिल्म बनाउँदा कसरी सम्बोधन गर्ने ? जब कि सम्पूर्ण समुदायले नै स्वीकारेको अवस्था छ । अगुवाहरुले नै यो त ठिक हो भनिरहनु भएको छ । उहाँहरुजस्तो मुद्दा खेती गरेर हिँड्नेहरुलाई कहाँबाट जवाफ दिएर बस्नु ?,' बानियाँले तर्क राखे ।
अर्की अभियान्ता अस्मिता वादी फिल्मले रोशनीको समूहलाई दुखाएकै हुँदा उनीहरु विरोधमा उत्रिएको बताउँछिन् । यद्यपि यो फिल्मलाई हेर्ने उनको दृष्टिकोण रोशनीको भन्दा फरक छ । 'उहाँहरुलाई दुखेर पनि होला यसको विरोध गर्नु भएको । मलाई त असर हुनुपर्ने केही कुरा छजस्तो लागेको छैन,' अस्मिता भन्छिन्, 'नथियाको विषयलाई फिल्मको अन्त्यमा यो प्रथा होइन भनेर डिक्लियर गर्नुभएको छ । फिल्मले समग्र समुदायको चरित्र हत्या गर्यो भन्न मिल्दैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।'
फिल्मको केही भाष्यसँग भने अस्मिताको पनि चित्त दुखाइ देखिन्छ । जस्तै फिल्ममा मधुवाला(स्वस्तिमा खड्का) छोरीको नागरिकता माग्दै अन्य पुरुषहरुको ढोका-ढोका धाउँछिन् । त्यसले वादी समुदायमा जन्मिने बालबालिकाको 'बाउको ठिगान हुँदैन' भन्ने भाष्य निर्माण गरिदिएको अस्मिताको भनाइ छ । उनी भन्छिन्, 'मलाई एकदम समस्या लागेको विषयचाहिँ फिल्ममा प्रयोग ड्रेसअप हो । स्वस्तिमा खड्काको पात्र घर -घरमा गएर मेरो छोरीलाई बुवाको नाम देऊ भनेर जान्छिन् । यो दृश्यले वादी समुदायमा जन्मेका बालबालिकाको बाउको ठिगान हुँदैन भन्ने भाष्य निर्माण गरेको छ ।'
