‘लालीबजार’ समीक्षा : कसिलो प्रस्तुति, कमजोर महिला चरित्रचित्रण

फिल्म आमा छोरीको सम्बन्धमाथि मात्रै केन्द्रित छैन । दुई वर्गबीचको प्रेम, मूलधारे समाज, वादी समुदाय र महिलाको पीडालाई एकै पटक प्रस्तुत गर्ने कोसिस गरेको छ । कमजोर पटकथाले फिल्मले उठाउन खोजेको मुद्दा फितलो बनेको छ ।

वैशाख २८, २०८३

रीना मोक्तान

'Lalibazar' review: Strong presentation, weak female characterization

What you should know

काठमाडौँ — निर्देशक प्रष्ट छन्, जे भन्न चाहन्थे त्यसलाई इमानदार भएर भनेका छन् । न दृश्यलाई अनावश्यक तन्काएका छन्, न घुमाउरो शैली पच्छ्याएका छन् । जे भन्न खोजेका थिए, त्यसलाई पर्दामा दुरुस्तै उतारेका छन् । त्यसैले पनि यम थापा निर्देशित फिल्म 'लालीबजार' भित्रको संसारले दर्शक बाँध्छ । 

लामो विवादपछि प्रदर्शनमा आएको यो फिल्मको कथा नौलो छ । कसिलो सम्पादन, अभिनय र वाचनले कथालाई सलल बगाउँछ । स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको यो फिल्म वादी समुदायमाथि केन्द्रित छ । फिल्मको कथा वादी समुदायकी मधुवाला(स्वस्तिमा खड्का)को हो । उनी घर मूली हुन् । बिरामी आमा अनि जँड्याहा भाइ मदन(गोविन्द सुनार)को जिम्मा सबै मधुकै काँधमा छ । उनी शरीर बेचेरै घर धान्छिन् ।

गाउँकै बाहुन केटो नारायण पन्थी(विशाल देवकोटा)सँग प्रेममा पर्छिन् । दुईले भागेर बिहे त गर्छन्, तर नारायणको समाजले मधुलाई स्वीकार्दैन । गलहत्त्याउँदै निकालिदिन्छ, नारायणले पनि मधुलाई खुलेर स्वीकार्नै सक्दैनन् । त्यसैले मधु लालीबजारै फर्किन्छिन्, पेटमा नारायणको बच्चा हुर्कन थाल्छ । फिल्मको कथा मधुले त्यही छोरी पढाउन गरेको संघर्षउपर छ । 

यो फिल्म आमा छोरीको सम्बन्धमाथि मात्रै केन्द्रित छैन । दुई वर्गबीचको प्रेम, मूलधारे समाज, वादी समुदाय र महिलाको पीडालाई एकै पटक प्रस्तुत गर्ने कोसिस गरेको छ । तर, ती विषयलाई पटकथामा सजिलै उन्न नजान्दा यो फिल्मले उठाउन खोजेको मुद्दा फितलो बन्छ । चरित्र स्थापनामै धेरै समय खर्चिएको छ ।

मध्यान्तरअघिसम्म प्रेमकै विषयमा कथा रुमल्लिँदा 'लालीबजार'को केन्द्रीय द्वन्द्व के हो ? अलमल बनाउँछ । फलस्वरुप फिल्मकी मुख्य पात्र स्वस्तिमाले फिल्ममा खासै संघर्ष नै गर्दैन । जस्तै: मूलधारे समाजले अस्वीकार गर्दा मधु त्यही समाजमा बसेर संघर्ष गर्दिनन् । बरु लालीबजार फर्किन्छिन् । अर्कोतर्फ हुर्कँदै गरेकी छोरी महारानीलाई पढाउन नागरिकताको आवश्कयता हुन्छ । तर, त्यहाँ पनि मधुले खासै केही गर्नै पर्दैन । भाइ मदन नै बुवाको नाम दिन तयार हुन्छ । त्यसमाथि भर्खरै सुरु भएको माओवादी युद्धका कारण मधुकी छोरी महारानीले सजिलै पढ्न पाउँछिन् । छोरी पढाउन पनि त्यति संघर्ष गर्दिनन् । हुन त छोरीकै लागि यौनकर्मीको पेसा त्यागेर गिट्टी कुट्न थाल्छिन् । तर, फिल्मभरि यो चरित्रले संघर्ष गरेको अनुभव हुन्न । 

महिलाको कथालाई केन्द्रमा राखे पनि फिल्ममा मधुवालाको चरित्रचित्रण निकै कमजोर छ । फिल्ममा उनलाई रुन्चे, निरिह महिला पात्रकै रुपमा उभ्याइएको छ । अधिकांश समय उनी रोइरहिन्छन् । उनका जीवनका ठूल्ठूला निर्णय पुरुष पात्रले नै लिइदिन्छन् ।जस्तै, लालीबजारबाट भाग्न योजना नारायणले गर्छ । नागरिकताको आवश्यकता पर्दा भाइ टुप्लुक्क उभिदिन्छ । यो पात्रले केही दृश्यमा त आफ्नो अधिकारको लागि बोलेको देखाइन्छ, तर अधिकांश समय उनलाई आफ्नो लागि आफैं निर्णय लिन नसक्ने महिलाका रुपमा चित्रण गरिएको छ ।

नेपाली फिल्मले वर्षौंदेखि देखाउँदै आएको त्यही रुन्चेपिन्चे महिला चरित्र चित्रण नै खुम्चाइएको छ मधुवालामा । पुरुष चरित्र चित्रण भने गजब्बकै छ । मध्यान्तरअघिसम्म पुरुषको दृष्टिकोणबाट कथा भनिएको छ । नारायणले मधुवालालाई किन आफ्नो समाजमा स्वीकार्न सक्दैन ? यो पात्रको कमजोरी र शसक्त पाटोलाई सुन्दर ढंगले लेखिएको छ । यही लेखाइ मधुवालाको चरित्रचित्रणमा भेटिएको भए, कथाले अर्कै उचाइ समात्ने थियो । 

जे होस्, अभिनेत्री स्वस्तिमाले भने मधु पात्रलाई सजिव बनाउने अभिनय पस्केकी छन् । यो पात्रले बोल्ने भाषा र लवज पक्रेकी छन् । यद्यपि भाषामा गर्न खोजिएको काम यथावत् देखिन्न । पहाडको प्रष्ट लवज समात्दा भाषामा गरिएको कामको क्रमभंगता टुट्छ ।

नारायण बनेका पात्र विशालले भने उक्त पात्रको निर्दोषपन, परिपक्वतालाई सुरुदेखि अन्तिमसम्म उसैगरी समानन्तर बगाएका छन् । कोठारी बनेका चरित्र होस् या रवीन्द्रसिंह बानियाको शम्शेर स्वरुप । यी पात्रलाई पर्दामा उभ्याउन कलाकारले गरेको अभिनय सुन्दर देखिन्छ । तर, बलिउड शैलीको संवाद बोल्ने तरिका, कथा वाचनमा समाइएको अतिरञ्जनाले यी कलाकारको अभिनय जति शसक्त रुपले सञ्चार हुन सक्थ्यो, त्यो भएको छैन । फिल्ममा अधिकांश समय कलाकारले बोल्ने संवाद ‘लाउड’ लाग्छन् । त्यसलाई बोलीचालीको भाषाका ढाल्न सकिएको भए त्यसले कथाको सौन्दर्य फेरिदिन्थ्यो । 

यो फिल्मको बलियो पक्ष रंग संयोजन हो । फिल्ममा फुङ्ग उडेको रंग संयोजन छ । जसले पुरानो समय, कालमा दर्शकलाई पुर्‍याउँछ । फिल्मले देखाउन खोजेको २०४५ साल निर्माण गर्न यहाँ रंग संयोजन काफी देखिन्छ ।  फिल्ममा गीतहरुका प्रयोग जबर्जस्त लाग्दैन । पार्श्व ध्वनिले पनि चरित्र अनि कथा वाचनलाई लयमा बगाउँछ । 'म प्यार बेचिदिन्छु' भन्ने गीतको प्रयोग मिठो छ । 

खासमा वादी समुदाय राज्यको संरचनाद्वारा हेपिएका अनि पिल्सिएकाहरु हुन् । यस्तो समुदायको कथालाई भनिरहँदा निर्माण पक्ष सधैं संवदेनशील हुनुपर्छ । तर, त्यसको अभाव 'लालीबजार'मा खट्किन्छ । जस्तै, कुनै समुदायमा नथिया प्रथा थियो, यौनकर्ममा महिला संलग्न थिए भन्दा पनि उनीहरु किन त्यस्तो अवस्थासम्म आइपुगे, राज्य कहाँ चुक्यो ? भन्नेतर्फ फिल्म ढल्किएको भए, यो संरचना र समाजमाथि प्रश्न गर्न सक्ने सशक्त कडी बन्ने थियो यो फिल्म । तर, व्यवसायीकरणको लेपनले यो गम्भीर पक्ष सतही बनाइदिएको छ । फिल्ममा मधु बनेकी स्वस्तिमा अधिकांश समय वक्षस्थल देखिने, आधा शरीर देखिने उदांगो पहिरन पहिरिन्छिन् ।

दृश्यभाषा भनेको दस्तावेज हो । एकसाथ थुप्रो दर्शकमा पुग्ने यस्तो दृश्यले वादी महिलालाई कसरी चित्रित गर्ला ? यस्तो संवेदनशील विषयलाई सत्यको नजिक पुर्‍याइएको भए पो दर्शकले त्यो समुदायको पीडा र संघर्ष बुझ्ने थिए ! तर, फर्मुला फिल्मको अतिरञ्जनामै यस्तो संवेदनशील मुद्दा पस्कन खोज्दा, त्यो संवेदना ‘लालीबजार’बाट हराएको छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully