कान्स पुगेको फिल्मलाई नजरअन्दाज गर्दै चलचित्र विकास बोर्डले राखेको स्टलले अन्य फिल्मलाई प्रबर्द्धन गर्नु समस्याजनक रहेको भन्दै फिल्मकर्मीहरुले प्रश्न उठाइरहेका छन् ।
What you should know
काठमाडौँ — निर्देशक दीपक रौनियारले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत 'कान्स'मा चलचित्र विकास बोर्डले राखेको स्टलमाथि प्रश्न उठाए । विश्व प्रतिष्ठित यो फिल्म महोत्सवमा बोर्डले राखेको 'स्टल'ले यही वर्ष कान्समा छनोट भएको 'एलिफेन्ट्स इन द फग'लाई नसमेटेको भन्दै उनले प्रश्न उठाएका हुन् ।
'यो विकास बोर्डले खर्च गरेर कान्समा राखेको आधिकारिक स्टल हो,' स्टलको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, 'तर, बोर्डलाई थाहै छैन, कस्तो फिल्ममाथि उनीहरुले गर्व गर्नुपर्छ भन्ने । अफिसियल सेलेक्सनमा परेको फिल्मकै पोस्टर यहाँ छैन । नेपाललाई यस्तो प्लाटफर्ममा यसअघि पुर्याएको फिल्म यहाँ देखिन्नँ ।'
रौनियारको प्रश्न 'एलिफेन्ट्स इन द फग'को पोस्टर नसमेटिनुमा मात्रै केन्द्रित छैन । बोर्डले यस्तो प्लाटफर्ममा प्रस्तुत गर्नुपर्ने फिल्मको औचित्य नबुझेको र यसअघि यस्तै महोत्सव पुगेको फिल्मले पुर्याएको योगदान नदेखेको भन्दै रौनियारले प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त स्टलको तस्बिरमै पनि प्रस्ट देखिन्छ- स्टलमा फिल्म 'एक्लो'को ठूलो पोस्टर राखिएको छ । साथमा 'लास्ट रिच्युअल', 'गुन्युचोलो: द ड्रेस', 'गौंथली'का साना पोस्टर समावेश छन् । तर, प्रतिस्पर्धामै पहिलो पटक नेपालबाट सहभागिता जनाइरहेको फिल्मको नाम-निसान छैन । यसको अर्थ फिल्मको बिक्री वितरण गर्ने यस किसिमको बजारमा यी फिल्महरुको प्रचार गरिनु हुन्न भन्ने होइन ।
तर, यसअघि यस्तो प्लाटफर्म पुग्न फिल्मकर्मीले गरेको मिहिनेत, त्यहाँ पुगेका फिल्महरुले गरेको प्रतिनिधित्वलाई नजरअन्दाज गर्दै बोर्डले यी फिल्मलाई मात्रै प्रबर्द्धन गर्नु समस्याजनक रहेको भन्दै फिल्मकर्मीहरुले आवाज उठाएका छन् । 'एलिफेन्ट्स भन्ने फिल्म अहिले पो त्यहाँ पुग्यो । तर, मुकुण्डो, नुमाफुङदेखि हाइवे यस्तो प्लाटफर्म पुगिसकेको हो । त्यो फिल्म त देशकै प्रतिनिधित्त्व गरेर त्यस्तो महोत्सव पुग्छन् । त्यो फिल्महरुको पोस्टर राख्न त फिल्मकर्मीलाई सोध्नै पर्थेन नि,' निर्देशक रौनियार भन्छन्,'त्यस्तो सकरात्मक काममा पोस्टर प्रयोग हुँदा प्रश्न उठ्दैन थियो होला ।'
कान्समा यो वर्ष अविनाश विक्रम शाह निर्देशित 'एलिफेन्ट्स इन द फग' मुख्य प्रतिस्पर्धापछिको महत्त्वपूर्ण विधामा छनोट भइ प्रदर्शन हुँदैछ । तर, सरकारको तर्फबाट फिल्म प्रबर्द्धन गर्न राखिएको स्टलमै यो फिल्म नसमेटिनुले बोर्डले गरेको खर्चमाथि पनि प्रश्न उठाइरहेक छन् फिल्मकर्मीहरु ।
फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सिना यो स्टल नेपाली फिल्मको प्रबर्द्धनभन्दा पनि दिनेश डिसीकै फिल्म प्रचारमा प्रयोग भएको बताउँछन् । 'बोर्डले यसरी स्टल राखिसकेपछि नेपाली फिल्मलाई कसरी प्रचार गर्ने भनेर सरोकारवालासँग छलफल गरेर तयारी गर्नुपर्ने हो, त्यो देखिन्न । यसरी प्रतिस्पर्धा गरेझैं आवेदन दिन लगाएर को सहभागी हुन्छ ? बोर्ड अध्यक्ष दिनेश डिसी आफैं खेलेको फिल्मको पोस्टर त्यहाँ राख्न मिल्छ ?' अध्यक्ष तिमिल्सिनाले भने,'त्यहाँ एलिफेन्ट्स इन द फगको पोस्टर किन छैन ? अरु फेस्टिभल पुगेको फिल्म त्यहाँ किन छैन ? यो त आफ्नो-आफ्नो फिल्मको प्रचार गर्न बोर्डको पैसा खर्चेजस्तो भएन ?'
चलचित्र विकास बोर्डले भने आफूहरुले कान्स स्टल जान चाहने इच्छुकका फिल्मकर्मीमाझ पोस्टर, ट्रेलर, प्रचार सामग्री उपलब्ध गर्न विज्ञप्ति जारी गरे पनि अन्तिमसम्म 'एलिफेन्ट्स इन द फग'बाट केही प्राप्त नभएकाले उपलब्ध सामग्रीकै आधारमा स्टल व्यवस्थापन गरिएको जनाएको छ । 'बोर्डको सूचनाबाट गौंथली, गुन्युचोलो, सीमी एण्ड ख्या चलचित्र बाहेक अन्य चलचित्रबाट अन्तिम समयसम्म पूर्ण प्रचार सामग्री उपलब्ध हुन नसकेका कारण स्टल खाली राख्न व्यवहारिक सम्भावना नभएको अवस्थामा उपलब्ध सामग्रीकै आधारमा स्टलको व्यवस्थापन गर्नु परेको हो,' बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
'एलिफेन्ट्स इन द फग'का निर्माता अनुप पौडेल बोर्डबाट कान्स यात्राका लागि सहयोग माग्दा केही नपाएको बताउँछन् । फिल्म निर्माणमा सहकार्य गरेको ब्राजिलले यो फिल्मको ठूलै पोस्टर 'फिल्म कमिसन'मा राखेरै आफूहरुले अपनत्त्व जनाइरहँदा बोर्डबाट सुभकामना र फूलको गुच्छाबाहेक केही नभएको अनुप सुनाउँछन् । 'स्टलभन्दा पनि फिल्मको सहभागिता ठूलो हो । हामीले बोर्डबाट सहयोग अपेक्षा गरेका थियौं । कान्स पुग्न निर्देशक र मलाई प्लेनदेखि बस्ने खर्च चाहिएको थियो । जुन हामीसँग थिएन । हामीले सहयोग माग्यौं, तर उहाँहरुले पोस्टर माग्नु भएछ निर्देशकसँग, उहाँ व्यस्त हुनुहुन्थ्यो,' अनुपले भने, 'हामीलाई प्रचार चाहिएकै छैन । हाम्रो सेल्स एजेन्टले त्यो गरिरहेकै छ । तर, नेपालको विकास बोर्डले के आधारमा फिल्म मागेको ? केही न केही त हुनुपर्थ्यो नि हामीलाई । उहाँहरुले हातमा फूल मात्रै थमाइदिनुभयो ।'
निर्देशक रौनियार बोर्डले सहजै पोस्टर प्रयोग गर्न सक्ने अवस्थामा पनि सम्बन्धित फिल्मकर्मीसामू यो सूचनाको पहुँच नपुर्याउनुमै समस्या देख्छन् । 'दीपक रौनियार, मीन भाम र नवीन सुब्बालाई बोर्डले विज्ञप्ति निकालेको भरमा पोस्टर पठाउनुपर्ने त्यो पनि के फाइदाका लागि ? त्यो त फिल्मकर्मीलाई अपमान गरेको भएन ?,' प्रश्न गर्दै रौनियार भन्छन्, 'त्यहाँ पोस्टर राख्दैमा मेरो फिल्मलाई फाइदा पुग्ने होइन नि । त्यहाँ पोस्टर पठाउन त सम्बन्धित फिल्मकर्मीलाई चिठी लेखेरै जानकारी दिनु पर्यो नि ।' 'एलिफेन्ट्स इन द फग'कै पोस्टर पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छ । चाहेकै भए त्यहीँबाट पनि बोर्डले प्रयोग गर्न सक्ने थियो, तर त्यतापट्टी पनि बोर्डको ध्यान नपुगेको अनुपले सुनाए ।
फिल्मकर्मी रजिला श्रेष्ठ बोर्डले कान्समा छनोट भइ इतिहास रचेको फिल्मलाई बेवास्ता गर्दै अपरिपक्व व्यवहार देखाएको बताउँछिन् । 'बोर्डले त देशमै बनेको फिल्म जुन कान्समा छनोट भयो त्यसको महत्त्व त बुझ्नुपर्ने हो । देशकै फिल्मलाई वेवास्ता गरिएको देखियो । पहुँच र पैसा भएकाहरुलाई मात्रै स्टलमा स्थान दिएको देखिन्छ,' रजिलाले भनिन् ।
बजारको औचित्य र महत्त्व
खासमा विश्व चर्चित महोत्सवहरुले सधैं फिल्म किनबेच गर्नका लागि यस किसिमको 'मार्केट'को व्यवस्थापन गरिरहेका हुन्छन् । यस्तो बजारमा फिल्मका निर्माता, वितरक, प्रदर्शकदेखि फिल्म निर्माणसँग सम्बन्धित व्यक्तिहरुको ठूलो भेला हुन्छ । जहाँ फिल्मको किनबेच मात्रै होइन अन्तर्राष्ट्रिय को-प्रोडक्सनको सम्भावनाका बाटोहरु खुल्छन् । त्यसैले पनि विश्वको ध्यान महोत्सवमा देखाइने फिल्मसँगै यस्ता बजारमा पुगिरहेका हुन्छन् । आखिर फिल्मको लागि अत्यावश्यक त बजार पनि हो ।
यस्तो बजारमा संसारभरबाट विश्वका फिल्मकर्मीहरु तँछाड मछाड गर्दै पुगिरहेका हुन्छन् । त्यही बजारमा विभिन्न देशहरुले आफ्नो देशको फिल्मको प्रबर्द्धन र सम्बर्द्धन गर्न स्टल राख्छन् । बोर्डले कान्सको ७९ औं संस्करणमा यस किसिमको स्टलको आवश्यकता देख्नु फिल्मकर्मीका लागि खुसीको विषय थियो । तर, अहिले यही स्टल राख्नुको औचित्य र महत्त्व बोर्डले नबुझेको भन्दै आलोचना भइरहेको छ ।
फिल्मकर्मी कुमार डी भट्टराई बोर्ड यसरी कान्समा प्रस्तुत हुनु लज्जास्पद रहेको उल्लेख गर्छन् । 'पैसा खर्चिएको कान्सको यस्तो ठाउँमा औसतपन प्रदर्शन गर्नु ‘ग्लोबल पहुँच’ होइन, बरु त्यो त पूर्ण रूपमा लज्जास्पद कुरा हो । दयनीय हो,' सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । अभिनेता महेश त्रिपाठीले त रौनियारको पोस्ट सेयर गर्दै यो गम्भीर विषय रहेको उल्लेख गरेका छन् । उनले त काठमाडौं महानगरकी मेयर सुनिता डंगोलको कान्स सहभागितामाथि जसरी सबैले 'वाहवाही' गरिरहेका छन्, त्यसमै पनि प्रश्न उठाएका छन् । 'कोही व्यक्ति कान्स फिल्म फेस्टिबलमा जाँदै छ भन्ने कुरालाई यत्रतत्र यति ठूलो समाचारहरु बनाइरहँदा सोही फिल्म फेस्टिभलमा अविनाश विक्रम शाहद्वारा निर्देशित हाम्रो नेपाली फिल्म एलिफेन्ट्स इन द फग, अन सर्टेन रिगाड विधामा छनोट भई सोही फिल्म फेस्टिभलमा पर्सीबाट वर्ल्ड प्रमियर हुँदैछ,' फेसबुकमा त्रिपाठीले लेखेका छन्, 'यो नेपाली सिनेमाको अभूतपूर्व र एतिहासिक उपलब्धि हो । यस विषयमा समचारहरु नबन्नु ,नबनाइनु, र सेलिब्रेट नगर्नु नेपाली सिनेमाका लागी नै दुखद् कुरा हो । प्रथामिकता छोडेर पपुलिजको पछाडि कहिलेसम्म दौडिने ?'
गत वर्ष कान्सको यो 'मार्केट'मा १५ हजार फिल्मकर्मी उपस्थित थिए । यो वर्ष १६ हजार फिल्मकर्मी, वितरक अनि निर्माता अपेक्षा गरिएको देखिन्छ । २ लाख मानिस आकर्षित गर्ने यस्तो महोत्सवमा सहभागी कति फिल्मकर्मी यस्ता 'स्टल' भ्रमण पुग्दो हो ? ती फिल्मकर्मीको ध्यान यस्तो स्टलले कसरी तान्दो हो ? बोर्डको ध्यान यता पुगेको देखिन्न ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नमा आफूहरु प्रतिबद्ध रहेको जनाए पनि बोर्डले त्यसअनुरुप स्टलको प्रयोग गर्न नसकेको रौनियार बताउँछन् । नेपाली फिल्मकर्मीलाई चिनाउन अनि नेपाललाई छायांकनस्थलका रुपमा प्रचार गर्नमै पनि बोर्ड चुकेको रौनियारको भनाइ छ । 'यो त निजी कम्पनीले आफ्नो फिल्म प्रचार गर्न सरकारको पैसा खर्चेकोजस्तो मात्रै देखियो त । जुन फिल्मको पोस्टर ठूलो बनाएर राखिएको छ, त्यसले हामीलाई कुन किसिमले गर्विलो बनाएको थियो र ? त्यसरी राख्न ?,'रौनियारले भने,'हामीकहाँ यस्ता फिल्मकर्मी छन् भनेर देखाउने प्लाटफर्म हो यो । आफ्नो फिल्मकर्मीलाई विश्व सिनेमामा चिनाउन सहजीकरण गरिदिनुपर्ने हो बोर्डले, त्यहीँ भएको फिल्मलाई सेलिब्रेट गर्ने हो । तर, बोर्डले यी कामै गरेको देखिन्न ।'
समीक्षक समाजका अध्यक्ष तिमल्सिना स्टलमा बोर्डका प्रतिनिधि नपुग्नुमै समस्या औंल्याउँछन् । 'बोर्ड र पर्यटन बोर्डको पैसा त्यहाँ खर्चिएको छ । तर, फिल्म प्रबर्द्धन गर्न को पुगे त स्टलमा ?,' अध्यक्ष तिमिल्सिनाले प्रश्न गरे ।
सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम घडीमा प्रतिनिधि पठाउने वा नयाँ व्यवस्थापन गर्न व्यवहारिक सीमा रहेकाले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको प्रतिनिध सहभागिता जनाउन नसकेको बोर्डद्वारा विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार स्टलको स्थानीय व्यवस्थापक र साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनले सम्हालेको छ । त्यसैले पनि फिल्मकर्मीबीच अहिले एउटै प्रश्न उब्जिएको छ- आखिर प्रदीप शाहीले त्यो स्टलमार्फत कसरी नेपाली फिल्मको प्रबर्द्धन गर्लान् ?
