निर्देशक जेम्स ग्रे भन्छन्– ‘कुनै सन्दर्भमा त यो अति नै उपयोगी हतियार पनि हुन सक्छ, मलाई लाग्दैन कि हाम्रा बच्चाहरूको जीवनकालसम्ममा पनि यो एआई भन्ने चीज हामीले जानेबुझेको परम सत्य आत्माको थोरै नजिक पनि पुग्न सक्ने छ ।’
कान्स, फ्रान्स — फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल फिल्महरूका लागि प्रचलित मुद्दा तथा चासो र चिन्ताको समाधानका लागि गतिलो प्लेटफर्म हो । यसपाली फिल्म क्षेत्रको मुख्य चासोको विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बनिरहेको छ ।
७९ औं कान्स सायद पहिलोपटक एआईसँग संघर्ष गरेको समयका लागि सम्झिइनेछ । हुन पनि यतिबेला कान्स आयोजना हुने रिभेरा तटमा एआई माथिको बहस सुनामी जसरी चलिरहेको छ । जहाँ एआईले समग्र फिल्म उद्योगलाई नै पुनः संरचना गर्न सक्ने अनुमान गरिएको छ, जून भविष्यमा लाभदाय हुने हो वा हानिकारक हुने हो भन्नेमा सबैको चासो छ । तर कतिपयका लागि भने एआईबाट उत्पन्न त्रास बिस्तारै मत्थर हुँदै पनि गईरहेको छ ।
‘कान्समा भईरहेको चर्चा वा समग्र फिल्म उद्योगमा चलिरहेको बहस निश्चय पनि एउटा कोशेढुंगा हुन सक्छ भन्ने लाग्छ,’ फिल्मको पोष्ट प्रोडक्सनमा एआईको प्रयोग गर्दै आईरहेको कम्पनी फ्ललेसका सह प्रमुख कार्यकारी स्कट मानले भनेका छन् । हुन पनि आजको समयमा एआईको फैलावट अनस्क्रिनदेखि अफस्क्रिनसम्म छ ।
कान्सले पहिलोपटक मेटासँग सहकार्यका लागि बहु–वर्षिय सम्झौता गरेको छ । यसका लागि मेटाले कान्स सहरमै रहेको म्याजेस्टिक होटलमा आफ्नो सेटअप लगाएको छ । यसपटक कान्समा प्रवेश पाएको डकुमेन्ट्री ‘जोन लेनन : द लास्ट इन्टरभ्यू’ मा स्टिभन सोडरबर्गले एआईको भरपूर सहायता लिएका थिए । बिटल्सका जोन लेननले आफ्नो गोली हानी हत्या (८ डिसेम्बर १९८० मा) गरिएकै दिन योको ओनोसँग आफ्नो नयाँ एल्बम ‘डबल फेन्टासी’ का बारेमा दिएको रेडियो अन्तर्वार्तालाई सोडरबर्गले एआईको सहायतामा दृश्यांकन गरेर उक्त डकुमेन्ट्री तयार पारेका हुन् ।
अडियो अन्तर्वार्तासँग मिल्ने गरी सोडरबर्गले एआई प्रोग्राममार्फत वास्तविकताको निकै नजिक देखिने गरी ग्राफिक्सबाट लेननको भिडियो सामाग्री तयार पारेका हुन् । तर सोडरबर्गको यस कामलाई कान्सका अधिकांश समीक्षकले भने आलोचना गरेका छन् । तर उनले आईफोनबाट खिचेर एआईको सहायतामा डकुमेन्ट्री मात्र बनाएनन्, कान्समा समेत प्रवेश पाए । तिनै प्रयोगधर्मी सोडरबर्ग अहिलेको समय नयाँ प्रविधिको परीक्षण गर्ने समय भएको विश्वास गर्छन् ।
‘हामीले अहिलेसम्म रचनात्मक विश्वसनीयता भएको कुनै त्यस्तो सर्जक देखेका छैनौं, जो एआईको पनि उपयोग गरोस् र उसको कामलाई मान्छेहरुले कसरी लिन्छन् भनेर हेर्न सकौं । मलाई लाग्छ, अब यो जरुरी भईसक्यो,’ एक अन्तर्वार्ताका क्रममा सोडरबर्गले भनेका छन्, ‘जब कसैले हद पार गर्दैन भने तपाईलाई त्यसको हद कहाँसम्म हो भनेर कसरी थाहा हुन्छ ? केही मेरो कामप्रति असहमत हुन सक्छन् । तर मलाई लाग्दैन, मैले जे गरिरहेको छु, त्यसले हद पार गरेको छ । मलाई अझै पनि थाहा छैन, मेरो सीमा कहाँसम्म छ ? म त यसैको प्रतीक्षामा छु ।’
एआईको पक्ष र विपक्षमा चर्को बहस
यतिबेला कान्समा उपस्थित फिल्मकर्मी, कलाकार वा अन्य सहभागी पनि एआईका बारेमा पक्ष र विपक्षमा खडा भएर आ–आफ्ना तर्क राखिरहेका छन् । कान्सको उद्घाटन सत्रमा नै निर्णायक मण्डलमध्येकी एक अभिनेत्री डेमी मूरले यसबारेमा मुख खोलेर बहसको ढोका खोलिदिएकी थिइन् । उनले एआईसँगको लडाइँमा फिल्मकर्मीको निश्चित हार रहेको बताएकी थिइन् । ‘यो यस्तो लडाइँ हो, जसमा हामी नै हार्ने निश्चित छ’ मूरले यसो भनिरहँदा त्यसको भोलीपल्ट मानार्थ पाल्म डी’ओरबाट सम्मानित पीटर ज्याक्सनले थपेका थिए, ‘म एआईलाई पूर्णतः अस्वीकार पनि गर्दिनँ, मेरो लागि यो केवल एउटा स्पेशल इफेक्ट भन्दा बढि केही लाग्दैन । यो त्यो भन्दा खासै फरक पनि छैन ।’
फेमिली ड्रामा ‘पेपर टाइगर’ प्रिमियरबाट कान्समा निकै प्रशंसा बटुलिरहेका यसका निर्देशक जेम्स ग्रेले पनि एआई कारण आफु खासै चिन्तित नभएको टिप्पणी गरे । ‘कुनै सन्दर्भमा त यो अति नै उपयोगी हतियार पनि हुन सक्छ,’ ग्रेले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्दैन कि हाम्रो वा हाम्रा बच्चाहरूको जीवनकालसम्ममा पनि यो एआई भन्ने चीज हामीले जानेबुझेको परम सत्य आत्माको थोरै नजिक पनि पुग्न सक्ने छ ।’ बरु उनले एआई भन्दा सर्जक कति महत्वपूर्ण र अकाट्य छन् भन्ने देखाउन पनि अबका युवाहरूले बढि भन्दा बढि मानवताका बारेमा अध्ययन गर्न जरुरी रहेकोमा जोड दिए । भने, ‘मानव आत्मालाई बुझ्नका लागि पनि मान्छेहरुले आफ्नो खाली समयमा लियो टल्सटायलाई पढ्नुपर्छ ।’
ओस्करदेखि कान्ससम्मको बदलाब
हलिउडमा एआईले मच्चाएको हलचलसँगै यतिबेला कान्स पनि यस विषयसँग आमनेसामने भएको छ । यस महिनाको सुरुवातमा एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्स (ओस्कर) ले पनि नयाँ गाईडलाइन्स घोषणा गरेको छ, जसमा अभिनयको मनोनयनका लागि केवल कलाकारको नै विशुद्ध प्रस्तुती हुनुपर्ने उल्लेख गरेको छ । एआई टुल्सले न त मनोनयनका लागि मद्दत गर्ने न हानी नै गर्ने ओस्करले जनाएको छ ।
त्यस्तै, स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडरेशन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट्स (साग–आफ्ट्रा) ले पनि डिजिटल प्रतिबिम्ब (रेप्लिका) र सेन्थेटिक पर्फर्मरको प्रयोगलाई लिएर प्रष्ट गाइडलाइन बनाउने गरी हालै फिल्म स्टूडियोहरूसँग अस्थायी सम्झौता गरेको छ । पूर्णरूपमा एआई–निर्मित तथाकथित पहिलो एआई एक्ट्रेस उर्फ सेन्थेटिक पर्फर्मर टिली नरवुडको उदयपछि पनि हलिउडदेखिका प्रायः कलाकारहरु एआईसँग तर्सिएका हुन् ।
भाल किल्मरको परिवारको सहमतिमा बनेको फिल्मको लागि मरणोपरान्त एआईबाट बनाइएको किल्मरको २०२६ को सुरुवातमा आएको फर्स्ट लुकले नयाँ बहस छेडिसकेको थियो । तर जेनेरेटिभ एआईको चरम प्रयोगले चिन्ता जगाईरहेका बेला अन्य पक्षहरु पनि सामुन्ने आएका छन् । ‘यो हाम्रो व्यवसायको एक हिस्सा बन्न गईरहेको छ,’ ब्लीकर स्ट्रिटका कार्यकारी प्रमुख केन्ट स्यान्डरसनले कान्सकै एक प्यानल डिस्कसनमा एआईको प्रयोगप्रति कटाक्ष गर्दै भने, ‘हो, यसले फिल्म निर्माणको लागत घटाउनेछ, र अबका एकाध वर्षमा नै संभवत मार्वल मुभी जस्ता फिल्महरु तपाईले आफ्नै बेसमेन्टमा बसेर बनाउन सक्नुहुनेछ ।’
कान्स सुरु हुनुभन्दा अघिल्लो दिन, यसका कला निर्देशक थिएरी फ्रेमोक्सले एआईको बारेमा सोधिएको प्रश्नको जवाफमा मजाक गर्दै भनेका थिए, ‘मैले त यो पनि सुनेको छु की जेम्स क्यामरुनले ‘अवतार’ का लागि पनि स्पेशल इफेक्ट्सको उपयोग गरेका थिए रे ।’ उनले आफुहरु कलाकार, लेखक, अभिनेता र भ्वाइस एक्टरहरूको पक्षमा रहेको बताउँदै थपे, ‘हामी ती सबैको साथमा उभिन्छौं जसको काम एआईले नकारात्मक रूपमा प्रभावित गर्न सक्छ । यसको लागि कानून आवश्यक छ । हामीले यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’
