आशाले रञ्जितबारे भनेकी थिइन्, ‘कान्छा भाइ र म ५० वर्षदेखि सँगै छौं । म पनि कान्छाका लागि नेपाल आएकी हुँ, तपाईंहरु पनि आइदिनुभयो, धेरै खुसी लागेको छ ।’
What you should know
विराटनगर — प्रसिद्ध गायिका आशा भोसले नेपाल र नेपाली गीतसंगीतलाई अगाध श्रद्धा गर्थिन् । त्यसको एक मात्र कारण हुन्, संगीतकार रञ्जित गजमेर । उनले पहिला रञ्जितलाई चिनिन्, अनि नेपाली गीत गाइन् र नेपाल आइन् ।
१९७० को दशकमा बम्बई (अहिले मुम्बई) मा पनि पहिलो पटक भेटेका थिए, आशालाई रञ्जितले । रञ्जित पनि संगीतमा संघर्ष गर्न एउटा मादल बोकेर मुम्बई पुगेका थिए । उनी लामो समयदेखि संघर्षरत थिए । एक दिन अचानक भेट भयो, त्यो समयका प्रसिद्ध संगीतकार आरडी बर्मनसँग । उनले आफूले बोकेर गएको मादलको धुन ‘पञ्चम दा’ लाई सुनाए । त्यो धुन सुनेर पञ्चम दा चकित भए । पछि उनले रञ्जितको मादलको ताललाई संगीतमा समेटे । अनि बन्यो चर्चित गीत- कान्छा रे कान्छा रे...
‘खासमा आशाजीसँग मेरो पहिलो भेट पञ्चम दाकै स्टुडियोमा भएको थियो,’ मुम्बईमा रहेका रञ्जितले कान्तिपुरसँग फोनमा भने, ‘त्यो पहिलो भेटबाटै आशाजीसँग मेरो सम्बन्ध प्रगाढ बन्दै गयो ।’
पञ्चम दाले रञ्जितलाई ‘कान्छा’ भनेर सम्बोधन गर्थे । पछि भारतको सिंगो संगीत क्षेत्रले उनलाई कान्छा उपनामले चिन्न थाल्यो । ‘मलाई मेरो नामले कसैले चिन्दैन भन्दा नि हुन्छ’, उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘कान्छा भनेपछि मात्रै मलाई सबैले चिन्छन् ।’
उमेरले करिब ५ वर्ष जेठी आशाले उनलाई श्रद्धाका साथ ‘कान्छा भाइ’ भन्थिन् ।
सन् १९८० को दशकमा कालेबुङका युवा तुलसी घिमिरे फिल्मी क्षेत्रमा संघर्षरत थिए । त्यही बेला उनी र रञ्जितबीच उतै भेट भयो । अनि यी दुई दार्जिलिङेले फिल्म बनाउने योजना बुने । तुलसीले निर्माता खोज्ने, रञ्जितले संगीत क्षेत्र सम्हाल्ने ।
बाँसुरी फिल्मको गीतपछि आशाले हरेकपटक रञ्जितको अनुरोध स्वीकारिन् । तुलसी घिमिरेका प्रायः गीतमा रञ्जितको संगीत र आशाको स्वर छ ।त्यही मेसोमो घिमिरेको पहिलो फिल्म ‘बाँसुरी’ मा आशा पनि जोडिइन् । उनले ‘झझल्को लिएर आएछ सावन...’ र ‘मिर्मिरे साँझमा सिमसिमे पानी...’ बोलका दुई गीत गाइन् ।
खासमा तुलसीको योजना नेपालबाट तारादेवी या त दार्जिलिङबाट अरुणा लामालाई मुम्बई बोलाएर गाउन लाउने थियो । तर, त्यो प्रक्रिया निक्कै खर्चिलो पनि थियो । जहाज भाडा, होटलको खर्च सबै बेहोर्नु पर्ने बाध्यता । यही अन्योलबीच रञ्जितकी श्रीमती गीतकार कुसुमले एक दिन भनिन्, ‘नेपाल र दार्जिलिङबाट बोलाएर गाउन लाउनुभन्दा त आशा दिदीलाई अनुरोध गर्नुस् न तपाईको उहाँसँग राम्रो सम्पर्क छ । कतै मान्नुहुन्छ कि ?’
नभन्दै रञ्जितले त्यो बेलाकी चर्चित गायिका आशासँग अप्ठेरो मान्दै अनुरोध गरे ,‘एउटा नेपाली सिनेमाका लागि गीत गाउनु छ, तपाईंले गाइदिनुहुन्छ कि ?’
आशाले एकै वचनमा भनिन्, ‘अफकोर्स, क्यू नहीं ।’ आशाको यो कुराले रञ्जित खुसीले गदगद भए ।
आशाले त्यसअघि नै ‘माइतीघर’ फिल्मका लागि सिग्नेचर गीत गाइसकेकी थिइन् ।
बाँसुरी फिल्मको गीतपछि आशाले हरेकपटक रञ्जितको अनुरोध स्वीकारिन् । तुलसी घिमिरेका प्रायः गीतमा रञ्जितको संगीत र आशाको स्वर छ । ‘मैले संगीत गरेका कुनै पनि गीतमा आशाले मसँग गाएको पैसा लिनुभएको छैन,’ रञ्जितले भने, ‘सायद, मसँगको सम्बन्ध र नेपाली गीत-संगीतप्रतिको उहाँको अगाध मायाकै कारण होला ।’
करिब ६ वर्षअघि मिलन मोक्तान लगायतको टोलीको आशालाई नेपाल निम्त्याएको थियो । ‘म्युजिक जर्नी अफ रञ्जित गमजेर विथ आशा भोसले’ नामक कार्यक्रममा ।
त्यो कार्यक्रममा उनले बहुचर्चित गीत सुनाएकी थिएन्- झझल्को लिएर..., किन बढ्दै छ ढुकढुकी..., आगेआगे तोपैको गोला...., मोहनी लाग्ला है....
त्यो बेला उनले रञ्जितबारे उनले भनेकी थिइन्, ‘कान्छा भाइ र म ५० वर्षदेखि सँगै छौं । म पनि कान्छाका लागि नेपाल आएकी हुँ, तपाईंहरु पनि आइदिनुभयो, धेरै खुसी लागेको छ ।’
आशासँग रञ्जितको सम्बन्ध पारिवारिक जस्तो थियो । बेलाबेला फोनमा कुराकानी भइरहन्थ्यो । दुःखसुखका कुरा सोधिरहन्थिन् । केही समयअघि रञ्जित बिरामी भएको थाहा पाएपछि उनले आत्तिँदै फोन गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन् ।
निधनको तीन दिनअघि मात्रै आशाले रञ्जितसँग फोनमा कुराकानी गरेकी थिइन् । त्यो बेला पनि उनले हालखबर सोधेकी थिइन् । आफ्नो ख्याल राख्नु भनेकी थिइन् ।
तर, डेढ दर्जनभन्दा बढी नेपालीसहित १२ हजारभन्दा बढी कालजयी गीत संसारलाई दिएकी आशा आइतबार सदाका लागि बिदा भइन् ।
‘उहाँको निधनले म त धेरै दु:खी भएको छु,’ रञ्जितले भावुक हुँदै सुनाए, ‘करोडौं फ्यानलाई रुवाएर जानुभयो उहाँ, कहिल्यै नफर्किने यात्रामा ।’
