संगीतबाट निभ्यो एउटा आशा

झन्डै ६० वर्षअघि फिल्म ‘माइतीघर’ का लागि ‘बसन्त नै बस्न खोज्छ यहाँ’ मा स्वर दिएकी आशाले त्यसपछि दुई दर्जन नेपाली फिल्ममा गाएकी छन् ।

चैत्र २९, २०८२

समर्पण श्री

A hope extinguished by music

What you should know

काठमाडौँ — ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’

सुप्रसिद्ध गायिका आशा भोसलेले साढे तीन दशकअघि सदाबहार ‘चिनो’ स्वरूप गाएकी थिइन् यो गीत । गीतमा गाउँलेको बोलीले मोहनी लगाए पनि, असलमा उनकै गायकीले नेपालीहरूलाई गहिरो मोहनी लगाएको थियो । वर्षौंदेखि मोहनी लगाएको आशाको मखमली आवाजले अब कहिल्यै गीत गुन्गुनाउने छैन ।

९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनले भौतिक शरीर बिसाइन् । ‘मल्टी–अर्गान फेलियर’ भएका कारण उनको निधन भएको अस्पतालले पुष्टि गर्‍यो । आशाको निधनले भारतीय मात्र नभई नेपाली सांगीतिक क्षेत्र पनि यतिबेला स्तब्ध बनेको छ । निर्देशक तथा गीतकार यादव खरेल आशाको निधनको खबरले शोकमा छन् । ‘असाध्यै दुःख लागिरहेको छ,’ खरेल आशालाई श्रद्धाञ्जली प्रकट गर्दै भन्छन् । खरेलले निर्देशन गरेको फिल्म ‘प्रेम पिण्ड’ मा आशाले गाएको ‘गैह्री खेतको शिरै हान्यो...’ कालजयी बन्यो ।

समयअनुसार गीत र त्यसका स्वादमा परिवर्तन आउँछन् । तर आशाका आवाजलाई हर नयाँ पुस्ताले पछ्याइरहन्छ । यादव ‘प्रेम पिण्ड’ताका गीत रेकर्डिङ गर्दा आशासँग भएको भेटबारे स्मरण गर्छन्, ‘उहाँ एकदमै सरल र भलादमी स्वभावकी हुनुहुन्थ्यो । काम गर्दा पैसाको कुनै बार्गेनिङ गर्नुभएन ।’ आशा स्टुडियो आएपछि संगीतको नोटेसन हेरेर नेपाली शब्दहरूमा निकै मिहिनेतका साथ गाएको सङ्लो स्मृति यादवसँग छ । मुम्बईमा रेकर्डिङ गर्दाताका यादवले फोनमा आशालाई भनेका थिए, ‘हजुरले मेरो गीत गाइदिनुपर्‍यो ।’ आशा तुरुन्तै तयार भएकी थिइन् । ‘नोटेसनहरू सबै तयार पारेर राखेपछि तोकिएको समय र स्टुडियोमा आएर उहाँले गीत गाउनुहुन्थ्यो,’ यादवले आशासँग मात्र नभई मंगेशकर परिवारका तीनै दिदीबहिनीहरू (लता, आशा र उषा) को गायनमा अलग रेकर्ड रहेको सम्झन्छन् ।

आशाले दर्जन बढी नेपाली गीत गाएकी छन् ।

झन्डै ६० वर्षअघि प्रदर्शनमा आएको बीएस थापा निर्देशित ‘माइतीघर’ को किरण खरेलको रचना ‘बसन्त नै बस्न खोज्छ यहाँ’ मा जयदेवको संगीतमा स्वर दिएकी आशाले त्यसपछि तुलसी घिमिरे निर्देशित ‘बाँसुरी’ को ‘झझल्को लिएर आएछ सावन...’ र मिरमिरे साँझमा सिमसिमे पानी...’, ‘एउटा मान्छे मन पर्छ’, किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘दियो बाली साँझको’, ‘आज हाम्रो भेट भाको दिन’ सहित दुई दर्जन नेपाली फिल्ममा गाएकी छन् । ‘कन्यादान’ को ‘यति धेरै माया दियौ’, ‘लाहुरे’ को ‘माया त माया हो’ होस् वा पछिल्लो पटक उनले गाएको नेपाली फिल्म ‘करोडपति’ को ‘चञ्चल हावा’ गीत नै, आजसम्म पनि उत्तिकै गुञ्जायमान छन् ।

संगीतकार शम्भुजित बाँस्कोटाले आशासँग ‘चेलीबेटी’ फिल्मको ‘एउटा मान्छे मनपर्छ’ र ‘तिम्रो आँखाको सागरमा’, ‘प्रेम पिण्ड’को ‘गैह्रीखेतको शिरै हान्यो’ र ‘करोडपति’को ‘चञ्चल हावा’ गरी चार गीतमा सहकार्य गरेका थिए । आफू संगीतकार हुनुको आभास यी क्षणहरूले गराएको सम्झिन्छन् उनी । शम्भुजितलाई असाध्यै स्नेह गर्थिन् आशा । उनी आशालाई ‘सरस्वतीको अवतार’ र ‘देवी’ को संज्ञा दिँदै भन्छन्, ‘मलाई जहिल्यै भाइजस्तो माया गर्नुभयो उहाँले ।’

भोसलेलाई उनले पहिलो पटक २०४४/४५ सालतिर काठमाडौंको विशाल बजारमा सपिङ गरिरहेको अवस्थामा भेटेका थिए । भेटमा शम्भुजितले उनीसँग परिचय गरेका थिए । त्यो परिचय त्यसपछि बिस्तारै आत्मीयतामा बदलिँदै गयो । ‘ठूला गायकहरूले मान्छेलाई घरमा नबोलाउने र स्टुडियोमै आएर काम सिक्ने गर्थे । तर दिदीले मलाई घरमै बोलाएर ‘चेलीबेटी’ र ‘प्रेम पिण्ड’का गीतहरू गाउन सिक्नुभएको थियो,’ बाँस्कोटा भन्छन् । आशाको शिरदेखि पाउसम्म संगीत भएको महसुस गर्थे शम्भुजित । ‘उहाँलाई हेर्दा एक प्रकारको स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो,’ उनी सम्झन्छन् ।

पछिल्लो केही वर्षअघि नेपालमा साधना कलाको कार्यक्रमका सिलसिलामा भेट्दा पनि आशाले शम्भुजितलाई हार्दिकताका साथ सोधेकी थिइन्, ‘कहिले बम्बई आउने ?’ उनले छिट्टै आउने वाचा गरेका थिए । आशाले शम्भुजितसँग कामबारे चासोसमेत राखेकी थिइन् त्यतिबेला । बाँस्कोटाका लागि आशासँगको सहकार्य र आवाज एउटा आशीर्वाद जस्तो लाग्छ । ‘यो त मेरा लागि एउटा प्रसादसरह हो, जसलाई कहिल्यै बिर्सन सक्दिनँ,’ उनी श्रद्धाभावमा भन्छन् ।

संगीतको सिंगो युग स्वरको जादुले सजाएकी आशाको जीवन कम संघर्षपूर्ण थिएन । सन् १९३३ मा सांगीतिक माहोलमा जन्मिएकी आशाका लागि संगीत रहर मात्र थिएन । परिवारको विरासत नै थियो । बा पण्डित दीनानाथ मंगेशकरको असामयिक निधनपछि परिवारको आर्थिक भार सम्हाल्न उनी सानै उमेरमा मुम्बईको गल्लीहरूमा काम खोज्न बाध्य भइन् । दिदी लता मंगेशकर प्रसिद्ध गायिका थिइन् । दिदीको प्रसिद्धिको छायामा आफूलाई बेग्लै उभ्याउन निकै कठिन थियो । सुरुवाती दिनमा उनले त्यस्ता गीतहरू गाउनुपर्थ्यो, जुन अरू चर्चित गायिकाहरूले ‘दोस्रो दर्जा’ को ठानेर छोडिदिन्थे । ‘म सधैं अर्को किनारमा उभिएर नदी हेर्थें र सोच्थें कि यदि मलाई गहिरो पानीमा फालियो भने पनि पौडिएर बाहिर निस्कनेछु,’ उनले विभिन्न सन्दर्भमा यो प्रसँग कोट्याउँथिन् ।

आशाले दिदी लताको मिठास र शास्त्रीय शुद्धतासँग प्रतिस्पर्धा गरिनन् । बरु आफ्नो स्वरलाई ‘बोल्ड’, चञ्चल र आधुनिक बनाइन् । यसको श्रेय उनी संगीतकार ओपी नय्यर र आरडी बर्मनलाई दिन्छिन् । आरडी बर्मनसँग आशाको सहकार्यका धेरै किस्सा चर्चित छन् । ‘दम मारो दम’ रेकर्ड गर्ने बेला आशाले सुरुमा यो गीत गाउन हिचकिचाएकी थिइन् । किनकि यो उनका लागि निकै नयाँ शैलीको थियो । तर पञ्चम दाले उनलाई सम्झाउँदै भनेका थिए, ‘यो गीत कसैले गाउन सक्छ भने त्यो केवल आशा नै हो ।’ अन्ततः उनले यसरी गाइन् कि आज पनि त्यो गीत आधुनिक पप संगीतको जग मानिन्छ ।

आशाको स्वरको विविधताबारे पनि उत्तिकै किस्सा छन् । क्याबरे र डिस्को गीतले चिनिएकी आशालाई जब संगीतकार खय्यामले गजल गाउन प्रस्ताव गरे, धेरैलाई लाग्यो आशाले सक्दिनन् । तर उनले ‘इन आँखों की मस्ती के’ र ‘दिल चिज क्या है’ जस्ता गजलहरूमा यस्तो गहिराइ भरिन् कि उनले पहिलो राष्ट्रिय पुरस्कार नै गजलबाटै प्राप्त गरिन् । गीत रेकर्डिङको बेला उनले खय्यामलाई भनेकी थिइन्, ‘मलाई यो गजल गाउन डर लागेको छैन, बरु यो मेरो स्वरमा कति शुद्ध सुनिएला भन्ने चिन्ता छ ।’

उनले जीवनकालमा ११ हजारभन्दा बढी गीतमा स्वर दिइन् । नेपालीसहित मराठी, बंगाली, तमिल, तेलुगु र अंग्रेजीसहित २० भन्दा बढी भाषाहरूमा गीत गाइन् ।

आशा भोसलेको सांगीतिक यात्राको थालनी सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट भएको थियो । उनले १० वर्षको कलिलो उमेरमा ‘चला चला नव बाला’ बोलको गीत गाएकी थिइन् । बलिउडमा भने उनी १९४८ को फिल्म ‘चुनरिया’ को ‘सावन आया’ मार्फत सुनिइन् । उनले १९५७ को ‘नयाँ दौर’ बाट व्यावसायिक सफलताको उचाइ चुमेकी थिइन् ।

उनले ‘आजा आजा, मैं हूँ प्यार तेरा’, ‘ओ हसिना जुल्फों वाली’ र ‘पिया तु अब तो आजा’ जस्ता गीतहरू मार्फत पश्चिमा शैलीको ‘क्याबरे’ र ‘पप’ गायनमा क्रान्ति नै ल्याइन् । अर्कोतर्फ, फिल्म ‘उमराव जान’ का ‘दिल चिज क्या है’ र ‘इन आँखों की मस्ती के’ जस्ता गजलहरूमार्फत उनले शास्त्रीय गायनको गहिराइ प्रमाणित गरिन् । त्यसैगरी ‘चुरा लिया है तुमने जो दिल को’, ‘दम मारो दम’ र ९० को दशकको चर्चित गीत ‘तन्हा तन्हा’ ले उनलाई हरेक पुस्ताको प्रिय गायिका बनायो ।

आशा जीवनको उतरार्द्धतिर भन्थिन्, ‘म त्यतिन्जेलसम्म गाउनेछु, जबसम्म मेरो सासले साथ दिन्छ, किनकि मेरो स्वर नै मेरो वास्तविक परिचय हो ।’

नेपालमा आशालाई नजिकबाट नियाल्नेमध्येका एक हुन् संगीतकार रञ्जित गजमेर । पत्रकार शेखर खरेलद्वारा लिखित रञ्जितको आत्मकथा ‘मोहनी मादलको’मा आशाले प्रेमले खिपेका शब्दहरू पठाएकी थिइन्, ‘रञ्जित जब पहिलो पटक पञ्चमजी (आरडी बर्मन) कहाँ मनोहरी सिंहको साथ आएको थियो, उसको हातमा मादल थियो । ‘हरे राम हरे कृष्ण’ फिल्मको पहिलो गीत ‘कान्छा रे, कान्छ रे’बाट पञ्चमजीले उसको नाम पनि ‘कान्छा’ राखिदिए । उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूमा दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो । कान्छाले नेपाली फिल्मका आफ्ना गीतहरूमा मलाई पनि गाउने मौका दियो । गीतका शब्दहरू त म बुझ्दिनथेँ । तर, उसकी पत्नी कुसुम मलाई गीतहरूबारे बताइदिन्थिन् ।

आशाले शुभकामना दिएको पुस्तकभित्र उनी आफैं पनि झुल्किरहन्छिन् । पुस्तकमा रञ्जितले सन् २०१९ को साँझ सम्झिएका थिए । जतिबेला ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’मा आशा रञ्जितको साथमा गुञ्जिएकी थिइन् । त्यो कार्यक्रमका लागि साधना कला केन्द्रका मिलन मोक्तान र आशा गौतमले रञ्जितलाई आशा भोसले ल्याइदिन आग्रह गरेका थिए । आशाले एउटा कार्यक्रमकै एक करोड लिन्थिन् । त्यति पैसा दिने सामर्थ्य उनीहरूसँग त थिएन । तर ल्याउने सामर्थ्य भने एक मात्र पात्र रञ्जितमा थियो । रञ्जित मुम्बईमा आशा भेट्न गए । भेटमा रञ्जितलाई भनेकी थिइन्, ‘कान्छा, तिमी त बूढो भइसकेछौ । हुन त तिम्रोभन्दा बढी उमेर त मेरै हो । तर म त्यति बूढी देखिन्न क्यारे । किनकि म कसरत गर्छु । खानमा ध्यान दिन्छु । म अभ्यास पनि गरिरहेको छु । कतिपय पुराना गीत अहिले रेकर्डिङ गरिरहेको छु ।’

त्यो भेटमा आशाले सोधेकी थिइन्, ‘मेरा लागि कति बजेट छुट्याएका छौ ?’ ‘१० लाख’ मिलनले अप्ठ्यारो मान्दै भनेका थिए । ‘१० लाखमा प्रोग्राम ?’ आशाका छोराले हाँस्दै भनेका थिए । ‘आनन्द, यो कान्छाको अनुरोध हो । हामीलाई हुन्न भन्ने ठाउँ नै छैन,’ रञ्जितप्रतिको अगाध प्रेम व्यक्त गर्दै आशा राजी भएकी थिइन् ।

रञ्जित भने यतिबेला ठूलो शोकमा छन् । कान्तिपुरसँगको फोन संवादमा उनले भने, ‘अहिले म धेरै बोल्न सक्ने अवस्थामा छैन । मलाई धेरै गाह्रो भइरहेको छ ।’ केही दिन अगाडि मात्र आशासँग रञ्जितको कुरा भएको थियो । ‘दिदीले त्यता कस्तो छ, यता त यस्तै चलिरहेको छ भन्नुभएको थियो । तर आज यस्तो खबर सुनें । मलाई जे भइरहेको छ, म त्यो व्यक्त नै गर्न सक्दिनँ,’ रञ्जितले भावविह्वल हुँदै भने ।

लेखक शेखर नेपाली फिल्मको चलचित्र पार्श्व गायनमा आशा भोसलेको योगदान अतुलनीय रहेको मान्छन् । ‘नेपाली फिल्म संगीतमा उहाँको जस्तो ठूलो योगदान अन्य महिला गायिकाहरूको देखिँदैन । ‘माइतीघर’ जस्ता चलचित्रका उहाँका गीतहरू नेपाली समाजका लागि ‘कल्ट क्लासिक’ हुन्,’ उनी भन्छन् । मुम्बईमा रहँदा आरडी बर्मनको समयदेखि नै आशाको नेपाली संगीतकर्मीहरूसँग असाध्यै गाढा र आत्मीय सम्बन्ध रहेको मान्छन् उनी । ‘आरडी बर्मनको अन्तिम समयसम्म पनि नेपालीहरूले साथ नछोडेका कारण उहाँले नेपालीहरूलाई ‘गोर्खेहरूले कहिल्यै साथ छोड्दैनन्’ भनेर प्रशंसा गर्नुहुन्थ्यो,’ उनी भन्छन् ।

आशाले सधैं नेपाल र नेपाली शब्दलाई प्रेम गरिरहिन् । त्यही प्रेममयी आवाजले शब्दमा जादु भरिरहिन् । उनी जहिल्यै संगीत सर्जक र श्रोताहरूका निम्ति सदाबहार आशा थिइन् । तर आशा निभिगइन्, एउटा नमीठो निराशा छाडेर । तर उनले बालेको संगीतको दियो भनेर हामीमाझ नै छ । जुन सधैं चहकिलो बलिरहनेछ ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully