कतिपय अपेक्षा गरिएका फिल्मले यसपटक अपेक्षाअनुरुप व्यापार गर्न सकेनन् । जस्तो कि उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड २४ लाख १७ हजार ४ सय ५३ मात्र कमाइ गर्यो ।
What you should know
काठमाडौँ — अन्य वर्षहरूझैं २०८२ पनि फिल्मकर्मीहरूका निम्ति अपेक्षाकृत भएन । किनकि सीमित फिल्मले मात्र लगानी उठाउन र नाफा कमाउन सके । चलचित्र विकास बोर्डले जारी गरेको १ वैशाखदेखि गत १८ चैतसम्मको तथ्यांकअनुसार यो वर्ष ५६ वटा फिल्म रिलिज भएका थिए । ५६ मध्ये कति फिल्मले नाफा कमाए त ?
०८१ सालमा सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारमा लिड गरेको थियो । फिल्मले नेपालको बक्स अफिसमा मात्र ४८ करोडमाथिको व्यापार गरेको थियो ।
यसपटक भने दीपक आचार्य निर्देशित फिल्म ‘परान’ व्यापारमा सबैभन्दा अगाडि देखियो । उसो त यसपटक १० करोडमाथि कमाउने जम्मा ४ फिल्म थिए– परान, आबाट आमा, जेरी अन टप र ऊनको स्वीटर ।
त्यसपमध्ये ‘परान’ले १७ करोड ६८ लाख ४४ हजार १० रुपैयाँको व्यापार गर्यो । १४ कार्तिकमा रिलिज भएको ‘परान’ले प्रदर्शनको एक साता कमजोर व्यापार गरेको थियो । त्यसपछि भने फिल्मको व्यापारको ग्राफ उकालो लाग्यो । ‘पूर्णबहादुरको सारङ्गी’झैं यो फिल्ममा पनि एउटा सूत्रले काम गर्यो । हलबाट रुँदै फर्किएका दर्शकहरूको भिडियो र रिल्स भाइरल हुँदै गयो । त्यसपछि फिल्म हेर्ने र रुने क्रम बढ्यो । यो फिल्म बा र छोराको सम्बन्धमाथि बनेको थियो । गहिरो सम्बन्धको कथा भएकैले पनि दर्शकलाई यो फिल्मले हलसम्म आकर्षित गर्न सक्यो ।
३१ असोजमा रिलिज भएको सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइ गर्यो । अनमोल केसीको करिअरमै १० करोडमाथि कमाउने यो पहिलो फिल्म थियो ।१६ माघ रिलिज भएको चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ले १३ करोड १३ लाख ७८ हजार ५ सय २० रुपैयाँ कमायो । ‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’जस्तै यो फिल्मले पनि दर्शक तान्नमा उही दर्शक रोइरहेको रिल्स र भिडियोको सहारा लियो । आमा छोराको सम्बन्धका कथा भएकाले आम दर्शकले यो कथालाई आफूसँग जोडेर हेरे ।
३१ असोजमा रिलिज भएको सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइ गर्यो । अनमोल केसीको करिअरमै १० करोडमाथि कमाउने यो पहिलो फिल्म थियो ।
२६ वैशाखबाट रिलिज भएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख ९२ हजार १०० को व्यापार गर्यो । पूर्वी पाँचथरमा खिचिएको यो फिल्म अन्तरजातीय प्रेम कथामा आधारित थियो ।
कतिपय अपेक्षा गरिएका फिल्मले यसपटक अपेक्षाअनुरुप व्यापार गर्न सकेनन् । जस्तो कि उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड २४ लाख १७ हजार ४ सय ५३ मात्र कमाइ गर्यो । यो ‘जारी’को सिक्वेल हो । ‘जारी’ले भने १७ करोडभन्दा माथिको व्यापार गरेको थियो । ‘जारी’को मौलिक कथालाई अत्यधिक रुचाइएको थियो । तर ‘जारी २’को कथाले उल्लेख्य दर्शक तान्न सकेन । प्रतिक्षित फिल्म मानिएको सन्तोष सेन निर्देशित ‘बलिदान’ले पनि खासै दर्शक तान्न सकेन । फिल्मले जम्मा ५ करोड १० लाख जतिको व्यापार गरेको थियो ।
दयाहाङ राई पछिल्लो केही वर्षयता सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेतामा गनिन्छन् । यसपटक भने उनको मुख्य अभिनय रहेको ‘जारी २’ लगायत कुनै पनि फिल्म व्यापारमा सफल हुन सकेनन् । ‘रिमै’ले १ करोड ३८ लाख ७६ हजार मात्र व्यापार गर्यो भने ‘वरिष्ठ बलाराम’ले २ करोड ६० लाख ७९ हजार ४ सय मात्र व्यापार गर्यो । ‘मिरमिरे’ले ३ करोड ३८ लाख ५६ हजार मात्र व्यापार गर्यो । ‘महाभोज’ले ६८ लाख ८६ हजार ७०० मात्र कमायो ।
अभिनेता प्रदीप खड्का अभिनित ‘एक्लो’ले पनि बक्स अफिसमा कुनै जादु गर्न सकेन । फिल्मले ४६ लाख ८७ हजार मात्र व्यापार गर्यो । करिब एक दशकपछि कमब्याक भएका अभिनेता राजेश हमालको मुख्य अभिनय रहेको फिल्म ‘नरसिंहा अवतार’ले पनि हलमा जादु गर्न सकेन । फिल्मले जम्मा १ करोड ८२ लाख ८७ हजार मात्र व्यापार गर्यो ।
कुनै समयका चर्चित अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो काशिराम’ले त ३४ हजार २ सय मात्र कमाइ गर्यो ।
व्यापार अपेक्षाकृत नभए पनि विनोद पौडेल निर्देशित ‘भूठान’ले नेपाली फिल्म क्षेत्रका लागि नयाँ खँदिलो कोसेली दियो ।
बोर्डको तथ्यांकअनुसार रिलिज भएका ३७ वटा फिल्मले त एक करोड मुनिको व्यापार गरे । त्यसकारण यो वर्ष पनि नेपाली फिल्म क्षेत्रका लागि सन्तुष्टजनक हुन सकेन ।
सम्बन्धित समाचार:
