मन्त्री सिन्हाले सरकारले देशले चाहेअनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न चाहेको बताए ।
काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुने गरी यससम्बन्धी कानून परिमार्जन गर्न लागिएको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। मन्त्री सिन्हाले चलचित्रसम्बन्धी प्रचलित कानून परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले समग्र देशको चाहनालाई प्रतिबिम्बित गरेको बताए। उनले सरकारले देशले चाहेअनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न चाहेको पनि उल्लेख गरे।
मन्त्री सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्न सरकार प्रयासरत रहेको बताउँदै भने, ‘चलचित्रसम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गरी नयाँ स्वरूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।’
निर्माण प्रक्रियामा रहेको चलचित्र विधेयकले समाज र देशले चाहेका विभिन्न आयामहरू समेटेको पनि उनले बताए।
सम्बन्धित सामाग्री
