प्रशान्तलाई फिल्म खेलाएका निर्देशक नारायण भन्छन्- ‘नेपाल आएर थुप्रै गीत रेकर्ड गर्छु भन्थ्यो’

प्रशान्त तामाङ अब गीत-संगीत, फिल्म र सम्झनाहरुमा मात्रै ।

पुस २८, २०८२

रीना मोक्तान

Director Narayan, who directed Prashant in a film, says, ”He used to say that he would come to Nepal and record many songs.”

What you should know

काठमाडौँ — ‘फौजी जीवन बाँचिरहेको मान्छेले अचानक संगीतको शिखर चुम्छ । फौजी जीवनको आरोह-अवरोहलाई पर्दामा प्रशान्त तामाङ बाहेक अरु कसले न्याय गर्न सक्छ र ?' 

सन् २००८ तिर फिल्म 'गोर्खा पल्टन'को कथा लेखिरहँदा निर्देशक नारायण रायमाझीको दिमागमा यही कुरा घुम्यो । त्यसैले फिल्मको मुख्य चरित्रमा प्रशान्त तामाङलाई सोचेर लेखे । अनि फिल्म बनाउने तयारी चलिरहँदा निर्माता राजेश बंशलसहित टोली मुम्बई उड्यो ।

भर्खरै आइडल जितेका तामाङ त्यतिबेला निश्चित समयका लागि सोनी कम्पनीसँग अनुबन्धित थिए । सोनीसँगकै सहकार्यमा निर्माण टोलीले प्रशान्तलाई भेट्यो, फिल्मको कथा सुनायो । अनि सरल शैलीमा प्रशान्तले 'हुन्छ' भनिदिए ।

भारतीय रियालिटी सोको अवार्ड विजेता, त्यसमाथि त्यतिबेलाको वाहवाही, चमकधमकबीच कोही कसरी यति सरल, मिजासिलो हुन सक्छ । प्रशान्तको पहिलो 'इम्प्रेसन' अझै पनि नारायणको दिमागमा 'लास्ट इम्प्रेसन' बनेर बसेको छ । 'तपाईंहरुलाई यो चरित्रमा म फिट छु भन्ने लाग्छ भने, मलाई सिकाउनुस् म अभिनय गर्छु,' प्रशान्तका कुरा उद्धृत गर्दै नारायणले भने ।  

नारायणले नै प्रशान्तलाई फिल्ममा डेब्यु गराएका हुन् । त्यसैले अभिनयका हरेक कदममा प्रशान्त उनलाई सम्झिरहेका हुन्थे । केही समयअगाडि पनि प्रशान्तले उनलाई फोन गर्दै भनेका थिए, 'हजुरकै कारण अभिनयको यो क्षेत्रमा आएँ । बलिउडको राम्रो प्रोजेक्टमा काम गर्न जाँदैछु, हजुरको आशिर्वादका लागि फोन गरेको सर ।'

अमेरिकामा रहेका निर्देशक रायमाझीको कानमा अझै पनि प्रशान्तले भनेका यी कुरा गुञ्जिरहेको छ । त्यतिबेलै नारायण र प्रशान्तबीच नयाँ गीत गर्ने कुरा भएको थियो । नारायणका अनुसार प्रशान्तले रेकर्ड गराउनुपर्ने थुप्रै गीतबारे त्यतिबेलै उनलाई सुनाएका थिए । अहिले ती गीत मात्रै होइन यो संसार नै प्रशान्तले छाडिसकेका छन् । तर, उनीसँग गरिएको यस्तै अधुरा योजना, कुराकानी अनि साटिएका सम्बन्धका सम्झनाहरूमै प्रशान्त भेटिन्छन् ।  

डेढ महिनाअघि नारायणसँग नेपाल आउने वाचा गरेका यही प्रशान्त कहिल्यै नफर्के यात्रामा हिँडिसकेका छन् । नारायणसँगको अन्तिम कुराकानीमा प्रशान्त नेपाल आउने पक्का-पक्की भइसकेको थियो । तर, काम व्यस्तताले तोकिएको समय सार्नु पर्‍यो । अब सारिएको यो मितिमा प्रशान्त कहिल्यै नेपाल आउने छैनन् भन्ने सत्यले नारायणको मन दुखाएको छ ।

‘धेरै गीतहरू गर्नुछ, लामै समय बस्ने गरेर आउँछु । परिवारसहित नेपाल आउँछु भनेर भनेको थियो, यस्तो खबर सुन्नु पर्‍यो,’ अमेरिकामा रहेका नारायणले कान्तिपुरलाई सुनाए, ‘मेरो आफ्नो गीत पनि छ सर, त्यो पनि रेकर्ड गर्नुछ । नेपाल आएको बेला धेरै गीतहरू रेकर्ड गरेर फर्कन्छु भनेको थियो ।'

खासमा त्यतिबेला नारायण र प्रशान्तबीच 'धेरैपछि तिम्रो मुहार टिकटकैमा देखेँ’ बोलको गीत गर्ने तयारी चलेको थियो । नारायणले गीतको ट्र्याक प्रशान्तलाई सुनाइसकेका थिए । रमेश बिजीको शब्द तथा नारायणकै संगीतमा गीत रेकर्ड गर्ने योजना बन्दै थियो । प्रशान्तको स्वरमा रेकर्ड गराएर, गीतको भिडियोमा उनी आफै देखिने सम्मको योजना बन्यो । तर, गीतको शीर्षकले भनेझैं अब प्रशान्तको मुहारलाई नारायणले टिकटकमा मात्रै देख्न पाउनेछन् । आफूले बनाएका फिल्म र त्यससँग जोडिएका सम्झनाहरुमा मात्रै उनलाई हेर्न पाउनेछन् । 

नारायण रायमाझीको डेब्यु निर्देशन अनि प्रशान्तको डेब्यु अभिनय रहेको फिल्म 'गोर्खा पल्टन' ब्लकबस्टर बन्यो । सन् २००९ मा प्रदर्शनमा आएको उक्त फिल्मको गीत अझै पनि दर्शकको मन-मस्तिष्कमा छ ।  ‘गोर्खा पल्टन’ गीत फिल्मजस्तै हिट बन्यो । नारायण प्रशान्तलाई ‘सबैको मनमनमा बसेको अभिनेता’को रूपमा चिन्छन् । नारायणले प्रशान्तलाई फिल्ममा लिनुको अर्को कारण पनि छ, त्यो हो 'क्यामेरा फेस' । इन्डियन आइडलजस्तो ठूलो प्लेटफर्मका क्यामेरामा गीत गाउँदै आएका गायकलाई फिल्म खिच्ने क्यामेरामा अभिनय गर्न के गाह्रो होला र ? नारायणलाई त्यतिबेला यस्तै लागेको थियो । त्यसैले फिल्ममाथि सम्झौता गर्न लगाउँदै फिल्म गर्न प्रशान्तलाई नारायणले नेपाल बोलाए । त्यतिबेला निकै सरल शैलीमा प्रशान्तले फिल्ममा अभिनय गरेको सम्झन्छन्, नारायण । 'सोचेको भन्दा सरल तरिकाले काम गर्‍यो । सेटमा पनि सधैँ मिलनसार, ठट्यौली स्वभाव । काममा गम्भीर भइहाले पनि स्वभावले निकै मिलनसार,' नारायणले सम्झे । 

नारायणको डेब्यु निर्देशन अनि प्रशान्तको डेब्यु अभिनय रहेको फिल्म 'गोर्खा पल्टन' ब्लकबस्टर बन्यो । सन् २००९ मा प्रदर्शनमा आएको यो फिल्मको गीत अझै पनि दर्शकको मन मस्तिष्कमा छ । फिल्मको ‘गोर्खा पल्टन’ गीत फिल्मजस्तै हिट बन्यो । यो गीतमा प्रशान्त र अन्जु पन्तको आवाज छ । त्यसरी नै फिल्ममा गाएको अन्य गीतमा ‘घामको माया जुनको माया’, ‘सिरीमा सिरी बतासै चल्यो’, ‘बिछोडको करौंतीले’, ‘आगो पिएर बाँच्ने’लगायतको गीतलाई पनि दर्शकले रुचाइदिएका छन् । ‘अहिलेसम्म पनि त्यो फिल्मको गीत त्यत्तिकै हिट छ । यो फिल्म अत्यन्तै धेरै चल्यो नि,’ नारायण सनाउँछन् । 

करिअरको त्यो उचाइमा रहँदा सहकार्य गरेका नारायण त्यतिबेला उनमा कुनै ‘अहम्’ नरहेको सुनाउँछन् । ‘उसमा कुनै अहम् नै थिएन । जतिबेला पनि एकनास,' नारायणले विगत सम्झे । 

‘गोर्खा पल्टन’पछि नारायणले अन्य दुई फिल्म पनि लगातार प्रशान्तसँगै गरे । ‘परदेशी’ र ‘परदेशी २’मा पनि प्रशान्तलाई खेलाए । ‘गोर्खा पल्टन’मा प्रशान्त प्रमुख भूमिकामै थिए । ‘परदेशी’मा भने तीन प्रमुख कलाकारमध्येमा उनी एक थिए । वैदेशिक रोजगारीको विषयमा बनेको यो फिल्ममा प्रशान्तको चरित्रले विदेश जानकै लागि संघर्ष गरेको कथा छ । ‘परदेशी २’मा भने उनको खासै लामो भूमिका थिएन । 

तर, जति दृश्य थियो, त्यो सबै दृश्य आफूसँग रहेको अभिनेत्री केकी अधिकारी सुनाउँछिन् । 'परदेशी २ मा उहाँको सिन सबैभन्दा धेरै मसँग नै थियो । उहाँ मेरो हात माग्न आउने दृश्य फिल्ममा समावेश छ,' केकीले सुनाइन् । करिअरको सुरुवाततिरै केकीसँग ठोक्किए थिए, प्रशान्त ।

सन् २०१० तिर केकीले केही गीतमा अभिनय थालेकी थिइन् । त्यतिबेला प्रशान्तको 'मन साइँली'बोलको गीतमा केकी अभिनय गरेकी थिइन् । प्रशान्तको पहिलो गीतमा अभिनय गर्न फेरि उनले नै केकीको नाम सुझाएका रहेछन् ।

'उहाँले नै वनमा फुल्यो फूलको मोडललाई राख्नु न, उहाँको एक्सप्रेसन कति राम्रो छ भनेर भन्नु भएको रहेछ । त्यो वर्ष यो गीत निकै रुचाइएको थियो,' केकी सुनाउँछिन्, 'त्यतिबेला उहाँलाई नचिन्ने कोही पनि थिएन ।'

प्रशान्त इन्डियन आइडलको मञ्चमा हुँदा होस्टलमा केकीको समूहले नै पैसा उठाएर उनको लागि भोट गरेका थिए । करिब एक दशकपछि 'परदेशी २'को सेटमा प्रशान्तसँग भेट्दा केकीले उनमा केही परिवर्तन अनुभव गरेकी थिइन् । सन् २०१० तिर प्रशान्तमा अर्कै चहक थियो । संगीतको आकाशमा उडिरहेको चरा भेटेजस्तो थियो । तर, लामो समयपछि भेट्दा अर्कै प्रशान्तसँग भेटेकोजस्तो भयो ।

'मैले उहाँलाई सोधेको थिएँ त्यतिबेला–तपाईंलाई के भइरहेको छ । त्यति हाँसीमजाक गरिरहनु भएको देख्दिन भनेर,' केकी प्रशान्तसँगको समय सम्झन्छिन्, 'त्यतिबेला भर्खरै उहाँको आमा बितेको रहेछ । मैले जीवनमा सबै कुरा सहँदै आएको थिएँ । तर, आमा बितेको कुरा मैले स्वीकार्न सकिरहेको छैन भन्ने कुरा सेयर गर्नु भएको थियो ।' केकी प्रशान्तलाई सहज अभिनेताका रूपमा सम्झन्छिन् । 'उहाँ काम गर्दा एकदम सहज किसिमको को-एक्टर हुनुहुन्थ्यो । सबैलाई सम्मान गर्ने स्वभाव,'केकीले सुनाइन् । 

'पाताल लोक-२'मा सँगै काम गरेकी भारतीय अभिनेत्री तिलोत्तमा शोमले प्रशान्तको तस्बिर राख्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रद्धाञ्जली प्रकट गर्दै उनीसँग काम गर्दाको अनुभवबारे लेखेकी छन्, 'तपाईंसँग काम गर्नु सुखद रह्यो ।'

प्रशान्तसँग सलमान खानको फिल्म 'ब्याटल अफ गलवान'मा सँगै काम गरेका अभिनेता अनुपविक्रम शाही उनलाई मिलनसार व्यक्तित्वका रूपमा सम्झन्छन् । 'उहाँसँग फिल्मको सेटमा ४/५ दिन भेट भएको हो । अत्यन्त मिलनसार, राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । ४/५ महिनाअगाडि मात्रै भेटेको, म त यो खबर पत्याउनै सकिरहेको छैन,' अभिनेता शाहीले भने । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully