लाखौं फ्यानलाई रुवाएर गए ‘गोर्खालीको छोरो’

सुरिलो स्वरका धनी प्रशान्तले आइतबार बिहान दिल्लीमा अन्तिम सास लिए। करोडौं फ्यानलाई निरास पारेर कहिल्यै नफर्किने बाटोमा गए।

पुस २७, २०८२

पर्वत पोर्तेल

'Son of a Gorkhali' moved millions of fans to tears

What you should know

विराटनगर — सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्राण्ड फिनालेमा गायक प्रशान्त तामाङले करोडौं नेपालीभाषी ‘फ्यान’को मन जितेका थिए ।

त्यस दिन उनी गाइरहेका थिए,
‘गोर्खालीको छोरो हुँ म, गोर्खे मेरो नाम...’

संसारभरका नेपालीले त्यो गीत सुनेर उनलाई उच्च सम्मान र माया दिएका थिए । प्रतियोगिताको विजयी क्षणमा ताज चुमेपछि उनका आमाले ढाका टोपी लगाइदिँदा सबैका आँखा रमाएका थिए । त्यसपछि प्रशान्त अझ प्रिय गायक बनेका थिए।

तर, ती प्रिय गायक सुरिलो स्वरका धनी प्रशान्तले आइतबार बिहान दिल्लीमा अन्तिम सास लिए, र करोडौं फ्यानलाई निरास पारेर कहिल्यै नफर्किने बाटोमा गए ।  

४२ वर्षको उमेरमा हृदयघातबाट भएको उनको निधनले दार्जिलिङ मात्रै हैन, संसारभर छरिएर रहेका नेपालीभाषीमाझ शून्यता छाएको छ । ‘उनको निधनले दार्जिलिङलाई गम्भीर शोकमा डुबाएको छ’, चर्चित गायिका डेजी बराइलीले भनिन्,‘संसारभरका नेपालीलाई रुवाएर उनी गएका छन् ।’ 

'Son of a Gorkhali' moved millions of fans to tears

अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनलाई हृदयघात भयो। दिल्लीको द्वारकास्थित अस्पतालमा पुर्‍याइएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रशान्तको मृत्युको पहिलो खबर पाएका थिए, इन्डियन आइडलका उपविजेता अमित पालले । प्रशान्तकी सासुले दुबईमा रहेका अमितलाई फोन गरेर रुँदै भनेकी थिइन्, ‘तिम्रो प्रिय साथी प्रशान्त अब रहेन ।’ 

खबर सुन्ने बित्तिकै इन्स्ट्राको स्टोरीमा अमितले लेखे, ‘ यो न्याय कसरी हुन सक्छ π सधैं मुस्कुराइरहनुहोस् साथी, तपाईं बिना यो संसार पहिले जस्तो रहने छैन । म अझै यो कुरा बुझ्न सकिरहेको छैन... मेरो दाजु, मेरो मित्र, मेरो साथी, स्वर्गतर्फ लागिसक्नु भयो... म विश्वास गर्न सक्दिन कि म यो लेख्दैछु।

प्रशान्त ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका थिए। सामान्य परिवारका उनी सानै उमेरमा बुबा बितेपछि परिवारको जिम्मेवारी उनको कलिलो काँधमा आइलाग्यो। उनी घरको जेठो छोरा थिए र परिवारको आर्थिक तथा भावनात्मक समर्थन उनीमाथि थियो।

चिया बगानको सुस्ताउँदो बिहानदेखि, गल्लीको खेल मैदानसम्म प्रशान्तको जीवन कहिले सामान्य थिएन। परिवारको जिम्मेवारी बोकेर उनी कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा भर्ती भए। प्रहरी ब्याण्डमा गीत गाउँदा गाउँदै उनी आफैलाई सांगीतिक यात्रा तर्फ डोर्याउन थाले। ड्युटी सकिएपछि बेलुका ब्याण्डको अभ्यास, सानो कक्षमा गीत रेकर्डिङ यी सबैले उनी एक सक्षम गायकको रूपमा तयार भए।

सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले निर्णायक मोड लियो। स्टेजमा गाउन उभिँदा उनी एक्ला थिएनन् । करोडौ नेपालीभाषी फ्यान उनको साथमा उभिन्थे। दार्जिलिङको राजनीतिमा समेत उनले अप्रत्याशित तरंग ल्याए।

दार्जिलिङका तत्कालीन प्रशासक सुवास घिसिङले प्रशान्तलाई आइडल बनाउन नसघाएको आक्रोश चुलिँदै जाँदा अन्ततः दार्जिलिङबाट घिसिङले करिब दुई दशक लामो सत्ताबाट हात धुनु पर्यो । त्यही मेसोमा गोर्खा जनमुक्ति मोर्चा नामक नयाँ दल जन्मियो।दार्जिलिङमा विमल गुरुङ नामक नयाँ नेता उदाए।

जसले दार्जिलिङमा अलग राज्य गोर्खाल्याण्डको आन्दोलनको उभार ल्यायो । ‘प्रशान्तकै कारण घिसिङले सत्ताबाट हात धुनु परेको थियो’, प्रशान्तलाई आइडल बनाउने अभियानमा होमिएका नेपालीभाषी ज्ञानेन्द्र अर्याल सम्झिन्छन्,‘प्रशान्तको आगमन र घिसिङको बहिगर्मन एकै पटक भयो ।’

प्रतियोगितामा करोडौं दर्शकको माया र निर्णायकको प्रशंसाले अन्ततः उपाधि नै जिते । दार्जिलिङले खुसीको मिठाइ बाँड्यो, चिया बगानमा, गल्लीमा, विद्यालयमा सबै ठाउँ उत्सवमा झुम्यो । त्यसको बाछिटा मेची तरेर नेपालसम्मै छिर्यो । ‘प्रशान्तले आइडल जितेपछि हामी मध्यरातमा नारा लगाउँदै बजार घुमेको सम्झना अझै ताजा छ,’, झापा धुलाबारीका रविन पाठक भन्छन्,‘उनको जित आफ्नै जस्तो लागेको थियो।’

इन्डियन आइडलपछि प्रशान्त अत्यन्तै व्यस्त सेलिव्रिटी बने । सयौं स्टेज कार्यक्रमहरुमा उनी गाउँदै हिँड्न थाले। आइडल बनेपछि उनलाई पहिलो पटक नेपाली फ्यानहरुले निम्त्याएका थिए । काठमाडौ, धरान र भद्रपुरमा भव्य कन्सर्ट भएको थियो । कन्सर्टलाई व्यवस्थापन गरेका फिल्मकर्मी राजेश घतानी भन्छन्,‘त्यो समय प्रशान्तको क्रेज देखेर हामी छक्क परेका थियौं ।’ 

आइडलले दिएको प्रतिष्ठा पछि प्रशान्तले थुप्रै एल्बम सार्वजनिक गरे। उनका गीतहरूले नेपाली समुदायको मात्रै होइन, भारतभरका नेपाली भाषीहरूको मन जित्यो । उनको यात्रा गायनमा मात्रै सीमित रहने । अभिनय क्षेत्रमा पनि छाप छाडे । नेपाली फिल्म ‘गोर्खा पल्टन’ बाट दर्शकको ध्यान आकर्षित गरे, त्यसपछि भारतीय वेब सिरिज पाताल लोक–२ र सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवानमा उनको अभिनयले उनलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमै थप पहिचान दिलायो। 

दार्जिलिङमा हुर्किएका धेरै युवा अहिले स्टेजमा उभिनुअघि प्रशान्तलाई सम्झन्छन् । उनका लागि संगीत स्वरको अभ्यास मात्रै थिएन । नेपाली समुदाय, पहाड र पहाडी पहिचानको आवाज थियो । फिल्मकर्मी राजेश घतानी थप्छन्, ‘आज नेपाली कलाकार ठूला रियालिटी शोमा पुग्ने आँट प्रशान्तकै कारण सम्भव भएको हो ।’  
प्रशान्त पत्नी गीता थापा र छोरी आरियासँग बस्दै आएका थिए। उनीहरूले सन् २०११ मा नागाल्याण्डमा विवाह गरेका थिए ।

प्रसिद्धि र व्यवसायिक सफलतापछि पनि प्रशान्त परिवारप्रति गहिरो रूपमा समर्पित थिए । उनले आफ्ना प्रियजनलाई सधैं पहिलो प्राथमिकता दिने गर्थे र आफ्नो जीवनको बल र उद्देश्यको मुख्य स्रोतको रूपमा मान्थे । घरपरिवारसँगको सम्बन्धमा पनि उनी जिम्मेवार थिए । यी जिम्मेवार गायक पत्नी र छोरीलाई मात्रै हैन, करोडौं फ्यानहरुलाई रुवाएर सदाका लागि अलप भए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully