विभेदविरुद्धको अभियान ‘शक्ति’

नानी सारा वाकरको निर्देशनमा बनेको फिल्म ‘शक्ति’ले दलित महिला, यौन दुर्व्यवहार र सामाजिक विभेदका विषयमा संवेदनशील ढंगले बहस उठाएको छ ।

मंसिर २९, २०८२

रीना मोक्तान

'Shakti', the anti-discrimination campaign

What you should know

काठमाडौँ — फिल्म 'शक्ति'को अन्तिम दृश्य निकै शक्तिशाली छ । फिल्मकी प्रमुख पात्र दुर्गा सानो पसलबाट एकेडेमीमा परिणत भइसकेको आर्ट ग्यालरी जाने बाटो हेरिरहन्छिन् । ग्यालरीको पुरानो ठाउँको भित्तामै नयाँ एकेडेमी जाने संकेतसहितको बोर्ड झुन्ड्याइएको छ । आमाले बोर्ड नियालिरहँदा छोरी ली मौन अनुहारमा शिर निहुराउँछिन् ।

त्यसपछि क्यामेराले दुर्गाको अनुहार 'क्लोजअप सट'मा देखाउँछ । आँखाभरि आँसु लिई गम्भीर भावमा खडा दुर्गा बिस्तारै हामीतर्फ हेर्छन् । मानौं, उनी क्यामेराको लेन्सभित्र होइन हाम्रै अगाडी उभिएकी छन् । 'फोर्थ वाल' भत्काइएको यो दृश्यमा दुर्गाको आँखैले प्रश्न गरिरहेको देखिन्छ ।  कसलाई ? दर्शकलाई, पितृसत्तात्मक समाजलाई, पीडक जोगाउने प्रवृत्तिलाई । 

फिल्म निर्देशक नानी सारा वाकरको निर्देशनमा बनेको फिल्म 'शक्ति'मा यस्ता थुप्रै दृश्य छन्, जुन फिल्म हेरिसकेपछि लामो समय मानसपटलमा घुमिरहन्छ । डेढ घण्टा लामो यो फिल्मको अर्को बलियो दृश्य हो, लीले उसका शिक्षकसँग चित्रकला सिक्दै गर्दाको एउटा क्षण । ली चित्रकला सिक्न कोठाभित्र हुन्छिन् । सदाझैं ढोका बन्द गरेर लीको छेउ बसेका शिक्षकले विभिन्न बहानामा उनको तिघ्रा समाउँछन् । क्यामेराले झ्वाट्ट लीको अनुहार देखाउँछ । उनी अरट्ठ हुन्छिन्, मानौं बरफझैं शरीर जमेको होस् । शिक्षकको त्यो व्यवहारले उनलाई अप्ठ्यारो मात्रै बनाएको हुँदैन, उनको शरीर हलचल गर्न नमिल्ने अवस्थामा पुर्‍याइदिन्छ । 

यौन दुर्व्यवहार हुँदा झट्टै किन प्रतिकार गरिनौं ? पीडकले दुर्व्यवहार गर्दा चिच्याउनु पर्थ्यो नि ? सहयोगका लागि गुहार्नु पर्थ्यो । तिमी आफैंले किन केही गरेनौं ? यौन दुर्व्यवहारमा परेका अधिकांश पीडितलाई सुरुमै सोधिने प्रश्नको बलियो जवाफ हो यो दृश्य । आखिर शरीर नै जाम परेर बोली बन्द भएको बेला दुर्व्यवहारको प्रतिकार गर्नु कसरी ? चिच्च्याउन खोज्दा स्वर गलाभित्रै अवरुद्ध हुँदाको चिच्च्याहट सुन्ने कसले ? दुर्व्यवहार हुँदाको त्यो वास्तविक अनुभव र अवस्था यो दृश्यमा निर्देशक वाकरले निकै संवेदनशील भएर देखाएकी छिन् । जसै शिक्षकको हात लीमाथि पर्छ, पृष्ठभूमिमा बजिरहेको पार्श्व ध्वनि हराउँछ । शून्यताको मौन ध्वनि चर्को बन्दै जान्छ । केही क्षणलाई लीको संसार त्यही टक्क अडिन्छ । 

यौन दुर्व्यवहारजस्तो गम्भीर मुद्दालाई यसरी मिहिन ढंगमा बुनेर निर्देशक वाकरले पितृसत्तात्मक समाजलाई प्रश्न गरेका छन् फिल्म 'शक्ति'मा । फिल्म यौन दुर्व्यवहारको मूल मुद्दामा केन्द्रित रहे पनि यो एक दलित आमाको संघर्षको कथा पनि हो । जो दुर्व्यवहारमा परेकी छोरी लीको न्यायको लागि प्रहरी प्रशासन, अदालतदेखि अभियन्ता धाउँछिन् । तर, कमजोर वर्ग, कथित तल्लो जातको भएकै कारण उनीजस्ता आमाहरूले कसरी न्यायसम्मको पहुँच पाउँदैनन् ? पीडितले न्यायालयमै कस्ता अप्ठ्यारा परिस्थिति र प्रश्नहरूको सामना गर्नुपर्छ ? पीडकलाई नै यो समाजले कसरी संरक्षण गर्छ ? कथित उपल्लो जातकै भएका कारण पीडक कसरी आफूसँग भएको शक्ति र स्रोतसम्मको पहुँचले संरक्षित हुन्छन् भन्ने थुप्रै विषयलाई फिल्मले देखाएको छ । हदम्यादकै कारण यस्तो गम्भीर मुद्दाले कसरी न्यायको बाटो समात्न सकेको छैन भन्ने विषयलाई पनि फिल्ममार्फत वाकरले बहसमा ल्याएकी छन् । फिल्ममा लीमार्फत यौन दुर्व्यवहारले पार्ने मानसिक, भौतिक, सामाजिक असरहरूलाई केलाइएको छ । साथै पितृसत्तात्मक समाजले कसरी त्यही पीडकलाई जोगाउँदै आउँछ भन्ने उदाहरण हो सानो पसलबाट एकेडेमीमा परिणत आर्ट ग्यालरी ! 

फिल्ममा यौन दुर्व्यवहारकै विषय मात्रै छैन । नेपाली समाजमा जकडिएर बसेको विभेदका विभिन्न स्वरूप यसमा समेटिएको छ । कथित तल्लो जातको भएकै कारण लीले समाजमा विभेद सहन्छिन् । छिमेकी लीलाई 'कमिनीको छोरी' भन्दै अपहेलना गर्छन् । कथित तल्लो जातको भएकै कारण दुर्गाले कार्यक्षेत्रदेखि विभिन्न मोडमा विभेद सहन्छिन् । पीडक र उनका बाबु दुर्गालाई बारम्बार जातकै कारण अपहेलित गर्छन् । पीडकले त सिधै दुर्गालाई भनिदिन्छन्,'तँ कमिनी जे गर्छस् गर' । नेपाली समाजमा व्याप्त दुर्व्यवहारका विभिन्न स्वरूपलाई निर्देशक वाकरले दुर्गा र उनको छोरीको कथामा मिसाएर देखाएकी छन् । महिला भएकै कारण बसमा पुरुष यात्रीले दुर्गाको शरीरलाई छोएर हिँड्छन् । यता ली आफ्ना दुई पुरुष साथीहरूसँग खेलिरहँदा त्यहाँ कबाड संकलक आइपुग्छन् । त्यतिबेला एक जनाले उक्त व्यक्तिलाई हेर्दै भन्छन्,'बम्बई' । बाल मस्तिष्कमा कसरी यो समाजले विभेद घोलिदिएको छ भन्ने उदाहरण हो यो । अनुहारको रंगकै आधारमा गरिने विभेदलाई यो दृश्यले व्यंग्य गर्छ । 

फिल्ममा नेपाली समाजको यस्ता अँध्यारो पाटो केलाउन सुन्दर फ्रेम, सरल पार्श्व ध्वनि प्रयोग गरिएको छ । यो फिल्मको सबैभन्दा बिझाउने पाटो भनेकै यसमा प्रयोग संवाद हो । फिल्ममा बोलीचालीको भाषा भन्दा पनि अप्ठ्यारो सुनिने संवाद भेटिन्छन् । संवादमा त्यही बोलीचालीको भाषा प्रयोग गरिएको भए कथा वाचनमाझैं संवादमा पनि 'शक्ति' बलियो हुने थियो । तर, फिल्ममा प्रयोग बिम्ब र कलाकारका अभिनयले यी समस्या गौण पारिदिन्छन् । फिल्ममा दुर्गा बनेकी लक्ष्मी बर्देवा, उनकी दिदी बनेकी मेनुका प्रधान र छोटो भूमिकामा देखिएका जीवन भट्टराईले बुलन्द अभिनय गरेका छन् । लीको भूमिकामा पोलिना ‌ओली, शिक्षक बनेकी सृष्टि श्रेष्ठ र आकाश नेपालीको अभिनयले तारिफयोग्य छन् । 

यो फिल्मको सशक्त पाटो कथा वाचनमा प्रयोग गरिएको इमानदारिता नै हो । मूलधारे फिल्ममा अधिकांश समय दलितका कथालाई त्यही समुदायलाई वर्षौंदेखि दबाउँदै आएका कथित उपल्लो जातका निर्देशकले भन्दै आएको थियो । वा दलितको कथालाई उनीहरूले नै लेख्दै आएका थिए । दलित चरित्र चित्रणमै समेत कथित उपल्लो जातका कलाकारलाई फोहोरी वा त दर्शक हँसाउने पात्रका रूपमा देखाइन्थ्यो । 

तर, यो फिल्मले त्यो अभ्यास तोडेको छ । फिल्म निर्देशक वाकर आफैं दलित समुदायकी हुन् । नेपालमा जन्मे, हुर्केकी नानीले 'शक्ति'मा दलित समुदायको पीडा र संघर्ष समेटेकी छन् । निर्देशकले यो फिल्मको प्रमुख चरित्रमै पनि दलित समुदायकी कलाकार लक्ष्मी बर्देवालाई समावेश गराएकी छन् । संगीतमै पनि यही समुदायकी र्‍यापर दिमृतीको बलियो आवाज मिसाएकी छन् । दलित समुदायको कथालाई त्यही समुदायको सचेत निर्देशकले भनिदिए उक्त मुद्दा कति पेचिलो बन्छ ? शक्तिले नयाँ बहस फिल्म क्षेत्रमा भित्र्याइदिएको छ । त्यसमाथि महिलाको कथा महिलाले भन्दा त्यो फिल्म कति संवेदनशील र सत्यसँग नजिक हुन्छ भन्ने बलियो उदाहरण हो -शक्ति ! त्यसअर्थमा यो फिल्म दलित समुदायले सहँदै आएको विभेद, महिलाले भोग्दै आएको दुर्व्यवहार र कमजोर न्याय प्रणालीविरुद्धको अभियान हो । 

'शक्ति' ले न्यायिक समाजको पैरवी गर्छ : नानी वाकर, चलचित्र निर्देशक

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully