'शक्ति' ले न्यायिक समाजको पैरवी गर्छ : नानी वाकर, चलचित्र निर्देशक

हाम्रो आध्यात्मिक उर्जा शक्तिले न्यायको बाटोमा लैजान मद्दत गर्छ ? यो प्रश्‍न चलचित्रले सोधेको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

'Shakti' advocates for a just society: Nani Walker, film director

What you should know

काठमाडौँ — नानी वाकर नेपाली मुलकी अमेरिकी फिल्म मेकर हुन् । काठमाडौंको थापाथलीमा जन्मिएर सोल्टीमोडमा हुर्किएकी उनले अमेरिका तथा जापानबाट आफ्नो अध्ययन पूरा गरिन् । 

अमेरिकाको चर्चित एलए टाइम्स सर्ट डक्समा पूर्व सिनियर कमिसनिङ प्रोड्युसरका रुपमा उनले धेरै लघु चलचित्र निर्माण गरिन् । जसमध्ये ‘द रिपेयर शप’ २०२४ मा  ओस्कारमा लघु चलचित्र विधातर्फ अवार्ड जित्न सफल रह्यो ।

पछिल्लो समय उनले ‘शक्ति’ चलचित्र निर्देशन गरेकी छिन् । काठमाडौंको अध्यात्मिक परिवेशलाई पृष्ठभूमीमा राखेर यहाँका भुइँ मान्छले खेप्‍नुपरेका विभेदलाई यस फिल्मले उजागर गरेको छ । हामीसँग भएको आध्यात्मिक उर्जा शक्तिले हामीलाई न्यायको बाटोमा लैजान मद्दत गर्छ ? यो प्रश्‍न चलचित्रले सोधेको छ । 

फिल्मको नेपाल प्रिमियरका लागि १३ औं नेपाल मानव अधिकार चलचित्र महोत्सवमा सहभागी हुन काठमाडौं आएकी वाकरसँग अन्वेषण अधिकारीले गरेको कुराकानी :

‘शक्ति’ ले अन्तर्राष्ट्रिय महोत्सवहरुमा राम्रो प्रशंसा पाइरहेको छ ? यो कथा बनाउने सोच कहाँबाट फुर्‍यो ?

मैले यसअघि निर्देशन गरेको ‘अदर नेचर’  ट्रान्स जेन्डर पहिचान, समलिंगी विवाह र नेपालमा फरक पहिचान भएकाहरुले पाएको अधिकारका विषयमा थियो । उक्त चलचित्र बनाउँदै गर्दा मैले नेपालको संविधान र राजनीतिक प्रणालीलाई प्रगतिशील ठानेको थिएँ ।

दक्षिण एशियाका अन्य मुलुकको दाँजोमा नेपालको संविधान प्रगतिशील नै छ भन्ने मलाई लाग्छ । तर जब, मैले यौन दुर्व्यवहारका घटनामा उजूरी गर्नका लागि ३५ दिनको हदम्याद कानुनमा राखिएको थाहा पाएँ । त्यसपछि केही असहज लाग्यो । म पीडितहरुको अनुहार सम्झिएर हैरान भएँ । चलचित्र बनाउन थालेपछि यसबारे थप कुराहरु थाहा पाएँ । त्यसले बेचैन बनायो । यही बेचैनी मैले चलचित्रमार्फत पोखेको हुँ । यो असहज विषय हो । यस विषयमा बहस जरूरी छ भन्ने मलाई लाग्छ ।  यस चलचित्रमा दुई दलित दिदी–बहिनीको कथालाई उतारिएको छ । आमा एक्लैले छोरी हुर्काउनुपर्दाको संघर्ष देखाइएको छ । साथै नेपालकाे अध्यात्मिक जीवनलाई पनि देखाइएको छ । 

नेपालमा वर्तमान अपराध संहिताले बलात्कारका घटनामा उजूरीको हदम्याद ३५ दिनबाट बढाएर दुई वर्ष पुर्‍याएको छ । दुर्व्यवहारका अन्य घटनामा पनि उजूरी दिने हदम्याद बढाइएको छ ।  तर अभियन्ताहरुले यसलाई हटाउनुपर्ने माग गर्दै आएका छन् । यसमा तपाईको प्रतिक्रिया के छ ?

उजूरी दिने हदम्याद पूर्ण रुपमा हट्नुपर्छ । अहिलेको व्यवस्थाले हाम्रो समाज र राज्य व्यवस्थालाई गिज्याइरहेको छ । यस्तो परिस्थितीमा समाजमा न्याय स्थापित हुनै सक्दैन । आफू पीडित भएको महसुस गरेपछि न्यायिक परीक्षणमा जान पाउने मानिसको अधिकार हो । अहिलेको कानुनले त्यसबाट पीडितहरुलाई वञ्चित गरेको छ । हामीले चलचित्रमा पनि यही देखाएका छौं ।

न्यायसंगत, समावेशी र जिम्मेवार समाजका लागि हामीले गरेको पैरवीलाई दर्शकहरुले मनपराइदिनु भएको छ, हामीले यसैलाई सकारात्मक रुपमा लिएका छौं । न्यायिक समाज स्थापनाका लागि हरेक व्यक्तिको भूमिका रहन्छ । आशा गरौं, हामी सबैले यसका लागि पहल गर्नेछौं र साझा प्रयासले यस्ता जटिलता हट्नेछ । 

'Shakti' advocates for a just society: Nani Walker, film director

चलचित्रको  अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो छ  ?

अहिलेसम्म १३ वटा महोत्सवमा छनोट भइसकेको छ । विशेषगरी, नेपालमा यसले आफ्नो सुरुवाती स्क्रिनिङमै राम्रो साथ पायो । नेपालकै कथा भएकाले पनि हामीलाई यहाँको साथ विशेष लाग्छ ।  हामी उत्साहित छौं । 

हामीले शक्ति रिलिज गर्दै गर्दा नेपालमा ठूलो आन्दोलन भयो । युवाहरुले भ्रस्टाचारमुक्त र न्याय संगत समाजका लागि पैरवी गरिरहेका छन् । हामी पनि परिवर्तन चाहन्छौं । फिल्मले सामान्य मानिसहरुले भोगेका समस्या उजागर गरेको छ । हामीले न्यायपूर्ण र सबैका लागि सुरक्षित समाज निर्माण गर्नका लागि लाग्नुपर्छ । 

नेपाली कलाकारको अभिनयलाई कसरी लिनुभएको छ ?

मैले नेपाली कलाकारहरुमा ठूलो संभावना देखेको छु । सन् २०११ मा स्पेनिस फिल्म काठमाडौं लुलाबाईमा कास्टिङ डाइरेक्टरका रुपमा काम गरेदेखि नै म नेपाली कलाकारहरुसँग नजिक छु । उहाँहरुले दर्शकलाई निराश पार्नुहुन्न । यसमा पनि निकै राम्रो अभिनय गर्नुभएको छ ।

विशेषगरी दिदी–बहिनीको भूमिकामा मेनुका प्रधान र लक्ष्मी बर्देबा चलचित्रको केन्द्रमा हुनुहुन्छ । बालकलाकार पोलिना ओलीको अभिनयलाई पनि धेरैले मन पराउनु भएको छ । सृष्टी श्रेष्ठ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत सबै कलाकारहरुको अभिनय निकै राम्रो छ । मेरो अनुभवमा नेपाली कलाकारहरुसँग विश्वस्तरीय अभिनय गर्नसक्ने क्षमता छ ।  

कान्तिपुर

Link copied successfully