सुदूरपश्चिममा कुनै समय इच्छा, मनोकामना पूरा गरिदिन भन्दै मन्दिरमा भाकल गर्ने र भाकल पूरा भएपछि भाकल स्वरूप कन्यालाई देउकी चढाउने गरिन्थ्यो । नाटक ‘छोरीका मुण्डामा फोली’ त्यही प्रथामा आधारित छ ।
What you should know
काठमाडौँ — सुदूरपश्चिममा कुनै समयमा प्रचलित देउकी प्रथालाई नाटकका उतारिएको छ । रंगकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशकमा ओजस थिएटर(शैली थिएटर)मा नाटक 'छोरीका मुण्डामा फोली'मञ्चनरत छ ।
सुदूरपश्चिममा कुनै समयमा प्रचलित देउकी प्रथामा नाटक आधारित रहेको छ । देउकी प्रथामा मन्दिरमा इच्छा तथा मनोकामना पूरा गरिदिन भाकल गर्ने र भाकल पूरा भएपछि भाकल स्वरूप कन्यालाई देउकी चढाउने गरिन्थ्यो ।
विद्यार्थीहरू सामाजिक विषयमा देउकी प्रथा बारेमा पढ्नुपर्ने र नाटकमा सहभागी कलाकारलाई रङ्गमञ्चीय ज्ञान अभिवृद्धिका लागि नाटक निर्माण गरिएको निर्देशक अवस्थी बताउँछन् । काठमाडौंमा रहेका विद्यार्थी तथा दर्शकहरूलाई सुदूरपश्चिमको संस्कार र संस्कृतिबारे ज्ञान प्रदान गर्ने र सुदूरपश्चिमको भाषा, भेषभूषा, रहनसहन प्रवर्द्धन गर्ने उद्देश्यले पनि नाटक निर्माण गरिएको उनको दाबी छ ।
आफू सुदूरपश्चिममा जन्मिएको हुँदा त्यस ठाउँको निकै माया लाग्नेर त्यहाँको कला,संस्कार तथा संस्कृति प्रवर्द्धन गर्न मन लाग्ने निर्देशक अवस्थी बताउँछन् । भन्छन्, 'त्यसैले मैले निर्माण गर्ने प्राय नाटकहरुमा सुदूरपश्चिमको स्वाद पाउन सकिन्छ। अझै यो नाटकमा त पूरै उतैको स्वाद छ । काठमाडौंमै जन्मेका, हुर्केका विद्यार्थीहरूलाई सुदूरपश्चिमको भाषामा काम गराउन चुनौती त छँदै छ तर पनि चुनौतीलाई सामना गरेर यता विद्यार्थीहरूलाई सुदूरपश्चिमकै लवजमा काम गराउने प्रयास गरेको छु ।'
नाटकमा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कुलमा नाटक विषय पढ्ने विद्यार्थीहरू कलाकारका रुपमा रहेका छन् । नाटकमा कलाकारहरु गौरव हुमागाईँ,संरक्षण मिश्र,रसिल बस्नेत,निस्ता सन्जेल,सफलता घिमिरे,रेस्मी राई,ज्ञानीसा खत्री,कृतिका बस्नेत,उत्प्रेणा पण्डित,अबिमन श्रेष्ठ,आरोही घिमिरे,सचिना दुधराज ,अभिमन्यु भट्ट,आरोग्य श्रेष्ठ र द्रिशना बोहोराको अभिनय देख्न पाइन्छ ।
नाटकको मञ्च व्यवस्थापन प्रसिज घिमिरेले गरेका छन् भने प्रकाश परिकल्पना उज्जवल साईपोम राईले गरेका छन् । नाटकका सहायक निर्देशक रुबिन सुनार हुन् ।
मंसिर २१ गतेदेखि ओजस थिएटर(शैली थिएटर)मा मञ्चन भइरहेको नाटक मंसिर २५ गतेसम्म बिहान ८:३०, ११:०० र २:०० बजे तीन शो प्रस्तुत हुनेछ।
