२०५० सालसम्मको एक तथ्यांक अनुसार डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायतका १० वटा मन्दिरमा चढाइएका २ हजार ५ सयभन्दा बढी देवकी रहेको अनुमान थियो ।
What you should know
काठमाडौँ — निःसन्तान आमाबाबुले छोराछोरी प्राप्त गर्न वा आफूले चाहेको कुनै पनि मनोकांक्षा पूरा भएमा कन्या चढाउँला भनेर शक्तिमातासँग भाकल गर्छन् । भाकल पूरा भएपछि कन्यालाई किनेर भए पनि मन्दिरमा चढाउँछन् । यसरी कन्यालाई मन्दिरमा चढाउने चलन नै देउकी प्रथा हो ।
यो प्रथा नेपालको सुदूरपश्चिम क्षेत्रमा ४० को दशकसम्म निकै झांगिएको थियो । महारोग लागेमा, मुद्दा जित्नु परेमा, छोराछोरी नभएमा वा आफ्नो कुनै पनि मनोकांक्षा पूरा गर्नुपरेमा छोरी वा गरिब परिवारका अवोध कन्या किनेर चढाउने गरिन्थ्यो । सुदूरपश्चिमको सेती र महाकाली अञ्चलमा धेरै चलन रहेको यो प्रथाको केन्द्रविन्दु भने बैतडीको मेलौली मन्दिर मानिन्थ्यो । २०४६ को परिवर्तनपछि कम हुँदै गए पनि गोप्य रूपमा कन्यालाई मन्दिरमा चढाउने चलन ५० को दशकसम्म हटेको थिएन ।
इतिहासकार प्राध्यापक डा. सूर्यमणि अधिकारीले लेखेको ‘बाइसे राज्यको इतिहास’ पुस्तकका अनुसार डोटी राज्यमा राजा नाग मल्लका पालादेखि देउकी प्रथाको चलन चलाइएको हो । त्यस्तै डोटीमा जुम्लाका रैका मल्ल राजा वंशज नागी मल्लले कत्युरी नरेशको राज्य जितेपछि देउकी प्रथा चलाएको भनाइ पनि रहेको छ । मन्दिरमा चढाएको बालिका वयस्क भएपछि विवाह गर्न नहुने परम्परा रहेको थियो । शारीरिक सम्पर्क गर्न हुने तर विवाह गर्न नहुने कुसंस्कार भएकाले देउकीबाट जन्मेको सन्तानको पालनपोषण र शिक्षाका लागि निकै ठूलो समस्या हुने गरेको थियो । उनीहरूले मन्दिरमा चढाएको सामग्रीबाट जीविका चलाउनु पर्थ्यो ।
२०५० सालसम्मको एक तथ्यांक अनुसार डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायतका १० वटा मन्दिरमा चढाइएका २ हजार ५ सयभन्दा बढी देवकी रहेको अनुमान थियो । देउकीबाट जन्मेको बालबच्चाको पालनपोषणका लागि २०४४ मा श्रम मन्त्रालयले ८ जना छोराछोरी काठमाडौंमा पढाउने व्यवस्था पनि गरेको थियो । त्यसबाट पनि यो चलन कायम रहेको प्रमाणित हुन्छ । ![[Archive] The inhumane practice of offering virgins to gods...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-8-21-29102025014423-1000x0.jpg)
पत्रकार नारायण वाग्लेले कान्तिपुरका लागि बैतडी मैलौली डेटलाइनमा तयार गरेको समाचार अनुसार सतहका नदेखिए पनि भित्रभित्रै यो चलन कायम थियो । झण्डै ३१ वर्षअघिसम्म कायम रहेको उक्त चलन हटाउन निकै प्रयास गरे पनि सफल भएको थिएन । देउकीका सन्तान पढाउने केन्द्र ‘चाइल्ड कियर सेन्टर’का प्रबन्धक दीपकदेव भट्टले भनेका थिए, ‘एक स्थानीयले छोरी बेचे । भाकल गर्ने व्यक्तिले दलालमार्फत किन्यो । मुद्दा जिल्ला आदालतमा पुग्यो । हिरासतबाट छुटेको दलाल रातारात भारत भाग्यो । कन्या चढाउने व्यक्तिको पहिचान नै हुन सकेन ।’ बाबुले नै छोरी बेचको कुरा अस्विकार गर्ने भएकाले यस्ता समस्या आउने गरेको भट्टले बताएका थिए । उनले केही महिनाभित्रै चार जना कन्या मन्दिरमा चढाएको खबर पाए पनि उनीहरू को हुन् भन्ने पत्ता लगाउन कठिन भएको बताएका थिए ।
स्थानीयका अनुसार चढाइएका कन्याहरू वयस्क भएपछि मन्दिर जान थाल्छन् । तर उनीहरू विवाह गर्दैनन् । त्यसपछि रहस्य खुल्ने गर्छ । ‘गाउँमा भर्खरै मन्दिरमा कन्या चढाएको हल्ला छ तर पहिचान गर्न सकिँदैन,’ भट्टले ३१ वर्षअघि सुनाएका थिए । सबैभन्दा ठूलो समस्या देउकी बनेका आमाहरूलाई हुने गरेको थियो । उनीहरू आफ्नो सन्तानले पढेको र ठूलो मान्छे भएको हेर्न चाहन्थे । त्यसमा पनि आफ्नो जीवन गृहस्थीविहीन भएकामा दुःखी पनि थिए ।
४० को दशकमा राजाको भ्रमणका बेला देउकीको शिक्षाका बारेमा कुरा उठेको थियो । त्यही बेलादेखि देउकीका छोरीको शिक्षाका विषयमा ध्यान दिन थालिएको थियो । तर ५० को दशकसम्म पुग्दा त्यसप्रति खासै चासो दिइएको थिएन । काठमाडौंमा देउकीका कन्या पढाउन खोलिएका ‘आवासीय कोटा’ २०४६ को परिवर्तनपछि बन्द गरिएको थियो ।
श्रम मन्त्रालयले सर्वेक्षण गरेर तयार गरेको तथ्यांक अनुसार बैतडीमा देउकी, गरिब र विपन्नका छोराछोरीका लागि स्थानीय विद्यालयमा १८ वटा कोटा निर्धारण गरेर छात्रवृत्तिको व्यवस्था गरिएको थियो । उक्त छात्रवृत्तिमा देउकीले पनि पढिरहेका थिए । त्यतिबेला विद्यालयस्तरको शिक्षामा पनि शुल्क लाग्ने भएकाले छात्रवृत्ति पाउनुलाई ठूलै सहयोग मानिन्थ्यो । २०५१ मा प्रतिविद्यार्थीलाई ७ सय ५० रुपियाँ छात्रवृत्रि पठाउने गरिएको थियो ।
सुदूरपश्चिममा रहेको देउकी प्रथाबाट समाजमा उत्पन्न विकृति र अमानवीयतालाई प्रोस्ताहन गरिरहेको कुसंस्कारका विषयमा केन्द्रित भएर पत्रकार वाग्लेले तयार गरेको ‘फिल्ड रिपोर्टिङ’लाई कान्तिपुर दैनिकले ‘देउकी चढाउने कुप्रथा अझै जीवित’ शीर्षकमा २०५१ मंसिर २१ मा प्रकाशित गरेको थियो । अहिले भने देउकी प्रथा लगभग अन्त्यजस्तै भएको छ ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The inhumane practice of offering virgins to gods...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/02042016111633deuki-29102025014359-1000x0.jpg&w=1001&h=0)