लुना लुइँटेलले जितिन् 'मिस नेपाल २०२५' उपाधि

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् ।

भाद्र १४, २०८२

रीना मोक्तान

Luna Luintel won the 'Miss Nepal 2025' title

काठमाडौँ — २६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । स्कूभा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । उनले त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् । 

प्रतियोगितामा दीपशिखा नेपाल, ‘मिस नेपाल कस्मो’को ताजसहित पहिलो उपविजेता बनिन् । शनिबार गोदावरी सनराइज कन्भेनसन सेन्टरमा आयोजित मिस नेपालको ग्रान्ड फिनालेमा उरुषा भण्डारी उपविजेता बन्दै ‘मिस नेपाल इन्टरनेसनल’को ताज जितिन् । जापानमा हुने मिस इन्टरनेसनलमा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, सोनी घले प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् । 

अन्य उपाधितर्फ ‘मिस कन्फिडेन्ट’को उपाधि प्रज्ञिका क्षेत्रीले जितिन् । उरुषा भण्डारीले ‘मिस टाइमलेस एलिगेन्स’ र ‘रियल मिस पपुलर च्वोइस’ गरेर एकसाथ दुई उपाधि जितिन् । साइच्छा थापाले ‘डाबर बाटिका मिस ब्यूटिफूल हेयर’ जित्दा ‘मिस हेल्थी स्किन’को उपाधि आरती थापाले पाइन् ।

त्यस्तै, ‘बिवाइडी मिस ग्रीन भिजनरी’को उपाधि जग्दिश्वरी शाहले पाउँदा ‘एन्बियो मिस प्रिस्टिन’ प्रियांका थापाको पोल्टामा पर्‍यो । त्यस्तै कार्यक्रममा लुना लुइँटेलले ‘मिस डिएचआई’, दीपशिखा नेपालले ‘नेसनल लाइफ मिस इम्पावर्ड च्वोइस’ र स्मृति श्रेष्ठले ‘फारमसी फेस अफ दि इयर २०२५’को उपाधि जितिन् । स्मृतिले यो सहित मिस फोटोजेनिकको उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल भइन् ।

त्यस्तै,  श्रृष्टीकुमारी तामाङले ‘एनसेल मिस ब्यूटी विथ पर्पज’ जितिन् । स्रुति महर्जनले क’द काठमाडौं पोस्ट मिस इन्टेलेक्चुअल’ उपाधि जितिन् । निलिमा पाण्डेले ‘यति वुमन विथ विङ्गस’को उपाधि जितिन् । 

प्रतियोगितामा सुरुमा शीर्ष १२ छानिएको हो । त्यसपछि प्रश्नोत्तर प्रतियोगिता भयो । शीर्ष १२ ले निर्णायकले सोधेको प्रश्नको उत्तर दिए । त्यस्तै, अन्तिम शीर्ष चारले भने दिइएको प्रश्नको उत्तर लेखेर सुनाउनु पर्ने थियो । शीर्ष ४ मा छानिएका उरुषा भण्डारी, लुना लुइँटेल, सोनी घले र दीपशिखा नेपाललाई आयोजकले एउटै प्रश्नको जवाफ सोधेका थिए । ‘यदि तपाईंले सौन्दर्य प्रतियोगिताबारे एउटा धारणा परिवर्तन गर्न सक्नुहुन्छ भने त्यो कुन हो र किन ?’ भन्ने प्रश्नमा सुन्दरीहरुले फरक-फरक विचारसहितको जवाफ दिए । 

प्रतियोगिताको निर्णायकमा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित, मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा, हिमालय टेलिभिजनका अध्यक्ष श्याम कँडेल, अभिनेत्री आना शर्मा, कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँर, अरेता पब्लिक रिलेसनका सीईओ रुची पाण्डे, साइमेक्सका सीईओ शाहिल श्रेष्ठ, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस्टर नेपाल २०२३ समर्पण जंग कार्की, डा. श्रृष्टी श्रेष्ठ प्रजापति, डिजाइनर मनिश राई थिए ।

प्रतियोगिताको अन्तमा दीपशिखा र लुनालाई एकअर्काको आमुन्ने सामुन्ने उभ्याइएको थियो । उनी दुईमै मिस नेपाल २०२५ को विजेता घोषणा गरिएको हो ।

मिस नेपाल मेरो सानैदेखिको सपना : लुना

मलाई अहिले एकदम सर्रियल अनुभव भइरहेको छ । के रियालिटी, के ड्रिम भइरहेको छ । मलाई लाग्छ, अहिले म सपना र विपनाको बीचको समयमा छु । यो क्राउन देख्दा, हातको फूल देख्दा म युनिभर्सलाई धन्यवाद दिन चाहन्छु । म मेरो परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । मलाई तालिम दिने ट्रेनर्स र शिक्षकहरुलाई धन्यवाद दिन चाहन्छु । 

मैले विद्यालयस्तर पाठशालामा गरेको हुँ । ग्लोबल म्यानेजमेन्टमा १२ सकें । १७ वर्षको उमेरमा अस्ट्रेलिया जाँदा म अस्ट्रेलियन परिवारसँग बस्नु पर्‍यो । जब १८ वर्ष पुगें अनि काकाकाकीसँग ३ वर्ष बसें । त्यसपछि अस्ट्रेलियाको बसाइ घरजस्तै सहज भयो । मलाई कहिल्यै पनि घरबाट टाढा छु भन्ने लागेन । अनि मैले यता म्यानेजमेन्ट गरेको भएर नर्सिङ पढें । त्यो भन्दा अगाडि मैले एक वर्षको एक्स्ट्रा फाउन्डेसन कोर्ष गरें । त्यसपछि मैले ३ वर्षे नर्सिङ अध्ययन गरें । अहिले म मास्टर गर्दैछु । 

मलाई पानी सानैदेखि मनपर्ने, त्यसैले मैले स्कुबा डाइभिङ कोर्स पनि गरें । फिलिपिन्समा मैले स्कुबा डाइभिङ कोर्स गरेको हुँ । अनि फिलिपिन्सबाटै स्कुबा डाइबिङको लाइसेन्स लिएँ । मेरो दाजु पनि स्कुबा डाइबर हुनुहुन्छ, म उहाँबाट यसका लागि प्रेरित भएकी हुँ । 

मिस नेपाल मेरो सानैदेखिको सपना हो । तर, मैले कहिल्यै प्रतियोगितामा सहभागी हुन सकिनँ । टाँढैबाट हेर्थें, तर २०२३ बाट चाहिँ मैले हिम्मत गरें । र, आज मैले यो उपाधि पनि जितें ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully