गतवर्ष दसैँमा ४० करोडको व्यापार, यसपालि ५ फिल्मको मारामार

घटस्थापनालाई साइत पारेर उपेन्द्र सुब्बाको जारी २ ले महाभिडन्तको फायर खोल्दैछ । लगत्तै फुलपातीमा बलिदान, हरिबहादुरको जुत्ता, माइतिघरसँगै अभिमन्यू (हिन्दी डब) पनि जुध्न आईपुग्ने भएका छन् ।

श्रावण २१, २०८२

रीना मोक्तान

Last year business of 40 crores on Dasai, 5 films this year

What you should know

काठमाडौँ — यतिबेला हलमा आठ वटा फिल्म प्रदर्शनरत छन्। तर बिडम्बना नेपाली फिल्म एउटै छैनन्। गत असारभरमा प्रदर्शनमा आएको एउटै मात्र फिल्म यो मन त मेरो नेपाली हो एक साता पनि टिक्न सकेन। साउनमा पनि मात्र दुई फिल्म सिटामोल र मोहर मात्र रिलिज हुँदैछन्।

भदौमा हरितालिका तीजको छेको पारेर एकाध फिल्म प्रदर्शनमा आउने तरखरमा छन् । तर असोजको अवस्था भने बिलकुलै फरक छ । दसैँको घटस्थापनादेखि फुलपातीसम्मको छोटो अवधिमा नै कम्तीमा चार फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् ।

यति बेला हलले नेपाली फिल्म नपाइरहेको अवस्था छ भने दसैँमा कुन फिल्मले हल पाउने हुन् भन्ने चिन्ता निर्मातालाई परिसकेको छ । दसैँ आउन ७ हप्ता मात्र बाँकी रहँदा चार वटै फिल्म को भन्दा को कमको शैलीमा दसैँमा भिड्न तम्तयार भएर बसिसकेका छन् । 

घटस्थापनालाई साइत पारेर उपेन्द्र सुब्बाको जारी २ ले महाभिडन्तको फायर खोल्दै छ । लगत्तै फूलपातीमा बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरसँगै अभिमन्यु (हिन्दी डब) पनि जुध्न आइपुग्ने भएका छन् । धन्न, भिडमा मिचिन नपरोस् भनेर यसअघि दसैँमा रिलिज गर्ने भनिएको अशोक शर्माको डबल ट्रिपलले प्रदर्शन मिति नै पछि सार्‍यो ।

दसैँमा नै भिड्ने भनेर चार महिनाअघि नै सुरसार कसिसकेका बिराज विष्टको महाराजधिराज र वसन्त निरौलाको दशमी त्यसै सेलाए । एकपछि अर्को फिल्मले दसैँ ताकेपछि दुवै फिल्मले अहिलेसम्म छायांकन नै गर्ने जाँगर देखाएका छैनन् ।

लामो बिदा र चाडपर्वको उल्लासको माहौल हुने भएकोले फिल्म व्यापारका लागि दसैँ सधैं हट केक बन्दै आइरहेको सत्य हो । कुनै बेला पालो प्रणालीमा नेपाली फिल्म रिलिज हुन्थे । यस्तोमा ठुला ब्यानरका निर्माताहरूले पहिल्यै दसैँ रिलिजलाई आफ्ना फिल्मको पेवा बनाउँथे । छविराज ओझाले यसरी धेरै दसैँ खाए ।

पछि खुल्ला प्रतिस्पर्धाको नियम आएपछि धेरै निर्माताले दसैँलाई लक्षित गरेर फिल्म त ल्याए, तर सफल भए, मात्र दीपकराज गिरी । उनले छक्का पन्जाको सिरिजबाट केही वर्षसम्म दसैँको व्यापार मज्जैले चाखे । गत वर्षको फूलपातीमा पनि गिरीले छक्का पन्जा ५ नल्याएका होइनन्, तर अवस्था केही बदलियो ।

उनको एकलौटी बजारमा बिराज भट्टको १२ गाउँले राम्रैसँग धावा बोल्यो । प्रतिस्पर्धामा भतिज पुस्ताका समीर भट्टको ओजसामु दीपकराजको दीप पनि धिपधिपायो । यसपटक भने उनी दसैँ भिडन्तको रिङमा नै आउन चाहेनन् ।  

यस पटकको फूलपातीमा उनै समिरलाई बोकेर निर्माता, निर्देशक सन्तोष सेन बलिदानमार्फत आउन लागेका छन् भने निर्देशक दीपेन्द्रकुमार खनाल हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरलाई समातेर हरिबहादुरको जुत्ताबाट जोडतोडले लागिरहेका छन् । त्यसै गरी अर्का निर्माता रोहित अधिकारी धिरज मगर, केदार घिमिरे, प्रकाश सपूत, उपासिना सिंह ठकुरीसहितको डफ्फा नै बोकेर माइतीघरमा ठुलो कन्फिडेन्स देखाइरहेका छन् ।

प्रोडक्सनका हिसाबले एक से एक देखिएका तीन फिल्मको भिडन्तमा अर्को नेपाली फिल्म अभिमन्युको हिन्दी भर्सनले पनि च्याँखे दाउ थाप्न लागेको छ । र, सबै ५ नेपाली फिल्मलाई दसैँमा नै आउने हिन्दी फिल्म कान्तरा २ पनि भारी पर्न सक्नेछ भने हलिउड फिल्म पनि भिड्न आए भने दसैँ प्रतिस्पर्धा महँगो हुन सक्नेछ ।

आखिर ठुला ब्यानर र सम्भावना बोकेका फिल्मले प्रदर्शनका लागि दसैँ नै किन ताक्छन् ? हलले थेग्नै नसक्ने संख्यामा पनि करोडौँ लगानीलाई दाउमा राखेर भिड्न किन हौसिन्छन् ? यसको सोझो जवाफ हो, दसैँ बिदा। दसैँमा अरुबेला भन्दा लामो बिदा हुन्छ । नेपाली फिल्मकर्मी यही बिदालाई व्यापारमा बदल्ने उद्देश्यसहित दसैँ पर्खन्छन् । दसैँ बिदामा परिवारको जमघट हुन्छ, परिवार नै फिल्म हेरौँ भन्दा मौका, समय र पैसाको सहजै जोहो हुन्छ ।

यो वर्ष फूलपातीदेखि द्वादशीसम्मको दसैँ बिदाले ठ्याक्कै ६ दिन ओगट्छ । यही बिदालाई व्यापारमा परिणत गर्न एउटै मितिमा फिल्म प्रदर्शन गर्न हानथाप गर्दै छन्, नेपाली फिल्मकर्मी । अरुबेला नेपाली फिल्मलाई संरक्षण चाहिन्छ, एउटै मितिमा फिल्म जुध्नुहुन्न भन्नेहरू पनि दसैँमा चुप रहनुको खास कारण लामो बिदा नै हो । 

अझ गत वर्षको दसैँको व्यापारले पनि यसपटक भिडन्तका लागि मलजल पुर्‍याएको देखिन्छ, निर्मातालाई । गत वर्ष फूलपातीमा एकसाथ रिलिज भएका ‘छक्का पञ्जा ५’, ’१२ गाउँ’ र ‘ज्वाइँ साप’ले मनग्य दर्शक पाए, पैसा कमाए । ’१२ गाउँ’ एक्लैले २० करोड बराबरको व्यापार गर्‍यो भने छक्का पन्जा ५ ले पनि १५ करोड माथि । दुई ठुला साँढेको जुधाइमा हेलिन आइपुगेको जितु नेपाल अभिनीत ज्वाइसाबले पनि बाच्छाको मिचाई हुनुपरेन । त्यसअघि घटस्थापनामा रिलिज भएको बेहुली फ्रम मेघौलीले पनि एक सातामै साढे तीन करोडको कमाई गर्‍यो । 

तथ्यांकमा हेर्ने हो भने गत आर्थिक वर्षमा ६१ नेपाली फिल्म रिलिज भएका थिए । बक्स अफिसमा यी फिल्मले १ अर्ब ५१ करोड ३२ लाख भन्दा माथिको व्यापार गरे । तर दसैँ र तिहारको एक महिना अवधिमा रिलिज भएका जम्मा ५ फिल्मको व्यापार मात्रै ८६ करोड ८५ लाख रुपैयाँ भन्दा माथिको थियो । जून पूरा वर्ष नेपाली फिल्मले गरेको व्यापारको ५७ प्रतिशत हिस्सा हो ।

बाँकी ११ महिनामा प्रदर्शनमा आएका ५५ फिल्मले साढे ६४ करोडको मात्रै ग्रस कलेक्सन गरेका थिए । दसैँमा प्रदर्शनमा आएका ५ फिल्मले कम्तीमा ४० करोड रुपैयाँको टिकट बिक्री गर्दा तिहारमा प्रदर्शनमा आएको पूर्णबहादुरको सारंगी एक्लैले ४६ करोड ८७ लाख माथिको कमाई गरेको थियो ।

यति बेला दसैँ भिडन्तमा ज्यान फालेर निर्माता लाग्नुको मुख्य तात्पर्य गत वर्ष दसैँ र तिहारमा नेपाली फिल्मले गरेको यही लोभलाग्दो व्यापारिक आँकडा नै हो । अझ विजय बराल जस्ता चरित्र अभिनेताकै फिल्मले पनि झन्डै ४७ करोड व्यापार गर्छ भने जुनसुकै निर्माता वा फिल्मलाई पनि आँट आउनु यति बेला जायज बनिदिएको छ ।

त्यसमा डेब्यू गर्दै गरेका समीर भट्टको एक्सन फिल्म १२ गाउँले अहिलेसम्मको बिकाउ हास्य शृङ्खला छक्का पन्जालाई समेत माथ खुवाउन सक्छ भने आउँदो दसैँमा जो कोही पनि ता भन्दा म के कम भनेर सिंगौरी खेल्न आउनु कम्तीमा यसपालिको दसैँ तिहारका लागि अन्यथा भएन । भलै, निर्माताका ठुला भ्रमहरू अहिलेको पटक च्यातिन पनि सक्ला । त्यो प्रतीक्षाकै विषय रह्यो । 

तर, फिल्मको संख्या जुन अनुपातमा बढे पनि हामीकहाँ हलको संख्या जहाँको त्यहीँ छ । यसको मतलब, नेपालमा हल संख्या २ सय पनि छैन । जुन फिल्मलाई दर्शकले साथ दियो त्यही फिल्मले बक्स अफिसमा राज गर्ने हो । तर, एउटै मितिमा तँछाडमछाड गर्दै प्रदर्शनका लागि हानथाप हुँदा स्वदेशी फिल्म उद्योगलाई निश्चय नै घाटा छ । गत वर्ष मात्रै विदेशी फिल्मको व्यापारलाई उछिनेर बामे सर्दै गरेको स्वदेशी फिल्म उद्योगका लागि अस्वस्थ प्रतिस्पर्धा देखिनु सुखद पटक्कै हैन । 

‘सबैले दसैँको लामो बिदा हेरेर फिल्म ल्याउँदैछन् । तर, सो वितरण गर्दा सबैको भागमा बराबर पर्दैन । त्यसो हुँदा कुन फिल्मले यो बेला बक्स अफिसमा धेरै कमाउला भन्न सकिन्न । बक्स अफिसमा कमाउन सकिएन भने निर्माताले रेभिन्यू पाउँदैन,’ वितरक मनोज राठी दसैँको बजार विश्लेषण गर्दै थप्छन्, ‘वर्ड अफ माउथ राम्रो भयो भने मात्र बिदापछि हलमा फिल्म निरन्तर लागिरहने हो । व्यापारकै दृष्टिले हेर्दा पनि हलमा जसले राम्रो गर्‍यो त्यही फिल्मले बिदापछिका दिनमा कमाउने हो ।’ उनी बिदा भरी फिल्म राख्दा त्यस्तो ठुलो बक्स अफिस कलेक्सन कुनै पनि फिल्मको होला भन्ने देख्दैनन् । राठी तर्क गर्छन्, ’बिदा सकिएपछि दर्शकले मन नपराएका फिल्म छााटिँदै जान्छन् ।’ 

राठीले भने झैँ धेरै फिल्म एकै समयमा प्रदर्शनमा आउँदा सो बाँडफाँडकै हिसाबले सबै फिल्मले ठुलै व्यापार गर्ने सम्भावना देखिन्न । जस्तै, नेपालको सर्वाधिक पर्दा भएको मल्टिप्लेक्सको च्यानल क्यूएफएक्सको सो बाँडफाँड हेरौं न । अहिलेसम्म क्युएफएक्सका देशभर १७ आउटलेटमा जम्मा ३८ पर्दा छन् ।

अहिले सामान्य समयमा क्युएफएक्समा बिहान, दिउँसो र साँझ गरेर दिनभरिमा एउटा पर्दामा पाँच सो हुन्छ । क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीका अनुसार दसैँमा ३८ पर्दामा फिल्म देखाउँदा बढीमा तीन सयसम्म सोज निस्कन सक्छ । तर, तृप्तिकै अनुसार एकैचोटी धेरै फिल्म लाग्दा फिल्मकै व्यापार काटिने हो ।

’यसरी एकैचोटी धेरै फिल्म आउनु भनेको एकले अर्काको व्यापारमा असर पुर्‍याउनु नै हो । एउटै फिल्मले धेरै व्यापार गर्न सक्थ्यो भने त्यही ठाउँमा अर्को फिल्म चलिरहेको छ भने दर्शक पनि बाँडिन्छन्,’ तृप्ति भन्छिन्, ’यसरी एउटै समयमा फिल्म प्रदर्शन हुनु चाहिँ व्यापार नै बाँडिनु हो । व्यापार कसको भागमा धेरै पर्ला भन्ने चाहिँ कुन फिल्म सबल छ, त्यसपछि नै थाहा हुन्छ ।’

जे होस्, तृप्तिले भने झैँ दसैँमा फिल्म ल्याउने फिल्मकर्मीको तयारी देख्दा उनीहरू व्यापार बाँडिने भन्दा पनि धेरै कमाउने सोचले उन्मुख देखिन्छन् । तर हुनुपर्ने के हो त ? खासमा नेपाली फिल्मकर्मीले फिल्म चलाउन दसैँ पर्खनुको साटो विषयवस्तुलाई नै बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने हो । ’कन्टेन्ट’ नै बलियो भइदिए त दर्शक त्यसै हलसम्म तानिन्थे की ? बिदा नै पर्खेर भिड्नु भन्दा पनि बलियो ’कन्टेन’ बनाएर दर्शकलाई हलसम्म ल्याउनु पो असली तागत हुन्थेन र ? 

कन्टेन्ट बलियो भए दसैँ नै पर्खनु नपर्ने थुप्रै उदाहरण छन् । बर्लिन फिल्म महोत्सवको मुख्य विधामा छनोट भएको ’साम्बाला’ र टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको ’गाउँ आएको बाटो’ यसका ज्वलन्त उदाहरण हुन् । महोत्सव पुगेका फिल्म हलमा चल्दैनन् भन्ने भाष्य भत्काउँदै ’गाउँ आएको बाटो’ले घरेलु बजारबाटै ४ करोड १९ लाख कमायो ।

’आर्ट हाउस’ फिल्मले घरेलु बक्स अफिसमा यस्तो उपस्थिति जनाउनु दर्शकले उनीहरूका फिल्ममाथि गरेको विश्वास पनि हो । ’साम्बाला’ले पनि २ करोड १२ लाख कमाउँदै फिल्म प्रदर्शन गर्न कुनै चाड नै पर्खनु नपर्ने उदाहरण बनेको छ । रोचक त ’साम्बाला’ले फ्रान्सका बक्स अफिसमै पनि अहिले बलियो उपस्थिति जनाइरहेको छ । ’गाउँ आएको बाटो’ पनि हङकङ हुँदै बेलायतका बक्स अफिसमा प्रदर्शन हुँदैछ । पक्कै यी दुई फिल्मले अन्तर्राष्ट्रिय प्रदर्शनका लागि कुनै चाड पर्खेन, दसैँ कुरेन ।  

यो पनि पढनुहोस : 

महिनामै नेपाली फिल्मको व्यापार ६० करोड

'नेपाली फिल्ममा प्राविधिक करेक्सन जरुरी'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully