आँसुका कथा भन्ने निर्देशकलाई यस पटक दर्शक हँसाउनु छ

श्रावण ७, २०८२

दीपक केसी, समर्पण श्री

This time, the director of the story of tears has to make the audience laugh

What you should know

काठमाडौँ — फिल्म निर्देशक ऋषि लामिछानेको ८ वर्षपछि ठूलो पर्दामा ‘कमब्याक’ भयो। यसपटकको कम ब्याक अरू फिल्महरूभन्दा फरक र रोचक लाग्छ उनलाई। किन त? सधैँ आँसुका कथा भन्ने ऋषिलाई अब मान्छेहरू रुवाउन मन छैन। हर मानिसका आँखामा आँसु त लुकिरहेकै छन्।

‘यस पटक आँसु हैन, आँसु लुकाइरहेका मानिसहरूको आँखामा हाँसो थपिदिन मन छ,’ ऋषि हास्यलोकमा पुर्‍याउन आफूले छनोट गरेका कथाभित्र पस्छन्।

‘माग्ने बुढा’ नामले परिचित कलाकार केदार घिमिरेको काँधमा योपालि ऋषिको फिल्म ‘माग्ने राजा छ’। के माग्ने साँच्चै राजा नै हुने हो त? कतिपय दर्शकको कौतूहल यो रहस्यमयी कथाको प्रतीक्षामा अड्किएको छ। ‘माग्ने जमिन हो भने राजा आकाश। जमिनको मान्छेको आकाशमा पुग्ने महत्त्वाकाङ्क्षा नै फिल्मको कथा हो,’ ऋषि दर्शकका अनुमानलाई सजिलो बनाइदिन्छन्।

दुई वर्षअघि फेसबुक स्क्रोल गर्दै गर्दा ऋषिले एउटा फोटो देखे। त्यो फोटोले उनको मस्तिष्कमा ल्याएको तरङ्गले नै ‘माग्ने राजा’को बाटो तय गरेको थियो। ‘तस्बिरमा एउटा बालक छ। ऊ हिलोमा मैलो र नाङ्गो देखिएको छ। तर पनि उसको अनुहारमा मुस्कान छ,’ ऋषि थप्छन्, ‘मलाई यो फोटोले यसरी हान्यो कि मैले त एउटा कथा नै भन्नुपर्छ।’

त्यो तरङ्गलाई कथाको स्वरूप लेखक सामीप्यराज तिमल्सिनाले दिए। उसै त केदारका माग्नेबाहेकका अरू पात्र गौण छन्। ऋषिका ठम्याइमा यो कथामा फिट थिए त केवल केदार मात्र। कविले शब्दमा र निर्देशकले क्यामेराको लेन्समा खुसी खोजेजस्तो — भुइँमान्छेले केमा खुसी खोज्छन्? ऋषिले यही खुसीको कथा बाँड्न खोजेका छन्।

This time, the director of the story of tears has to make the audience laugh

तर फिल्म रिलिज हुनु अगावै ऋषिलाई ठेस लागेजस्तो भयो। निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गरे। त्यही दाबी जिज्ञासुहरूका लागि नयाँ सामग्री बनिदियो। कोही केदारलाई गाली गर्न थाले, कोही निर्माता र निर्देशकलाई। केदारले खासमा कति पाए? खोजी फिल्मको कथाभन्दा पनि पारिश्रमिकतिर मोडियो। ऋषिलाई लाग्छ, ‘शुभचिन्तकहरूको यो खोजीको के अर्थ?’ दर्जन बढी फिल्म र टेलिसिरियल बनाउँदा पनि कहिल्यै विवादमा नमुछिएका ऋषि अहिले चकित परिरहेका छन्।

सिनेमा रिलिजका लागि आउने गाली र तालीका लागि त उनी तयार थिए। तर रिलिज अगावै आएका गालीहरू पचाउन भने साह्रै सकस परेको छ। ‘भागीदारै हुनु नपर्ने गालीले पोल्दो रहेछ। कति रात निदाउनै सकिनँ,’ उनी मन्द हाँसोका साथ भन्दै थिए। तारनतार सामाजिक सञ्जालमा गाली आइरहँदा ऋषिले सोचे, ‘अहिले समाज किन नेगेटिभ कुरामा रमाइरहेको छ? कतै संस्कार त गलत बसिरहेको छैन?’ एउटाले अर्कालाई गाली गर्दा खुसी हुने समाजमा गाली खानेलाई के बित्छ भन्ने कुरा मानिसहरूले नसोचेको देख्दा दङ्ग छन् उनी।

भदौ ६ मा रिलिज हुन लागिरहेको फिल्मको प्रचारप्रसारमा छन् ऋषि।

This time, the director of the story of tears has to make the audience laugh

झन्डै १ दशकको ग्यापपछि आउँदा उनलाई केही नयाँ लागिरहेको छ। ‘म हराएको त थिइनँ। सानो पर्दामा टेलिसिरियलमार्फत् कथा भनिरहेँ। फेरि ठूलो पर्दामा फर्किँदा प्रविधिमा आएको परिवर्तन महसुस गरेँ,’ उनी भन्छन्। तर प्रविधिमा भएको विकाससँगै मकरहरूले मन थन्क्याएर मस्तिष्कका कथालाई प्राथमिकतामा राखेजस्तो लाग्छ उनलाई। जे होस्, उनलाई भने यो कम ब्याक यात्रा सुटिङमा रोमाञ्चक नै लाग्यो।

अहिले ऋषि उमेरले ५२ का भए। तर सेटमा भने २५ वर्षको तन्नेरी जोस फर्किएको महसुस गरे। ‘हरेक फ्रेम र एंगललाई उतिकै प्रेम गरिरहेँ। मैले असाध्यै इन्जोय गरेँ,’ ऋषि भन्छन्।

ऋषि सल्यानमा जन्मिए। बाल्यकालमा दाइसँगै उनी काठमाडौँ आए। काठमाडौँमा रहँदाका बाल्यकालीन दिनहरूबाट उनमा अभिनयको भोक जागेको थियो। ०४१ सालतिर मणि थापाले उनलाई नाटकमा थोरै भूमिकाका लागि खेलाएका थिए। त्यति बेला ‘पानी पानी’ भन्नुपर्ने उनको डाइलग थियो। तर पानी पिउन नपाएर मर्नुपर्ने अभिनय। त्यो अभिनयपछि त उनभित्र ‘हिरो’को रहर सवार भयो।

This time, the director of the story of tears has to make the audience laugh

त्यसमाथि मिथुन चक्रवर्ती उनका फेभरेट। र गोविन्दाका नृत्य हेरेर कल्पिरहन्थे — ‘म पनि यस्तै नाच्न पाए।’ ‘हिरो’ बन्ने सपनाले दौडिएका ऋषिको त्यो रहर पूरा भएन। बरु देखेको सपना एक समयपछि फेरियो — ‘अब हिरो हैन, निर्देशक बन्छु।’ उनले अभिनय गरेका डेढ दर्जन टेलिसिरियल र म्युजिक भिडियो त अहिले कहाँ छन् पनि थाहा छैन।

निर्देशक बन्ने यात्रामा उनले थुप्रै मेकरहरूसँग काम गरे। लक्ष्मीनाथ शर्मासँग पटकथादेखि क्यामेराका फ्रेम र एंगलबारे सिके। तुलसी घिमिरेसँग फिल्मका सौन्दर्यबारे सिके। काम त उनले यस्ता निर्देशकसँग पनि गरे, जसलाई एक्सन र कट पनि भन्न हम्मे पर्थ्यो। ऋषिले ‘दर्पणछायाँ’मा मुख्य सहायक निर्देशकको रूपमा अन्तिम काम गरे। त्यसपछिका दिनमा उनले फिल्महरूलाई आफ्नै काँधमा बोके।

०५६/०५७ सालतिर हुनुपर्छ। ऋषि मनकामना गएर डेरामा आइपुगेका मात्र थिए। निर्देशक नारायण पुरीको फोन आयो। उनले सुरुमै सोधे, ‘ऋषि, मनकामना गएर के माग्यौ?’ ऋषिले भने, ‘आफू र परिवारको लागि खुसी दाइ।’ पुरीले थपे, ‘फिल्म मागेनौ?’ नयाँ कामका लागि पुरीको संकेत भोलिपल्ट प्रस्ट भयो। निर्माता प्रदीप उदय र पुरी उनलाई पर्खिरहेका थिए। त्यो भेटबाट नै ऋषिको पहिलो निर्देशकीय फिल्मको टुंगो लाग्यो। फिल्म थियो ‘कहीँ मिलन कहीँ विछोड’।

This time, the director of the story of tears has to make the audience laugh

त्यो फिल्म व्यावसायिक रूपमा असफल भए पनि ऋषिलाई धेरै कुरा चाहिँ सिकायो। त्यसपछि ऋषिले टेलिसिरियल ‘परिचय’ बनाए। ‘परिचय’ले उनको परिचय नै स्थापित गरिदियो। उनले ‘हबलदार सुन्तली’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘हाम्रो माया जुनी जुनीलाई’ जस्ता दर्जन फिल्मबाट निर्देशकीय परिचय बलियो बनाउँदै लगे।

ऋषिले फिल्म मात्र गरेनन्, टेलिसिरियलमा पनि उत्तिकै इन्जोय गरे। ‘म सानो कुरालाई डिटेलमा भन्न सानो पर्दा खोज्छु,’ उनी प्रस्ट्याउँछन्। ठूलो पर्दामा धेरै कुरालाई छोटकरीमा भन्न सक्ने क्षमता राख्नुपर्छ। ऋषि त्यो प्रक्रियालाई पनि उत्तिकै इन्जोय गर्छन्।

अहिले ऋषिका हातमा केही फिल्म पाइपलाइन छन्। त्यसमध्ये एक हो साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’। यसमाथि उनीहरू फिल्म बनाउँदै छन्। त्यसपछि ‘माग्ने राजा’को सिक्वेल ‘माग्ने महाराज’। ‘यदि माग्ने राजाले व्यापारै गरेन भने पनि बनाउनुहुन्छ?’ प्रश्न भुइँमा नखस्दै उनले दाबीका साथ भने, ‘लेखेर राख्नुस्, व्यापार राम्रो हुन्छ।’

This time, the director of the story of tears has to make the audience laugh

फिल्मले कस्तो व्यापार गर्ला, कस्तो समीक्षा पाउला — त्यसको परिणाम भदौ ६ पछि देखिने नै छ। तर ऋषिलाई नयाँ फिल्म बनाउन परिणामले भने छेक्ने छैन। ‘धेरै साथीभाइ, आफन्त र आफ्नै मान्छेहरू देश छाडेर पलायन भए। म यहीँ बसेर फिल्मबाहेक केही सोचिनँ। तर पनि फिल्महरूको भीडमा म कहाँ छु त?’ आफ्नो अमर अस्तित्व खोजिरहेका ऋषि आफैँलाई नियालेर भन्छन् — ‘त्यसकारण म यहीँ बस्छु। मैले आफूलाई भेटाउने सिनेमा बनाउन बाँकी नै छ।’

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully