सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी

साइबर ब्युरोमा चार जनाविरुद्ध उजुरी, एलिना भन्छिन्- 'चरित्र हत्या गर्ने बाँकीविरुद्ध पनि उजुरी हाल्छु’

असार १६, २०८२

कान्तिपुर संवाददाता

Elina's complaint to Cyber ​​Bureau against social media abuse

काठमाडौँ — सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्नेविरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् ।

केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् । तर कतिपय भने झन् हौसँदै एलिनाहरूमाथि गाली गलौज गर्न रोकिएनन् ।

‘त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरू चार जनाविरुद्ध उजुरी दिएको छु । बाँकीविरुद्ध पनि उजुरी हाल्छु,’ एलिनाले ईकान्तिपुरसँग भनिन् । 

यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन् । ‘यसमा म लाग्नैपर्ने भयो । आफैं खटिएर लागेँ भने मुद्दाले महत्व पाउँछ कि भन्ने लाग्यो,’ उनले भनिन् । 

यसबीच एलिना र समीक्षालाई कलाकारदेखि राजनीतिज्ञसम्मको साथ रहेको छ । उनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फेसबुकमार्फत ‘साहसी छोरीहरू’ भन्दै पोस्ट गरेका थिए । ‘मलाई अहिले प्रधानमन्त्री निटक व्यक्तित्वहरूले पनि फोन गरेर हामी तपाईंको साथमा छौँ । ती मान्छेहरू फुत्किन्नन् भन्नुभएको छ । मलाई पनि यो कुरादले ऊर्जा थपिएको छ,’ एलिनाले भनिन् । 

साइबर ब्युरोमा पनि प्रहरीहरूबाट सकारात्मक रेस्पोन्स मिलेको एलिनाले बताइन् । ‘उहाँहरूले पनि हामी साथमा छौँ, ढुक्क हुनुस् भन्नुभएको छ,’ उनले भनिन् ।

अहिले समीक्षा र एलिनाले आफूहरूमाथि भइरहेको असभ्य टिप्पणीविरुद्धको अभियान नै चलाइरहेका छन् । ‘समीक्षासँग पनि यसबारे कुरा भइरहेको छ । हामी सँगसँगै लागिरहेका छौँ,’ उनले भनिन् । अब कोही कलाकारहरूले यो हदसम्मको यातना पाउनु नपरोस् भनेर पनि आफूले यो कदम चालेको एलिनाले बताइन् । ‘यो त अति भयो । पब्लिक फिगरले पनि गल्ती गर्छन् तर सानो गल्ती भयो भने यहाँ उनीहरूलाई मर्न बाध्य बनाइन्छ । सबैको न्यायका निम्ति पनि यो गर्नु जरुरी छ,’ एलिना भन्छिन् ।

बिनागल्ती पनि महिला सेलिब्रिटीहरू सामाजिक सञ्जालमा विभिन्न ट्रोल र बुलिङका सिकार भइरहेका छन् । यसअघि दीपाश्री निरौला, पूजा शर्मा, सुरक्षा पन्त, ऋचा शर्मालगायत थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमा यातना खेपेका थिए । 

सामाजिक सञ्जालमा असभ्य व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्ने निर्णयको सुरुवात भने ऋचाले गरिन् । पछिल्लो समय समीक्षाले आफूलाई असभ्य गालीगलौज गर्नेको प्रोफाइल सार्वजनिक गरेपछि भने यो अभियानले तीव्रता पाएको छ ।

कान्तिपुर

Link copied successfully