सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध दुई गायिकाले उठाएको कदम

एलिना भन्छिन्- 'सामाजिक सञ्जालमा अश्लील टिप्पणी गर्नेहरूको प्रोफाइल सार्वजनिक गरेपछि ८० प्रतिशत नकारात्मक कमेन्ट आउन छाडेको छ'

असार १२, २०८२

समर्पण श्री

Steps taken by two singers against abuse on social media

काठमाडौँ — गायिका समीक्षा अधिकारीले केही दिनअघि आफूलाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिको 'प्रोफाइल' फेसबुकमार्फत सार्वजनिक गरिन् ।

अशोक कोइराला नामको अकाउन्टबाट गरिएको प्रोफाइल र टिप्पणी सार्वजनिक गरेपछि ती व्यक्तिले समीक्षालाई मेसेजमार्फत माफी मागे । समीक्षाले माफी मागिएको मेसेजको स्क्रिनसट सार्वजनिक गर्दै आफूले माफी दिएको र ती व्यक्तिको पोस्ट हटाएको जानकारी दिइन् ।

समीक्षाले लेखिन्, 'माफीको दायरालाई मैले नाघ्न सकिनँ । त्यसैले उहाँलाई माफ गरेँ । अरूलाई चाहिँ आफ्नो व्यक्तित्व चिनाउनुअघि आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा लड्दै उठेकी मान्छे म, अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने सबैले ख्याल गर्नुहोस् ।'

समीक्षाले यसरी पोस्ट राख्न थालेपछि उनीमाथि अश्लील र अपाच्य टिप्पणी गर्नेहरू हच्किन थालेका छन् । यद्यपि तुलनात्मक रूपमा कम भए पनि अपाच्य टिप्पणी आउन भने रोकिएका छैनन् ।

गायिका एलिना चौहानले पनि समीक्षाले सुरु गरेको कदमलाई पछ्याउँदै बुधबारदेखि सोही उपाय अपनाएकी छन् । लामो समयदेखि साइबर दुर्व्यवहार खेपिरहेकी एलिनाका अनुसार यसपटक भने स्थिति असह्य भयो । उनले भनिन्, 'मैले त सहूँला तर मेरो आमालाई, परिवारलाई कस्तो असर पर्छ ?'

समीक्षाले प्रोफाइल सार्वजनिक गर्न थालेपछि एलिनालाई लागेको थियो, अब मलाई यस्ता कमेन्ट आउन बन्द होलान् तर त्यसो भएन । एलिनाको सम्बन्ध विच्छेद वा पूर्वपतिको सन्दर्भ जोडेर आउने अपाच्य कमेन्टले उनलाई निकै चिन्तित बनायो । उनले आफूलाई सामाजिक सञ्जालमा अश्लील टिप्पणी गर्नेहरूको प्रोफाइल लगातार सार्वजनिक गरिरहेकी छन् । यसरी राखेपछि ८० प्रतिशत नकारात्मक कमेन्ट आउन छाडेको उनले बताइन् ।

समीक्षाले पनि आफूलाई असह्य भएपछि सार्वजनिक रूपमा प्रोफाइल राख्न बाध्य भएको बताइन् । 'कहिलेसम्म सहने ? अति भयो । फेसबुकमा नकारात्मक पोस्टले झन् पीडा दिन खोज्नेहरूलाई सार्वजनिक गरेकी हुँ,' उनले भनिन् ।

एलिनाले अहिले नकारात्मक कमेन्ट मात्र होइन, सकारात्मक प्रतिक्रियाहरू पनि सार्वजनिक गरिरहेकी छन् । उनले भनिन्, 'राम्रो कमेन्ट पनि छानेर हालिरहेकी छु । मानिसहरूलाई त्यसले मोटिभेट पनि गर्छ । समाजमा नराम्रो मात्र छैन, राम्रो मान्छे पनि छन् भन्ने सन्देश जान्छ ।'

समीक्षा र एलिना मात्र होइनन्, यस्तै व्यवहारको सामना अन्य महिला सेलिब्रिटीहरूलाई पनि गर्नुपरेको छ । केही समयअघि आफ्नो विचार कुशल तरिकाले व्यक्त गर्दा अभिनेत्री सुरक्षा पन्तमाथि साइबर हमला भएको थियो । उनलाई लक्षित गर्दै लैंगिक टिप्पणी, अपाच्य र अश्लील शब्द सामाजिक सञ्जालमा बर्सिएका थिए । त्यसअघि अभिनेत्री दीपाश्री निरौलालाई पनि विचार व्यक्त गरेकै कारण सामाजिक सञ्जालमा दुर्व्यवहारको सामना गर्नुपरेको थियो ।

यसरी सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्ने सुरुआत भने अभिनेत्री ऋचा शर्माले गरेकी थिइन् । अभिनेत्री पन्तको समर्थनमा पोस्ट लेख्दा उनलाई समेत अभद्र टिप्पणी र धम्कीपूर्ण अश्लील मेसेजहरू आएका थिए ।

ऋचाले ती पोस्ट र मेसेजसहित प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेपछि लगातार माफी मागिएका भिडियो तथा सन्देशहरू आउन थालेका थिए । केहीले त 'त्यो हटाइएन भने आत्महत्या गर्छु, मेरो करिअर सकिन्छ' समेत भनेको उनले बताएकी थिइन् । ऋचाले माफी मागेकाहरूलाई माफी दिँदै पोस्ट हटाएको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा दुर्व्यवहार भएमा प्रहरीको साइबर ब्युरोमा गएर उजुरी दिन सकिन्छ । तर एलिनाका अनुसार त्यहाँ उजुरी दिँदा खासै कारबाही नभएकाले धेरै सेलिब्रिटीले भरोसा गर्दैनन् । उनले भनिन्, 'साइबरमा रिपोर्ट गरे पनि वास्ता नै गर्दैनन् । कति जनालाई समात्ने भन्ने हुँदो रहेछ कि के हो ? त्यहाँबाट नहुने भएपछि अब म आफैँ लड्छु भनेर लागेको छु ।'

एलिनाले यस्तो व्यवहार तुलनात्मक रूपमा पुरुषभन्दा महिलामाथि बढी हुने बताइन् । 'डिभोर्स भएका पुरुष कलाकार पनि कति छन् । तर अहिलेसम्म कसैलाई त्यस्तो टिप्पणी आएको देखिएन । महिलाको हकमा बढी हुँदो रहेछ,' उनले थपिन्, 'अब कहिलेसम्म सहने ? फेक आइडी बनाएर पूर्वपतिसँग फोटो जोडेर मिलन भयो भनेर हाल्ने, असभ्य टिप्पणी गर्ने, नयाँ व्यक्तिसँग जोडेर नयाँ श्रीमान् भनेर देखाउने ? यो चरित्रहत्या कहिलेसम्म ?'

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully