एलिना र समीक्षालाई कलाकारदेखि राजनीतिज्ञसम्मको साथ

असार १४, २०८२

समर्पण श्री

Accompany Elina and Samika from artists to politicians

काठमाडौँ — गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले आफूहरूमाथि सामाजिक सञ्जालमा अभद्र र अशिष्ट शब्द लेख्नेहरूको प्रोफाइल अहिले भटाभट सार्वजनिक गरिरहेका छन् ।

उनीहरूको यो अभियानलाई विस्तारै धेरैले समर्थन जनाइरहेका छन् । अभिनेता दीपकराज गिरीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले उनीहरूको कदममाथि समर्थन जनाइरहेका छन् । 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत ‘साहसी छोरीहरू’ भन्दै समीक्षा र एलिनाको फोटो पोस्ट गरे ।

उनले लेखे, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ । समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

एलिनाले ओलीको पोस्टमा कमेन्ट गर्दै यस्ता मानिसहरूका लागि कडा नियमन बनाउन आग्रह गरिन् ।

अभिनेता दीपकराज गिरीले आफूलाई यी दुवै गायिका मनपर्ने बताउँदै सानै उमेरमा उनीहरू कठिन पीडा भोगे पनि त्यहाँबाट घुँडा टेक्दै यहाँसम्म आएकोमा गर्व अनुभूत गरे ।

उनले फेसबुकमा लामो पोस्टमार्फत् लेखेका छन्, ‘आफूले समाजको लागि, परिवारको लागि, राष्ट्रको लागि दुई कौडीको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनीहरूलाई नैतिकता सिकाउने, गालीगलौज गर्ने, अभद्रता देखाउने , चरित्रमाथि औँला उठाउने ! यस्तै चलिआएको छ…।’ यसरी अभद्र व्यवहार गर्नहरूविरुद्ध साइबरमा जाँदा पनि कानुनले केही पहल नगर्ने गुनासो उनको पोस्टमा थियो ।

‘…ठूला नेतालाई गाली गर्‍यो भने समातेर तु कारबाही सुरू गरिहाल्ने तर अन्य मानिसलाई गरिएको गाली गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने…?’ दीपकले थपे । उनले तीविरुद्ध दुई गायिकाले चलाएको अभियानको तारिफ गरे । ‘तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुवै जनालाई शुभकामना,’ दीपकले लेखेका छन् । 

अभिनेत्री केकी अधिकारीले पनि आफ्नो फेसबुकमा उनीहरूको अभियानप्रति ऐक्यबद्धता जनाउँदै लेखेकी छन्, ‘भन्छन् नि, अति गर्नु तर अत्याचार नगर्नु ! अत्याचारको मुल्य चुकाउनैपर्छ ।’ त्यसैगरी लेखक, संगीतकर्मी, कलाकार, राजनीतिज्ञहरूले सामाजिक सञ्जालमार्फत उनीहरूप्रति ऐक्यबद्धता जनाइरहेका छन् ।

यसरी आफ्नो अभियानमाथि धेरैको साथ र सहयोग पाउँदा एलिनाको मन अहिले शान्त भएको छ । ‘यो आइडिया पहिले नै लगाउनुपर्ने रहेछ । कम्तीमा अरुको लागि पनि उदाहरण भइरहेको छ । यो गर्‍यो भने ट्रोलको सिकार त हुनुपर्दैन,’ एलिना भन्छिन् ।

अहिले एलिनालाई धेरै जनाको फोन र मेसेजमार्फत शुभेच्छा आइरहेको छ । ‘गम्भीर विष्ट, बद्री पंगेनी लगायत थुप्रै दाइदिदीहरूले अहिले फोन गरेर शुभेच्छा प्रकट गरिरहनुभएको छ । पहिला गाली गर्नेहरूले पनि अहिले सपोर्ट गर्नेगरी भिडियो हालिरहेका छन् । एउटा सकारात्मक ऊर्जा जागेको छ,’ एलिना भन्छिन् ।

यसअघि पनि थुप्रै महिला सेलिब्रिटी ट्रोल र सामाजिक सञ्जालमा दुर्व्यवहारको सिकार बनेका थिए । अभिनेत्री सुरक्षा पन्तमाथि विचार व्यक्त गरेकै कारण सामाजिक सञ्जालमा गाली र दुर्व्यवहार बर्सिइरहँदा उनको समर्थनमा अभिनेत्री ऋचा शर्माले पोस्ट हालेकी थिइन् ।

पोस्ट हालेलगत्तै उनीमाथि सामाजिक सञ्जाल र मेसेजहरूमा असभ्य शैलीमा धम्की आउन थाले । त्यतिबेला ऋचाले उनीहरूको पोस्टसहित राखेर प्रोफाइल सार्वजनिक गरेकी थिइन् । प्रोफाइल सार्वजनिक गर्नासाथ उनलाई धम्की दिनेहरूले माफी मागेका थिए । 

त्यही कदम गायिका समीक्षाले पनि अपनाइन् । व्यक्तिगत जीवनमाथि प्रहार गर्नेगरी असभ्य टिप्पणी गर्नेहरू त्यसपछि समीक्षालाई माफी माग्न थाले ।

ट्रोलको सिकार भइरहेकी एलिनाले पनि त्यसपछि यही उपाय उपयुक्त ठानिन् । ‘केही गल्ती नगरी पनि अरुको अपमान र गाली किन खाने ? अति भएपछि बाध्य भयौँ,’ एलिना भन्छिन् । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully