What you should know
काठमाडौँ — निर्वाचन मिति नजिकिँदै गर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया विभाजित भएको छ ।
महेशकुमार श्रेष्ठ समूहले अर्को एनआरएनए दर्ता गराएसँगै अस्ट्रेलियामा दुईवटा एनआरएनए बनेका छन् । श्रेष्ठ समूहले यहाँको नियमन निकाय अस्ट्रेलियन सेक्युरिटी एन्ड इन्भेस्टमेन्ट कमिसन ‘एसिक’मा एनआरएन दर्ता गरेको हो ।
श्रेष्ठ समूहबाट अधिवेशन आयोजक समितिका संयोजक तोकिएका विवेक थापाले सिड्नीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिए । थापाको संयोजकत्वमा बनेको तदर्थ समितिमा ३४ जना सदस्य रहेका छन् । नयाँ दर्ता भएको एनआरएनएमा चारजना पूर्वअध्यक्ष केशव कँडेल, गणेश केसी, नन्द गुरुङ र सुरेन्द्र सिग्देल सल्लाहकार रहेका छन् । त्यस्तै, प्रेम सापकोटा, निरज श्रेष्ठ, कञ्चन पोखरेल र शेषमणि शर्मा समेत सल्लाहकार छन् । नयाँ दर्ता भएको एनआरएनए अधिवेशन संयोजक थापाले सदस्यता खुला गरिएको र भविष्यमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने पत्रकार सम्मेलनमा बताए ।
केन्द्रमा देखिएको विवादको असर अस्ट्रेलियाको एनआरएनएमा परेको हो । श्रेष्ठ पक्षको एनआरएनएले अहिल्यै निर्वाचन नगर्न र सदस्यतालाई एमआई प्रणालीबाट नगर्न आग्रह गर्दै आएको थियो । तर यहाँ रहेका एनआरएनएका पदाधिकारीले बेवास्ता गरेका कारण यो अवस्था आएको उनीहरुको आरोप छ ।
एनआरएनएका पूर्व केन्द्रीय अध्यक्ष शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले वैशाख तेस्रो साता काठमाडौँमा अधिवेशन सम्पन्न गरेको थियो । उक्त अधिवेशनबाट चुनिएका महासचिव बीआर लामाले पत्रमार्फत थापालाई संयोजकको जिम्मेवारी दिएका थिए । पत्रकार सम्मेलनमा थापाले परराष्ट्र मन्त्रालयबाट आधिकारिकता पाएको एनआरएनए आईसिसीको निर्देशन अनुसार नै संस्था दर्ता गरिएको बताए । उनले अहिले अस्ट्रेलियामा रहेको एनआरएनएले सहमति र सहकार्य नगरेका कारण यो अवस्था आएको दाबी गरे । उनले एनआरएनएको मुद्दा अहिले अदालतमा रहेको र अदालतले अर्को समूहलाई मान्यता दिए त्यसैलाई आधिकारिक मान्ने समेत जिकिर गरे ।
सहमति र सहकार्य गरेर समस्याको समाधान गर्न र एकजुट भएर अघि बढ्न आफूहरुले गरेको प्रयास र आग्रहलाई बेवास्ता गरेका कारण यो अवस्था सृजना भएको थापाको भनाइ छ । उनले भने, ‘हामी आधिकारिक एनआरएनए हुँदाहुँदै पनि उहाँहरुलाई मिलेर जाऊँ भन्यौं तर उताबाट कुनै सकारात्मक पहल नभएका कारण अर्को एनआरएनए दर्ता गर्न बाध्य भयौं ।’
