काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले गैरआवासीय नेपाली संगठनलाई विधिसम्मत रूपमा सञ्चालन गर्न पनि आग्रह गरेका छन्। अहिलेको विश्व विधिको भएको हुँदा विधि तोडेर अघि बढ्ने कुरा स्वेच्छाचारिता हुने जिकिर गर्दै उनले राजनीतिक दलहरूका जनवर्गीय संगठन बन्नबाट एनआरएनएलाई जोगाउन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले भने, 'विधिसम्मत ढंगले तपाईँहरू चल्नुस्। यो विधिको दुनियाँ हो। विधिको जमाना हो। विधि तोडेर यस जमानामा अघि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन। विधिसम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहनेछ। नेकपा एमाले, जसका अध्यक्ष उनी स्वयं हुन्, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहनेछ। एमालेले गैरआवासीय नेपाली संगठनलाई आफ्नो दलीय हितमा प्रयोग गर्ने छैन। डायस्पोराको र देशको हितमा मात्र प्रयोग गर्नेछ।'
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संगठनलाई कसैको स्बार्थका लागि प्रयोग हुनबाट जोगाएर देशको हितमा समर्पित बनाउनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रूपमा गरिने काममा सरकारको निरन्तर साथ रहने पनि स्पष्ट पारेका छन्।
