प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि ६ साउनसम्म नागरिकले तिरेको कर ५० दिनभित्र खातामा फिर्ता/दाखिला गराउने व्यवस्था मिलाउन प्रधामन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन दिने छ ।
What you should know
काठमाडौँ — शिक्षा र स्वास्थ्यमा लागेको ३ प्रतिशत समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि ती शीर्षकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १ साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको ३ प्रतिशत कर सम्बन्धित व्यक्ति/निकायको खातामा बढीमा ५० दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय सरकारले गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि ६ साउनसम्म नागरिकले तिरेको कर ५० दिनभित्र खातामा फिर्ता/दाखिला गराउने व्यवस्था मिलाउन प्रधामन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन दिने छ । अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरू (जस्तैः आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित शिक्षण/स्वास्थ्य संस्था) लाई परिपत्र वा आदेश जारी गर्ने छ ।
यसरी तोकिएको अवधि (५० दिन) भित्र सम्बन्धित व्यक्ति वा निकायको बैंक खातामा रकम शोधभर्ना/फिर्ता गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
कुनै मानिस लिन नआएमा वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभएको अवस्थामा सो रकम नियमानुसार सरकारी सञ्चित कोषमा दाखिला गर्नुपर्ने निर्णय प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबारको निर्णय कार्यकारी आदेश भएकाले सोझै कार्यान्वयन हुने र यसलाई राजपत्रमा प्रकाशित गरिरहनु नपर्ने प्रधानमन्त्रीको कार्यालयले प्रस्ट्याएको छ । जसअनुसार मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको परिपत्रकै आधारमा प्रशासनिक प्रक्रिया सोझै अगाडि बढ्ने छ ।
