चैतयता सुरु भएको बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने नियन्त्रणमा आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भने नियन्त्रणमा आउन सकेको छैन ।
What you should know
काभ्रे — कुखुरापालन व्यवसायमा सम्भावना देखेपछि पनौती नगरपालिका–६ का प्रदीप कार्कीले डेढ लाख रुपैयाँ जुटाएर आठ वर्षअघि कुखुरा पाल्न थाले । यहीं पेशामा आत्मनिर्भर बन्ने सोच बनाएर व्यवसाय विस्तार गर्दैर् उनले खोरमा ५ हजार लेयर्स कुखुरासम्म पुर्याएका थिए । व्यवसाय फस्टाउँदै गएको थियो । मासिक करिब डेढ लाख रुपैयाँसम्म आम्दानी हुन थालेपछि उनी ५ हजार चल्ला थपेर अझै विस्तार गर्ने योजनामा थिए । तीन दिनअघि आएको एउटा खबरले उनको आठ वर्षको मिहनेत र योजना सबै बिलिन भयो ।
४३ वर्षीय कार्कीले पनौती–८ को मल्पीमा भाडामा सञ्चालन गर्दै आएको फ्रेस कृषि फार्ममा बर्डफ्लु पुष्टि भयो । लेर्यस कुखुरामा बर्डफ्लु पुष्टि भएपछि पशु सेवा विभागको टोलीले फार्ममा रहेका कुखुरा, अण्डा, दाना तथा कुखुरासँग सम्पर्कमा आएका सबै सामग्री नष्ट गरिदियो । कुखुरा मात्र होइन, त्यसमा जोडिएको उनको वर्षौंको परिश्रम, लगानी र भविष्यप्रतिको भरोसा पनि सँगै नष्ट भयो ।
‘वर्षौंको मिहेनत, लाखौंको लगानी डुब्यो,’ उनले भने, ‘भर्खर–भर्खर मात्रै व्यवसाय राम्रो हुँदै थियो । यसलाई विस्तार गर्ने योजना बनाएको थिए, बर्डफ्लुले सबै चकनाचुर बनाइदियो, फेरि शून्यमा पुगें ।’ कार्कीका अनुसार एउटा लेयर्स कुखुरालाई अण्डा उत्पादन गर्ने अवस्थासम्म पुर्याउन करिब १ हजार ३ सय रुपैयाँ खर्च लाग्छ । यही हिसाबले ५ हजार कुखुरामा मात्रै करिब ६५ लाख रुपैयाँ भन्दा बढी लगानी भएको थियो । फार्म सञ्चालनका अन्य खर्च छुट्टै छन् ।
उनका अनुसार आठ वर्षको निरन्तर मेहनतले उनले व्यवसायलाई विस्तार गरेका थिए । बजारको अवस्था राम्रो हुँदा ५ हजार लेयर्स कुखुराबाट मासिक औसत डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । ५ हजार चल्ला थपेर व्यवसाय दोब्बर बनाउने उनको योजना सम्झनामा मात्रै सीमित बनेको छ । यसबाट आफ्नो लगानी मात्रै डुबेको छैन, दुई जना कर्मचारीको रोजीरोटी पनि गुमेको छ ।
व्यवसाय विस्तारका लागि उनले बैंकबाट करिब ७० लाख रुपैयाँ ऋण लिएका छन् । तर अहिले व्यवसाय नै बन्द भएपछि ऋणको किस्ता र ब्याज कसरी तिर्ने चिन्ता थपिएको छ । कुखुरापालनबाहेक उनको अर्को आम्दानीको स्रोत छैन । ‘ऋण तिर्नुपर्ने समय आइरहेको छ । आम्दानी भने शून्य भयो,’ उनले भने, ‘व्यवसाय नै नरहेपछि बैंकको किस्ता कहाँबाट तिर्ने ?’ बर्डफ्लु नियन्त्रणका लागि सरकारले ३ महिनासम्म उक्त फार्ममा कुनै पनि कुखुरा पाल्न नपाइने व्यवस्था गरेको छ ।
अबको कम्तीमा तीन महिनासम्म आम्दानीको बाटो बन्द हुने भएको उनलाई तनाब छ । उनले भने, ‘आम्दानीको मुख्य स्रोत नै गुम्यो, अहिले त साथीभाइसँग सरसापट गरेर गुजारा चलाइएला, त्यसपछि के गर्ने? कसरी फेरि व्यवसाय सुरु गर्ने ?’ उनका अनुसार परिवारको सम्पूर्ण खर्च यही व्यवसायबाट चल्दै आएको थियो । दुई जना कर्मचारी पनि यही फार्ममा आश्रित थिए । अहिले व्यवसाय बन्द भएपछि कर्मचारीलाई पनि बिदा दिनुपर्ने अवस्था आएको छ । ‘कर्मचारीलाई पनि सधैं तलब खुवाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले आर्थिक रुपमा संकटमा परेका उनीहरूलाई पनि बिदा दिएका छौं, फेरि व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकियो भने बोलाउँछौं ।’
सरकारले बर्डफ्लुबाट प्रभावित किसानलाई मूल्यांकनका आधारमा राहत दिने व्यवस्था रहेको बताए पनि कार्कीलाई कहिले, कति र कसरी क्षतिपूर्ति प्राप्त हुन्छ भन्ने एकिन जानकारी नपाएकाे उनले बताए । राहत रकम छिटो नपाए पुनः व्यवसाय सुरु गर्ने सामर्थ्य नरहेको उनले बताए । सरकारले आफूहरु जस्ताको व्यवसायमा भएको क्षतिको उचित मूल्यांकन गर्नुपर्ने उनले बताए । ‘क्षतिपूर्ति नआए फेरि शून्यबाट सुरु गर्ने अवस्था छैन,’ उनले भने, ‘अहिले त भविष्य नै अन्योलमा छ, तीन महिना कसरी बित्छ भन्ने मात्रै होइन, त्यसपछि जीवन कसरी अघि बढ्छ भन्ने ठूलो चिन्ता छ ।’
कार्कीका अनुसार यो समस्या उनको फार्ममा मात्रै सीमित छैन, समग्र पोल्ट्री क्षेत्र नै गम्भीर संकटमा परेको छ । बर्डफ्लुको संक्रमण हालसम्म अण्डा उत्पादन गर्ने कुखुरामा मात्रै पुष्टि भए पनि त्यसबारे बजारमा फैलिएको त्रास र अफवाहले ब्रोइलर (मासु उत्पादन गर्ने) कुखुरा पाल्ने किसानसमेत प्रभावित भएका छन् । ‘संक्रमण लेयर्स कुखुरामा मात्रै देखिएको हो,’ उनले भने, ‘तर बजारमा सबै कुखुरा असुरक्षित भएजस्तो सन्देश फैलिएको छ, त्यसका कारण अहिले ब्रोइलर कुखुराको मासु र अण्डाको बिक्रीसमेत निकै घटेको छ ।’
उनका अनुसार उपभोक्तामा फैलिएको डरका कारण बजारमा कुखुराको मासु र अण्डाको माग उल्लेख्य रूपमा घटेको छ । यसले बर्डफ्लु नदेखिएका फार्मका किसानसमेत आर्थिक दबाबमा परेका छन् । सरकारले संक्रमण नियन्त्रणसँगै उपभोक्तामा सही सूचना प्रवाह गरेर अनावश्यक त्रास हटाउन पनि पहल गर्नुपर्ने उनको सुझाव छ।
काभ्रे ‘हटस्पट’ बन्नुको कारणः ढुवानी, कमजोर क्वारेन्टाइन र बायोसिक्युरिटीको बेवास्ता
देशका विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण देखिइरहेका बेला काभ्रे सबैभन्दा प्रभावित सूचीमध्ये छ । जिल्ला पशु सेवा कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुरका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिनुको मुख्य कारण कुखुराको उच्च आवतजावत, कमजोर क्वारेन्टाइन व्यवस्था, मृत कुखुराको अव्यवस्थित व्यवस्थापन र बायोसिक्युरिटीका मापदण्ड पालना नगर्नु हो ।
डा. ठाकुरका अनुसार काभ्रे काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)सँग प्रत्यक्ष जोडिएको भएकाले यहाँ दैनिक ठूलो मात्रामा कुखुरा तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुन्छ । त्यस्तै मधेश प्रदेशसँग जोडिने मार्ग पनि यहीबाट भएकाले विभिन्न क्षेक्रबाट हुने ढुवानीले संत्रमण फैलिन सहज वातावरण बनेको उनले बताए ।
उनका अनुसार बर्डफ्लुको संक्रमण सुरुमा कोशी प्रदेशमा देखिए पनि त्यसपछि क्वारेन्टाइन प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा संक्रमित कुखुराको ओसारपसार रोक्न कठिन भएको थियो । यही कारण संक्रमण विभिन्न जिल्लामा फैलिँदै काभ्रेसम्म आइपुगेको उनको भनाइ छ ।
पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । चैतयता सुरु भएको बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने नियन्त्रणमा आएको छ ।
जिल्लामा पहिलो संक्रमण बनेपा नगरपालिका–१३ साँगामा पुष्टि भएको थियो । त्यस क्षेत्रमा कुखुरा बोक्ने सवारीसाधनको आवतजावत धेरै हुने भएकाले ढुवानीमार्फत संक्रमण फैलिएको डा. ठाकुरको अनुमान छ । साथै, त्यसअघि नमोबुद्ध क्षेक्रमा कागमा एच–९ संक्रमण पुष्टि भएकाले जंगली चरामार्फत पनि संक्रमण सरेको हुन सक्ने उनले बताए ।
उनका अनुसार कतिपय फार्मले मरेका कुखुरा सुरक्षित रूपमा नष्ट नगरी झाडी तथा खुला स्थानमा फाल्ने गरेका थिए । त्यस्ता स्थानमा कागलगायतका चरा बस्ने र ती चराले अर्को स्थानमा भाइरस पुर्याउन सक्ने सम्भावना रहेको उनले बताए । ‘एउटा फार्ममा संक्रमण देखिएपछि अपनाउनुपर्ने बायोसिक्युरिटीका उपाय प्रभावकारी रूपमा कार्यान्वयन भएनन्,’ उनले भने, ‘त्यहीँ कारण संक्रमण विस्तारै अन्य फार्ममा पनि फैलियो ।’
हालसम्म जिल्लाका १७ स्थानमा संक्रमण पुष्टि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ
बनेपा नगरपालिका–७ र १३ तथा पनौती नगरपालिका–५, ८, ९ र १० लगायतका क्षेक्रमा संत्रमण देखिएको डा. ठाकुरले जानकारी दिए । पनौतीमा संक्रमण तुलनात्मक रूपमा बढी देखिनुको कारणबारे उनले मृत कुखुराको उचित व्यवस्थापन नहुनु प्रमुख रहेको बताए । उनका अनुसार मरेका कुखुरा खुला स्थानमा फाल्ने प्रवृत्ति, ढुवानीका सवारीसाधनको नियमित आवतजावत तथा सम्भावित संक्रमण मार्गका कारण पनौती बढी प्रभावित बनेको हो ।
बर्डफ्लुको संक्रमण नियन्त्रणका लागि काभ्रेमा हालसम्म ६२ हजार ५१९ वटा कुखुरा तथा हाँस, ३६ हजार १ केजी दाना र ९ हजार ८ सय अण्डा नष्ट गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बनेपा र पनौतीका १७ वटा प्रभावित फार्ममा जैविक सुरक्षा मापदण्ड अनुसार कुखुरा, दाना र अण्डा नष्ट गरिएको हो । यसबाट जिल्लाको पोल्ट्री क्षेत्रमा करोडौंको क्षति पुगेको अनुमान गरिएको छ ।
संक्रमण फैलिन थालेपछि जिल्ला पशु सेवा कार्यालयले बनेपा, नाला, धुलिखेल, पाँचखाल र रोशी गाउँपालिकालगायतका क्षेत्रमा निगरानी बढाएको जनाएको छ । साथै किसान, जनप्रतिनिधि, सरोकारवाला निकाय र सञ्चारमाध्यमसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डा. ठाकुरले बताए ।
बर्डफ्लु संक्रमणपछि ठूलो संख्यामा लेयर्स कुखुरा नष्ट गरिएका किसान सरकारबाट पाउने राहतको पर्खाइमा छन्। प्रभावित किसानले सरकारबाट पाउने रकम छिटो उपलब्ध गराउन माग गरेका छन्। बर्डफ्लु नियन्त्रणका क्रममा सरकारले नष्ट गराएका कुखुराको मूल्यको ७५ प्रतिशतसम्म राहत वाफत पाउने व्यवस्था छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने क्षतिपूर्ति मूल्यांकन समितिले निर्णय गरेपछि किसानलाई राहत वितरण गरिने पशु सेवा कार्यालयले जनाएको छ । काभ्रेका प्रजिअ गोपालकुमार अधिकारीका अनुसार जिल्लाबाट क्षतिपूर्तिका लागि दररेट सिफारिस गरेर सम्बन्धित निकायमा पठाइसकिएको छ। केन्द्रबाट बजेट उपलब्ध भएपछि प्रभावित किसानलाई राहत वितरण गरिने उनले बताए ।उनले राहत वितरणको समय भने बजेट निकासामै निर्भर रहने बताए। 'बजेट आएपछि तत्काल राहत वितरण हुन्छ। रकम फ्रिज नहोस् भनेर ताकेता गरिरहेका छौं,' उनले भने। क्षतिपूर्तिको रकम कुखुराको संख्या मात्र नभई उमेर, उत्पादन अवस्था तथा सरकारले निर्धारण गरेको दर अनुसार फरक–फरक हुने स्पष्ट पारे । 'संख्याका आधारमा सबैले एउटै रकम पाउदैनन्, कुखुराको प्रकार र उमेर अनुसार निर्धारण गरिएको दररेटको ७५ प्रतिशत राहत उपलब्ध गराइन्छ,' उनले बताए।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लु प्रभावित किसानको खातामा राहत रकम पठाउन सुरु गरिएको बताए । केही दिनमै जिल्लास्थित समितिको मूल्यांकनका आधारमा रकम पाउने उनले दाबी गरे ।
