धान रोप्ने मेसिनले लागत र समय कम गरे पनि चितवनका किसानमा यसको प्रयोग अझै व्यापक हुन सकेको छैन ।
What you should know
चितवन — राष्ट्रिय धान दिवस मनाउने अघिल्लो दिन आइतबार दिउँसो चितवनको पूर्वी भेग खैरहनीको कठारमा संघ संस्थाका पदाधीकारीदेखि किसानसम्म व्यस्त थिए । स्थानीय एक सहकारी संस्था धान दिवसको औपचारिक कार्यक्रम गर्नेे तयारीमा जुटेको थियो । किसानहरु आली मिलाउने, खेत हिल्याउने र सम्याउने बीउ काड्ने नियमित काममा खटिएका थिए । रोप्नलाई मान्छे मात्रै हैन मेसिन पनि कुदेको देखिन्थ्यो ।
सीताराम चौधरी दिउँसो चर्केको घामको रापताप छेक्न चोया (बाँस पातालो गरेर चिरेको कप्टेरो)बाट बनेको छतरी (ठूलो आकारको टोपी जस्तो) ओढेर खेतमा बीउ काँड्दै थिए । चितवनको पूर्वी भेग खैरहनी नगरपालिका–१० कठारका सीतारामको पाँच कट्ठा जमिन छ । भाउजु पहुनियाकुमारी पनि लौरोमा छाता बाँधेर सीतारामसँगै बीउ काँड्दै थिइन् । ‘कहिले चाँडो, कहिले अलि ढिलो हुन्छ । असारको ७/८ देखि १५/२० गतेसम्म सधैं धान रोपिसक्छौं,’ सितारामले सुनाए ।
चाँडो रोपे रोग किरा लाग्ने र धेरै ढिला भए पनि किराले दुख दिने गरेको अनुभवले मध्य असारतिर सधैं रोप्ने गरेको उनले बताए । यो भेगमा चैते धान पनि मजैले हुन्छ । चैते धान स्याहारेर बर्खे धान रोप्ने हतारो यहाँका किसानलाई छ।
रोपाइँको भीडमा खेतमा मान्छे मात्रै हैन मेसिन पनि एकाध ठाउँ देखिन्छन् । सीताराम र पहुनियाकुमारीले बीउ काँड्दै गरेको खेतभन्दा लगभग तीन सय मिटर पश्चिममा छ कठारका जलेश्वर चौधरीको खेत । आफ्नो नौ कट्ठा खेतमा जलेश्वरले मान्छे हैन रोपाइँ गर्न मेसिन दौडाएका थिए । हिलाएर ठिक्क परेको खेतमा धान रोप्दै फटाफट मेसिन कुदिरहेको थियो । ‘मेसिनले खेत रोप्दा फाइदा हुन्छ । ज्याला भेरै बच्छ । मान्छेलाई दिनेभन्दा एक चौथाइ ज्याला मेसिनलाई बुझाए हुन्छ,’ जलेश्वरले भने ।
जलेश्वर र सीतारामको खेतको लगभग बीचमा छ कठारको महिला साना किसान कृषि सहकारी संस्था । सोही संस्थाको मेसिन भाडामा ल्याएर जलेश्वरले धान रोप्दै गरेका हुन् । सो सहकारीले नै धान दिवसको दिन सोमबार बिहान मेसिनले धान रोप्ने कार्यक्रम गर्दै छ ।
‘तर मेसिनको प्रयोग त्यत्ति फष्टाउन सकेको छैन,’ संस्थाका अध्यक्ष गीता केसीले भनिन् । मेसिनले धान रोप्दा बीउ ब्याडमा नभइ विशेष खालको ट्रेमा राख्नु पर्दछ । मेसिनले धान रोप्ने कामलाई प्रोत्साहित गर्न सहकारीले नै त्यस्तो ट्रेमा बीउ राखेर किसानलाई रोप्ने बेलामा बेच्दै पनि आएको छ । तर पनि चैते धानभन्दा बर्खेधान रोपाइँमा मेसिनको प्रयोग कम हुने गरेको अध्यक्ष केसीले बताइन् ।
संस्थाले राखेको बीउ लगेर गएको चैतमा करिब ४० विघामा धान रोपेको व्यवस्थापक माया अधिकारीले बताइन् । मेसिनले रोप्ने बर्खे धान चैतेभन्दा कम हुने हुँदा २० विघाका लागि पुग्ने बीउ मात्रै राखेको उनले जानकारी दिइन् । ‘यता अलि धेरै पानी जम्ने घोल जस्तो खेत छ । त्यसैले चैतेभन्दा बर्खेधान मेसिनले कम रोप्ने गरिन्छ,’ उनले भनिन् । संस्थासँग दुईवटा मेसिन छन् ।
कृषिमा यान्त्रिकिकरणका लागि सक्रिय सरकारी निकाय हो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम । कार्यक्रम कार्यन्वयन इकाइ भरतपुरका कार्यालय प्रमुख महेश रेग्मीका अनुसार धान रोपाइँ हुने जमिनको तुलनामा मेसिनबाट हुने रोपाइ निकै नै न्यून छ । उनले चितवनमा २७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने बताए । धान रोप्ने मेसिनहरु चितवनमा १३/१४ वटा मात्रै छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चितवनको पूर्वी भेगमा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका २० वटा वडालाई समेटेर धान जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । धान जोनका लागि धान रोप्ने ११ वटा मेसिन अनुदानमा उपलब्ध भएको उनले बताए ।
त्यसैगरी चितवनको पश्चिम भेगमा पनि दुई वटा मेसिन सञ्चालनमा छन् । सरकारी तवरमाबाहेक व्यक्ति आफैले एक दुईवटा मेसिन सञ्चालन गर्दै आएको उनले बताए । ‘सरकारी अनुदानमा उपलब्ध भएका र व्यक्ति आफैले किनेका गरेर १३/१४ वटा जे जति मेसिन छन् तिनले दुईदेखि तीन सय हेक्टरमा रोपाइँ गर्दै आएका छन् । बाँकी जमिन मान्छेले हातले नै रोप्दै आएको छ,’ रेग्मीले भने ।
कठारको महिला कृषि सहकारीका अध्यक्ष गीता केसीका अनुसार गाउँमा खेत रोप्ने मान्छेको अभाव छ । प्राय: मधेस र उस्तै परे भारतबाट आउनेहरुको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यस्तो बेला मेसिनले रोप्ने चलन फष्टाउनु पर्ने हो । तर ट्रेमा बीउ राख्ने विधि सबैले नजान्दा पनि मेसिनले रोप्ने इच्छा धेरैले पूरा गर्न नसकेको उनले बताइन् । सबैका लागि सहकारीले ट्रेमा बीउ तयार गर्न सम्भव पनि छैन । ‘दुई हजारभन्दा बढी सदस्य छन् । सबैका लागि ट्रेमा बीउ राख्न सहकारीले पनि भ्याउँदैन । सबैले ट्रेमा बीउ राख्ने गरे मेसिनले रोप्ने चलन बढ्न सक्थ्यो,’ अध्यक्ष केसीले भनिन् । मेसिन प्रयोग गर्ने स्थानीयको बानी नपरेका कारण पनि प्रयोग बढ्न नसकेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन इकाइ भरतपुरका प्रमुख महेश रेग्मीले बताए ।
धान रोप्ने मेसिन व्यक्तिले किन्न केही महङ्गो पनि छ । बजारमा सुरुमा २०/२१ लाख रुपैयाँसम्म पर्ने मेसिन पछिल्ला वर्षमा १५/१६ लाख रुपैयाँसम्म पर्ने रेग्मीले बताए । सरकारी निकायले कृषक समूह र सहकारीलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदान दिने गरेको छ । त्यसैले समूह सहकारीले मेसिन किने पनि व्यक्तिगत तवरमा किन्ने परिपाटी फष्टाउन सकेको छैन । ‘चार/पाँच वर्ष मेसिनले रोप्दै आएकाहरुले खोजीखोजी मेसिनले नै रोप्छन् । मेसिनले रोप्दा खर्च कम लाग्छ । बीउ काँड्ने, रोप्ने खेतला स्वाट्टै घट्ने भए । कम बेर्ना रोप्ने, सिधा रेखमा ठाउँ छाडेर रोप्ने भएका कारण गाँज लाग्ने र धेरै फल्ने गर्दछ,’ रेग्मीले भने । चितवनमा धान जोन घोषणा भएकै ६ वर्ष नाघ्यो । मेसिन प्रयोग सुरु भएको दशक हुँदैछ । तर पनि मेसिनको प्रयोग व्यापक हुन सकेको छैन ।
