धानको बीउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा स्वदेशी बीउ

धानको बीउमा ६ वर्षमै ७ अर्ब रुपैयाँभन्दा बढी बाहिरिइसकेको छ तर स्वदेशी धानका जात प्रवर्द्धन र संरक्षणमा अपेक्षित सफलता मिल्न सकेन

असार १५, २०८३

उपेन्द्रराज पाण्डेय

Billions spent on rice seed imports, domestic seeds overshadowed

What you should know

काठमाडौँ — नुवाकोटको बिदुर–४ बट्टारमा रहेको मल्टी एग्रोभेटमा भारतीय बीउ नै बिक्री हुने गरेका छन् । आफ्नो पसलबाट बढी भारतीय बीउ नै जाने गरेको मल्टी एग्रोभेटका सञ्चालकले बताए । ‘नेपाली बीउ किसानले घरमै पनि राख्छन् । भारतीय बीउ एक किलोको प्याकेटमा आउने भएर पनि होला, नेपाली बीउलाई पनि त्यसैगरी प्याकेजिङ र प्रवर्द्धन गर्न आवश्यक छ,’ ती सञ्चालकले भने ।

***

नवलपरासीपूर्वको रजहरस्थित चौधरी एग्रोभेटका सञ्चालक राजकिशोर झा किसानको रोजाइमा आयातित र स्वदेशी दुवै बीउ रहेको बताउँछन् । उनले पनि किसाले घरकै बीउ पनि प्रयोग गर्ने गरेको जनाए । ‘हाम्रोबाट किसानले भारतीय बीउ पनि लैजान्छन् । नेपालीमा हर्दिनाथ र साँवा मनसुली बीउ पनि किन्छन्,’ उनले भने ।

***

कपिलवस्तुको यशोधरा–४ का किसान हनुमान पाण्डे ६ बिघा खेतमा धान रोप्छन् । उनले यसपालि भारतीय हाइब्रिड र नेपाली उन्नत जात रामधान रोप्दै छन् । रैथाने धानका रूपमा परिचित काला नमक पनि लगाउँदै छन् । ‘पहिले काला नमक धानको बीउ घरमै राख्थ्यौं । तर पछिल्ला वर्षमा किन हो, घरको बीउ राम्रो फल्दैन । त्यसैले काला नामक पनि भारतबाट आएकै प्रयोग गर्छौं,’ पाण्डेले भने । रैथाने धानलाई जोगाउन सरकारी स्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।

त्यसो त पालिकाहरुले उन्नत धानको बीउमा किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएका छन् । देवचुली नगरपालिकाले सावित्री, रामधान र हर्दिनाथलगायत बीउमा अनुदान दिएको छ ।

बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिँदै आएको छ । रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई प्रतिमुरी हजार रुपैयाँ अनुदान वडाले दिने गरेको छ । स्थानीय सरकारदेखि संघ सरकारसम्मले कृषि प्रणालीबाट लोप हुँदै गएका रैथाने धानका जातको संरक्षण र प्रवर्द्धनका लागि पहल गरे पनि आयातित बीउको प्रयोग भने घट्न सकेको छैन ।

Billions spent on rice seed imports, domestic seeds overshadowed

चालु आर्थिक वर्षको ११ महिनामा करिब ३ हजार टन धानको बीउ आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त धानको बीउका लागि झन्डै १ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड रुपैयाँबराबरको धानको बीउ आयात भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ६६ लाख रुपैयाँको धानको बीउ आयात भएको विभागले जनाएको छ । २०७९/८० मा ७५ करोड ६३ लाख र २०७८/७९ मा ८७ करोड ५ लाख रुपैयाँको बीउ आयात भएको छ । २०७७/७८ मा भने २ अर्ब १७ करोड ३८ लाख रुपैयाँको आयात भएको विभागको भनाइ छ । ६ वर्षमा झन्डै ७ अर्ब १३ करोड रुपैयाँ बराबरको धानको बीउ आयात भएको छ ।

नेपालमा धानको बीउ मुख्यतया भारतबाटै आउने गर्छ । चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट १ अर्ब १४ करोड २५ लाख रुपैयाँबराबरको २६ लाख ६९ हजार किलो बीउ आयात भएको छ । चीनबाट ३ सय २४ मेट्रिक टन धानको बीउ आयात भएको छ । यसमार्फत १५ करोड ६७ लाख रुपैयाँ बाहिरिएको छ ।

नेपालले ठूलो मात्रामा धान चामल पनि आयात गर्छ । यही अवधिमा भारतबाट मात्र ४६ करोड किलो धानचामल आयात भएको छ । यसबाट झन्डै १७ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । नेपालले अलैंची बेचेर भित्र्याउनेभन्दा बढी पैसा धान/चामल किन्न भारत पठाउँछ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै १२ अर्ब रुपैयाँबराबरको अलैंची निर्यात भएको छ ।

पछिल्लो समय हाइब्रिड धान नै धेरैको रोजाइमा परेकाले पनि बीउ आयात धेरै भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की सूचना अधिकारीसमेत रहेकी कृषि अर्थशास्त्री सुधा सापकोटा बताउँछिन् । ‘हामीले रैथाने धान बीउ प्रयोगमै जोड दिइरहेका छौं । नेपालमै विकसित सुक्खा १ देखि सुक्खा ६ सम्म र हर्दिनाथ तथा बहुगुणी धान पनि राम्रो उत्पादन हुन्छ,’ उनले भनिन् ।

नेपाली बीउलाई पनि ससाना प्याकेटमा प्याकेजिङ गरेर बजारमा पठाउनुपर्नेमा उनको जोड छ । ‘भारतीय र चिनियाँ बीउ १/२ किलोका प्याकेटमा उपलब्ध छन् । अनि हरेक एग्रोभेटमा पुग्ने गरेका छन् । हाम्रो बीउलाई पनि त्यसैगरी ब्रान्डिङ र उपलब्ध गराउने हो भने किसान पक्कै आकर्षित हुनुहुन्छ ।’

किसान हाइब्रिड धान लगाउन थालेपछि बीउ किन्नैपर्ने बाध्यतामा पुगेको पनि उनको भनाइ छ । ‘हाइब्रिड धान रैथाने बीउजस्तो फर्टाइल हुँदैन, त्यसैले बीउ किन्नैपर्‍यो,’ उनले भनिन् ।

धानको हाइब्रिड बीउ नै बढी आयात हुने गरेको बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । आयातित हाइब्रिड धानको बीउमध्ये ५३ वटा दर्ता नै भएका छन् । ‘नेपालमै उन्मोचन हुने र आयात गरी १ सय ६१ धानका बीउ दर्ता भएका छन् । ९९ वटा स्वदेशमा उन्मोचन र दर्ता भएका छन्,’ केन्द्रका सूचना अधिकारी वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले भने, ‘आयातित बीउमध्ये ५३ वटा हाइब्रिड र ९ वटा खुला सेचित जात हुन् ।’

नेपालले दुई वटा मात्रै हाइब्रिड जात (हर्दिनाथ १ र हर्दिनाथ ३) उन्मोचन गरेको सूचना अधिकारी आचार्यले जनाए । नेपाली हाइब्रिड र उन्नत जातका बीउको उत्पादन पनि आयातितको तुलनामा कम नभएको उनको भनाइ छ । ‘उत्पादकत्वमा खासै फरक छैन । हाम्रै यहाँ विकास भएका हर्दिनाथ–१ र हर्दिनाथ ३ को उत्पादन पनि राम्रो छ । त्यसैले तीनवटै तहका सरकारले नेपाली बीउको प्रवर्द्धनमा काम गर्नुपर्छ,’ आचार्यले भने । नेपाली बीउ उत्पादकलाई पनि सरकारले अनुदान उपलब्ध गराउनुपर्ने उनले बताए ।

आयातित बीउमध्ये ५३ वटा हाइब्रिड र ९ वटा खुला सेचित जात हुन् । तीमध्ये एचआईजी ५, सुपर चाइना ६०१ र एचक्यू ००२ चिनियाँ भेराइटीका धान हुन् भने अन्य भारतीय । धानविज्ञसमेत रहेका नार्कका वैज्ञानिक सुशीलराज सुवेदी पनि आयातित बीउ र यहाँको बीउले दिने उत्पादनमा त्यस्तो धेरै फरक नभएको बताउँछन् । ‘मोटामोटा दाना फल्ने जातको तौल आफैंमा बढी हुन्छ । जोख्दा मात्र धेरै हो कि जस्तो लाग्ने हो । चामल नै बन्दा खासै त्यस्तो धेरै फरक पर्दैन,’ उनले भने ।

नार्क र बीउ उत्पादन गर्ने सहकारीहरूले अन्तर्राष्ट्रिय बीउ कम्पनीहरूले जस्तै १, २, ३ र ५ किलोका प्याकेट बनाउनुपर्ने पनि सुवेदीको भनाइ छ । ‘आकर्षक प्याकेट बनाएर हरेक बीउ पसलमा नराखेसम्म स्वदेशी बीउको खपत बढ्दैन । हर्दिनाथ–६ एकदमै राम्रो छ । स्वाद पनि मीठो छ,’ उनले भने ।

सुवेदी पनि बीउको उपलब्धतालाई सहज बनाउनुपर्नेमा जोड दिन्छन् । ‘अहिले घरघरमा बीउ पुग्छ भने किसान स्वदेशी खोज्दै कहाँकहाँ जाने ? एग्रोभेटले पनि चिनियाँ र भारतीय बीउलाई सजाएर राख्ने गरेका छन्,’ उनले भने, ‘हाम्रो बीउ छैन भनेर सोध्यो भने भित्र छ भन्नुहुन्छ ।’

स्वदेशी बीउ प्रवर्द्धन र प्रयोगमा सबैले ध्यान दिनुपर्ने सुवेदीले बताए । ‘देश र बीउ बचाउने हो भने एग्रोभेटहरूमाथि हस्तक्षेप आवश्यक छ । उनीहरूलाई स्वदेशी बीउ बेच भन्न सक्नुपर्छ,’ उनले भने ।

रोपाइँ हुने करिब १४ लाख हेक्टर क्षेत्रका लागि झन्डै ७१ हजार टन धानको बीउ चाहिने केन्द्रले जनाएको छ । आर्थिक सर्वेक्षण–२०८३ अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारी फार्मबाट १ हजार १ सय ६५ मेट्रिक धानको बीउ उत्पादन भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म एक सय टन धानको स्रोत बीउ उत्पादन भएको थियो । धानको बीउको प्रतिस्थापन दर २८.७८ प्रतिशत रहेको केन्द्रको तथ्यांक छ ।

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully