‘हामी त गर्मीबाट बच्न एसीजडित कोठामा बस्न सक्छौं, तर धानले खेतमै गर्मी खप्नुपर्छ । ईएमएफ–३ को मद्दतले धान पनि बिहानै ब्युँझेर गर्मीबाट बच्न सक्छ । कहिलेकाहीँ चराचुरुंगी मात्र होइन, बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुन्छ ।’
What you should know
काठमाडौँ — हपहपी गर्मी हुँदा तपाईं के गर्नुहुन्छ ? कतै रूखको छहारीमा बस्नुहुन्छ होला । पंखा, कुलर र एसीको सहारा लिनुहोला । तर धानलाई गर्मी भए के गर्ने ? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त ?
वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेलासमेत धान फलाउने उपाय पत्ता लगाएका छन् । जापानको नेसनल एग्रिकल्चर एन्ड फुड रिसर्च अर्गनाइजेसन (नारो), अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट (इरी) का वैज्ञानिकले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जिन पत्ता लगाएका हुन् ।
अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फुलाउन मद्दत गर्ने जिनका बारेमा उल्लेख गरेका छन् ।
वैज्ञानिकहरूका अनुसार धानको फूल फुल्ने प्रक्रिया निकै छोटो र संवेदनशील हुन्छ । बालाभित्रका साना फूलहरू परिपक्व भई प्रायः बिहान केही समयका लागि खुल्छन् । फूल खुलेलगत्तै परागकोष फुटेर परागकण बाहिर निस्कन्छ र अधिकांश धानमा आफ्नै परागकण वर्तिकामा पुगेर परागण हुन्छ । परागण सम्पन्न भएपछि फूल केही मिनेटदेखि एक–दुई घण्टाभित्र पुनः बन्द हुन्छ । यही छोटो समयमा अत्यधिक गर्मी, वर्षा वा हावाहुरीले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन ।
धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने, कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ । ताकुमा इसिजाकी, योइची हासिदा, हिरोकी साइतो, सुङ रिउल किम, काजुहिको सुगिमोतो, माइकल जे थम्प्सन, सुतोमु इसिमारुलगायतका वैज्ञानिकको टिमले ‘अर्ली मर्निङ फ्लावरिङ–३’ (ईएमएफ–३) नामक जिन पत्ता लगाएका हुन् । यसमा हुने सूक्ष्म आनुवंशिक परिवर्तनले धान फुल्ने समयलाई नै अगाडि वा पछाडि सार्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
पछिल्लो समय एल निनोलगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन् । अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ–३ जिनले धानलाई सामान्य अवस्थामा भन्दा झन्डै डेढ घण्टा छिटो फुल्न सहयोग गर्छ । चर्को घाम लागेर धेरै तातो हुनुअघि नै परागसेचनका लागि यस जिनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ । यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन् ।
सामान्यतयाः भूगोल र प्रजातिअनुसार धान बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म फुल्छ । उक्त समयमा तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियस पुग्ने भएकाले पनि परागसेचनमा अवरोध पुग्छ । यसले बाला नलाग्ने र उत्पादन घट्ने वैज्ञानिकहरूको भनाइ छ । नयाँ विकसित ईएमएफ–३ ले ती अवरोध हटाएर धानलाई बिहानै फुल्न मद्दत गर्ने अध्ययनले प्रमाणित गरेको छ । नारोका वैज्ञानिक डा. सुतोमु इसिमारु यसले धानलाई सबैभन्दा संवेदनशील अवस्थामा गर्मीबाट बचाउने बताउँछन् । अत्यधिक तापक्रममा पनि किसानले राम्रो उत्पादन गरून् भनेर यो खोज गरिएको उनको भनाइ छ । अनुसन्धानकर्ताहरूका अनुसार ईएमएफ–३ दुर्लभ ‘भेरियन्ट’ हो । यो इन्डिका र जापोनिकालगायतका लोकप्रिय धानका जातमा प्रयोग गर्न सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
अहिले वैज्ञानिकहरू आईआर–६४, स्वर्णा (भारत), पुसा बासमती (भारत), टीडीके–१ (लाओस), साहेल–३२९ (पश्चिम अफ्रिका), कैयापो (ब्राजिल) र टोयोमेकी (जापान) जस्ता लोकप्रिय धानका जातमा यो जिन समावेश गर्ने काममा जुटिरहेका छन् ।
नारोका वैज्ञानिक डा. हिदेयुकी हिराबायाशी र जापान अन्तर्राष्ट्रिय कृषि विज्ञान अनुसन्धान केन्द्र (जिर्कास) का वैज्ञानिक काजुहिरो सासाकीका अनुसार डीएनए मार्कर चयन प्रविधिबाट यो जिन विश्वभरका विभिन्न धानका जातमा सहजै प्रयोग गर्न सकिन्छ ।
त्यस्तै इरीकी वैज्ञानिक इनेज स्लामेट लोएडिन ‘प्राइम इडिटिङ’ जस्ता जिन सम्पादन प्रविधिबाट उच्चस्तरीय धानका जातमा यो गुण समावेश गर्न सकिने बताउँछिन् । यसले उष्ण र समशीतोष्ण दुवै क्षेत्रका धानलाई जलवायु परिवर्तनसँग अझ अनुकूलन गराउन सकिने वैज्ञानिक लोएडिनको भनाइ छ । त्यस्तै ईएमफ–३ ले धानको फूल फुल्ने समय मात्र परिवर्तन गर्ने र बिरुवाको सामान्य वृद्धि वा सामान्य अवस्थामा हुने उत्पादनमा कुनै नकारात्मक असर नपारेको पनि अनुसन्धानले पत्ता लगाएको छ ।
मानिस र चराचुरुंगीजस्तै बालीलाई पनि गर्मीबाट बचाउन सकिने डा. इसिमारु बताउँछन् । उनी भन्छन्, ‘हामी त गर्मीबाट बच्न एसीजडित कोठामा बस्न सक्छौं, तर धानले भने खेतमै गर्मी खप्नुपर्छ । ईएमएफ–३ को मद्दतमा धान पनि बिहानै ‘ब्युँझेर’ गर्मीबाट बच्न सक्छ । कहिलेकाहीँ चराचुरुंगी मात्र होइन, बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुन्छ ।’
धान विज्ञसमेत रहेका नार्कका वैज्ञानिक डा. सुशीलराज सुवेदी आगामी दिनमा ईएमएफ–३ जस्तै बालीमा गरिने ‘जिन म्यानिपुलेसन’ ले खाद्य सुरक्षामा ठूलो योगदान पुग्ने बताउँछन् । ‘चाँडै फूल फुल्यो भने चाँडै नै फर्टिलाइजेसन हुने भयो । ११/१२ बजेको तापक्रम बढी नै हुन्छ । बिहान साढे ८ बजेतिर फूल फुलाउन सकियो भने उत्पादन बढाउन सकिन्छ । कुनै दिन तापक्रम अलि बढी भयो भने पोलेन (पराग) मर्न सक्छ ।
त्यसैले यो विकास निकै उपलब्धिमूलक छ,’ उनले भने । सुधार गरिएका प्रजातिमा यो प्रविधि निकै राम्रो हुने सुवेदीको भनाइ छ । ‘धान स्वयंसेचित (सेल्फपोलिनेटेड) बाली हो । यसको मेल र फिमेल भित्रै हुन्छ, त्यसैले फ्लावरिङको समय थोरै दिन भए पनि फरक पर्दैन । त्यसैलाई क्याच गरेर वैज्ञानिकहरूले फूल फुल्ने समयलाई सार्न खोजेका हुन्,’ उनले भने ।
नेपालमै पनि सुक्खा मौसमका लागि उपयुक्त हुने आधा दर्जनभन्दा बढी बीउ विकास गरिएको छ । विकास गरिएका ती धान सुक्खा मौसमका लागि उपयुक्त भएको र उत्पादन पनि धेरै ह्रास नआउने बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्य बताउँछन् । उनले भने, ‘सुक्खा १, सुक्खा २, सुक्खा ३, सुक्खा ४, सुक्खा ५, सुक्खा ६ सुक्खा मौसम पर्दा पनि उपयुक्त हुने बीउ हुन् । त्यस्तै बहुगुणी १ र बहुगुणी २ तथा साँवा मनसुली पनि सुक्खा र डुबान दुवै सहन सक्ने जात हुन् ।’
जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा देखिएको चुनौती सम्बोधन गर्न नयाँ खोजले सहयोग गर्ने धान विज्ञ सुवेदी बताउँछन् । ‘वैज्ञानिकहरूको खोज र चुनौती भनेकै क्लाइमेट–स्मार्ट भेराइटी बनाउनु हो । भोलिका दिनमा बिहान र दिउँसोको तापक्रममा धेरै अन्तर हुँदै गयो भने त्यस्तो अवस्थामा यो निकै उपयोगी हुन्छ’, उनले भने ।
जलवायु परिवर्तनले पृथ्वीको सतहको औसत तापक्रम लगातार बढिरहेको छ । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा अभिलेख भएको थियो । युरोपियन कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार सन् २०२४ मा पहिलो पटक पूर्वऔद्योगिक कालको तुलनामा औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
मौसमी फेरबदलका कारण ‘हिटवेभ’, खडेरीलगायतका मौसमी घटना घटिरहेका छन् । यसले प्रमुख खाद्यान्न बालीको उत्पादन घटिरहेको पनि तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार विश्वको आधाभन्दा बढी जनसंख्याको मुख्य खाद्यान्न धान नै हो । एसिया र अफ्रिकामा जनसंख्या बढिरहेकाले पनि सन् २०३३ सम्म धानको माग २०२१–२०२३ को तुलनामा करिब १२ प्रतिशतले बढ्ने एफएओको अनुमान छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की सूचना अधिकृतसमेत रहेकी कृषि अर्थशास्त्री सुधा सापकोटाले पनि यस्ता प्रविधिले भविष्यमा खाद्य सुरक्षामा विशेष सहयोग पुर्याउने बताइन् । ‘पछिल्ला केही वर्षयता नेपालमा पनि मौसमले किसानलाई साथ दिएको छैन । अझ धान रोप्ने बेला खडेरीको समस्या छ । यस्तोमा वैज्ञानिकहरूले मौसमअनुकूल फसल दिने प्रजातिको विकास गर्नु खुसीकै कुरा हो,’ उनले भनिन् ।
