नेपाल कृषि अनुसन्धान परिषद्ले यस वर्ष कम वर्षा हुने सम्भावना रहेको भन्दै कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने धानका जात छनोट गर्न किसानलाई सल्लाह दिएको छ ।
What you should know
काठमाडौँ — केही दिनपछि असार १५ मा सरकारले २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदैछ । कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र सबै स्थानीय तहलाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ ।
पानी नपरेपछि देशका अधिकांश भागमा रोपाइँ सुरू नै भएको छैन, कतिपय ठाउँमा त ब्याडसमेत राखिएको छै । यसपालि मौसमी प्रणालीमा भइरहेको बदलीलाई ध्यान दिँदै धान दिवस तथा रोपाइँ महोत्सवको नारा राखिएको छ, 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि ।'
एक हप्ताअघि मनसुन सक्रिय भए पनि उल्लेख्य रूपमा भने रोपाइँ भएको छैन । केन्द्रका अनुसार असार ८ गतेसम्म देशभर ९.९७ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । बर्खे सिजनमा मुलुकभर १३ लाख ८१ हजार ४ सय ८८ हेक्टरमा रोपाइँ हुन्छ ।
असार ८ सम्म १ लाख ३७ हजार ७ सय ९८ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा गत वर्षभन्दा धेरै रोपाइँ भएको छ । कोशीमा रोपाइँ हुने क्षेत्रको ८.३ प्रतिशत, लुम्बिनीमा १९.४ प्रतिशत र कर्णालीमा २२.८ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । त्यस्तै मधेशमा ५, गण्डकीमा ८ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । गत वर्षको असार ८ सम्म सुदूरपश्चिममा ३३.४ प्रतिशत क्षेत्रमा रोपाइँ भएकोमा यो वर्ष भने ९.३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।
गत वर्ष बर्खामै पानी नपर्दा खडेरी परेपछि धान उत्पादन राम्रो भएको थिएन । त्यसमाथि धान बाली पाकेर भित्र्याउन ठिक्क पारेका बेलामा झरी परेपछि किसान दोहोरो मारमा परेका थिए । आर्थिक सर्वेक्षण २०८३ अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ५७ लाख ५ हजार मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । प्रक्षेपणअनुसार नै धान उत्पादन भएमा गत वर्षको भन्दा कम हुनेछ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०/८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी भए पनि गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान (बीउसहित) आयात गरिएको थियो । १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल (कनिकासहित) आयात भएको थियो ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले मनसुन पूर्ण रूपमा सक्रिय नभएकाले रोपाइँ सुरू नभएको बताए । 'यसपटक मौसम विभागले सुक्खा पर्छ कि भनेर अनुमान गरेको छ । त्यसले पनि धान रोपाइँ सुरू भए पनि सबैतिर उल्लेख्य रूपमा भएको छैन,' उनले भने ।
खडेरी पर्ने सम्भावना कति ?
असार ५ गते झन्डै एक हप्ता ढिलागरी नेपाल भित्रिएको मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको सम्पूर्ण भू-भाग ,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुन प्रवेश गरेको छ ।
विभागका अनुसार यो मनसुन ऋतु(जेठ १८ देखि असोज १४ सम्म) देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको पनि विभागको अनुमान छ ।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५% देखि ६५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५% देखि ५५% रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५% देखि ४५% रहेको छ ।
विभागका अनुसार अधिकतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका उत्तर-पूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर-पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५% देखि ६५% रहेको छ ।
कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५% देखि ४५% रहेको छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४५% देखि ५५% रहेको छ ।
धानको विकल्पमा के लगाउने ?
नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै धानखेतीमा आधारित मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ ।
यस पटक विश्व मौसम संगठन र दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले सार्वजनिक गरेको प्रक्षेपणले पनि यस वर्ष दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ ।
पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र हिन्द महासागरको अवस्था (आईओडी) ले नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने विभागले जनाएको छ ।
नार्कले यस वर्ष कम वर्षा हुने सम्भावना रहेको भन्दै कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने धानका जातहरू छनोट गर्न किसानहरूलाई सल्लाह दिएको थियो । नाकर्ले राधा-४, राधा-१२, हर्दिनाथ-१, घैया-३ र खडेरीमा पनि राम्रो फसल दिन सक्ने सुक्खा धान-१,सुक्खा धान-२,सुक्खा धान-३,सुक्खा धान-४,सुक्खा धान-५,सुक्खा धान-६, बहुगुणी धान-१ र बहुगुणी धान-२ छनोट गर्न किसानहरूलाई आग्रह गरेको छ ।
वर्षा अनियमित हुन सक्ने भन्दै आकाशेपानी संकलन र पोखरीमा पानी जम्मा गर्न पनि नार्कको आग्रह छ । यदि खडेरी नै पर्यो भने धानको विकल्पमा मकै, बोडी, मास, रहर, कोदो, फापरलगायतका बाली छनोट गर्न पनि नार्कले आग्रह गरेको छ ।
