औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम वली भन्छन्– 'भाडा वृद्धिको बक्यौता नतिरेकाको हकमा बिजुलीको लाइन काटेका छौं । पानीको पनि नतिरेकाको हकमा पानी र बिजुली दुवैको लाइन काट्ने र तिरेपछि जोड्ने प्रक्रिया चलिरहेको छ ।'
काठमाडौँ — औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम नतिर्ने उद्योगहरुमा पानी तथा बिजुलीको लाइन काट्न सुरु गरेको छ । बिहीबार बिहान ११ बजेसम्म ३० भन्दा बढी उद्योगको पानी तथा बिजुलीको लाइन काटिएको हो ।
लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई सात दिनभित्र बक्यौता रकम बुझाउन २५ जेठमा नै सूचना जारी गरेको थियो । 'बिहीबार बिहान मात्रै ३० भन्दा बढी उद्याेगका लाइन काटिसक्यौं, भाडा वृद्धिको बक्यौता नतिर्नेकाको हकमा बिजुलीको लाइन काटेका छौं', लिमिटेडका महाप्रबन्धक पदम ओलीले भने, 'पानीको पनि महसुल नबुझाएकाको हकमा पानी र बिजुली दुवैको काटेका छौं ।'
बुधबार विभिन्न औद्योगिक क्षेत्रका ६३ वटा उद्याेगको बिजुली काटेकामा बक्यौता तिरेपछि ८ वटामा जडान गरिसकेको लिमिटेडले जनाएको छ । 'पानी तथा बिजुलीको लाइन काट्ने र जोड्ने चलिरहेको छ,' उनले भने, ' भौतिक रुपमा र अनलाइन दुवै मार्फत महसुल बुझाउन मिल्छ । त्यसैले तिर्नेहरुको जोड्ने र नतिर्नेको काट्ने एकसाथ भइरहेको छ ।'
उच्च अदालतले भाडा उठाउनू भनेकाले २०७५ देखिकै भाडा वृद्धिको बक्यौता असुल गर्न थालिएको लिमिटेड बताउँछ । उद्योगीहरुले २०७५ देखि २०७९ सम्मको बढेको भाडा रकम आफूहरूले नबुझाएको र नबुझाउने बताउँदै आएका छन् ।
