चिया उत्पादक संघले भन्यो : अब हामीले हात उठायौं

संघका अनुसार झापामा साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान असार ४ गतेदेखि बन्द हुनेछन्।

असार ३, २०८३

पर्वत पोर्तेल

Tea Producers Association said: Now we have raised our hands.

What you should know

विराटनगर — भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा झापाका चिया उद्योग र बगानहरू पनि असार ४ गतेदेखि बन्द गरिने भएका छन्। यसअघि इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन्।

नेपाल चिया उत्पादक संघले बुधबार झापामा पत्रकार सम्मेलन गर्दै सरकार र भारत दुवैतर्फबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्ने निर्णय लिनुपरेको जनाएको हो।

संघका अध्यक्ष आदित्य पराजुलीले ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। 'प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालयलगायत सबै निकायमा ज्ञापनपत्र बुझायौं। तर सरकारले गम्भीर चासो देखाएन,'उनले भने, 'हामीले अब हात उठायौं। नसकेपछि उद्योग र बगान बन्द गर्नुको विकल्प देखेनौं।'

उनका अनुसार विगतमा यस्ता समस्या देखिँदा सरकारको ध्यानाकर्षणपछि समाधान खोजिने गरे पनि अहिले सम्बन्धित निकायसम्म आफ्नो कुरा पुर्‍याउन समेत कठिन भएको छ।

'पहिले सरकारलाई जानकारी गराएपछि समस्या समाधानतर्फ पहल हुन्थ्यो,'पराजुलीले भने, 'अहिलेको सरकारलाई त कुरा राख्न त परको कुरा, भेट्नै गाह्रो भयो।'

भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियालाई व्यवसायीहरूले गैरभन्सार अवरोधको रूपमा व्याख्या गरेका छन्। पराजुलीले गुणस्तरको बहाना बनाएर भारतले पटक–पटक नेपाली चियामाथि अवरोध सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।

'हाम्रो चिया मिसाएर दार्जिलिङ ब्रान्डमा बिक्री गर्ने उनीहरू नै हुन्, अनि हाम्रो चियामाथि नै शंका गर्ने?'उनले आक्रोश व्यक्त गरे, 'यो नेपाली चियाको बजार कमजोर बनाउने सुनियोजित प्रयासजस्तो देखिन्छ।'

संघका अनुसार झापामा साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान असार ४ गतेदेखि बन्द हुनेछन्। भारतले लगाएको अवरोध नहटेसम्म बन्द कार्यक्रम जारी रहने जनाइएको छ। झापा नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र हो। यहाँ अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ। कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने व्यवसायीहरूको तथ्यांक छ।

चिया क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसान आश्रित छन्। उद्योगहरूले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्वसमेत सरकारलाई बुझाउने गरेका छन्।

उद्योगीहरूका अनुसार भारतीय अवरोधका कारण निर्यात रोकिँदा उद्योगमा उत्पादित चिया थन्किएको छ, नगद प्रवाह प्रभावित भएको छ र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन अवस्था सिर्जना भएको छ।

इलामपछि झापाका उद्योग र बगानसमेत बन्द हुन थालेसँगै नेपाली चिया क्षेत्रको संकट थप गहिरिने संकेत देखिएको छ। व्यवसायीहरूले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारतीय अवरोध हटाउने प्रयास नगरे बन्द जारी राख्ने जनाएका छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully