नेपाल चिया उत्पादक संघको आइतबार बसेको बैठकले असार ४ गतेदेखि झापाका साना–ठूला गरी ३० वटा चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरेको हो।
What you should know
विराटनगर — भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा झापाका चिया उद्योग र बगानसमेत बन्द हुने भएका छन्।
नेपाल चिया उत्पादक संघको आइतबार बसेको बैठकले असार ४ गतेदेखि झापाका साना–ठूला गरी ३० वटा चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरेको हो।
संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय पक्षले नेपाली चियाको निर्यातमा लगाएको अवरोध नहटाएसम्म उद्योग र बगान बन्दको कार्यक्रम जारी रहनेछ। 'भारतले अवरोध नखोलेसम्म बन्द जारी राख्ने निर्णय गरेका छौं,' गुप्ताले भने।
यसअघि इलामको सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगले पनि असार १ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया बोकेका गाडीहरू भारतमा रोकिँदा निर्यात प्रभावित भएको उद्योगीहरूको गुनासो छ।
झापामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ। यहाँ २० हजारभन्दा बढी किसान तथा श्रमिक प्रत्यक्ष रूपमा चिया क्षेत्रमा आबद्ध छन्। उद्योग र बगान बन्द हुँदा किसान, श्रमिक तथा चिया व्यवसायमा निर्भर हजारौं परिवार प्रभावित हुने भएका छन्।
उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली चिया बिक्रीमा देखिएको अवरोधका कारण उद्योगहरूमा ठूलो परिमाणमा तयारी चिया मौज्दात रहेको छ भने किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानीसमेत प्रभावित हुन थालेको छ।
चिया व्यवसायीहरूले समस्या समाधानका लागि नेपाल सरकारमार्फत भारतसँग तत्काल कूटनीतिक पहल गरी निर्यातमा देखिएको अवरोध हटाउन माग गर्दै आएका छन्।
