भारतीय अवरोधको विरोधमा इलामका उद्योगीले चिया उद्योग बन्द गर्ने

भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी हप्तौंसम्म रोकिँदा बजार नै ठप्प भएको छ ।

जेष्ठ ३१, २०८३

पर्वत पोर्तेल

Ilam industrialists to shut down tea industry in protest against Indian blockade

विराटनगर — भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले तयारी चिया बिक्री हुन नसकेको, भण्डारण क्षमता भरिएको तथा किसानबाट खरिद गरिएको हरियो चियापत्तीको मूल्यसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएकाले उद्योग बन्द गर्न बाध्य भएको जनाएको छ । एसोसिएसनमा आबद्ध ५३ उद्योगले उत्पादन बन्द गर्ने निर्णय गरेका हुन् ।

उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया बोकेर कोलकाता पुगेका गाडीहरू हप्तौंसम्म रोकिँदा बजार नै ठप्प भएको छ । अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा थप ७ लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको छ ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बिक्री नहुने र भण्डारण गर्ने ठाउँसमेत अभाव भएपछि उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए ।

'किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको चिया बिक्री हुन सकेको छैन। उद्योगका गोदाम भरिएका छन्। किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको छ,' उनले भने।

चैत र वैशाख उच्च गुणस्तरको ‘फर्स्ट फ्लस’ चिया उत्पादन हुने मुख्य सिजन भए पनि यही समयमा भारतले नयाँ झन्झटिलो प्रक्रिया लागू गरेपछि उद्योगी मारमा परेका छन्। भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार नेपालबाट निर्यात हुने प्रत्येक चियाको खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।

उद्योगीका अनुसार परीक्षण प्रतिवेदन आउन दुइ साता बढी लाग्ने, प्रतिवेदन नआउञ्जेल बिक्री गर्न नपाइने तथा नमुना परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यसले नेपाली चियाको व्यापारिक जोखिम अत्यधिक बढाएको उनीहरूको भनाइ छ।

एसोसिएसनका महासचिव तथा उद्योगी गोपाल कट्टेलले यसपटकको समस्या विगतका अवरोधभन्दा गम्भीर रहेको बताए। 'पहिले पनि भारतले विभिन्न बहानामा अवरोध गर्ने गरेको थियो। तर अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ। यो गुणस्तर परीक्षणभन्दा पनि नेपाली चियाको बजार रोक्ने प्रयासजस्तो देखिएको छ,' उनले भने।

उद्योगी पुनम राईले भारतीय पक्षले भन्सारबाट चिया प्रवेश गर्न दिएर पछि गोदाममा पुगेर रोक्नु दोहोरो व्यवहार भएको टिप्पणी गरे। 'यदि गुणस्तरमै समस्या हो भने भन्सारमै परीक्षण हुनुपर्थ्यो। बजारमा पुगिसकेपछि बिक्री रोक्नु कुनै पनि हिसाबले न्यायोचित छैन,' उनले भने।

भारतीय अवरोधका कारण उद्योग बन्द हुने भएपछि हजारौं चिया किसान प्रत्यक्ष प्रभावित हुने भएका छन्। एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान आबद्ध छन्। नगरपालिकाको ३३ हजार ६ सय ५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुन्छ।

यसैबीच सूर्योदय नगरपालिकाले भारतीय अवरोध तत्काल हटाउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। नगरपालिकाले भारतीय चिया बोर्डको पछिल्लो कदमलाई गैरभन्सार अवरोधको संज्ञा दिँदै यसले चिया उद्योग, किसान, श्रमिक र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ। नेपालले वार्षिक करिब सवा ४ अर्ब रुपैयाँ बराबरको तयारी चिया निर्यात गर्दै आएको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully