भारतकाे निरन्तरकाे अवराेधले भारतीय आयातकर्ता नेपाली चिया किन्न हच्किन थालेका छन्।
What you should know
झापा र काठमाडौँ — तीन साताको अवरोधपछि यही ६ जेठमा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध सुरु गरेको छ । भारतीय चिया बोर्ड (टी बोर्ड अफ इन्डिया) ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ ।
भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन सुरु गरिएको उनीहरू बताउँछन् । परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको छ ।
यसअघि १८ वैशाखमा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसायी अन्योलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जनाए ।
कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन । करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ ।
कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन । ‘गोदाममै गएर नमुना संकलन गर्न थालेपछि वायरहरू नै चिया किन्न हच्किएका छन्,’ गुप्ताले भने, ‘नेपाली चिया भारतीय व्यापारीले नकिनून् भन्ने बोर्डको नियत प्रस्ट देखिन्छ ।’ गुप्ताका अनुसार नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाइन्छ । रिपोर्ट नआएसम्म बिक्री रोक्न भनिएको छ । यही कारण व्यवसायीले नयाँ निर्यातका लागि फाराम नै पेस गर्न छाडेका छन् । परीक्षणको नतिजा मापदण्डअनुसार नआए आफ्नो सामान नष्ट गर्नुपर्ने हुन सक्ने डर उनीहरूमा छ ।
यसको असर अहिलेसम्म मुख्यतया अर्थोडक्स चिया निर्यातमा मात्र सीमित छ । किनकि यो सिजनमा सीटीसी चियाको उत्पादन निकै घटिसकेको छ । ‘चिया बगानमा हरियो पत्तीको उपलब्धता कम भएकाले सीटीसी चियाको उत्पादन करिब ५० प्रतिशतले घटेको छ,’ गुप्ताले भने, ‘अर्थोडक्स चिया उत्पादनमा भने असर परेको छैन । भारत निर्यात भइरहेको अधिकांश चिया अर्थोडक्स नै हो ।’
यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो । त्यसलाई नेपाली व्यवसायीले गैरभन्सार अवरोधका रूपमा व्याख्या गर्दै आएका छन् ।
नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने नेपाल चिया विकास निगम क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि अधिकृत इन्द्र अधिकारीको भनाइ छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ ।
नेपालको चिया क्षेत्र पहिलेदेखि नै दबाबमा छ । गत आर्थिक वर्षमा लुपर कीराको प्रकोपका कारण चिया उत्पादन २५ देखि ३० प्रतिशतले घटेको थियो । बढ्दो उत्पादन लागतका कारण धेरै किसान वैकल्पिक बालीतर्फ आकर्षित हुन थालेका छन् । भारतीय चिया बोर्डले गुणस्तर नियन्त्रणलाई मजबुत बनाउन र मिसावट रोक्न भन्दै गत १ मेदेखि लागु हुने गरी नेपालसहित सबै देशबाट आयात हुने चियामा अनिवार्य परीक्षण प्रणाली सुरु गरेको थियो । उक्त कार्यविधि (एसओपी) अन्तर्गत आयात गरिने चियाको प्रत्येक कन्साइनमेन्ट (खेप) को नमुना संकलन र प्रयोगशाला परीक्षण अनिवार्य गरिएको थियो ।
भारतीय आयातकर्ताहरूले चिया बोर्डको पोर्टलमार्फत ढुवानीको विस्तृत विवरण बुझाउनुका साथै प्रतिनमुना भारु ११ हजार १ सय २० र लागू हुने जीएसटी शुल्क तिर्नुपर्ने व्यवस्था थियो ।
इन्स्ट्यान्ट चिया र रेडी–टु–ड्रिंक (पिउनका लागि तयार) चियालाई भने यो नियमबाट छुट दिइएको थियो । यस कदमले नेपालको चिया निर्यातलाई गम्भीर रूपमा प्रभावित गरेपछि काठमाडौं र नयाँ दिल्लीबीच कूटनीतिक पहल भएको थियो ।
दुई देशका अधिकारीबीचको छलफलपछि मे २० मा भारतले कार्यविधि परिमार्जन गर्यो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको निर्देशनअनुसार भारतीय चिया बोर्डले आन्तरिक उपभोगका लागि आयात गरिने चियालाई अनिवार्य प्रयोगशाला परीक्षणमा छुट दियो र पुनः निर्यातका लागि ल्याइने चियामा मात्र यो नियम
कायमै राख्यो । भारतीय भन्सार अधिकारी र भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणलाई आफ्नो जोखिम व्यवस्थापन प्रणालीअन्तर्गत आकस्मिक नमुना संकलन जारी राख्ने अनुमति भने दिइएको थियो ।
खुकुलो व्यवस्थाले नेपाली उत्पादक र निर्यातकर्तालाई ठूलो राहत दिएको थियो । किनकि उनीहरूमध्ये धेरैजसो भारतीय बजारमै बढी निर्भर छन् । पछिल्लो घटनाक्रमले भने औपचारिक रूपमा कुनै सूचना नआए पनि परीक्षणको व्यवस्थालाई व्यावहारिक रूपमा पुनः लागु गरेको देखिएको सरोकारवाला बताउँछन् ।
भारतीय अधिकारीहरूले नेपालबाट आयातित चियाको अनिवार्य प्रयोगशाला परीक्षण गरिरहेको जानकारी पाएको तर यसबारे कुनै आधिकारिक पत्र प्राप्त नभएको नेपाल चिया तथा कफी विकास बोर्डका एक अधिकारीले जनाए । प्रतिबन्ध हटेको दुई साता नबित्दै फेरि सुरु भएको यो अवरोधले चिया उत्पादकमाझ बजार पहुँचलाई लिएर पुनः चिन्ता थपिदिएको छ ।
नेपालले अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत भारत निर्यात गर्छ, जसले गर्दा नेपाल चिया व्यापारका लागि छिमेकी देश भारतमा पूर्ण रूपमा निर्भर छ । तेस्रो मुलुकका बजारमा निकै सानो हिस्सा मात्र नेपाली चिया पुग्ने गर्छ । नेपालले वार्षिक ७ हजार ८ सय ३८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । तेस्रो मुलुकमा हुने निर्यात कुल अर्थोडक्स चिया निर्यातको ११.४ प्रतिशत मात्र छ ।
प्रांगारिक प्रमाणित अर्थोडक्स चियाको अवस्था भने केही राम्रो छ । यसको कुल उत्पादनको २१.६३ प्रतिशत समुद्रपारका बजारमा पुग्ने गरेको छ । चालु आर्थिक वर्षमा चिया निर्यात पहिले नै ओरालो लागिरहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना (जेठ मध्यसम्म) मा नेपालले ३.३५ अर्ब रुपैयाँ बराबरको ११ हजार ३ सय ९३ टन चिया निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । यो गत वर्षको सोही अवधिमा भएको ३.९७ अर्ब रुपैयाँ बराबरको १४ हजार ३० टनको तुलनामा कम हो ।
गत आर्थिक वर्षमा नेपालले ४.५९ अर्ब रुपैयाँ बराबरको १५ हजार ५ सय ९८ टन चिया निर्यात गरेको थियो । खाद्य परीक्षण प्रमाणपत्रको द्विपक्षीय मान्यतामा हालै केही प्रगति भए तापनि यो पटक–पटक बल्झिने परीक्षणको समस्या नेपाली निर्यातकर्ताका लागि ठूलो टाउको दुखाइ बनेको छ ।
