भारतीय टी बोर्डले गोदाममै नमुना परीक्षण गर्न थालेपछि चिया निर्यातमा पुनः अवरोध

भारतीय चिया बोर्डले कोलकातास्थित गोदाममा पुगेर नमुना संकलन गरी परीक्षण थालेपछि नेपाली चिया निर्यातमा पुनः अवरोध सुरु भएको छ।

जेष्ठ २१, २०८३

पर्वत पोर्तेल

Tea exports hit again after Indian Tea Board starts testing samples at warehouses

What you should know

झापा — तीन साताको अवरोधपछि गत जेठ ६ मा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध सुरु गरेको छ ।

भारतीय चिया बोर्ड (टी बोर्ड अफ इन्डिया) ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरुको भनाइ छ । 

व्यवसायीका अनुसार भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउन सुरु गरिएको छ । परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको छ ।

यसअघि वैशाख १८ गते भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो । 

तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसायी अन्योलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जनाए । ‘गोदाममै गएर नुमना संकलन गर्न थालेपछि वायरहरु नै चिया किन्न अच्किएका छन्,’ गुप्ताले भने,‘नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत प्रष्ट देखिन्छ ।’ 

गुप्ताका अनुसार नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाइन्छ । रिपोर्ट नआएसम्म बिक्री रोक्न भनिएको छ । यही कारण व्यवसायीले नयाँ निर्यातका लागि फाराम नै पेस गर्न छाडेका छन् । 

उनका अनुसार कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन । करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ ।

यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो । त्यसलाई नेपाली व्यवसायीले गैरभन्सार अवरोधका रूपमा व्याख्या गर्दै आएका छन् । 

नेपाल चिया विकास निगम क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि अधिकृत ईन्द्र अधिकारीका अनुसार नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुन्छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully