‘समग्रमा मध्यम वर्गकेन्द्रित बजेट आएको छ । तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,’ पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमवासीहरूका लागि कुनै सम्बोधन गरिएन । ’
काठमाडौँ — पूर्वअर्थमन्त्री एवं नेकपाका नेता वर्षमान पुनले आगामी बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् । बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वर्तमान संसद्मा एक मात्र अर्थमन्त्रीका रूपमा रहेका पुनले किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुमवासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम नभएको टिप्पणी गरेका हुन् ।
‘समग्रमा मध्यम वर्गकेन्द्रित बजेट आएको छ । तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,’ पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमवासीहरूका लागि कुनै सम्बोधन गरिएन । रोजगारी सिर्जना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन् । रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ ।’
नाफामा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गर्न लागिएको भन्दै उनले सरकारको आलोचनासमेत गरे । ‘नाफामा चलिरहेका कम्पनीको सेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठीक छैन,’ पुनले भने ।
पहिले रास्वपा नेताहरूले ऋण लिएर पुराना पार्टीहरूले देश डुबाए भन्ने गरे पनि वैदेशिक ऋणबाटै स्रोत जुटाउने गरी अहिलेको बजेट ल्याइएको पुनको भनाइ छ ।
