भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मूल्यवृद्धिको डर

भारतीय सञ्‍चारमाध्यम लेख्छन्– ‘एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो’

जेष्ठ १, २०८३

संगम प्रसाई, कृष्णा प्रसाईं

Fears of price hike in Nepali market after India bans sugar exports

What you should know

काठमाडौँ —  

भारतले बुधबारदेखि लागू हुने गरी नेपालसहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । यससँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि ब्युँताएको छ । सन् २०२३ मा भारतले लगाएको उक्त प्रतिबन्ध डेढ वर्षअघि आंशिक रूपमा हटाएको थियो ।

भारतीय सञ्‍चारमाध्यमहरूका अनुसार ‘एल निनो’ को प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गरी ‘प्रतिबन्धित’ बाट ‘निषेधित’ गरिएको हो । यद्यपि यो निषेध युरोपेली संघ र अमेरिकामा निश्चित कोटाअन्तर्गत गरिने चिनी निर्यातमा भने लागू हुने छैन । सूचनाअनुसार, यो प्रतिबन्ध ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

ब्राजिलपछि विश्वकै धेरै चिनी निर्यातकमध्येको एक भारतले यसअघि मिलहरूलाई १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिइसकेको छ । भारतीय व्यापारीहरूले त्यसमध्ये ८ लाख टन चिनी निर्यात सम्झौता गरिसकेका छन् । त्यसमध्ये पनि ६ लाख टन ढुवानी गरिसकिएको छ । नेपाली अधिकारीहरू यो निर्णयले भारतको व्यापार प्रतिबन्धप्रति नेपालको संवेदनशीलतालाई पुनः स्मरण गराएको बताउँछन् ।

भारतले चिया निर्यातमा लगाएको नयाँ नियमबारे छलफल गरिरहेका बेला चिनी प्रतिबन्धबारे खबर आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले बताए । ‘हामी चिनी प्रतिबन्धबारे सरोकारवालासँग छलफल गर्नेछौं र नेपालको आवश्यकता प्रस्ट पार्नेछौं,’ उनले भने । चामलको तुलनामा चिनी आवश्यक परे वैकल्पिक स्रोतबाट समेत आयात गर्न सकिने अधिकारी बताउँछन् । सन् २०२३ मा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालले चाडपर्वको माग धान्न पाकिस्तानबाट पनि चिनी आयात गर्ने योजना बनाएको थियो । ‘कुनै वैकल्पिक स्रोत भएनन् भने हामीले भारतलाई सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत समन्वय गर्न सक्छौं,’ सुवेदीले भने ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्व बजारमा अभाव देखिएपछि यसअघि नै नेपालले ८० हजार टन रासायनिक मल जीटूजी संयन्त्रमार्फत आयात गर्न आग्रह गरिसकेको छ । भारतको कुल निर्यातको सानो हिस्सा मात्रै नेपालले आयात गर्ने भए पनि भारतको संरक्षणवादी व्यापार नीतिले नेपाललाई प्रत्यक्ष असर पार्ने व्यापारी र विज्ञहरूको भनाइ छ ।

सन् २०२३ सेप्टेम्बरमा कम वर्षाका कारण उखु उत्पादन घटेको भन्दै भारतले सात वर्षपछि पहिलो पटक नेपालतर्फको चिनी ढुवानी रोकेको थियो । यो प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याइएको थियो । नेपालको मुख्य चाडपर्वको सिजन भएकाले त्यसबेला चिनीको मूल्य अकासिएको थियो ।

सन् २०२३ को दसैंअघि चिनीको मूल्य ह्वात्तै बढेको थियो । केही साताअघिसम्म प्रतिकिलो ८८ रुपैयाँमा पाइने चिनी अभावका कारण कालोबजारमा १ सय ६० रुपैयाँसम्म पुगेको थियो । नेपालले चाडबाडको माग धान्न ६० हजार टन चिनी आयातको अनुमति मागेकामा भारतले ‘नेसनल कोअपरेटिभ एक्सपोटर््स लिमिटेड’ मार्फत २५ हजार टन मात्र स्वीकृति दिएको थियो ।

२० जनवरी २०२५ मा भारतले प्रतिबन्धलाई खुकुलो बनाउँदै चिनी मिलहरूलाई १० लाख टनसम्म निर्यात गर्न अनुमति दिएको थियो । यो निर्णय उत्पादन लागतभन्दा कम भएको आन्तरिक मूल्यलाई टेवा दिन गरिएको थियो । भारतको संरक्षणवादी नीति चिनीमा मात्र सीमित छैन ।

२० जुलाई २०२३ मा भारतले ‘एल निनो’ का कारण खाद्य सुरक्षा सुनिश्चित गर्न गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । भारतीय चामलको प्रमुख आयातकर्ता नेपाल उक्त नीतिबाट नराम्ररी प्रभावित भएसँगै बजारमा मूल्यवृद्धि भयो । पछि गैरबासमती सेतो चामल अभावलाई सहज बनाउन सोही वर्ष नै भारतले ९५ हजार टन चामल कोटा प्रणालीमा नेपाल पठाउन अनुमति दिएको थियो ।

प्रतिबन्धपछि सन् २०२४ मा नेपालमा चामलको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । त्यतिबेला २५ किलोको बोरामा ८ सय रुपैयाँसम्मले वृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्चको बजार विश्लेषण छ । मञ्चले चामलको मूल्यवृद्धिको मुख्य कारण भारतको निर्यात प्रतिबन्धलाई मानेको छ ।

यसले मुख्यतया चामल र अन्य अत्यावश्यक वस्तुहरूको उच्च मूल्यका कारण नेपालमा खाद्य मुद्रास्फीति निरन्तर बढेको थियो । प्रतिबन्धअघि ‘पर्ल जिरा मसिनो’ जस्ता चामलका प्रकार प्रति २५ किलोको बोरा करिब १६ सय रुपैयाँमा बिक्री हुन्थ्यो भने पछि यसको मूल्य बढेर २४ सय रुपैयाँ पुगेको खुद्रा व्यापारी बताउँछन् ।

भारतले फेरि अगस्टमा उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएर प्रतिबन्धलाई अझ कडा बनाएको थियो । दक्षिणी छिमेकी देशमा परनिर्भर रहँदा खाद्यान्नमा भारतले लगाउने जुनसुकै प्रतिबन्धले नेपाललाई तुरुन्तै असर गर्ने व्यापार विज्ञ रविशंकर सैंजुको भनाइ छ ।

‘अन्य देशबाट खाद्यान्न तथा वस्तु आयात गर्दा ढुवानी खर्चका कारण महँगो पर्छ, जसले विदेशी मुद्रा सञ्चितिमा दबाब दिन्छ,’ उनले भने, ‘त्यसैले नेपाल सतर्क रहन आवश्यक छ । साथै खाद्य सुरक्षासँग सम्बन्धित विषयहरूमा छुट्टै वार्ता गर्नुपर्छ ।’ पछिल्लो चिनी प्रतिबन्धले आगामी महिनाहरूमा अन्य खाद्यान्नमा पनि प्रतिबन्ध लाग्न सक्ने संकेत गरेको समेत उनले जनाए ।

‍नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत हो, जसले नेपालको कुल व्यापारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । आर्थिक वर्ष २०२३/२४ मा द्विपक्षीय व्यापार ८ अर्ब डलरभन्दा बढी थियो ।

दक्षिण एसियाका मौसमविद्हरूले पछिल्ला तीन वर्षसम्म औसतभन्दा धेरै वर्षा भएको नेपालमा यस वर्ष औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिसकेका छन् । खडेरीको अवस्था बिग्रियो भने भारतले आफ्नो आन्तरिक आपूर्ति सुरक्षित गर्न थप कृषि उपजको निर्यातमा कडाइ गर्न सक्ने विश्लेषकको अनुमान छ ।

मुलुकमा कम वर्षा, रासायनिक मलको अभाव र बढ्दो इन्धनको मूल्यका कारण नेपालमा खाद्य सुरक्षाको चुनौती आउन सक्ने विज्ञहरूको चेतावनी छ । ‘कम वर्षा, रासायनिक मलको अभाव र उच्च इन्धन मूल्यको संयोजन कृषि क्षेत्रका लागि घातक हुन सक्छ,’ कृषि तथा खाद्य विज्ञ देवेन्द्र गौचनले भने । ‘हामीले तत्कालै एक सामना गर्ने संयन्त्र चाहिन्छ । सरकारले योजना बनाउनुपर्छ,’ राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका गौचनले थपे ।

नेपालको ६६ खर्ब रुपैयाँको अर्थतन्त्रका लागि मनसुनी वर्षा निकै महत्त्वपूर्ण छ । यसले कृषिका लागि आवश्यक झन्डै ८० प्रतिशत पानी आपूर्ति गर्छ र जलाशय एवं भूमिगत जलस्तरलाई समेत पुनर्भरण गर्दछ । झन्डै २ हजार टन चिनी मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जनाए । साल्ट ट्रेडिङका अनुसार मुलुकमा मासिक २० देखि २५ हजार टन चिनीको माग छ, जुन चाडपर्वमा ३० हजार टनसम्म पुग्छ । वार्षिक माग झन्डै ३ लाख टन छ ।

नेपालमा वार्षिक करिब १ लाख टन चिनी अभाव हुने र त्यो आयातबाट पूर्ति गरिने राजभण्डारीको भनाइ छ । भारतले कोटा प्रणाली लगाएपछि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १.१३ अर्ब रुपैयाँ बराबरको १७ हजार १ सय ८५ टन चिनी आयात गरेको छ । गत आर्थिक वर्ष नेपालले १.८३ अर्ब रुपैयाँको २५ हजार ८ सय ६२ टन चिनी आयात गरेको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले यसअघि सहुलियतपूर्ण भन्सार महसुल व्यवस्थाअन्तर्गत चिनी आयात गर्ने गरेको थियो । तर सरकारले अनुदान कटौती गरेपछि कर्पोरेसनले स्वदेशी उत्पादकहरूबाट चिनी खरिद गरी बजारमा बिक्री गर्न थालेको राजभण्डारीले जनाए ।

साल्टले निजी उत्पादकसँग ८९ रुपैयाँदेखि ९५ रुपैयाँमा खरिद गरेर खुद्रा बजारमा प्रतिकेजी ९८ रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ । केही वर्षअघिसम्म नेपालमा वार्षिक १ लाख ५५ हजार टन चिनी उत्पादन हुन्थ्यो । तर चिनी मिल मालिकहरूले किसानलाई समयमै भुक्तानी नदिँदा उखु खेतीतर्फ आकर्षण घटेकाले चिनी उत्पादनसमेत घटेर १ लाख २० हजार टनमा सीमित भएको छ ।

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Link copied successfully