सुरु हुँदै कैलाश–मानसरोवर तीर्थयात्रा, ५ हजारले गरे बुकिङ

कैलाश –मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवाको केरुङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरु सडक मार्ग भएर जाने गरेका छन्।

वैशाख २३, २०८३

कृष्णप्रसाद गौतम, रूपा गहतराज

Kailash-Mansarovar pilgrimage begins, 5,000 people have made bookings

सुर्खेत र नेपालगन्ज — भारतीय तीर्थयात्रीका लागि कैलाश–मानसरोवर तीर्थयात्राको सिजन सुरु भएको छ । आगामी सातादेखि तीर्थयात्रा सुरु गर्ने गरी व्यवसायीले धमाधम ‘बुकिङ’ लिइरहेका छन् । व्यवसायीका अनुसार अहिलेसम्म झन्डै ५ हजार जनाले तीर्थयात्राका लागि ‘ट्राभल बुकिङ’ गराइसकेका छन् । कैलाश–मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवाको केरुङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरू सडक मार्ग भएर जाने गरेका छन् । 

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले बन्द छ भने केही तीर्थयात्रीले चीनको ल्हासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन् । भर्खरै भारत र चीन सरकारबीच लिपुलेक हुँदै तीर्थयात्रा खोल्ने सहमतिसमेत भएको छ । त्यसमध्ये मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण भने हिल्सा नाकाबाट देखिएको छ ।

भारतीय तीर्थयात्रीले यो वर्ष ३५ वटा टुर्स एन्ड ट्राभल्समार्फत कैलाश—मानसरोवर दर्शनका लागि ‘बुकिङ’ जारी राखेका छन् । व्यवसायीका अनुसार हिल्सा नाका हुँदै तीर्थयात्रामा जानेहरू भारतको लखनउको बाटो भएर नेपालगन्ज हुँदै हुम्ला जान्छन् । ‘नेपालबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउ हो, त्यहाँबाट नेपालगन्जको दूरी १ सय ९० किमि छ, जुन ३ घण्टामै यात्रा गर्न सकिन्छ,’ एसोसिएसन फर कैलाश टुर अपरेटर्स (एक्टोन) नेपालका अध्यक्ष विमल नहर्कीले भने, ‘नेपालगन्जबाट जहाजमार्फत सिमकोट हुँदै हिल्सा पुगिन्छ, त्यहाँबाट १ सय ५ किमि दूरीको मानसरोवरको दूरी ४ घण्टामै पूरा गर्न सकिन्छ ।’

उनका अनुसार नेपालगन्जमा पहिलो दिन बसेका पर्यटकहरू दोस्रो दिन हुम्ला सदरमुकाम सिमकोट बास बस्छन् भने त्यहाँबाट हेलिकोप्टरमा नेपाल–चीन सीमा हिल्सा पुगेर तेस्रो दिन मानसरोवर किनारको दार्चेन बेस क्याम्पमा बस्छन् । चौथो दिन झन्डै ६० किलोमिटर दूरीको कैलाश पर्वत पुगेर दर्शन गरी फर्किने गरेको उनले जानकारी दिए । ‘हिँड्न सक्नेहरू कैलाश पुगेर ५२ किमि दूरीमा परिक्रमा गर्छन् भने अशक्तहरू दार्चेन बेस क्याम्पबाटै दर्शन गरी फर्किन्छन्,’ अर्का पर्यटन व्यवसायी विजय सिंहले भने, ‘त्यहाँबाट फर्केर अर्को दिन सिमकोट बास बस्न आउँछन् भने भोलिपल्ट नेपालगन्जमा फर्केर बास बस्छन्, यो रुट छिटोमा ७ दिनमा पूरा हुन्छ ।’ पर्यटन व्यवसायीका अनुसार नेपालका अन्य ठाउँबाट मानसरोवर तीर्थयात्रा गर्न कम्तीमा १० दिन लाग्छ । 

गत वर्ष हुम्लास्थित हिल्सा नाका हुॅदै ६ हजार ४२ जनाले कैलाश—मानसरोवर दर्शन गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाको तथ्यांक छ । चीनले कोरोना महामारीपछि गत वर्ष मात्र तीर्थयात्रा खुला गरेको थियो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५ हजार ७ सय १७ भारतीय र ३ सय २५ अन्य देशका नागरिकले हुम्लाको बाटो हुँदै गत वर्ष मानसरोवर दर्शन गरेका थिए । जसमा ३ हजार ३ सय ३४ पुरुष र २ हजार ७ सय ८ महिला थिए । 

यो वर्ष तीर्थयात्रीको संख्या बढ्ने अनुमान गरिएको सत्यम् टुर्स एन्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत अमृत अधिकारीले बताए । उनका अनुसार अहिलेसम्म उक्त ट्राभल्सबाट झन्डै १ हजार ४ सय भारतीय तीर्थयात्रीले ‘बुकिङ’ गराएका छन् । त्यसमध्ये करिब एक हजार जनाले हुम्लाको बाटो प्रयोग गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार केही भारतीय तीर्थयात्री भने नयाँदिल्ली हुँदै हवाई मार्गबाट काठमाडौं आएर पशुपतिनाथको दर्शन गरी नेपालगन्ज जाने गरेका छन् ।

Kailash-Mansarovar pilgrimage begins, 5,000 people have made bookings

सन् १९८५ देखि नेपाल–भारत सरकारबीच नेपालको बाटो हुँदै मानसरोवर तीर्थयात्रामा जाने सम्झौता भएको थियो । त्यसयता बर्सेनि भइरहेको तीर्थयात्रा कोरोना महामारीका कारण सन् २०२० मा बन्द भएको थियो । यस वर्ष भारतीय सरकार र उत्तराखण्ड सरकारले ५/५ सय जनालाई लिपुलेक र नाथालुको बाटो भएर कैलाश–मानसरोवर तीर्थयात्राका लागि अनुमति दिएका छन् । ‘उनीहरूले उत्तराखण्डको देहरादुन हुँदै महाकाली किनारैकिनार लिपुलेक–ताक्लाकोट (पुरान) भएर कैलाश मानसरोवर यात्रा गर्नेछन्,’ एक्टोन अध्यक्ष नहर्कीले भने, ‘त्यताबाट उनीहरूलाई ३/४ दिन लाग्छ ।’ 

भारतीय पर्यटकले हुम्लाको मार्ग प्रयोग गर्न थालेपछि भरिया, होटल व्यवसाय, पर्यटक पथप्रदर्शक भएर राम्रो रोजगारी पाएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । २०७२ को भूकम्पअघिसम्म भारतीय तीर्थयात्रीले सिन्धुपाल्चोकको तातोपानी नाका प्रयोग गर्थे । भूकम्पका कारण उक्त मार्ग बन्द भएपछि हुम्लाको मार्ग प्रयोग गर्न थालिएको सिमकोटका होटल तथा पर्यटन व्यवसायी विजय लामाले बताए । ‘यो नाका खुलेपछि कर्णालीको समग्र पर्यटन व्यवसायलाई फाइदा पुगेको छ, यो वर्ष पनि हामी पाहुनाको स्वागतको तयारीमा छौं,’ उनले भने, ‘पर्यटकका लागि आवश्यक खाना र बसोबासको व्यवस्थापन भइरहेको छ ।’ 

उनले गत वर्ष एकैदिन ८० जनासम्मलाई आफ्नो होटलमा व्यवस्थापन गरेको जानकारी दिए । उनका अनुसार गत वर्ष पर्यटकको चापले हिल्साका ७ र हुम्ला सदरमुकाम सिमकोटका १५ पर्यटकीय होटलहरू भरिभराउ भएका थिए । भारतीय पर्यटककै लागि हिल्सामा झन्डै २५ र सिमकोटमा ३० वटा साना लगानीका होटल पनि सञ्चालनमा छन् । 

भारतीय पर्यटकले हुम्लाको मार्ग प्रयोग गर्न थालेपछि भरिया, होटल व्यवसाय, पर्यटक पथप्रदर्शक भएर राम्रो रोजगारी पाएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । ‘पर्यटकले कोसेलीका रूपमा लैजान थालेपछि स्याउ, ओखर, सिमी, फापर, उवालगायत स्थानीय उत्पादनले बजार र भाउ पाएको छ,’ उनले भने, ‘स्थानीय तरकारी पनि जिल्लामै खपत हुन्छ, जसका कारण किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।’ 

भारतीय तीर्थयात्रीको चाप बढेसँगै सिमकोट विमानस्थलमा पनि जहाजहरूलाई उडान गर्न भ्याइनभ्याइ हुन्छ । गत वर्ष तीर्थयात्री ओसार्न सिमकोट विमानस्थलमा एक दिनमा ८२ वटासम्म उडान भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार गत वर्ष सीता एयरलाइन्सका दुई, ताराका दुई र समिट एयरलाइन्सका तीन वटा जहाजले नेपालगन्जबाट हुम्लासम्म उडान गरेका थिए भने पर्यटक ओसार्नका लागि सिमकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका थिए । जहाजबाट सिमकोट पुगेका तीर्थयात्रीलाई हेलिकोप्टरले चीन सीमास्थित हिल्सासम्म पुर्‍याएको उनले जानकारी दिए । उनका अनुसार यो वर्ष पनि उडानका लागि जहाज र हेलिकोप्टर कम्पनीहरूले पहल सुरु गरेका छन् । 

पर्यटन व्यवसायी तेन्जिन नोर्बुका अनुसार सबैभन्दा बढी दक्षिण भारत, गुजरात, महाराष्ट्र, उत्तर भारतबाट पर्यटकहरू आउने गरेका छन् । उनका अनुसार कैलाश—मानसरोवर यात्रामा आउने तीर्थयात्रीलाई विभिन्न राज्य सरकारले २५ हजारदेखि एक लाखसम्म अनुदानको व्यवस्था गरेका छन् । जसका कारण पनि भारतीयहरूको कैलाश—मानसरोवरमा आकर्षण बढेको उनले जानकारी दिए । उनका अनुसार तेलङ्गना राज्यले २५ हजार, कर्नाटकले ५० हजार र उत्तर प्रदेशले १ लाख भारतीय रुपैयाँ अनुदान दिने गरेका छन् ।

कैलाश दर्शन ओम्कार परिवारभित्रका सबै धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको धार्मिक अभियन्ता शिवकुमार शर्माले बताए ।भारतीयहरूलाई यो तीर्थयात्राका लागि साढे २ लाखदेखि ३ लाख भारतीय रुपैयाँसम्मको प्याकेज बनाइएको उनले बताए । उनका अनुसार नेपालीलाई भने काठमाडौंदेखि १ लाख ५० हजारसम्मको प्याकेजमा कैलाश भ्रमण गराइने गरिएको छ । ‘भगवान् शिव कैलाश पर्वतमा विराजमान भएको विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ,’ नोर्बुले भने, ‘मानसरोवर—कैलाश यात्रालाई आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकका रूपमा महत्त्व दिइन्छ, त्यसैले जीवनमा कम्तीमा एकपल्ट कैलाश दर्शन गर्नैपर्ने भारतीयहरूको विश्वास छ ।’

कैलाश दर्शन ओम्कार परिवारभित्रका सबै धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको धार्मिक अभियन्ता शिवकुमार शर्माले बताए । उनका अनुसार बौद्ध धर्मावलम्बीहरूले थाङ्क रिम्पोचे, जैन धर्मावलम्बीले हिमालको देउता, बोनले ‘प्रिबुद्धिष्ट’ का रूपमा पूजा गर्ने गरेका छन् । ‘हिन्दुसहित बौद्ध, बोनलगायत धर्मावलम्बीहरू घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्छन्,’ उनले भने, ‘जैनहरू भने एन्टिक्लकवाइज घुम्ने गरेका छन् ।’

अहिले काठमाडौं र पोखराबाट चीनको ल्हासासम्म उडान हुन थालेपछि पर्यटकहरू ल्हासा गएर पनि कैलाश दर्शनका लागि जाने गरेका छन् । ल्हासा—पुराङ हवाई यात्रा र पुराङबाट गाडीबाट मानसरोवर जान सकिने एक्टोन अध्यक्ष नहर्कीले बताए । ‘नेपालबाट सबैभन्दा उपयुक्त नाका मुस्ताङस्थित कोरला नाका हो, तर यो अहिलेसम्म खुलेको छैन,’ उनले भने, ‘त्यो नाका खुले नेपाली भूमिबाट सबैभन्दा छोटो दूरीमा कैलाश—मानसरोवर पुग्न सकिन्छ, यो नाका अहिले स्थानीयलाई मात्र खुला छ, यो रुट खुले ५ दिनमै तीर्थयात्रा गर्न सकिन्छ ।’

उच्च हिमाली क्षेत्र भएकाले कम्तीमा ३ महिना कैलाश पर्वतमा बाक्लो हिमपात हुन्छ भने फागुन–चैतको समयमा भने हावाहुरी लाग्छ । त्यसैले वैशाखदेखि कात्तिकसम्मको समय सबैभन्दा उपयुक्त मानिएको उनले जानकारी दिए । 

पर्यटकको स्वागतको तयारीमा व्यवसायी 

 भारतीय पर्यटकले हिल्सा नाका प्रयोग गर्न थालेपछि बाँकेमा पनि ठूला लगानीका होटलहरू खुल्ने क्रम बढिरहेको छ ।पर्यटन व्यवसायीले भारतीय तीर्थयात्रीको धमाधम ‘बुकिङ’ लिन थालेसँगै नेपालगन्जका होटलहरू पनि ‘बुकिङ’ हुन थालेका छन् । भारतीय पर्यटकले हिल्सा नाका प्रयोग गर्न थालेपछि बाँकेमा पनि ठूला लगानीका होटलहरू खुल्ने क्रम बढिरहेको छ । होटल व्यवसायी संघका अनुसार कोहलपुर र नेपालगन्जमा दुई/दुई वटा गरी ४ वटा पाँचतारे र चारतारे होटल खुलिसकेका छन् भने झन्डै एक दर्जन सुविधासम्पन्न होटल सञ्चालनमा छन् । 

सिजन सुरु भएसँगै होटलहरूमा बुकिङ हुने क्रम बढिरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले बताए । ‘हरेक वर्ष मे महिनादेखि सेप्टेम्बरसम्म मानसरोवर–कैलाश दर्शनको सिजन हुन्छ, लामो समय कोरोनाका कारण बन्द भएको तीर्थयात्रा खुलेपछि व्यवसायीलाई पनि ठूलो राहत मिलेको छ,’ उनले भने, ‘यो वर्ष गत वर्षभन्दा बढी तीर्थयात्री आउने अपेक्षासहित आवश्यक व्यवस्थापनका कामहरू भइरहेको छ, ट्राभल एजेन्सीहरूले धमाधम होटल बुकिङ गराउन थालेका छन् ।’ 

नेपालगन्जबाट नजिक पर्ने भारतीय जिल्लाहरूका बासिन्दाहरूले पुरानै रुट प्रयोग गर्ने भएकाले तत्काल त्यसको असर नपर्ने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । ‘भारतमा ठूलो जनसंख्या छ, त्यसमध्ये अधिकांश बासिन्दा मानसरोवर तीर्थयात्रामा जान चाहन्छन्, जसलाई जताबाट नेपाल नजिक पर्छ, उनीहरू त्यतैबाट तीर्थयात्रामा जाने हुन्,’ उनले भने, ‘अहिले यता होटललगायत पूर्वाधार पनि धेरै भएकाले धेरै तीर्थयात्रीको रोजाइ नेपालगन्ज हुँदै हुम्ला भएर मानसरोवर जाने छ ।’ नेपालतर्फ सडक र अन्य पूर्वाधारको चुनौती भने कायम रहेको उनले गुनासो गरे । भारतीय पर्यटकको आकर्षण बढाउन हिल्सा नाकासम्मको सडक स्तरोन्नति गर्न जरुरी रहेको उनले बताए । 

नेपालगन्जमा क्षेत्रीयस्तरको विमानस्थल रहेकाले र भारतका विभिन्न सहरसँग सडक यातायातमार्फत ‘कनेक्टिभिटी’ भएकाले भारतीय पर्यटकको पछिल्लो रोजाइ नेपालगन्ज भएको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भीम कँडेलले बताए । उनका अनुसार अहिलेसम्म तीर्थयात्रामा जाने झन्डै दुई हजार भारतीय पर्यटकका लागि होटलको ‘बुकिङ’ भइसकेको छ ।

नेपालगन्जबाट मानसरोवरसहित शे फोक्सुन्डो, खप्तड, रारालगायत पर्यटकीय क्षेत्रमा जाने पर्यटकको संख्या बढिरहेकाले नेपालगन्जमा ठूला लगानीका होटलहरू खुल्ने क्रम बढेको उनले जानकारी दिए । नेपालगन्जका झन्डै आधा दर्जन होटलमा क्यासिनो सञ्चालनमा आएपछि पनि भारतीय नागरिकहरू यता आउने क्रम बढेको उनको भनाइ छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

रूपा

Link copied successfully