चार वर्षपछि खुल्यो कैलाश मानसरोवर तीर्थयात्रा 

सिमकोट विमानस्थलमा दैनिक ८२ वटासम्म जहाज उडान, ५ हेलिकोप्टरमार्फत सिमकोट—हिल्सासम्म दिनहुँ ७५ वटासम्म फ्लाइट

असार २९, २०८२

कृष्णप्रसाद गौतम, अनिश तिवारी

Kailash Mansarovar Pilgrimage opened after four years

सुर्खेत र सिन्धुपाल्चोक — हुम्ला हुँदै कैलाश मानसरोवर तीर्थयात्रा गर्न जाने भारतीय पर्यटकलाई ओसार्न एक सातायता जहाज र हेलिकोप्टरलाई भ्याइनभ्याइ भएको छ । शुक्रबार मात्रै झण्डै ७ सय तीर्थयात्री हुम्लाको हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि गएका छन् भने शनिबार र आइतबार करिब ६ सय तीर्थयात्री हुम्ला सदरमुकाम सिमकोट पुगे ।

तीर्थयात्रीको चाप बढेपछि आइतबार नेपालगन्जबाट सिमकोट विमानस्थलमा तारा, सीता र समिट एयरलाइन्सका जहाजले २० वटा उडान भरे । शनिबार ५१ र शुक्रबार ८२ उडान भएका थिए । अहिले सिमकोट विमानस्थलमा एकैपल्टमा ६ वटासम्म जहाजले उडान भरिरहेका छन् । सिमकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा छन् । एउटा हेलिकोप्टरले दैनिक १५ वटासम्म उडान भरिरहेका छन् ।   

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारसम्म ६ सय २२ महिला र ६ सय ४९ पुरुष गरी १ हजार २ सय ७१ जना भारतीय तीर्थयात्रीले चीनको कैलाश मानसरोवर दर्शन गरेका छन् । शनिबार र आइतबार झण्डै १ हजार ३ सय जना भित्रिएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य मुलुकका ७० महिला र ७९ पुरुष मानसरोवर पुगेका छन् । भारतीय तीर्थयात्रीका कारण होटल व्यवसायी, पर्यटन व्यवसायी र सामान बोक्ने भरियालाई समेत भ्याइनभ्याइ छ । कोरोना महामारीका कारण झण्डै २०७७ चैतदेखि बन्द भएको कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको हो । दुई वर्षअघि चीनले हिल्सा नाका खोले पनि मानसरोवर प्रवेशको अनुमति खुला गरेको थिएन । ‘कोरोनाका कारण झण्डै चार वर्ष हुम्लाको पर्यटन व्यवसाय ठप्प भयो,’ पर्यटन व्यवसायी मिम लामाले भने, ‘अहिले दैनिक दुई सयदेखि एक हजार जनासम्म तीर्थयात्री हुम्ला आइरहेका छन् ।’ 

अहिले सिमकोट विमानस्थलमा सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । जहाज र हेलिकोप्टरको उडानका कारण चाप बढेपछि हवाइ ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विमानस्थलमा ६ वटासम्म मात्र जहाज पार्किङ गर्न सकिन्छ । ‘एक जना एयर ट्राफिक कन्ट्रोलरको भरमा ठूलो संख्यामा उडानको अनुमति दिनु परिरहेको छ,’ उनले भने, ‘साघुॅरो टर्मिनल भवनमा यात्रुलाई वेटिङमा राख्न समस्या भइरहेको छ, खानेपानी, शौचालय, वाइफाइ सबैको समस्या भएको छ ।’ 

Kailash Mansarovar Pilgrimage opened after four years

भारतीय तीर्थयात्रीको चाप बढेपछि हेलिकोप्टर व्यवस्थापनमा पनि समस्या भइरहेको सिम्रिक एयरलाइन्सका प्रबन्धक कमल गौतमले बताए । उनका अनुसार एउटा हेलिकोप्टरले सिमकोटदेखि हिल्सासम्म दैनिक १५ वटासम्म उडान भरिरहेका छन् । ‘सडकको अवस्था राम्रो नभएकाले सबै हेलिकोप्टरमा जान खोज्छन्, एकपल्टमा चार जना मात्र जान मिल्छ,’ उनले भने, ‘मौसममा बदली भइरहँदा पनि उडानमा केही अप्ठेरो भयो ।’ उनका अनुसार चीन सीमाको हिल्सासम्म हेलिकोप्टरमा गएका तीर्थयात्रीहरु गाडीबाट मानसरोवर पुग्ने गरेका छन् । केही तीर्थयात्री भने गाडीबाट ६ घण्टाको यात्रा गरी हिल्सा पुग्छन् ।   

सिमकोटस्थित विजय होटलका सञ्चालक विजय लामाले दैनिक ७० जनासम्म पर्यटक आफ्नो होटलमा बसिरहेको बताए । ‘अबको तीन हप्तासम्म होटलका सबै कोठा बुक भइसकेका छन्,’ उनले भने, ‘पर्यटकलाई स्थानीय उत्पादनका परिकारहरु खुवाइने गरिएको छ, सिमकोटमा एक रात बास बसेपछि उनीहरु हिल्सा हुॅदै मानसरोवर जाने गरेका छन् र फर्किएपछि थप एक रात बस्ने गरेका छन् ।’ उनका अनुसार तीर्थयात्रीका कारण सिमकोटका झण्डै दुई दर्जन र चीन सीमास्थित हिल्साका ३५ वटा होटलहरु भरिभराउ भएका छन् । 

कोरोना महामारीका कारण चीनले कैलाश मानसरोवर तीर्थयात्रा निषेध गरेपछि पर्यटन व्यवसायीले केही समय नेपाली भूमि नाम्खा गाउँपालिकास्थित लाप्चाबाट दूरदर्शनको व्यवस्था मिलाएको थियो भने केही समय माउन्टेन फ्लाइटमार्फत पनि पनि भारतीयले मानसरोवरको दर्शन गरेका थिए । त्यसक्रममा ७ सय ८१ जना भारतीय तीर्थयात्री र ४ सय ८९ जना विदेशी पर्यटकले नेपाली भूमि लाप्चाबाटै कैलाश मानसरोवर दर्शन गरेका थिए भने ३ सय ५० जनाले माउन्टेन फ्लाइटबाट दर्शन गरेका थिए । 

यो वर्ष सबैभन्दा बढी भारतको दक्षिण भारत, तालिमनाडु, केरला र कर्नाटकका तीर्थयात्रीले प्याकेज बुकिङ गराएको अर्का पर्यटन व्यवसायी साङ्गे लामाले बताए । एक दिन सिमकोट राखेर पर्यटकलाई अर्को दिन हिल्सा पुर्‍याइन्छ । मानसरोवर—कैलाश दर्शन गरी फेरि उनीहरु एक रात हिल्सा र एक रात सिमकोट बास बस्छन् । तीर्थयात्रीहरुले कोसेलीको रुपमा ओखर, सिमी, भाँगोलगायत स्थानीय उत्पादन लैजाने गरेकाले कृषि उपजहरुले पनि मूल्य र बजार पाइरहेको उनले जानकारी दिए । होटल व्यवसायीले भारतीयलाई एक रातको बसाइँ र खानासहित प्रतियात्रु दुई हजार पाँच सय रुपैयाँको प्याकेज बनाएका छन् । 

Kailash Mansarovar Pilgrimage opened after four years

नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको हुम्लाको पर्यटन व्यवसायले गति लिएको बताए । ‘अहिले हिल्साका ३५ वटा होटलहरु भरिभराउ छन्, तीर्थयात्रीका कारण स्थानीय उत्पादनले बजार पाएको छ,’ उनले भने, ‘भरिया र टुरिस्ट गाइडको काम गरेर स्थानीयले रोजगारी पाएका छन् ।’ उनका अनुसार पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले १ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेका छन्  । उक्त रकम ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकामा संकलन हुने उनले जानकारी दिए । 

मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । प्रत्येक वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर दर्शनको सिजन हो । लामो समयपछि कैलाश दर्शनका लागि आउन पाउँदा खुसी लागेको भारतीय तीर्थयात्रीको भनाइ छ । ‘कोरोना महामारीका कारण लामो प्रतिक्षापछि मानसरोवरको दर्शन गर्न पाइयो,’ भारतको मुम्बै घाटकोयाबाट आएका कैलाश पटेलले भने, ‘जीवनमा एकपल्ट कैलाश दर्शन गर्ने धोको थियो, पूरा भयो ।’ उत्तरप्रदेशबाटै आएका गोविन्द गुप्ताले पनि शनिबार मानसरोवर दर्शनबाट सन्तुष्टी मिलेको बताए । ‘लामो समयदेखिको धोको पूरा भयो, स्थानीयको माया र स्वागतले पनि सन्तुष्टि मिल्यो,’ उनले भने, ‘आशा छ शंकरजीले हाम्रो मनोकांक्षा पूरा गरिदिनुहुनेछ ।’ उनका अनुसार केरुङ भएर आवतजावत गर्नुभन्दा हिल्सा भएर आवतजावत गर्न छोटो र सहज छ । 

भारतीय तीर्थयात्रीका कारण अहिले नेपालगन्जका होटल पनि भरिभराउ छन् । नेपालगन्जका विभिन्न होटलमा झण्डै ६ सय जना पर्यटक बसिरहेको अर्का पर्यटन व्यवसायी तेन्जिङ नोर्बुले बताए । उनका अनुसार करिब तीन साताका लागि नेपालगन्जका ठूला होटल बुकिङ भइसकेका छन् । उनले करिब ६ हजार तीर्थयात्री यस वर्ष मानसरोवर दर्शनका लागि आउने जानकारी दिए ।  

भारतीय तीर्थयात्रीले बैशाखदेखि असोजसम्म तीर्थयात्रा गर्ने गरेका छन् । भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्न थालेका थिए । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा हुम्लाको हिल्सा भएर मानसरोवर यात्रा गर्नेको संख्या ह्वात्तै बढेको थियो । कोरोना महामारीसम्म झण्डै ४ वर्षको अवधिमा झण्डै १८ हजार भारतीय तीर्थयात्रीले मानसरोवर दर्शन गरेको जिल्ला प्रशासन हुम्लाको तथ्यांक छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले तीर्थयात्रीका लागि यातायातका साधनको व्यवस्थापनसहित सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए । ‘जतिसक्दो धेरै तीर्थयात्रीले सहजतापूर्वक कैलाश दर्शन गर्न पाउन भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘यसले समग्र कर्णालीको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेको छ ।’

तातोपानीबाट फर्कदै तीर्थयात्री 

भीषण वर्षाका कारण रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द भएपछि कैलाश मानसरोवर तीर्थयात्रा सकेर फर्किरहेका गैरआवासीय भारतीय (एनआरआई) तीर्थयात्री तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।

रसुवागढी नाकाबाट असारको सुरुतिर चीन प्रवेश गरेका तीर्थयात्री मंगलबारको बाढीले टिमुरे–केरुङ सडक सम्पर्क बिच्छेद भएपछि तातोपानी नाका हुँदै नेपाल फर्किन थालेका हुन् ।

कैलाश मानसरोवर जान चीन सरकारले रसुवा–केरुङ नाका खुला गरे पनि बाढीले मार्ग अवरुद्ध भएपछि उनीहरूलाई वैकल्पिक मार्गबाट फिर्ता ल्याइएको हो ।

तातोपानी कोदारी अध्यागमन कार्यालयकाअनुसार  शनिबारसम्म झण्डै पाँचसय तीर्थयात्री नेपाल फर्किएका छन् ।  गत बुधबार मात्रै १९८ जना, मंगलबार मनाङ एयरका ४ वटा हेलिकप्टरमार्फत ७२ जनालाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । यस्तै, बाँकी ६४ जनालाई बसमार्फत सोही नाकाबाट काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ । ‘अहिले दैनिक ७० भन्दाबढी पर्यटक मानसरोवरबाट फर्किन थालेका छन्, सुरुमा हेलिकप्टरबाट फर्केका थिए, भने अहिले सवारीसाधन मार्फत काठमाडौं गइरहेका छन्,’ इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख जगतबहादुर राईले भने ।

Kailash Mansarovar Pilgrimage opened after four years

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय मूलका अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया र सिंगापुरका नागरिकताधारी गैरआवासीय भारतीय तातोपानी भएर फर्केको जानकारी दिए । ‘बाह्रबिसे–कोदारी सडक जीर्ण भएको कारण अधिकांश यात्रुहरू हेलिकप्टरमार्फत काठमाडौं पुर्‍याइएको हो,’ उनले भने ।  चिनियाँ अध्यागमनको सूचनाअनुसार अझै ठूलो संख्यामा तीर्थयात्री तातोपानी नाका हुँदै फर्कन बाँकी छन् ।

उता भोटेकोशी बाढीको चपेटामा परेर रसुवागढी नाका बन्द भएकाले सबै कन्टेनर तातोपानी हुँदै आउनेक्रम बढेको छ । तातोपानी सुक्खा बन्दरगाह प्रमुख राजेन्द्रप्रसाद चुँडालकाअनुसार रसुवा नाका बन्द भएपछि सबै सामान तातोपानी भएर आउन थालेको छ । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully