इन्धन महँगिएपछि चौतर्फी मारमा किसान

सिँचाइका लागि नहर र विद्युत् लाइन नपुगेका ठाउँमा किसानले पम्पसेट चलाएर सिँचाइ गर्छन् । डिजेलको मूल्यवृद्धिले यस्ता किसान चिन्तित छन् ।

वैशाख १०, २०८३

माधव अर्याल, शिव पुरी, रामप्रसाद चौहान 

Farmers hit hard by fuel price hike

What you should know

रौतहट, बर्दिया र पाल्पा — पश्चिम एसिया तनावका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले ठूला लगानीकर्तासँगै खेतीपाती गरेर जीवन निर्वाह गर्ने किसानसम्म मारमा परेका छन् । इन्धनको मूल्य बढेपछि कृषिमा आधुनिक उपकरणको प्रयोग खर्चिलो बनेको छ । अहिले जताततै सुक्खा बढेको छ । यस्तो बेला पम्पसेट चलाएर जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्नुपर्छ । डिजेल महँगो भएकाले पम्पसेट चलाएर पानी तान्ने अवस्था नरहेको किसान बताउँछन् । 

यो गहुँ स्याहार्ने समय हो । यस्तो बेला गहुँ स्याहार्न थ्रेसर चलाउन किसानलाई धौधौ छ । वैशाख पहिलो साता डिजेलको मूल्य बढ्दा बर्दियाका किसान मारमा परे । गहुँ बाली भित्र्याउने बेला भाउ बढेपछि आर्थिक भार थपिएको किसानको भनाइ छ । अहिले डिजेलको मूल्य प्रतिलिटर २ सय ३४ दशमलव ५ रुपैयाँ छ । सिँचाइका लागि नहर र विद्युत् लाइन नपुगेका ठाउँमा किसानले पम्पसेट चलाएर सिँचाइ गर्छन् । डिजेलको मूल्यवृद्धिले यस्ता किसान चिन्तित छन् । 

मकै र तरकारी खेती गरिरहेका किसानको लागत खर्च बढेको छ । यसले आर्थिक भार थपिएको किसानको गुनासो छ । डिजेलको मूल्य बढेकाले यसपालि गहुँ भित्र्याउन बढी खर्च गर्नुपरेको गुलरिया नगरपालिका–४, का मेघनाथ गोडियाले जनाए । ‘प्रतिबिघा गहुँ काटेको ८ हजार रुपैयाँका दरले मेसिनधनीलाई तिरियो,’ उनले भने, ‘अब केही दिनमै खेती लगाउने सिजन नजिकिँदै छ । डिजेलको मूल्य नघट्ने हो भने किसानलाई धेरै मर्का पर्ने देखिन्छ ।’ 

कृषिमा जनशक्तिभन्दा उपकरणको प्रयोग हुने गरेकाले खर्च बढेको ठाकुरबाबा–५, डुङ्रहवाका रतनलाल थारूले बताए । ‘गहुँ काट्न हाते ट्र्याक्टर र थ्रेसिङका लागि ट्र्याक्टर प्रयोग गरियो,’ उनले भने, ‘डिजेलको मूल्यवृद्धिले यसपालि बढी गहुँ भित्र्याउँदा गत वर्षको भन्दा बढी खर्च भयो । तर सरकारले गहुँको समर्थन मूल्य एकदम न्यून तोक्दा हामी किसानलाई झन् पिर परेको छ ।’ 

रतनलालको बस्तीमा नहर सुविधा छ । तर सफाइ र निर्माणको काम भइरहेकाले पानी नआउँदा पम्पसेट चलाउनुपर्ने उनको भनाइ छ । मकै, उखु र तरकारी खेतीका लागि पम्पसेट चलाउँदा डिजेल खर्च भइरहेको उनले सुनाए । इन्धनको मूल्यवृद्धिले तरकारी खेती गर्न समस्या भइरहेको गुलरिया–७ का मेहबुब खानले जनाए । उनले ५० कट्ठामा तरकारी खेती गरिरहेका छन् । 

‘गर्मीको सिजन सुरु भएलगत्तै सुक्खा बढ्यो,’ खानले भने, ‘बलौटे माटो भएकाले हरेक दिन बोरिङले सिँचाइ गर्नुपर्छ । सिँचाइ नगरे तरकारीका बिरुवा सुक्न थाल्छन् ।’ पछिल्लो समय सिँचाइमा धेरै नै खर्च भइरहेको उनले बताए । वार्षिक प्रतिकट्ठा ३ हजार रुपैयाँका दरले ५० कट्ठा जग्गा लिजमा लिएर लौका, फर्सी, काँक्रा, करेला र तरबुजा खेती गरेका छन् । दुई कट्ठामा लगाएको मकैमा दिनहुँ सिँचाइ गर्नुपरिरहेको गुलरिया–८ की लक्ष्मी रोकाको भनाइ छ । 

पाल्पाको निस्दी–५, गल्धा ढुंगानाबेसीका किसान गणेश ढुंगानालाई इन्धनको मूल्यवृद्धि भएपछि अब खेतीबाली कसरी लगाउने भन्ने चिन्ता बढेको छ । घरमा भएको गोरु बिक्री गरेर मिनी टिलरमार्फत खेतबारी जोत्दै आएका उनलाई इन्धनको भाउ अधिक बढेपछि अब खेती कसरी लगाउने भन्ने चिन्ता बढेको हो । 

टार, खोला, फाँट, बारीमा मिनी टिलरले जोत्न सहज हुन्थ्यो । ‘घरमा भएका गोरु पनि बेचियो,’ ढुंगानाले भने, ‘अहिले गोरु किनौं भन्दा पनि पाइन्न । हामी किसानलाई समस्यैसमस्या छ ।’ गाउँघरमा समूह/सहकारीमार्फत मिनी टिलर राखिएका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारअन्तर्गतका कार्यालयले समूह तथा सहकारीमार्फत अनुदानमा मिनी टिलर वितरण गरेका हुन् । 

समूहभित्र ६ सयदेखि ८ सयसम्म र समूहबाहिर ८ सयदेखि १ हजारसम्ममा एक घण्टा जोत्ने सुविधा भएको लेकबेंसी कृषि जागरण कृषक समूहका अध्यक्षसमेत रहेका ढुंगानाले बताए । ‘इन्धन महँगिएपछि अब कति पैसा लिने भन्ने अन्योल भएको छ,’ उनले भने, ‘किसानलाई जसरी पनि मार नै परेको हुन्छ ।’ 

इन्धन महँगिएको, रासायनिक मल समयमा नपाइने, बीउबिजन महँगो भएपछि खेती नै गर्न छाड्ने अवस्थामा पुगेको रामपुर–६, तिलकपुरका किसान नारायण पराजुलीको गुनासो छ । रामपुर फाँटमा एक घण्टाको ३ हजारमा जोत्न पाइने ट्र्याक्टरको ३ हजार ५ सयदेखि ४ हजार पुगिसकेको उनले बताए । ‘अब खेतीबाली लगाएर के गर्नु,’ उनले भने, ‘लगाएको लागत पनि नउठ्ने भएपछि कसरी खेतीबाली गर्नु भन्ने भएको छ ।’ 

रामपुर–६ का किसान कृष्णकुमार अर्यालको सानाठूला गरी ४५ वटा भैंसी छन् । इन्धन महँगो हुँदा सबै सामान महँगिएको उनको भनाइ छ । ७० हजारमा ल्याउने भुस्साको अहिले ८५ हजार रुपैयाँ तिर्नुपरेको छ । प्रतिकिलो १४ रुपैयाँ पर्ने साइलेजको मूल्य अहिले १५.५ परेको अर्यालले बताए । दानामा सय रुपैयाँ बढेर आएको उनले जनाए । 

ढुवानी भाडा महँगिएपछि उपभोक्ता नै मारमा पर्ने अवस्था रहेको तानसेन नगरपालिका–७, कुन्सरे माडीका किसान नूरदेव पौडेलको भनाइ छ । एक बोराको ५० रुपैयाँ लिनेमा अहिले एक सय पुगेको छ । खेतबारी जोत्नसमेत महँगीले असर गरेको उनले बताए । जिल्लामा १० पालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रलगायतबाट १० हजार रुपैयाँभन्दा बढी मिनी टिलर, हाते ट्र्याक्टर वितरण भइसकेको छ । जसका कारण गोरु पाल्नै छाड्नेको संख्या बढेको किसानले बताए । 

इन्धनको मूल्यवृद्धिपछि थ्रेसरधनीले जथाभावी भाडा लिने गरेको किसानको दुखेसो छ । मधेशमा केही दिनयता गहुँ झार्ने थ्रेसर र मकै दाना निकाल्ने मेइज सेलरको प्रयोग बढेको छ । महिनौं लाग्ने काम मेसिनले केही घण्टामै गरिदिन्छ । तर किसानले यो सहजताको महँगो मूल्य चुकाउनुपरिरहेको छ । 

कृषि यान्त्रिकीकरणतर्फ उन्मुख किसान डिजेलमा मूल्यवृद्धिसँगै गहुँ र मकै बाली भित्र्याउने समयमा मर्कामा परेका हुन् । ग्रामीण 

क्षेत्रका किसानलाई अहिले थ्रेसरले गहुँ, मकै स्याहर्न भ्याइनभ्याई रहेको मैराका किसान सेनाम जिम्बाले सुनाए । ‘तेलको मूल्य 

बढ्यो । यसैको आडमा थ्रेसरको भाडा बढाइएको छ,’ उनले भने, ‘यो बेला जति भन्छन्, तिर्नैपरेको छ ।’ 

विशेषगरी डिजेलबाट चल्ने ‘थ्रेसर’ (अन्न चुट्ने मेसिन) र कम्बाइन हार्भेस्टर सञ्चालन गर्ने व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै पुरानो भाडादरमा काम गर्न अस्वीकार गरेपछि किसान मर्कामा परेका हुन् । मधेशका जिल्लामा अहिले गहुँ भित्र्याउने र मकै थन्क्याउने चटारो छ । गत 

वर्षको तुलनामा यसपालि थ्रेसरको भाडा महँगो भएको किसानको गुनासो छ । 

व्यवसायीले बुझाए ज्ञापन 

इन्धनमा भएको अप्रत्याशित मूल्यवृद्धिले मर्कामा परेको उल्लेख गर्दै बर्दियाका निर्माण व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघका पदाधिकारीले मंगलबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन बुझाएका हुन् । 

निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्त प्रकाश गिरीसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमार्फत ज्ञापन बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

मूल्यवृद्धिले निर्माण लागत बढेर विकास निर्माणका काम गर्न नसकिने स्थिति उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग यतिबेला अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको छ,’ ज्ञापनमा उल्लेख छ, ‘इन्धनलगायत निर्माण सामग्रीमा भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण लागतलाई नियन्त्रण बाहिर पुर्‍याएको र निर्माणमा बिटुमिन, सिमेन्ट र डन्डी जस्ता 

सामग्रीको बजार मूल्यमा आएको वृद्धि र सामग्री अभावले समग्र निर्माण क्षेत्रलाई धराशायी 

बनाएको छ ।’ तसर्थ मूल्यवृद्धि नियन्त्रण गरी काम गर्ने वातावरण सिर्जना गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully