कञ्चनपुरको बनहरा नदीको बगरमा सयौं किसानले लहरे तरकारी खेती गर्दै सिजनमा राम्रो आम्दानी गरिरहेका छन् ।
What you should know
कञ्चनपुर — कृष्णपुर नगरपालिका–२ बाणीका नन्दलाल रानालाई यतिबेला भ्याईनभ्याई छ । उनलाई एकातिर बनहरा नदीको बगरमा लगाएको लहरे तरकारी रेखदेख गर्ने र अर्कोतिर त्यहीँ तरकारी टिपेर बिक्री गर्ने । उनी अचेल राति पनि बगरमै सुत्छन् ।
बगरमा उत्पादन गरेका काक्रा, लौका, फर्सी र तरभुजालगायतका उत्पादन उनले गाउँगाउँ डुलेर बिक्री गर्छन् । उनले बनहरा पुल छेउमै छाप्रो बनाएर पनि बिक्री गरिरहेका छन् । अहिले बगरसँगै घरमा पनि उनले लहरे तरकारी लगाएका छन् । यो सिजनमा तरकारी बिक्री गरेर कम्तीमा ४ लाख आम्दानी गर्ने उनको योजना छ । ‘१०/१२ वर्षदेखि यही काम गरिरहेको छु, चौकीदारी गर्न भारततिर भएका छोराहरुलाई पनि बोलाएर यसमै लगाएको छु,’ रानाले भने, ‘बाह्रै महिना सिजन अनुसारका तरकारी उत्पादन गर्छु, त्यहीँबाट आम्दानी भइरहेको छ ।’ अहिले तरभुजा, लौका र फर्सी फ्रतिकिलो ५० मा बिक्री गरिरहेका छन् । कात्रा ३० रुपैयाँ र करेला एक सयमा बेचिरहेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमानामा पर्ने बनहरा नदी किनारको क्षेत्रमा हिउँद लागेपछि बगर खेती सुरु हुन्छ । वर्षायाममा नदीले छाडेको बालुवामाथि किसानहरूले तरबुजा, काक्रा, फर्सी, लौकालगायतका लहरे तरकारी र फलफूल उत्पादन गर्छन् । नदी कटान र बाढीले उर्बर जमिन बगर बनेपछि कतिपयले त्यहीँ बगरमा पसिना बगाएर गुजाराको विकल्प बनाएका हुन् ।
वैसाखको चर्को घाममा बनहरा पुलको दुवैतर्फ बगरखेती गर्ने कृषकहरु आफ्नो उत्पादन बिक्री गर्न छाप्रो हालेर बसेका छन् । राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु उक्त क्षेत्रमा गाडी रोकेरै किनमेल गर्छन् । एउटा किसानले दिनमा पाँच/सात हजारसम्म बिक्री गरिरहेका छन् । ‘अहिले त उत्पादन थोरै भएको छ, अब बढ्दै जान्छ,’ कृष्णपुर–३ बाणीका राजेन्द्र रानाले भने, ‘त्यसपछि गाउँगाउँ डुलेर पनि बिक्री गर्नुपर्छ ।’ उनले पनि चार/पाँच वर्षदेखि बगरसँगै आफ्नो जमिनमा पनि तरकारी खेती गरिरहेका छन् ।
कृष्णपुर नगरपालिकाको बाणी क्षेत्रको मुत्त कमैया बस्तीका २ सय बढी परिवारले पनि सिजन अनुसार तरकारी खेती गर्दै आएका छन् । बनहरा नदीको बगरमा पनि एक सय बढी परिवारले बसन्ते तरकारी खेती गर्दै आएका छन् ।
बगरमा पुस/माघमा रोपेको तरकारीले चैत अन्तिमबाट उत्पादन दिन थाल्छ । त्यहीँ भएर किसानहरु पुसदेखि नै बगरमा व्यस्त देखिन्छन् । उत्पादन चोरी हुने भएकाले उनीहरुले बगरमै बास बस्ने गरेका छन् । कतिपयले बास बस्नका लागि छाप्रा समेत बनाएका छन् । उक्त क्षेत्रमा बसन्ते तरकारी खेतीबाट एउटा परिवारले कम्तीमा डेढ/दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । ठूलो मात्रामा खेती गर्नेले अझै बढी आम्दानी गरिरहेको राना बताउँछन् ।
चुरेबाट बग्ने खहरे खोलाहरु हिउँदमा सुक्खा हुन्छन् । केहीले आफ्नै बगर बनेको जग्गामा त केहीले खाली बगरमा खेती गर्दै आएका हुन् । बनहरासँगै मछेली र दोदालगायतका नदीका बगरमा सयौं किसानले बगर खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । ‘यो बगर पहिले हाम्रो उब्जाउ खेत थियो । बनरा नदीले कटान गरेर सबै बगायो । पछि नदीले नै बालुवा ल्याएर पटान पनि गर्यो । अहिले त्यहीँ बालुवामा तरकारी लगाएर जीवन चलाइरहेका छौं,’ महेन्द्र राजमार्ग किनारमा बगरमा आफैले फलाएका तरकारी बेचिरहेका नन्दलाल रानाले भने ।
उनकै छेउमा बसेर बेचिरहेका मन्दु चौधरीले बगर देखाउँदै भने, ‘त्यो ठाउँमा हाम्रो जमिन हो । नदीले बगर बनायो । त्यही बगर खोस्रिएर बाँच्ने आधार खोजिरहेका छौं ।’ पुल छेउकै सडकको पारि उत्तरपट्टि बसेर व्यापार गरिरहेका विमल रानाले पनि उस्तै ब्यथा सुनाए । ‘बाढीले जमिन गुमेपछि केही गर्ने बाटो थिएन । हिउँदमा यही बगरमा काक्रा, तरबुजा लगाइरहेका छौं । अलिकति अरूको जमिन पनि भाडामा लिएर तरकारी खेती गर्छौं,’ उनले भने, ‘बजार लगेर बेच्दा भाउ कम पाइन्छ । त्यसैले यहीँ सडक किनारमै बेचिरहेका छौं ।’
स्थानीय जानकी बिष्टले बगरको खेती र सडकको व्यापारले धुलो र धुवाले सास फेर्न गाह्रो हुन्ने गरेको बताइन् । ‘अरु ठाउँ खेती गर्न जग्गा छैन । सडकमा बसेर नबेचे ५० रुपैयाँ किलोको काक्रा, लौका बजारमा मुस्किलले १० रुपैयाँ दिन्छन्,’ उनले भनिन् ।
बजारमा उचित मूल्य नपाइने भएपछि किसानहरू जोखिम मोलेर महेन्द्र राजमार्ग छेउमै टहरा बनाएर व्यापार गर्न बाध्य छन् । साँघुरो राजमार्ग र तीव्र गतिमा गुड्ने सवारी साधनले जोखिमपूर्ण तरिकाले किनारमा बसेर व्यापार गरिरहेको स्थानीय किसान रवीन्द्र रानाले बताए ।
पछिल्लो समय बगर खेती गर्ने किसानलाई स्थानीय तहदेखि कृषि ज्ञान केन्द्रले पनि बीउबिजन र प्राविधिक सहयोग गर्दै आएका छन् । बगर खेतीमा आश्रित किसानकै लागि कृष्णपुर नगरपालिकाले सुरक्षित र व्यवस्थित बजार निर्माणको तयारी थालेको जनाएको छ ।
नगर प्रमुख हेमराज ओझाका अनुसार टहरा राखिएको क्षेत्रको उत्तरपट्टि खाली जमिनमा माटो भरान गरेर हाटबजार बनाउने योजना अघि बढाइएको छ । ‘किसानले जोखिम मोलेर व्यापार गरिरहेका छन् भन्ने कुरा बुझेका छौं,’ ओझाले भने, ‘बजेट विनियोजन भइसकेको छ । छिट्टै काम सुरु गरेर सुरक्षित व्यापार स्थल उपलब्ध गराउने प्रयास हुन्छ ।’ नदीले खोसेको जमिनलाई फेरि जीवन बनाउने उनीहरूको संघर्ष अझै पनि सडक किनारमै जारी छ ।
