निर्वाचनअघि २८७५ अंकमा रहेको नेप्से आइतबार २६७६ मा ओर्लिएको छ, यस अवधिमा लगानीकर्ताले पौने ३ खर्ब गुमाएका छन्
What you should know
काठमाडौँ — निर्वाचनको चार दिनपछि २५ फागुनमा सेयर कारोबार मापक नेप्से परिसूचक १६२ अंकले बढ्दा तीनवटा सर्किट ब्रेक लागेको थियो । त्यसयता आइतबारसम्म १९ दिन सेयर बजारमा कारोबार भयो, जसमा ११ दिन बढ्यो, ८ दिन घट्यो । बढ्दा सामान्य वृद्धि र घट्दा तीव्र गतिमा ओर्लिएको थियो ।
गत सातायता भने नेप्से उच्च अंकले ओरालो यात्रामा छ । यसअनुसार गएको एक सातामा मात्र नेप्से परिसूचक पौने ३ सय अंकले घटेर आइतबारसम्म २ हजार ६ सय ७६ अंकमा ओर्लिएको छ । उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण साढे ४ खर्बले खुम्चिएको छ । प्रायः कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार मात्रै २ सय ६१ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मात्र बढ्यो । अघिल्ला दिनमा पनि थोरै कम्पनीको मात्र सेयर बढ्दा बहुसंख्यक कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको नेप्सेको तथ्यांक छ ।
लामो समयको राजनीतिक अस्थिरताबाट वाक्कदिक्क भएका सेयर लगानीकर्ता गत फागुनका अन्तिम दुई साता बढी आशावादी बनेका थिए । किनकि २१ फागुनको निर्वाचनले देशमा दुई तिहाइनजिकैको बहुमतको सरकार दिँदै थियो । त्यतिबेला सेयर बजारले आशाको संकेत पनि गरेको थियो । तर त्यो ‘बढेको आशा’ ले जीवन नपाउँदै सेयर बजारको ओरालो यात्रा सुरु भएको हो ।
सरकारले गरेको एक्सन (उद्योगी व्यवसायी समात्ने) ले पुँजी बजार अब बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सिर्जना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘स्थापित व्यवसाय तथा व्यावसायिक घरानाका व्यक्तिलाई धरपकड गरिएको छ, जसको सेयर बजारमा राम्रो लगानी थियो, तिनका आफ्नै कम्पनी पनि सूचीकृत थिए,’ उनले भने, ‘उनीहरूलाई प्रहरीले पक्राउ गर्दा आम नागरिकमा मनोवैज्ञानिक असर परेको छ । र, सेयर बजार घट्न सघाएको छ ।’
त्रासका कारण अहिले ठूला व्यवसायी बजारबाट बाहिरिन खोजेको सिजापतिको भनाइ छ । ‘उनीहरू जसरी भए पनि बजार छोड्ने मनस्थितिमा देखिन्छन् । प्रहरीले समातेपछि सम्पत्ति रोक्का होला भन्ने डर उनीहरूमा छ,’ उनले भने । कुन व्यवसायीले कति सेयर बेचे भन्ने यकिन नभए पनि लगानीकर्तामाझ ठूला लगानीकर्ताले सेयर बिक्री गर्दै छन् भन्ने सन्देश फैलिएको उनको दाबी छ ।
तीन वर्षयता बैंकहरूमा ऋण दिन मिल्ने रकम पर्याप्त छ । ब्याजदर घटेर इतिहासकै न्यून अवस्थामा छ । राष्ट्र बैंकले सेयर कर्जाको सीमा हटाएको छ भने बैंकहरूलाई सेयर किन्न लचिलो व्यवस्था गरेको छ । उद्योग, घरजग्गा, होटल तथा पर्यटनलगायत लगानीका अन्य क्षेत्रमा अपेक्षित सुधार नहुँदा लगानी अवसर साघुँरो छ । यावत् कारणले सेयर बजार उकालो लाग्ने अनुमान गरिएका थिए । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि केही दिन सेयर बजार उकालो लाग्यो पनि ।
तर गत सातादेखि बजारले फरक परिस्थिति देखायो । नेप्से परिसूचकसँगै कारोबार रकम, सेयर संख्या पनि घट्न थालेको छ । सरकारले केही व्यावसायिक घरानाका शीर्ष नेतृत्वलाई पक्राउ र धरपकड गर्न थालेपछि बजारमा नकारात्मक असर परेको ब्रोकर बताउँछन् । आफ्नो सम्पत्तिलाई सबैभन्दा छिटो तरल बनाउने (पैसामा रूपान्तरण) गर्ने माध्यम सेयर बजार भएकाले केही ठूला लगानीकर्ताले धमाधम सेयर बिक्री गर्न थालेपछि बजार घट्न दबाब पुगेको उनीहरूको बुझाइ छ ।
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिममा १०५.५० अंक घटेको हो । अघिल्लो दिनको तुलनामा ३.७९ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ७६.६८ अंकमा ओर्लिएको छ ।
आइतबार कारोबारमा आएकामध्ये ७ कम्पनीको मूल्य बढ्यो, २ सय ६१ कम्पनीको मूल्य घट्यो । यस दिन कुल १ लाख ४१ हजार ३६ पटकको सेयर किनबेचमा ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएकाले पछिल्ला दिनमा सेयर बजार उच्च अंकले घटिरहेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए । ‘पछिल्ला दिनमा प्रहरीबाट केही व्यावसायिक घरानाका नेतृत्व पक्राउ परेका छन्,’ उनले भने । यसले लगानीकर्तामा पुँजी बजारमा पैसा गलत ढंगले प्रयोग भएको रहेछ कि भन्ने सन्देश गएको उनले जनाए । ‘यसले सर्वसाधारण लगानीकर्तामा पुँजीबजार सम्पत्ति शुद्धीकरण गर्ने माध्यम बनेको हो कि भन्ने मनोवैज्ञानिक त्रास फैलिएको देखिन्छ,’ पौडेलले भने ।
रास्वपाले सरकार बनाएपछि राजनीति स्थिर हुने अनुमान छ । ‘अहिले ब्याजदर, अधिक तरलतालगायत सूचकसँगै अन्य नीति पनि सेयर बजारमैत्री छन् । तर लगानीकर्तामा त्रास छ,’ पौडेलले भने, ‘यस्तो अवस्थामा सरकारले पुँजीबजारप्रति आफ्नो धारणा स्पष्ट पार्नुपर्छ ।’
केही लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा रहेकाले बजारले वृद्धिको बाटो समात्न नसकेको पौडेलको बुझाइ छ । ‘नयाँ सरकारले कसरी काम गर्छ भनेर पर्ख र हेरेको अवस्थामा रहेका लगानीकर्ता अझै बजार प्रवेश गरेका छैनन्,’ उनले थपे, ‘किनकि सरकारको भनाइ र काम गराइबाट ठूला र संस्थागत लगानीकर्ता आश्वस्त हुन चाहेको देखिन्छ ।’
एनआरएन इन्फ्रास्टक्चर्स एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको दाबी गरे । ‘हाल बजारमा धेरै कुनै सूचीकृत कम्पनीलाई सम्बन्धित नियामक निकायले समस्याग्रस्त घोषणा गर्दै छ, कम्पनी डुब्दै छ भन्ने जस्ता हल्ला बजारमा फैलिएका छन्,’ उनले भने, ‘सेयर बजारमा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुँदा आम लगानीकर्तामा त्रास बढेको छ ।’
यद्यपि हल्ला भएजस्तो कालोधन सेयर बजारमा नरहेको फुयाँलको तर्क छ । तर, सर्वसाधारणमा सूचीकृत कम्पनी कारबाहीमा पर्लान्, प्रतिफल नपाइएला, बजार थप धेरै घट्ने हो कि भन्ने डर रहेको उनले बताए । राज्यले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरे पनि, केही व्यक्ति तथा संस्था दोषी भेटिए पनि आमनागरिक डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘अनसुन्धानले निश्चित मानिसलाई अप्ठ्यारो होला । तर सेयर बजारमा धेरै लगानीकर्ता छन् । धेरैले नियमसंगत नै काम गरेका छन् । गल्ती नगरेका मानिस डराउनुपर्दैन,’ फुयाँलले भने, ‘कुनै कम्पनीलाई सरकारले समस्याग्रस्त घोषणा गर्दै छ र गरिहाल्यो भने पनि सोही कम्पनी मात्र कारबाहीमा पर्ने हो । सबै लगानीकर्ता डराउनु पर्दैन । बजारमा शुद्धीकरण हुन्छ ।’ पछिल्ला केही दिन बजार घटे पनि यो अवस्था धेरै दिन नलम्बिने फुयाँलले बताए ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से १ सय ५ अंकले घटेको हो । तर घटेको बजारमा पनि ७ कम्पनीले राम्रो नाफा कमाएका छन् । तीमध्ये चार कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा धेरैले बढेर सर्किट ब्रेक लागेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्य पनि बढेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य १०/१० प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य पनि उच्च अंकले बढेको छ ।
पछिल्ला दिनमा बजारमा सेयर बिक्री दबाब परेकाले नेप्से निरन्तर घटेको पुँजीबजार विज्ञ एवं धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरिको भनाइ छ । ‘बैंकको ब्याज हालसम्मकै कम छ, पर्याप्त तरलता छ, बैंकहरू ऋण लिने ग्राहक खोज्दै हिँडेका छन् । सेयर कर्जाको सीमा हटेको छ । समग्रमा विद्यमान नीतिगत व्यवस्था सेयर बजारअनुकूल छन्,’ उनले भने, ‘अनुसन्धान निरन्तर प्रक्रिया भए पनि सामाजिक सञ्जालमा अनुसन्धानको नकारात्मक प्रचार धेरै छ । यसकारण सानो लगानीकर्ता आत्तिएका हुन् ।’
केही वर्ष अर्थतन्त्र त्यति राम्रो नभए पनि राजनीतिक स्थिरताको संकेत देखिएको छ । तर त्यसमा लगानीकर्ता आश्वस्त हुन नसकेकाले बजार निरन्तर घटिरहेको गिरिले जनाए । ‘पुँजीबजारका लागि यति राम्रो अवस्था कहिल्यै थिएन,’ उनले भने, ‘तर लगानीकर्ता आत्तिएको अवस्था छ । यो त्रास मात्र हो । यसले बजारमा बिक्री चाप बढाएको छ ।’
बजारमा लगानीका लागि धेरै लगानीकर्ताले बैंकबाट ऋण लिएका छन् । निश्चित प्रतिशत सेयर
घट्नासाथ बैंकबाट ‘मार्जिक कल’ आउँछ । लगातार बजार घट्न थालेपछि लगानीकर्ताले सेयर बेच्ने भएकाले बजारमा सेयर आपूर्ति बढेको र यसले नेप्से घटाएको गिरिको विश्लेषण छ ।
तर आइतबार २ सय ६१ कम्पनीका सेयरधनीले नोक्सानी बेहोरेका छन् । ती कम्पनीको सेयर मूल्य घटेपछि सेयरधनीको सम्पत्तिको मूल्य घटेका रूपमा विश्लेषण गरिएको हो । यसमध्ये नारायणी डेभलमपेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जीको सेयर मूल्य १०/१० प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ ।
प्रायः दिन नेप्से घटेपछि गत साता मात्रै ४ खर्ब ५९ अर्बले घटेको छ । यसअनुसार अघिल्लो बिहीबार ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार घटेर ४५ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ ।
यसरी सेयर बजार निरन्तर घट्न थालेपछि नियामक निकाय धितोपत्र बोर्डले पनि सूक्ष्म रूपमा नियालिरहेको अधिकारी बताउँछन् । बजारमा घटबढ स्वाभाविक प्रक्रिया भए पनि लगानीकर्ताको आत्मविश्वास अभिवृद्धिका लागि नियामक निकायले केही प्रयास गरिरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको दाबी छ ।
‘सेयर किन्न ब्रोकरले लगानीकर्तालाई ऋण दिन (मार्जिन कारोबार) सुरु भएको छ, केही ब्रोकरले यो सेवा सुरु गरिसकेका छन् । धेरैले नयाँ वर्ष वैशाखदेखि कारोबार सुरु गर्ने जनाएका छन्,’ उनले भने, ‘यो व्यवस्थाले मात्र बजारमा सवा खर्ब रुपैयाँ तरलता उपलब्ध हुने देखिएको छ ।’
यससँगै बजार बन्द भएको समयमा पनि खरिदबिक्री अर्डर राख्न मिल्ने व्यवस्था सुरु गर्न लागेको श्रेष्ठले जनाए । यो व्यवस्था कार्यान्वयनमा आएपछि बजार खुल्ने समय (११ देखि ३ बजेसम्म) मा किनबेच गर्न नपाउने लगानीकर्ताले पनि कारोबार गर्न पाउने भएकाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष श्रेष्ठको दाबी छ ।
