‘पेट्रोल महँगो, भाडा सस्तो’ भन्दै राइड सेयरिङ कम्पनीविरुद्ध चालक आन्दोलनमा

संघीय सरकारको राइड सेयरिङसम्बन्धी व्यवस्था कागजमै सीमित छ । पेट्रोल महँगो भए पनि भाडा सस्तो भएको, आफूहरूको पसिनामा कम्पनीले नाफा खाएको र चार वर्षदेखि अन्याय सहनुपरेको चालकको गुनासो छ ।

चैत्र १६, २०८२

सीमा तामाङ

Drivers protest against ride-sharing companies, saying 'petrol is expensive, fares are cheap'

What you should know

काठमाडौँ — ‘पेट्रोल महँगो, भाडा सस्तो’, ‘राइडर शोषण बन्द गर’, ‘हाम्रो पसिना, तिम्रो नाफा’ लगायत माग राख्दै चालकहरू राइड सेयरिङ कम्पनीविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा राइडरले मोटरसाइकल/स्कुटर लिएर माइतीघरमा प्रदर्शनसँगै र्‍याली गरेका छन् ।

पेट्रोल महँगो भए पनि भाडा सस्तो भएको, आफूहरूको पसिनामा कम्पनीले नाफा खाएको र चार वर्षदेखि अन्याय सहनुपरेको उनीहरूको भनाइ छ । सबै कम्पनीको भाडादर, कमिसन एउटै हुनुपर्ने र बिमालगायत सेवा सुविधा पाउनुपर्ने फाउन्डेसनका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँल बताउँछन् । मुलुकमा सञ्चालित राइड सेयरिङ कम्पनीका चालक आन्दोलनमा सहभागी रहेको र प्रतिकिमि शुल्क ३० रुपैयाँ तोक्न सरकारलाई आग्रह गरिरहेको उनले जनाए । चालक र सेवाग्राहीलाई मर्का नहुने गरी वैज्ञानिक भाडादर तोक्नसमेत फुयाँलको आग्रह छ ।

दुर्घटना हुँदा बिमा सुविधा, चौबिसै घण्टा सेवालगायतमा राइड सेयरिङ कम्पनीले काम गर्नुपर्ने उनको भनाइ छ । ‘कम्पनीहरूले राइडरको सुविधाका लागि नियम बनाएका छन् तर ती सबैको कार्यान्वयन भएको छैन,’ फुयाँलले भने, ‘पठाओको बिमा राम्रो छ तर इनड्राइभ र यांगोको बिमा नाम मात्रैको छ ।’ ट्राफिक जाममा बस्दा वा अन्य अवस्थामा स्वतः भाडा बढ्ने प्रणालीसमेत राइड सेयरिङ कम्पनीहरूले हटाउनुपर्ने उनीहरूको माग छ ।

राइड सेयरिङ एपलाई लिएर प्रो राइडर टिमलगायत विभिन्न अन्य समूहले राइडरका विभिन्न माग राख्दै आन्दोलन गरिरहेको विषयप्रति राइड सेयरिङ कम्पनी सजिलो साथीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । ‘सम्पूर्ण राइडरहरूको जायज मागप्रति सकारात्मक छौं । ती माग सम्बोधन गर्न सधैं तयार छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राइड सेयरिङ सेवा सफल हुन राइडर, यात्रु र प्लाटफर्मबीचको विश्वास, सम्मान र सहकार्य अत्यन्त आवश्यक हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले पनि राइडहरूको मागलाई कम्पनीले सकारात्मक रूपमा लिएको बताइन् । ‘हामीले उहाँहरूका मागलाई सकारात्मक रूपमा लिएका छौं, उहाँहरूले प्रतिकिलोमिटर २७ रुपैयाँको माग गरिरहनुभएको छ, हामीले औसतमा २५ रुपैयाँ दिइरहेका छौं,’ उनले भनिन् ।

संघीय सरकारले ‘राइड सेयरिङ’ सम्बन्धी कानुन ल्याई भाडादर तोकेको अवस्थामा यस्ता समस्या नहुने चालकको भनाइ छ । २९ माघ २०७६ मै उच्च अदालत, पाटनले राइड ‘सेयरिङ’ लाई कानुन बनाई नियमन गर्न आदेश दिएको थियो । तर उक्त आदेश संघ सरकारको मस्यौदामा मात्रै सीमित छ ।

संघ सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको ‘राइड सेयरिङ’ लाई नियमन गर्ने र करको दायरामा ल्याउने प्रयासलाई यातायात व्यवसायीहरूले प्रश्न उठाउँदै आएका छन् । संघको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा २ मा निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । सोही ऐनको दफा १२ को उपदफा १ मा कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । यातायात व्यवसायीहरूले गण्डकी प्रदेशले ल्याएको नियमावली संघको सवारी तथा यातायात व्यवस्था ऐनको बर्खिलाप रहेको तर्क अघि सार्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ ल्याइसकेको छ । गण्डकीको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को उपदफा ४ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न सक्ने उल्लेख छ । सोही ऐनको उपदफा ५ (दफा ४) सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० को नियम ८ मा निजी सवारीको प्रयोगबारे उल्लेख छ । निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न सक्ने गरी मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्ने भनिएको छ । सोहीअनुसार गण्डकीले १ जेठ २०८१ मा नियमावली राजपत्रमा प्रकाशन गरिसकेको छ । संघको ऐनले रोक्ने तर प्रदेशले सोही व्यवस्थालाई टेकेर ‘राइड सेयरिङ’ लाई नियमन गर्न खोजेपछि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका थिए । २०८१ साउनमा पनि सञ्चालन भइरहेको ‘राइड सेयरिङ’ सेवालाई करको दायरामा ल्याउन गण्डकी प्रदेशले कार्यविधि ल्याउन लागेको थियो ।

रातो नम्बर प्लेटका सवारीलाई यात्रु ओसारपसार गर्न दिने गरी प्रदेश सरकारले कार्यविधि बनाउन लागेको भन्दै यातायात व्यवसायी विरोधमा उत्रिएका थिए । लगत्तै गण्डकी प्रदेशले कार्यविधि ल्याउन रोकेको थियो । त्यसका बाबजुद गण्डकी प्रदेशले अहिले राइड सेयरिङका लागि भाडादर निर्धारण गर्न काम गरिरहेको छ ।

भाडादर निर्धारणका लागि निजी क्षेत्र सम्मिलित समिति गठन गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले बताइन् । उक्त समितिले भाडादर सिफारिस गरेपछि सोहीअनुसार निर्णय गरी लागू हुने उनको भनाइ छ । गण्डकी प्रदेशभर सबै राइड सेयरिङ कम्पनीले सोहीअनुसार भाडादर समायोजन गरेर लागू गर्नुपर्ने उनले सुनाइन् ।

मुलुकमा झन्डै ८ वर्षदेखि मुलुकमा राइड सेयरिङ एपमार्फत सेवा दिन सुरु गरिए पनि संघीय सरकारले नै व्यवस्थित कानुन बनाउन सकेको छैन । संघीय सरकारको प्रस्तावित संघीय सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ विधेयकमा राइड सेयरिङसम्बन्धी व्यवस्था राखिएको छ । महालेखापरीक्षकको ६० र ६१ औं प्रतिवेदनले पनि राइड सेयरिङ सेवा लिएपछि बिल प्राप्त नहुने अवस्थामा उच्च अदालत, पाटनले कानुन बनाई नियमन गर्न आदेशसमेत दिएको थियो । त्यसमा यात्रुको सुरक्षासहित दर्ताबिना सञ्चालनमा रहेको सवारीसाधनलाई नियमनको दायराभित्र नल्याइएको उल्लेख छ ।

‘यस सम्बन्धमा विगतको प्रतिवेदनमा समेत औंल्याइएकामा सुधार भएको छैन । सार्वजनिक सवारीको दर्ता, सञ्चालन, व्यवस्थापन तथा अनुगमन निरीक्षणका लागि आवश्यक कानुनी व्यवस्थामार्फत वैधानिक यातायात सेवा सञ्चालन हुनुपर्छ,’ महालेखाको ६१ औं प्रतिवेदनमा उल्लेख छ । सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी कुनै पनि सार्वजनिक सवारी यातायात सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ ।

एप्लिकेसन कानुनी दायरामा नआएको, निजी प्रयोजनका निम्ति दर्ता भएका सवारीसाधनले कानुनविपरीत भाडा लिई यात्रु तथा सामग्री ओसारपसार गरेको, असुरक्षित अफलाइन राइड सेयरिङ हुने गरेको र सेवा लिएपछि बिल जारी हुने व्यवस्थासमेत नभएको महालेखाको ६० औं प्रतिवेदनमा उल्लेख छ । कानुन पालनामा कमी रहेको विद्यमान अवस्थामा उच्च अदालत पाटनले कानुन बनाएर नियमन गर्न २९ माघ २०७६ मा आदेश दिए पनि कार्यान्वयन नभएको महालेखाको भनाइ छ ।

प्रस्तावित संघीय सवारी तथा यातायात व्यवस्थापन ऐन, २०८१ मा सूचना प्रविधिमा आधारित सञ्जालीकृत यातायात सेवा (राइड सेयरिङ) बारे उल्लेख छ । प्रस्तावित विधेयकअनुसार सूचना प्रविधिमा आधारित सञ्जालीकृत यातायात सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागले यातायात सेवा सञ्चालनको आधार मापदण्ड निर्धारण गर्न सक्नेछ ।

विभागले आधार र मापदण्ड निर्धारण गर्दा सवारीसाधनको प्रकृति, लिन सक्ने अधिकतम भाडा रकम, यातायात सञ्चालन हुन सक्ने क्षेत्र, चालक र यात्रुको बिमा तथा सेवा सुविधा, दूरी र चढाउन पाउने अधिकतम यात्रुको संख्यालाई समेत विचार गर्नुपर्ने उल्लेख छ । तर माघ २०८१ देखि उक्त विधेयक मस्यौदामै सीमित छ ।

सरकारले राइड सेयरिङमैत्री कानुन ल्याए यस्ता समस्या कम हुने पठाओ नेपालकी प्रवक्ता हमालले बताइन् । ‘संघीय सरकारले अहिलेसम्म कानुन ल्याएको छैन, गण्डकीले ल्याएको कानुन पनि संशोधन गरेर बल्ल कार्यान्वयनमा आएको छ,’ उनले भनिन्, ‘राइड सेयरिङ कम्पनीलाई उथलपुथल गर्नेभन्दा राइड सेयरिङमैत्री कानुन ल्याउनुपर्छ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully