शुक्रबारसम्म ६५ लाख ८३ हजार ६ सय ३४ मेरो सेयर एपका प्रयोगकर्तामध्ये ४७ लाख २९ हजार ७ सय ७० सक्रिय
काठमाडौँ — सेयर बजारका लगानीकर्ता ७५ लाख नाघेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सीडीएस एन्ड क्लियरिङ –सीडीएससी) का अनुसार शुक्रबारसम्म ७५ लाख ७ हजार ८ सय ६० वटा डिम्याट (विद्युतीय प्रणालीमा परिणत भएको सेयर राख्ने खाता) खाता खुलेका छन् ।
यसरी प्राथमिक र दोस्रो बजारमा गरेर सेयर बजारमा करिब ७५ लाखभन्दा बढीले सेयरमा लगानी गरेको विश्लेषण गर्न सकिन्छ ।
हाल प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन र दोस्रो बजारमा सेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ । यसकारण हालसम्म खुलेका डिम्याट संख्याका आधारमा सेयर बजारमा लगानीकर्ताको संख्याका रूपमा विश्लेषण गरिएको हो । यद्यपि उल्लिखित तथ्यांकमा ५ प्रतिशत हाराहारीमा डुब्लिकेसन (दोहोरिएको) हुन सक्ने जानकार बताउँछन् । पाँच प्रतिशत डिम्याट खाता दोहोरिएको मान्दा पनि हालसम्म करिब ७० लाखभन्दा बढी नेपालीले सेयरमा लगानी विस्तार गरेको आकलन गर्न सकिन्छ ।
शुक्रबारसम्म ६५ लाख ८३ हजार ६ सय ३४ मेरो सेयर एपका प्रयोगकर्ता छन् । तीमध्ये ४७ लाख २९ हजार ७ सय ७० सक्रिय प्रयोगकर्ता रहेको सीडीएससीले जनाएको छ । यसरी दोस्रो बजारमा १६ अर्ब ७२ करोड ६४ लाख ३ सय ७२ कित्ता सेयर सूचीकृत भएकामा १६ अर्ब २८ करोड २८ लाख ९७ हजार ४ सय ४२ कित्ता सेयर डिम्याट (भौतिक सेयर विद्युतीय सयेरमा रूपान्तरण) भएको सीडीएससीले जनाएको छ ।
पुस २०८२ सम्म नेप्सेमा २ सय ८४ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । जलविद्युत् कम्पनी ९७, उत्पादन तथा प्रशोधन उद्योग २६, होटल ८, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका कम्पनी १० वटा सूचीकृत छन् । पुस २०८१ सम्म सूचीकृत कम्पनीको संख्या २ सय ६७ थियो ।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.३ प्रतिशत छ । यसअनुसार जलविद्युत् कम्पनीको १५.२, लगानी कम्पनीको ७.३, उत्पादन तथा प्रशोधन उद्योगको ६.९, व्यापारिक संस्थाको ४.८, होटेलको ३.१ तथा अन्य समूहका कम्पनीको हिस्सा १०.४ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ ।
पछिल्लो दुई दशकअघि (आर्थिक वर्ष २०६०/६१) को तुलनामा आर्थिक वर्ष २०८१/८२ को असारमा दोस्रो बजारका परिसूचकमा उल्लेख्य सुधार भएको छ । यो अवधिमा सेयर बजारका अत्यावश्यक पूर्वाधार विकास हुन सकेका छैनन्, लगानीकर्ता सुरक्षण कोष स्थापना हुन सकेको छैन । दोस्रो बजारमा इक्विटी (सेयर) बाहेक अरू उपकरणको विकास र विस्तार हुन सकेको छैन । यद्यपि गएको दुई दशकमा नेप्से परिसूचक, कारोबार रकम, बजार पुँजीकरणलगायत सूचकमा भने बढोत्तरी देखिन्छ ।
यसअनुसार आर्थिक वर्ष २०६०/६१ समग्र नेप्से परिसूचक २२२ अंकमा थियो । आर्थिक वर्ष २०८१/८२ असारसम्म २ हजार ७ सय ९४. ७९ अंकमा पुगेको छ । कुल बजार पुँजीकरण, जीडीपीमा कुल बजार पुँजीकरणको अवस्था, कारोबार रकम, कारोबार रकममा जीडीपीको अनुपातलगायत सूचकमा उल्लेख्य सुधार भएको तथ्यांकहरूले देखाएका छन् ।
आर्थिक वर्ष २०६०/६१ मा नेप्सेको कुल वार्षिक कारोबार रकम २ अर्ब १४ करोड हुँदै गर्दा सरकारले पुँजीगत लाभकरबापत ३१ लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यसको २१ वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा नेप्सेको कारोबार रकम २१ खर्ब नाघ्दा नेपाल सरकारले १८ अर्बभन्दा बढी रकम बजारबाट करका रूपमा प्राप्त गरेको नेप्सेको भनाइ छ ।
करिब दुई दशकअघिसम्म दैनिक एक करोडभन्दा कमको कारोबार हुने दोस्रो बजारले भदौ २०८१ मा दिनको करिब ३० अर्बको कारोबार पनि देख्यो । विगत एक दशकको बीचमा देशको पुँजीबजारको आकारमा व्यापक वृद्धि भएको छ । केही हजारमा रहेका लगानीकर्ताको संख्या बढेर ७० लाखभन्दा बढी भएको छ । बजार पुँजीकरण झन्डै ४५ खर्ब, सूचीकृत कम्पनीको संख्या २ सय ८६ र नेपाल धितोपत्र बोर्डको प्राथमिक सेयर जारी गर्न स्वीकृतिको पर्खाइमा करिब ८७ कम्पनी छन् ।
उल्लिखित संख्या उदीयमान अर्थतन्त्र भएका र हाम्रोभन्दा धेरै प्रतिव्यक्ति आय भएका देशको तुलनामा राम्रो रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले बताए । एक दशकअघिसम्म कानुनले बाध्य परेका बैंक वित्तीय संस्था र बिमा कम्पनीले मात्र प्राथमिक निष्कासन गर्ने गरेको अवस्था थियो । दोस्रो बजार मुख्य रूपमा बैंक वित्तीय संस्थामा केन्द्रीकृत रहेको अवस्थाबाट अहिले आएर जलविद्युत्, उत्पादनमूलक कम्पनी, अतिथि सत्कारसँग सम्बन्धित कम्पनीलगायत अन्य कम्पनीसमेत बजार प्रवेशका क्रममा रहेका उनको भनाइ छ ।
‘नेपालमा पुँजीबजारको इतिहास धेरै लामो छैन । नेपालमा कम्पनीहरूले सेयर जारी गर्ने इतिहास विराटनगर जुट मिल्सबाट १९९३ सालमा सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणा र भारतीय व्यापारी राधाकिसन चमरियाबीचको साझेदारीमा बनेको यो कम्पनीको पुँजी १ लाख ६० हजार रुपैयाँ थियो । यसमध्ये ७५ प्रतिशत भारतीय र सरकारको ८ प्रतिशतसहित २५ प्रतिशत नेपालीको पुँजी थियो,’ फुयालले भने, ‘सरदार भीमबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल’मा उल्लेख भएअनुसार यो कम्पनीले छोटो समयमा राम्रो सफलता प्राप्त गर्न सकेकाले त्यस समयमा धेरै कम्पनी काठमाडौंमा स्थापना भएका थिए । तर राजनीतिक तथा व्यापारिक कारणले धेरैजसोले निरन्तरता पाउन सकेनन् ।’
नेपालको संगठित धितोपत्र बजारको सुरुवात सरकारी ऋणपत्रको कारोबार गर्ने गरी २०३३ सालमा सेक्युरिटी खरिदबिक्री केन्द्रको स्थापनाबाट भएको हो । पछि २०४० सालमा धितोपत्र कारोबारसम्बन्धी ऐन जारी गरी २०४१ सालबाट यस केन्द्रमार्फत सेयरको समेत दोस्रो बजार कारोबार सुरु भयो । औपचारिक रूपमा स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डको स्थापना गरी २०५० बाट पुँजीबजारको नियमित कारोबार भएको मानिन्छ ।
२०५० देखि २०६४ सम्म ओपन आउट क्रराई मध्यमबाट सेयरको कारोबार गरिथ्यो । २०६४ बाट विद्युतीय कारोबार प्रणाली सुरु भयो, जसले धितोपत्रको कारोबारलाई औपचारिक रूपमा काठमाडौंको घेराबाट बाहिर जान मद्दत गर्यो । २०७२ बाट पूर्ण डिम्याट (अभौतिकीकरण) सेयरको कारोबार सुरु भयो । २०७५ सालबाट पूर्ण अनलाइन कारोबारको सुरु भएको हो ।
‘यसरी प्रविधिको प्रयोग हुँदै जाँदा लगानीकर्ताको संख्या, बजार पहुँच र बजारको आकार बढे पनि २०४१ सालमा जस्तै अहिलेसम्म पनि बजारमा केही सीमित मात्रामा ऋणपत्रको कारोबारबाहेक पूर्ण रूपमा सेयरको मात्र कारोबार हुन्छ,’ फुयालले भने, ‘कानुनले बाध्य परेकोबाहेक केही सीमित कम्पनी मात्र बजारमा आएका छन् ।’
